काठमाडौ, असार २०,विभेद विरुद्ध अभियान - थोत्रो–मैलो टोपी, मुर्झाएको असिनपसिन अनुहार र थकित भावभङ्गीमा पाँच वर्षअघि पर्वत सदरमुकाम कुश्माको एउटा चिया पसलमा भेटिए, बलबहादुर परियार, ४२, । “मान्छे भएर जन्मेपछि जस्तो पनि भोग्नुपर्ने रैछ हजुर !” टोपी फुकालेर पसिना पुछ्दै उनले स्थानीय लबजमा दुखेसो पोखे, “अरूको देखेर नहुने, भाग्यले लखेट्यो भने राजा पनि रैती हुने रैछ ।”
चालिसे वयमै बुढिँदै गएको वृक्षजस्तै देखिएका बलबहादुरले चिया खाए, आफैँ ग्लास पखाले र बाटो लागे । पछि चिया पसल्नी दिदीले सुनाइन्, “विचराका पाँचवटी छोरी अपाङ्ग छन् । कुजिएर दिनभर पिँढीमा सुतेका सन्तानका लागि खुपै दु:ख गर्छ बलबहादुरले ।”
पर्वतको सुदूर दक्षिणमा पर्ने रानीपानी, पस्यारको एउटा गरिब दलित बस्तीका बलबहादुर त्यहाँबाट हिँडेपछि धेरै बेरसम्म त्यही अनुहार आँखामा नाचिरह्यो । लाग्यो, उनी त पुरुष हुन्, पाँच–पाँचवटा अपाङ्गता भएका छोरीहरू स्याहार्ने उनकी श्रीमतीका दु:ख झन् कति गहिरा होलान् ? कति निर्मम होलान् ?
हरेक मान्छेको अनुहार उस्तै नभए जस्तै हरेकका दु:खका सन्दर्भ फरक–फरक हुन्छन् । बितेका वर्षमा बलबहादुरको परिवारले उदारमनाहरूबाट केही आर्थिक सहयोग पनि पायो । “हाम्रा लागि दु:ख भने पनि सुख भने पनि सबै यिनै सन्तान भए, यिनीहरू हाँस्दा हाँस्नुपर्ने भयो, रुँदा रुनुपर्ने भयो,” अघिल्लो साता बलबहादुरकी श्रीमती कौशिला परियार, ४०, ले सुनाइन्, “बितेका २० वर्षमा धेरै सिकियो, जानियो, मान्छेहरू पनि चिनियो ।”
कौशिलालाई अरू त होइन, पीडाका बेला खुच्चिङ गर्ने छिमेकीहरूसँग भने बडो चित्त दुखाइ रहेछ । उनको यो भनाइले अपाङ्गता भएका व्यक्तिको परिवार र समाजको सम्बन्धको छनक दिन्छ कि दिँदैन थाहा छैन तर सबैले बाँच्ने जिन्दगीका आ–आफ्नै गोरेटा र राजमार्गहरू हुन्छन् । अप्ठ्यारो बाटो पर्दा पनि हिँड्नै पर्छ, घिस्रनै पर्छ ।
सक्ने र समयले साथ दिनेहरू न दगुर्ने हो । फेरि, परिस्थिति भन्ने कुरो आफूले चाहेर मात्र दाहिना पर्ने कुरा होइन । संयोग–शृंखलाले लखेट्दै जाँदा मान्छे कहिले सन्तोषको किनारा आइपुग्छ त कहिले कहालीलाग्दो मझधारमा । कौशिलाले भनिन्, “भन्छन् नि, जिन्दगी घामछायाँ ।”
..............................
