अर्जुन दर्जी, पोखरा |
१९ जेस्ठ २०७२, विभेद बिरुद अभियान । संसारमा मान्छको २ जात केवल महिला र पुरुष हो भनेर जान्दा जान्दै इतिहास देखीनै मान्छेलाइ भेग, वर्ण, बस्ती, क्षेत्र ,काम र रंगको आधारमा विभिन्न जातमा वर्गीकरण गरेको हामीले देख्न, सुन्न र भोग्न पाइराखेकै छौ । विश्वका विभिन्न देशहरुमा विभिन्न प्रकारका जातिहरु भएजस्तै नेपालमा पनि ब्राह्मण, क्षेत्री ,मगर, गुरुङ, तामाङ, दमाइ, कामी, सार्की, मुसहर ,वादी बराम, राउटे आदी जस्ता १२५ जातजाती बसोबास गरेको पाइन्छ । नेपाली हिन्दु पौराणीक ग्रन्थहरु ,मनुस्मृती तथा विभिन्न शासकहरुको समय-समयमा ब्राह्मण, क्षेत्री, बैश्य र शुद्र गरी ४ वर्णमा जातिय विभाजन गरेको भन्ने हामीले मानीराखेका छौँ । कथित समाज सुधारक शासकहरु जयस्थिति मल्ल,रामशाह र पृथ्विनारायण शाह आदिको पालामा काम विशेषको जातिय व्यवस्था भएको इतिहासमा पढेका छौँ । जतिबेला कामको आधारमा जातिय विभाजन गरियो त्यतिबेला कामका आधारमा फरक जात तर सबै समान सबै नेपाली नागरिक हुन भन्ने समतलिय आधारको बर्गीकरण हो भन्ने सकारात्मक सोच राखी इतिहास पढ्ने हामी जो कोहीलाई थाहा छ । इतिहासमा सबै जातजाति ले नेपालको रक्षा गर्न संख्यात्मक हिसावले न्युन भएपनि योगदान गरेको कुरा हामी सबैले अध्ययन गरेकै विषय हो । तर त्यहि समाजिक व्यबस्थालाई पछिका आधुनिक भनिने विशेषत:शासकहरुले नै गलत व्याख्या र अर्थ लगाइ काम र वर्णका आधारमा रहेको जातिय प्रणालीलाइ तहगत सानो ठुलो पारी समतल आधारलाई भत्काइ मनोगत वर्गीकरण गरी आफुलाइ हित हुने किसिमले व्याख्या गर्दै आफू अनुकुलको सामाजिक संरचना खडा गरे । भगवानको एउटै सृष्टी सन्ततीको रगतलाई सानो-ठुलो उच-निच शुभ-अशुभ गरी जातिय भेदभाव र छुवाछुत जस्तो अमानविय व्यवहारको विजारोपण गरे । जुन शैली र व्यवहारलाई सबैले अनुसरण गर्दै आए र पछि कानुनी रुपमा दण्डनिय,मानविय रुपमा असम्मानजनक हुने दलित र गैरदलित ब्याख्या गर्दै आए । दलितहरु भनिने काम विशेष र समय व्यस्थताले अध्ययन सरसफाइ जस्ता मानव विकासको सुचकाङ्कमा पछि पर्दै आए त्यस्तो अमानविय व्यवहारलाइ सहनुपर्ने आर्थिक सामाजिक कारण वन्यो । एउटै रगत एउटै पहिचान एउटै राष्ट्रिय स्वार्थ एंवम माया भएका हरुमा मान्छे-मान्छे “छुत र अछुत” भनि “पानीको छिटा हाले चोखिन्छ” भन्ने जस्ता सामाजिक मान्यता लाजमर्दो बनेको सबैले टुलुटुलु हेरी अनुसरण गरेकै अवस्था छ अहिले पनि ।
छुवाछुत जस्तो गैरमानविय ब्यवहारले न त राष्ट्रलाइ एकजुट हुन सिकाउछ न त विकासतर्फ मोडिन र सहभागितामुलक योजना निर्माण गरी शासन सन्चालन गर्न सजिलो स्थिति बनाउँछ । यस्तो हुदाहुदैपनि राज्य सरकार समेत निरिह बनि उपयुक्त कदम चाल्न सकेको छैन। यद्यपि कानुनी रुपमा उल्लेख भएको मुलकी ऐन र छुवाछुत विरुद्धको ऐन प्राविधिक रुपमा मात्र जिवित छन् । राज्य पक्ष निरिह प्राय; छ । विभेदीकरणबाट नागरिकलाई चेतना र अधिकारबाट समेत वञ्चितीकरण हुनुपरेको अवस्था छ जुन राज्यलाई थाहा छ तर उ मौन छ ।
समाजमा छुवाछुत
अझैपनि दलित भनेर धारामा छेकिन्छ पानी भर्ने पालो आउदैन,पानी भर्नै पाइदैन । मन्दिरमा छेकिन्छ भित्र पस्नै पाइदैन ,श्रद्धाले भगवानप्रति सदभाव राख्न पाइदैन । भाडामा कोठा पाउन गाह्रो छ, चुलो छोइयो भनेर कर्तव्य गरी मारिन्छ । कालीकोटमा मनविर सुनारलाइ दलित भएर ठकुरी को चुलो छुने भनेर मारियो, दैलेखको सेते दमाइलाइ छोराले अन्तरजातिय विबाह गर्यो भनेर मारे । जाजरकोटमा स्थायी भएर पढाँउन गएका दलित शिक्षकले कोठा पाएनन कास्कीमा दलित शिक्षकलाइ भान्सा एउटै गर्न खोज्यो भनेर कालो मोसो दलियो । यस्तै जातिय उत्पीडन ले गर्दा काठमाण्डौमा जिबन वि. क. ले एसिड काण्ड घटाए । आदि जस्ता घटना देशैभरी बढेको बढ्यौ छन् । सार्वजनिक समारोह, भोज भतेर, धारापधेरा, मठमन्दीर आदिमा अझैपनि मानविय व्यवहार गरिदैन । अझैपनि नेपाली समाजमा यस्तो अवस्था छ जुन वर्णन गरी साध्य छैन । दलितहरु पशुको जीबन जीउन पनि वाध्य छन् । मन खोलेर हिड्न बोल्न लेख्न सहभागी हुन पाइरहेका छैनन । सञ्चार माध्यममा पनि अति भइसकेपछिका घटनाहरु मात्र सार्वजनिक हुन्छन । मान्छे मरेपछि वा कुनै अपराध घटिसकेपछि मात्र व्याख्या विश्लेशण हुन्छ । प्रहरीद्धारा अनुसन्धानबाट विषयान्तर गरी मुद्धा अदालतमा आउछ । मेलमिलाप हुन्छ । नेपाली समाजमा व्याप्त जातिय छुवाछुत प्रथा मान्छे भुतसँग तर्सेजस्तो मान्छे मान्छेसँग तर्सन्छन तर्कन्छन यो कस्तो मानसिकता वोकेको समाज हो । जहाँ हामी अझैपनि देश विकासका र राष्ट्रभक्तिका फोस्रा कुरा गरिरहेका हुन्छौँ ।
बुझाई
हाम्रो समाजको जातिय विभेदलाई बुझ्न औपचारिक शिक्षा भन्दा सामाजिक चेतनाको आवश्यकता पर्दछ । तर जातिय आधारमा छुवाछुत गर्नु राम्रो हो वा होइन भन्ने बुझ्नलाइ कति शैक्षिक योग्यता चाहिने हो अन्योल छ । बुझेरपनि लाचारीपना छ । पि. एच. डी. प्राप्त मान्छेहरुको वुझाईपनि शुन्य प्राय: रहेको अबस्था छ कि भन्ने जस्तो देखिएको छ । समाजमा कार्य व्यस्तताले कामको प्रकृतिले गर्दा र कार्यशैलीले गर्दा पछि परेका दलितहरु आर्थिक सामाजिक राजनैतिक शैक्षिक सक्षमतामा राम्रो भएपछि र अन्य गैर दलित हरुको छुवाछुत गर्न हुन्न भन्ने जानकारीका लागि शैक्षिक अवस्था राम्रो भएपछि यो अमानविय निच सोचयुक्त व्यवहार हट्छ भन्ने समाजमा वुझाई रहेको छ । हाल आएर मात्र राज्यले सामान्य भएपनि स-साना आरक्षण शैक्षिक आर्थिक सामाजिक राजनैतिक व्यवस्थाहरु गरेको पाइएको छ । हालाकी उचित कार्यन्वयन भएको भने पाइदैन । हो सबैलाइ लाग्छ मान्छे शिक्षित भएपछि सोच्ने शक्तिमा विस्तार हुन्छ गलत सहि के हो ? छट्याउने सामर्थ रहन्छ । समाज परिबर्तन गर्न सक्छ । देश लाइ सहि मार्गमा डोर्याउछन । यहि भनेर नै हामी हरु सबै आफ्ना छोराछोरीलाइ महँगा राम्रा र विदेशी विद्यालयमा पढाइरहेको लामो समय भइसकेको छ । नेपालमा शैक्षिक स्तरको बृद्धि नमुनाकै रुपमा रहेको छ । गाँउ,गा.वि.स.र जिल्ला लाई पूर्ण साक्षरता भनेर घोषणा कार्यक्रम भइरहेको पाइएको छ । तरपनि नेपालको राजधानी काठमाण्डौ जहाँ राजनेता, सांसद, मन्त्री, बुद्धिजिवि, लेखक, पत्रकार, सरकारी भवन र कर्मचारी को खचाखच छ त्यही नै छुवाछुत जस्तो पशुवत अमानविय व्यवहार बढी देख्न पाइन्छ किन? दलितहरु भाडामा बस्न कोठा पाउदैन, ढाँटेर वसेको पाइएमा अपहेलित हुन्छन । दलितहरुको मानसिकता गिराउन मा बढी सक्रिय भएको हुन्छन किन ? किन विसे नगर्चीको योगदानलाई छायामा पारिन्छ ?
शैक्षिक स्तर राम्रो हुँदैमा छुवाछुत हट्छ भन्नेमा शंका उत्पन्न भइरहेको छ काठमाण्डौ मात्र होइन उच्च साक्षर भएका शहर र जिल्लाहरु कास्की, स्याङ्जा, झापा, पाल्पा, तनहू, ललितपुर, भक्तपुर, विराटनगर आदि जिल्लाहरु मा पनि छुवाछुत व्यापक नै भएको पाइन्छ । पूर्ण शिक्षा प्राप्त व्यक्तिहरुपनि मान्छे-मान्छे छोइन्छ भन्ने मानसिकतामा छन । यस्तो अमानविय व्यवहारलाई निरन्तरता दिन चाहन्छन । त्यसैले तिनिहरुलाइ शिक्षित भन्ने कि नभन्ने ? यदि शिक्षित भएको भए आफ्ना बुबाआमा,छोराछोरी, श्रीमतीलाई छुवाछुत गर्न हुन्न भनेर भन्न र व्यवहार सच्याउन किन सक्दैनन ? किन चाहादैनन ? के उनिहरुले पाएको शिक्षा समाज र देश परिवर्तनको लागी होइन ? केहिथरी विद्धान साथीहरु दलित साथीहरुसँग होटल र बार रेष्टुरामा सँगै खाना खान्छौँ । छुवाछुत अमानविय व्यवहार हो भन्ने भाषण गर्छौ दलितको घरमा दहिमहि सुकुटी खान्छौँ । तर आफ्नो घरमा जाँदा बुवा रिसाउनुहोला ठिकै छ वाहिर वस होटलमा त गरेको छैन भन्छौँ । तर बुबा यो मेरो साथी हो, छुवाछुत गैरमानविय व्यवहार हो, निच र नबुझेर गर्ने काम हो जो हामीले गरिरहेका थियौँ अब नगरौ मिलेर बसौ मिलेर समाज परिवर्तन र विकास गरौ भनेर सम्झाउन र सहमति गर्न सक्दैनौँ कि चाहादैनौ ? २१ औँ शताब्दीमा पनि हामीले पढेको शिक्षाको के काम जो अझै पनि मान्छेलाई दलित अछुत भनि अन्तरजातिय विवाह रोक्छौँ, मान्छे-मान्छे छोइन्छ भनेर दुरव्यवहार गर्छौँ, पानीको छीटा हालेर चोखिन्छौ । कुकुर, विरालो लगायत अन्य पाल्तु जनावर चाहे जुनसुकै रोग लागेको होस तथा गैर दलित भन्ने चाहे जति भ्रष्ट र फोहोरी होस भान्छामा मन्दिरमा धारामा सहज पहुँच पुर्याइदिन्छौँ तर दलितको टिका लगाइएकाहरुलाई अछुत भनि अमानविय व्यवहार गर्छौ । भान्छामा, मन्दिरमा, धारामा, सार्वजनिक भोजभतेरमा रोक्छौ, छेक्छौ । तसर्थ अब नेपालमा छुवाछुत जस्तो अमानविय व्यवहार अन्त्य गर्नका लागि शिक्षा हैन बुझाइ आवश्यक देखिन्छ सोच बदल्नकोलागि मानसिक योगा नै देशभर सञ्चालन गर्ने होकी भन्ने पनि हुन्छ। सुधार गरेर होइन पुरानो मानसिकतालाई पूर्णरुपमा उधार गर्नुपर्दछ ।
बास्तविकता
