साउन ११, बिभेद विरुद्ध अभियान ।
पूर्वाञ्चलको धरानमा सम्पन्न मुलुकी ऐन रजत जयन्ती समारोह भव्य रुपमा सम्पन्न भयो । र नेताहरुलाई पर्सिपल्ट बिदा गर्न हामी धरान बसस्टैण्डमा पुग्यौं । त्यसपछि टि.आर. विश्वकर्मा र मिठाईदेवी काठमाडौं र प्रकाश चित्रकार, डिकबहादुर विश्वकर्मा, ओमप्रकाश रामदामलगायत बुटवल भैरहवातिर लाग्नुभयो ।
पूर्वाञ्चलको धरानमा सम्पन्न मुलुकी ऐन रजत जयन्ती समारोह भव्य रुपमा सम्पन्न भयो । र नेताहरुलाई पर्सिपल्ट बिदा गर्न हामी धरान बसस्टैण्डमा पुग्यौं । त्यसपछि टि.आर. विश्वकर्मा र मिठाईदेवी काठमाडौं र प्रकाश चित्रकार, डिकबहादुर विश्वकर्मा, ओमप्रकाश रामदामलगायत बुटवल भैरहवातिर लाग्नुभयो ।
पूर्वाञ्चल समारोहमा नयाँ युवा नेताका रुपमा मोतीलाल नेपाली र कमला हेमचुरीको खुबै प्रशंसा गरिएको थियो । पञ्चायतको उत्कर्षको अवस्थामा जातीय उत्पीडनका कुरा उठाउन सक्नु र दलितहरु एकताबद्ध भई आन्दोलनमा लाग्ने विचार प्रकट गर्नु हिम्मतकै कुरा थियो । समारोहमा उठेका बहसले नयाँ पिढीले नयाँ नेतृत्वको खोजी गरी रहेको महसुस हुन्थ्यो ।
टि.आर. दाइले बिसे नगर्चीको पुस्तक काठमाडौंमा सम्पन्न गरिने पञ्चायत रजत जयन्तीको अन्तिम समारोहमा २०४६ भदौ १ गते विमोचन गर्ने हेतुले त्यतै भेट्ने सल्लाह गरी हामी छुट्टिएको कुरो अघिल्लो अंकमा मैले लेखिसकेको छु ।भएको के थियो भने काठमाडौंमा टि.आर. दाइसँग भेट हुँदा उहाँले प्रकाशन गरिरहनुभएको प्रेरणा खबरपत्रिका र संजीवनी मासिकलाई कसरी जनमुखी र स्थायी बनाउने कुरा भयो । त्यसरी कुरा हुँदा दलित समुदायका इतिहास पुरुषहरुका बारेमा पनि खोज अनुसन्धान गरी पुस्तक प्रकाशन गर्ने कुरो भयो । एक प्रकारले प्रकाश चित्रकारका राजनीतिक गुरु र उनीसँगै जस्तो पञ्चायत प्रवेश गरेका पाल्पाली कम्युनिस्ट नेता कमलराज रेग्मी (जो त्यतिबेला पञ्चायत जाँचबुझ केन्द्रका अध्यक्ष थिए) लाई भेट्न जादा त्यस भेटमा केही रोचक कुरा भए ।
त्यतिबेला पञ्चायतको गाउँ फर्क राष्ट्रिय योजनाअन्तर्गत जनसहभागिताको बारेमा चर्चा चल्यो । प्रसंगवश थाहा भयो, जनसहभागिताको पहिलो सुरुवातकर्ता त पृथ्वीनारायण शाहका बालिघरे दमाईं बिसे नगर्ची हुन् जसले नेपाल एकीकरणमा पृथ्वीनारायणलाई आर्थिक सहयोग गरी जनसहभागिता गराउने मेसो सुझाएका थिए । तिनै बिसे नगर्चीको जीवनी प्रकाशित गराउँदा दलित समुदायका एउटा विलक्षण प्रतिभाको उच्च सम्मान पनि हुने र दलित समुदायले एकीकरणमा पुर्याएको योगदानको पनि चर्चा हुने कुरो भयो ।
गोरखा राज्य विस्तार गरी विशाल नेपाल बनाउन आर्थिक समस्या महसुस भएको बेला पृथ्वीनारायण शाहले बिसे नगर्चीलाई आफ्नो बह पोखेछन् । बिसे नगर्चीले राजालाई आर्थिक संकट परेको बेला आफ्नो तहबाट सहयोगस्वरुप एक रुपैयाँ राजालाई टक्¥याए छन् । बिसे नगर्चीबाट एक रुपैयाँ जाबो सहयोग पाउँदा राजा रिसाएछन् पनि ।