गुल्मी, खड्ककोटकी कौशिला ०४६ सालमा बिहे हुँदा जम्मा १३ वर्षकी थिइन् । बिहे पनि मागी भएको होइन । एक जना आफन्त दिदीले उनलाई गुल्मीबाट भगाएर पर्वत, रानीपानी ल्याइन् र बलबहादुरको जिम्मा लगाइदिइन् । बाल्यकालदेखि नै टुहरी भएकाले कौशिला आफन्तहरूकहाँ घुम्दैफिर्दै हुर्केकी थिइन् ।
जिन्दगीमा मायाभन्दा बढी अपमान र अभाव देखेभोगेकी किशोरी थिइन् उनी । ‘हेर् केटी, नआत्तिई ! भारी नै बोकेर भए पनि तँलाई खुसी दिएर पाल्छु,’ सात दाजुभाइ–दिदीबहिनीबीच हुर्केका बलबहादुरले कौशिलालाई त्यस बेला ढाडस दिँदै भनेका थिए, ‘छन त मेरो पनि केही छैन । खेतबारी छैन, हातमा सीप पनि छैन । दुखै गरेर पनि जिन्दगी बिताउँला ।’
अनेक मोड र घुम्ती पार गर्दै बलबहादुरसँग ठोक्किन आइपुगेकी कौशिलाको मन त्यो ढाडसले भरियो । पहिलोपटक कसैले उनलाई जिन्दगीमा बाँच्ने र बचाउने कुरा गरेको थियो । सुखको सपना बाँडेको थियो । उनले पनि जवाफ फर्काइन्, ‘भाग्यमा तिम्रै साथ लेखेको रहेछ, रोए दुवै रुँला, हाँसे दुवै हाँसौला ।’
यता, बलहादुर पनि गरिब परिवारका सदस्य थिए । परिवारमा कोही पनि खाइलाग्दो थिएन । सबैभन्दा ठूलो शत्रु गरिबी नै थियो । आफ्ना सात सन्तानमध्ये खाइलाग्दो छोरा भएकाले बाबु यामबहादुरले सात वर्षको भएपछि न्वारनको नाम फेरेर उनको नाम बलबहादुर राखिदिएका थिए । “बाले बले भनेर बोलाए तर म नै सबैभन्दा निर्धो भएँ, सबै हिसाबले कमजोर भएँ,” भोगाइका पोया छिमल्दै बलबहादुरले भने, “नाममा होइन सबै कुरा समयमा रहेछ ।”
कौशिलालाई पनि आफ्नो भरिया जिन्दगीको सहयात्री बनाए बलबहादुरले । उनीहरू कहिले स्याङ्जाको गल्याङ पुग्थे र बाच्छा आइपुगेर भारी बिसाउँथे । कहिले मिर्मीबाट भारीसँगै रानीपानी आइपुग्थे । ज्याला बुझेर घरखर्च जुटाउँथे । त्यही घरखर्चबाट छ्याकन हानेर कहिलेकाहीँ बलबहादुर मस्तले मदिरा पिउँथे र गीत गाउँदै कौशिलालाई फकाउँथे । “कहिलेकाहीँ झैझगडा पनि हुन्थ्यो,” पुराना दिन सम्झिन् कौशिलाले, “लोग्नेस्वास्नीको झगडा परालको आगो ।”
कौशिलाले पहिलो सन्तान जन्माइन्, छोरा । गर्भवती अवस्थामा भारी बोक्नु थियो, खानु गतिलो थिएन, त्यसैले होला छोरा जन्मदै रोगीजस्तो थियो । पाँच महिनामै गयो । परियार दम्पतीलाई पहिलो गाँसमै ढुंगाजस्तो भयो । छोरा बितेको रात बलबहादुरले रुँदारुँदै थाकेकी कौशिलालाई सम्झाए, ‘अर्को छोरो पाउँला, पीर नगर । हामीलाई केही भएको छैन ।’ कौशिलाले पुलुक्क बलबहादुरलाई हेरिन् र समयको गति उही पुरानो लयमा फक्र्यो ।
फेरिनुपर्ने त के नै थियो र ! दिन उनै थिए, रात उनै । परिवारको अर्थतन्त्र उही थियो र भाव–अभाव पनि उस्तै । तर, परियार दम्पतीमा छोराको चाहना झन् उत्कट भयो । ०४७ सालमा उनीहरूले छोरी पाए, नाम राखे मालती ।
मालतीले उनीहरूलाई चित्त बुझेन । छोरो नै चाहिन्छ भन्ने सोच उनीहरूमा थियो । पुस्ताँैदेखि उनीहरूले छोराको महिमा सुन्दै आएका थिए । कसैले छोरा पाएपछि स्वर्गे पुगिन्छ भन्थे, कसैले छोरा सम्पत्ति हो भन्थे भने कसैले बुढेसकालको सहारा । परियार दम्पतीले लगत्तै अर्को सन्तान पाए, मीठू । जन्मँदा माहिली छोरी मीठू ठीकठाक थिइन् तर केही महिनापछि भने उनका खुट्टा लुलिँदै गए । थिरिनै नसक्ने, जहाँ उभिन खोज्यो थचक्कै बस्ने लक्षण देखिँदै गएपछि खुट्टा सुक्न थाले । शरीर पनि डल्लो पर्दै गयो । परियार दम्पती आत्तियो । “सन्तान हो, माया लाग्ने रहेछ, अस्पताल लग्यौँ,” कौशिलाले सुनाइन्, “तर, डाक्टरले पनि के भयो भन्ने भेऊ पाउन सकेनन् । कहिले कता लैजा भने कहिले कता † दिएको ओखतीले निको भएन ।”
परिवारमा अपाङ्गता भएको सदस्य आए पनि परियार जोडीमा अझै पनि छोराको भोक जागृत थियो, उनीहरूले फेरि अर्को सन्तान जन्माए । चाहेको जस्तो किन पो हुन्थ्यो र ! अर्की छोरी विष्णु जन्मिन् । उनमा रोगको कुनै लक्षण नदेखिए पनि त्यसपछि बर्सौटे जन्मेका दुई र थप जुम्ल्याहा छोरीमा उही खुट्टा कुजिने रोग देखियो । त्यसपछि भने परियार दम्पतीको आशा र उमंगको चन्द्रमामा पूर्ण ग्रहण लाग्यो ।
भारी बोकेर खर्चको जोहो गर्ने दम्पती छोरीहरू बोकेर कहिले कुश्मा, कहिले भरतपुर, कहिले पोखरा र कहिले बुटवलका अस्पताल चहार्यो । कहिले धामी–झाँक्रीकहाँ पुग्यो, ढ्यांग्राको आवाजसँगै अनेकन दोख र लागोका भाषा सुन्यो । मन्साउन धजो चढायो, कुखुराको भाले काट्यो । कहिले खाएर हिँड्यो, कहिले भोकभोकै ।
“यतिसम्म कि गाडी भाडा नभएर मोटरबाटोमा पैदलै पैदल हिँड्यौँ, खुट्टा लुला भएकाले छोरीहरू पिठ्यूँमा अडिँदैनथे, काखमा लिएर हामीले धेरै बाटो भोकभोक हिँड्यौँ,” मधुरो स्वरमा कौशिलाले भनिन्, “अस्पताल त पुगिन्थ्यो तर डाक्टरले यो रोग निको हुन अलिक गाह्रो छ भनेपछि रुँदै रुँदै फेरि घर फर्किन्थ्यौँ ।”
जहाँ जुन अस्पतालमा देखाए पनि डाक्टरहरू क्याल्सियमको कमीले यस्तो भएको भन्थे । उनीहरूले अलिक तागतिलो खानेकुरा ख्वाउन सल्लाह दिन्थे । औषधी पनि लेखिदिएका थिए तर यसले काम गरेन । “अहिले पनि मान्छेहरू यसो गर, उसो गर भन्ने सल्लाह दिन्छन् तर विश्वासै लाग्न छाड्यो,” बलबहादुर सुनाउँछन्, “निको भइदिए त राम्रो हुन्थ्यो नि, हुँदैन ।”
...........................
सिंगो दलित बस्ती दिउँसो सुनसान हुन्छ । सबै काममा जान्छन् । अपाङ्गता भएका पाँच बहिनी घरको पिँढीमा लहरै सुत्छन् । उनीहरूलाई दिसा–पिसाब गर्न पनि अरूकै सहारा चाहिन्छ । खाना खुवाउन, जुठाउन र उठाउन–सुताउन अरू नभई हुँदैन । छोरी मालतीको बिहेपछि त उनीहरूले सानै उमेरकी विष्णुको भरमा अपाङ्ग छोरीहरू छाडेर कहिले भारी खेप्न जानुपर्छ, कहिले मेलापाता । घरमा बसेर पनि साध्य छैन । “कामबाट फर्कंदा दिनभर रोएर थाकेका छोरीहरूको अनुहार देख्दा मुटु चर्कन्छ,” बलबहादुर भन्छन्, “त्यतिबेला मन नथामिएर धेरैपटक रोएको छु ।”
कहिलेकाहीँ अपाङ्ग छोरीहरू दिसा–पिसाबमा लटपटिएको र बेलामा खान नपाएर ओठमा कलेटी परेको पनि देखेको छ, परियार दम्पतीले । “छोरीहरूमाथि झिँगा भन्केको देख्दा कुन पो आमाबाबु हाँस्न सक्छ र ?” कौशिलाले फेरि उही मधुरो लबजमा भनिन्, “त्यस्तो बेलामा पनि छरछिमेकको सहयोग पाइएन ।”
जून उदाए तारा मधुरो
हाम्रो जीवन अपाङ्ग भैगयो
जिन्दगी नै भयो अधुरो ...।
छोरीहरू दिनभर यस्तै विरही गीत भाका हालेर गाउँछन् । कहिले गाउँदा गाउँदै हाँस्छन्, कहिले गाउँदा गाउँदै थाक्छन् । मान्छेहरू आउने र कठै भदै जाने त स्वाभाविक भइहाल्यो । गरिब परियार दम्पतीलाई दयाभन्दा पनि सहयोगको आवश्यकता थियो । शिक्षा र सीपको अभावमा कमाइ पनि राम्रो थिएन ।