मानव विकासक्रम अध्ययन गर्दा मान्छेको पुर्खा एउटै भएको कुरा तथा हाम्रा वेद पुराण धार्मिक ग्रन्थहरुमा भगवानको सृष्टी एउटै भएको, शुरुमा महिला र पुरुष मान्छेको जात भएको कुरा हामी सबैले बुझेकै विषय हुन् । विभिन्न शासकहरुले कामको आधारमा जातिय वर्गीकरण गरेका हुन भन्नेमा पनि हामीलाई थाहा भएकै कुरा हो । छुवाछुत व्यवहार गर्नु पशुवत व्यवहार हो, मान्छेको रगत सबैको रातो हुन्छ, छुवाछुतले समाजमा द्धन्द्ध पैदा गर्छ, यसले विकासमा जनसहभागिता जुटाउन सकिदैन, यो पापकर्म हो, समाजमा मान्छे-मान्छे छोइन्छ भन्ने कुप्रथा छ भनेर विदेशमा नराम्रो सन्देश जान्छ भन्ने पनि हामी नेपालीलाई थाहा छ । विस्तारै दलितहरु मन्दिर पस्दा कुनै अनिष्ट नभएको, सँगै खाँदा गैरदलित साथीहरुमा कुनै नराम्रो नभएको पनि थाहा छ भने अझैपनि २१ औ शताब्दी पार लाउदै गरेको यो अबस्थामा किन यस्तो कुप्रथालाइ निरन्तरता दिने ? अब हामी साच्चै पढेलेखेका मान्छे हौँ भने नपढेका नबुझेका बुबाआमा दाजुभाइ दिदीबैनी छोराछोरी आफन्तलाइ किन कुप्रथा विरुद्ध उभिनु पर्दछ भनेर नभन्ने ? वास्तविकता त्यही हो मान्छेमान्छे छोइदैन, रगत सबैको रातो हुन्छ, सबैमा मन मुटु हुन्छ, सबैको अपहेलित हुदाँ मन दुख्छ, विपद माहामारीमा सहयोग सबैको चल्छ । हामी सबैलाइ चढाइएका रगतहरुमा दलित गैरदलित भन्ने सबैको रगत मिसिएको हुन्छ । अनि अझै छुवाछुत जस्तो कुप्रथालाइ हटाउन हातेमालो नगर्ने ? छुवाछुत हट्नुपर्छ भन्ने दलित आवाज र प्रयास नभएको, राज्यले कानुन तथा अन्य व्यवस्था नगरेको पनि होइन । तर कार्यन्वयन उही औपचारिक शिक्षामा सिमित भई मानवियतामा क्षति ,नैतिकतामा खोट, सोचाइमा निचपना भएका व्यक्तिहरुले गर्दा सफल हुन सकेको छैन । त्यसैले अब हामी अमानविय नवनौ, उच्च सोचभएका कर्तव्यनिष्ठ देशभक्त नागरिक बनौँ । शिक्षित मान्छेले नै हो नपढेका नबुझेकालाई सम्झाउने वुझाउने नकि उहाहरुलाइनै देखाई उहाले मान्नुहुन्न भन्दै पन्छिने प्रयास नगरौँ । अब दलित गैरदलित दुबैमिलेर छुवाछुत जस्तो अमानविय पशुवत व्यवहार अन्त्य गर्नुपर्छ, अन्यथा सामाजिक सञ्जालहरुमा जातिय र छुवाछुत जस्ता विषयमा भएका प्रस्तुति टिकाटप्पणी ले अब समाजमा अपराध बढ्ने देखिन्छ । जातिवादको विशाक्त त देशमा रोपिसकेको छ, अरु अप्रिय घटना घट्नुभन्दा पहिलेनै सोचौँ, बुझौँ के हो छुवाछुत सम्बन्धी बास्तविकता ? अनि लागौँ हातेमालो गर्दै एकसाथ छुवाछुत मुक्त समाज र राष्ट्र निर्माण गर्न । जय नागरिक चेतना ।
स्रोत: सेतो परेवा
No comments:
Post a Comment