राजा रिसाएको देखेपछि बिसे नगर्चीले सरकार हजुरको राज्यमा कति घरधुरी छन् भनि मुसुमुसु हाँसेर अनुरोध गरेछन् । राजाले बाह्र हजार घरधुरी भएको मनन गरेपछि बिसेबाट जसरी नै सबै जनताबाट एक एक रुपैयाँ उठाउँदा पनि बाह्र हजार उठ्ने बुझेपछि पृथ्वीनारायण शाह खुसी हुँदै बिसेलाई धन्यवाद दिँदै दरबार फर्केछन् । उक्त कथाको आधारमा यसरी जनसहभागिताको प्रचलनको पहिलो सुरुवात गर्न पृथ्वीनारायणलाई बिसे नगर्चीले सुझाएका थिए भनेर हामी दलितले गौरव किन नगर्ने भन्ने विचारले पनि बिसेलाई हाम्रो ऐतिहासिक व्यक्तिहरुको जीवनी प्रकाशन गर्ने अभियानको पहिलो पात्र ठानियो ।
हाम्रो पालामा आईएको नेपाली कोर्समा भीमनिधि तिवारीको पाँच एकांकी पढ्नुपर्दथ्यो । त्यसैमध्ये बिसे नगर्ची नामक एक एकांकी पनि थियो । त्यसैलाई आधार बनाएर सकभर बिसे नगर्चीका दरसन्तानको खोजी गर्ने र जेजति सामग्री पाइन्छन्, ती सबैलाई जोडेर पुस्तक प्रकाशन गर्ने निधो गरियो । इतिहास खोज्ने यस कामको जिम्मा आदरणीय रामशरण दर्नाललाई दियौं । भीमनिधि तिवारीको उक्त पाँच एकांकी पुस्तकबाट सो अंशको स्वीकृति लिने जिम्मा टि.आर. दाइले लिनुभयो । बिसे नगर्चीको रेखाचित्र बनाउने जिम्मा प्रकाश चित्रकारलाई दिइयो र यी सबै कामको समन्वयको साथै प्रकाशन व्यवस्था मैले उठाउने जिम्मा लिएँ ।
चित्र तयार गर्ने कापी, पेन्सिल, ड्रइङ्ग पेपर र भीमनिधि निवारी लिखित पुस्तकको आकृति चित्र उपलब्ध गराएर जमलस्थित गौतम होटेलमा प्रकाश चित्रकार र म सँगै बसी बिसे नगर्चीको आकृति तयार गर्ने काम फत्ते गराइयो । प्रकाश चित्रकार स्वयम् पनि फाइन आर्टमा विज्ञ भएकाले यो काम सहज रुपमा अगाडि बढ्यो ।
उपलब्ध भएसम्मको सामग्रीको खोजिबिनपछि बिसे नगर्चीको अलग्गै पुस्तकको रुपमा पाण्डुलिपि तयार पारी पुस्तक छाप्ने कामका लागि मैले मेरो ठूलो ज्वाईं प्रकाश दर्नाललाई साझा प्रकाशनबाट छपाउने जिम्मा दिँदै धरानमा हुने सम्मेलनका लागि म धरान गएँ । यसरी पुस्तक छापी सकिएपछि २०४६ भदौ १ गते काठमाडौंमा विमोचन गराउने चाँजो मिलाइएको थियो।
पञ्चायत व्यवस्थाको ताबेदार एक मात्र दलित संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ र पञ्चायत रजत जयन्ती समारोह समितिका नेताहरुबीच भित्री रुपमा एक मन थिएन । रजत जयन्ती समारोह समितिले पाँचै विकास क्षेत्रमा कार्यक्रम गरेपछि समाप्तिको रुपमा काठमाडौंमा २०४६ भदौ १ गते मनाउने सुर थियो । त्यसैअनुरुप समारोह समितिका अध्यक्ष पर्शुराम राई, उपाध्यक्ष प्रकाश चित्रकार र टि.आर. दाइको एक मत थियो । तर प्रधानमन्त्री मरिचमान श्रेष्ठको नजिक भएका र समारोह समितिले क्षेत्रीय स्तरमा गरेका कार्यक्रम केही राजनीतिक हस्तक्षेपकारी र प्रगतिवादी भएकाले उछृंखल गतिविधि धेरै भयो, त्यसैले नेपाल राष्ट्रिय समाज कल्याण संघले मुलुकी ऐन दिवस आफ्नै योजनामा गर्ने सोच राखेका हुँदा दुवै समूहको आ–आफ्नो खिचातानी भयो ।संयुक्त रुपमा मनाइने भएता पनि रजत जयन्ती समारोहका अध्यक्ष प्रकाश चित्रकारको अध्यक्षतामा नगरी समाज कल्याण संघको ब्यानरमा संघका अध्यक्ष प्रतापराम लोहारकै अध्यक्षतामा कार्यक्रम हुने भयो । प्रमुख अतिथि पर्शुराम राई नै हुने भए । सोही कार्यक्रममा बिसे नगर्ची पुस्तकको विमोचन पनि समावेश गरिएको जानकारी मैले पाएँ ।