छोरीहरूको उपचारका लागि उनीहरूले पत्याउने सबै आफन्तसँग ऋण लिएका थिए । धनले आफन्तलाई अझै पराई बनाउँछ नै । झन् चाडवाडका बेला अरूका सन्तान मीठो मसिनो खाएर नयाँ लुगा लगाएर ओहोरदोहोर गर्दा बाबुआमाको मन कटक्क काट्छ । जहाँ पुगे पनि, जे काम गर्दा पनि उनीहरूको दिल र दिमागमा उनै छोरीहरू नाचिरहन्छन् । यतिसम्म कि, बलबहादुर छोरीहरूको सुर्ता र तर्कनाका कारण बाटोमा हिँड्दा धेरैपटक खाल्डोमा परेका छन्, ठेस लागेको छ र कतिपटक त लडेका पनि छन् । “बडो कष्टका बेला चार–पाँच वर्षअघि पत्रकारहरू मेरो घरमा आए, फोटो खिचे, कुराकानी गरे,” बलबहादुरले सुनाए, “पत्रिकामा छोरीहरूका बारेमा छापिएछ, त्यसपछि अलिअलि सहयोग आउन थाल्यो ।”
त्यसपछि भने परियार दम्पतीलाई केही आर्थिक राहत महसुस भएको छ । पछिल्लो समय पर्वत, बिहादीका लक्ष्मी पौडेल र पदमराज पौडेलको पहलमा इजरायलमा बस्ने नेपालीबाट सहयोग संकलन गरेर दिएको ११ लाख रुपियाँ बैंकमा राखेको छ, परियार दम्पतीले । अहिले त्यसैको व्याजबाट उनीहरूलाई औषधी र खाद्यान्नको जोहो गर्दै आइरहेको बलबहादुर बताउँछन् । भन्छन्, “अहिले पनि छोरीहरूको औषधी उपचार र लालनपालनमा मासिक २५ देखि ३० हजार रुपियाँसम्म खर्च हुँदै आएको छ । बैंकबाट आउने ब्याज र हामीले कमाएको खर्चले धानिरहेका छौँ । हामी दुवैले काम नगरी त पुग्दैन ।”
.........................
मान्छेहरूले अघिल्लो जन्ममा पाप गरेको प्रतिफल भोग्दै छन् भन्ने टिप्पणी पनि परियार परिवारले सुन्छ । छोरीहरूको अवस्था देखेर नाक उचाल्नेहरू पनि देखेका छन् उनीहरूले । “हाम्रो जिन्दगी त खत्तम भयो, भयो र हाम्रा कारणले बाबुआमालाई कसैले नराम्रो भनेको सुन्दा निद्रा र भोक लाग्दैन,” अपाङ्गता भएकी छोरी मीठू परियार, १८, ले गुनासो गरिन्, “मर्न पनि सकिँदो रैनछ ।”
त्यसो त डेढ वर्षभित्र परियार दम्पतीले दुई अपाङ्ग छोरीको मृत्यु देख्यो । निमोनियाले थलिएर उनीहरू बिदावारी भए । “उपचार गर्दागर्दै पनि बचाउन सकिएन,” कौशिलाले भनिन्, “सन्तान जस्ता भए पनि कोखी चिरिएर आउने रहेछ ।” त्यही मातृभावले होला, उनले अपाङ्ग छोरी हामीलाई दिनूस्, अमेरिका लगेर पाल्छौँ भन्ने आउँदा पनि दिन मानिनन् । अर्कोपटक अपाङ्ग कल्याणसम्बन्धी संस्थाका प्रतिनिधिले छोरी माग्न आउँदा पनि उनले प्रस्ताव अस्वीकार गरिछन् । “हामी कामबाट फर्कंदा उनीहरूलाई घरमा देख्दा सन्तोष लाग्छ, आफ्ना सन्तान किन दिने ?” कौशिलाको भनाइ छ, “बाँचे पनि हाम्रै काखमा बाँच्छन्, मरे पनि हाम्रै काखमा ।”
परियार जोडीले अपाङ्गता भएका छोरीहरूकै लागि भनेर आएको सहयोगबाट उनीहरूलाई पढाउने प्रयास पनि गरेको थियो । केही शिक्षक पनि आए तर त्यो क्रम लामो जान सकेन । ह्विल चियरमा बस्न र हिँडडुल गर्न पनि नसक्ने छोरीहरू विद्यालय धाउने त कुरै रहेन । “पढ्ने कुरा नि त्यस्तै अधुरो भयो, पढेर पो के गर्नु ?” मीठूले भनिन्, “अहिले हाम्रा बाबुआमाले हामीलाई भोकै राखेका छैनन् । त्यसमै खुसी छौँ ।”
साभार -नारायण अमृत र अगन्धर तिवारी,नेपाल साप्ताहिकबाट
No comments:
Post a Comment