Monday, July 6, 2015

छुवाछुत अन्त्यका लागि शिक्षक र विद्यार्थीलाई सजग गराउने प्रतिबद्धता

रुपन्देही, असार २१, विभेद बिरुद अभियान ।कुनै पनि प्रकारको विभेद अन्त्यका लागि विद्यालयबाटै जनचेतना शुरुवात गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले शिक्षकले विद्यालयमा जातीय विभेद सामाजिक अपराध भन्दै शिक्षा दिएमा बालबालिकाले त्यहि शिक्षा लिने भएकाले विभेद अन्त्यको अभियान विद्यालयबाटै शुरुवात गर्नुपर्ने बताए  । जागरण मिडिया सेन्टर साझा पहल परियोजना बुटवलको आयोजनामा शुक्रबार रुपन्देहीको ख. वनगाई गाविसमा गरिएको जातीय भेदभाव तथा छुवाछुत विरुद्ध विद्यालय स्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो विचार व्यक्त गरिएको हो । कार्यक्रममा बोल्दै शिशै माविका प्रधानाध्यापक गुणानिधि घिमिरेले आफ्नो विद्यालयमा विभेद नभएको बताउँदै समाजमा रहेको छुवाछुत अन्त्यका लागि शिक्षक र विद्यार्थीलाई सजग गराउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा शिशै माविका शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा जागरण मिडिया सेन्टर साझा पहल परियोजना बुटवलका संयोजक इन्द्र विश्वकर्माले जातीय विभेद अन्त्यका लागि शिक्षक जिम्मेवार भए समाजमा विभेदका घटना नहुने बताउँनुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य विनोद परियारले जातीय भेदभाव तथा छ्वाछुत (कसुर र सजाय) ऐन २०६८ बारे जानकारी दिदै जातको आधारमा विभेद गर्नेलाई एक महिनादेखि तीन वर्ष र पाँच सयदेखि २५ हजारसम्म जरिवाना हुने बताउनुभयो ।

कार्यक्रम जागरण मानव अधिकार सञ्जाल ख.वनगाईका संयोजक पृथ्वीनारायण हरिजनको अध्यक्षता, सामुदाय परिचालक सुदीप पहाडीको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment