Tuesday, June 2, 2015

‘घर लड्दा आरन पुरियो कसरी परिवार पाल्ने ?’- पनबहादुर विक

शिव ढुंगाना। ओखलढुंगा, जेठ १९, विभेद बिरुद्ध अभियान   – ‘स्वास्नी मुटु रोगी छ, मेरो पेशा आरन चलाउने बाहेक केहि थिएन’ समाचार संकलनमा पुगेकापत्रकारहरुसँग वरुणेश्वर गाविस ८ टेकानपुरका ६२ वर्षीय पनबहादुर विश्वकर्माले गुनासो गर्नुभयो, ‘घर लड्दा आरन पुरियो कसरी परिवार पाल्ने ?’
पनबहादुरको जीविका चलाउने मुख्य आधार नै आरन थियो । उहाँले त्यही आरनबाट चार दशकदेखि घर व्यवहार चलाउनुभयो । मुटु रोगी श्रीमतीको औषधी उपचार गर्न खर्च जोहो गर्नुभयो । विनाशकारी भूकम्पबाट घर त भत्कियो नै, जीविका धान्ने आरन समेत पुरिएपछि उहाँको चिन्ता चुलिएको छ ।
त्यही गाउँका कुलबहादुर विश्वकर्माको पीडा पनि फरक छैन । भूकम्पले घर लडेर आरन पुरिएपछि अब कसरी परिवार चलाउने भन्ने चिन्ता उहाँलाई पनि छ ।  उमेरले ६५ वर्ष कटिसक्नु भएका कुलबहादुरको पनि मुख्य पेशा आरन नै थियो । यी त केही उदाहरण मात्रै हुन् । भूकम्पले घर भत्किँदा टेकानपुर गाउँका अधिकांश आरन पुरिएपछि बेरोजगार प्रायः सबै विश्वकर्मा समुदायलाई के खाने र के लाउने भन्ने चिन्ताले सताएको छ । यहाँ २३ घर विश्वकर्मा र झण्डै एक सयको हाराहारीमा अन्य जातजातिको बसोबास रहेको छ । 
नयाँ पुस्ता विदेशिएसँगै संकटमा परेको आरन पेशा सो गाउँमा भने जीवितै थियो । पुख्र्यौली पेशामै निर्भर हुँदै आएका यहाँका विश्वकर्मा समुदायको आरन पुरिएपछि वैकल्पिक सीप नहुँदा  परिवार पाल्ने समस्यामा परेका हुन् । 
‘घर भत्किएर आरनमा भएका भाटी, खलाँती, सनासो, घन सबै पुरिए,’ स्थानीय भैरबहादुर विश्वकर्माले गहभरी आँसु पार्दै भन्नुभयो–‘हाम्रो पीडा सुनिदिने कोही छैन ।’यहाँका विश्वकर्मा समुदायले टेकानपुर, थापाचौर, ढुस्के, सोब्रुलगायतका गाउँबाट ल्याइएका फलामे कृषि औजार र घरेलु हतियार मर्मत गर्दै आएका थिए । मर्मतको काम गरेबापत् उनीहरुले केही  पारिश्रमिक र अन्न पाउने गर्दथे । भूकम्पले गर्दा संकटमा रहेको आरन पेशा लोप हुनसक्ने अवस्था आएको स्थानीय मकरबहादुर विश्वकर्माले बताउनुभयो । ‘घर भत्किएपछि गाउँले सबै विस्थापित भएका छन्,’ उहाँले भन्नुभयो, ‘आरन पनि पुरिएको छ; फेरि यही पेशामा फर्किने अवस्था छैन ।’
उनीहरुलाई घर ढलेर आरन पुरिएको मात्र होइन पाल हालेर बसेको ठाउँभन्दा माथि  ठूलोभीर सामुदायिक वनको भीरबाट ढुंगा लड्न थालेपछि झन् पीडित बनेका छन् । ढुंगा लड्न थालेपछि केही घर विस्थापित समेत बनेका छन् । 
गाउँभन्दा माथि रहेको ६ सय मिटर अग्लो डाँडोबाट ठूला ठूला ढुंगा पल्टिँदै गाउँसम्मै आएका छन् । ‘भूकम्पले घर आरन, सबै लग्यो, पालमुनि पहिरोको त्रासमा बसेका छौं’ । स्थानीय शान्ति विश्वकर्माले भन्नुभयो, ‘भूकम्पले हाम्रो पुख्र्यौली पेशै खोसिदियो ।’
स्रोत :-उज्यालो 

No comments:

Post a Comment