पुस्तक विमोचनको तयारी गरी सूचनाको प्रतीक्षामा रहेको मलाई भदौ १ गते बिहानै पुस्तक विमोचन गर्न नदिइने भनी कार्यक्रम तय भएको मैले जानकारी पाएँ । ठिकै छ यहाँ नभए धरानतिरै विमोचन गरौंला भनी चुप लागेर बसेको थिएँ । त्यसै दिन मलाई ११ बजेतिर टि.आर. दाइले पुस्तक विमोचनको तयारी गरी सुटुक्क आउनु भन्ने खबर पठाउनुभयो ।
भएछ के भने टि.आर. दाइले प्रतापराम लोहारसँग कुरो नमिलेपछि राष्ट्रिय सभाका उपाध्यक्ष पर्शुराम राईलाई कन्भिन्स गराउनुभएछ । प्रमुख अतिथिका रुपमा उहाँले अन्तिम भाषण गर्दा बिसे नगर्चीको चर्चा गर्नुहुने र त्यसै क्रममा बिसे नगर्चीको पुस्तक विमोचन गर्ने गोप्य सहमति भएको रहेछ ।
ठिक ११ बजे म राष्ट्रिय नाचघरमा पुगें । गेटमा धेरै युवाहरुलाई भित्र छिर्न नदिएर झैझगडा भइरहेको देखे । मनबहादुर विश्वकर्मा, बद्री बुढापिर्थीजस्ता त्यतिबेलाका चल्तापुर्जा दलित युवा नेतालाई प्रहरी लगायर गेटभित्र छिर्न दिइएको थिएन ।
मचाहिँ राष्ट्रिय नाचघरभित्र कार्यालयको भित्री ढोकाबाट छिरेर मञ्च अगाडिको पहिलो लहरमा पुस्तकलाई रातो रिबनले सजाएर ठिक्क पारेर बसेको थिएँ । प्रकाश चित्रकार असन्तुष्ट भई भैरहवा फर्किसकेका थिए । प्रतापराम लोहारको अध्यक्षतामा बिजुल विश्वकर्मा महासचिवका नाताले कार्यक्रम सञ्चालन गरिरहेका थिए भने उनका जेठा साडु अशोक रसाइली पनि मञ्चमा अन्य पदाधिकारीसँग विराजमान थिए ।
कार्यक्रमको समाप्तिअगाडि प्रमुख अतिथि राष्ट्रिय सभाका उपाध्यक्ष पर्शुराम राईले भाषण सुरु गर्न थाल्नुभयो । भाषणको सुरुमै उहाँले जनसहभागिताको औचित्य र त्यसको सुरुवातकर्तामध्ये पहिलो व्यक्ति बिसे नगर्चीको बारेमा केही कुरा राख्नुभयो । यसै क्रममा बिसे नगर्चीको पुस्तक प्रकाशित भएकोले सो पुस्तक म विमोचन गर्दैछु भन्दै उहाले पुस्तक लिई मञ्चमा आउन मलाई बोलाउनुभयो । त्यसपछि म तुरुन्तै मञ्चमा उहाँ बोल्दै गरेको ठाउँमा पुगी पुस्तक अगाडि सारें । यसरी उहाँले पुस्तक विमोचन गर्नुभयो ।
कार्यक्रम आयोजक सबै अक्कनबक्क भए र सबै मुखामुख गर्न थाले । म विमोचनपछि मञ्चमा आसिन सबैलाई एक एक थान पुस्तक बाँडी हलमा झरें । सहभागीहरुलाई पनि पुस्तक बाँड्न थालें । हलमा पुस्तक लिन तँछाड मछाड भई कार्यक्रममा अवरोध भएको देखेर अशोकजीले आएर मलाई बाहिर जान आग्रह गर्नुभयो । म पनि आधा काम सकेर चुपचाप बाँकी किताब लिएर राष्ट्रिय नाचघरबाट घर हिँडे ।
यसरी बिसे नगर्ची पुस्तक विमोचन गरियो । यो पुस्तक विमोचन गर्दा गराउँदा समाज कल्याणका पदाधिकारीलाई के घाटा हुन्थ्यो, मलाई आजसम्म थाहा भएको छैन । भीमनिधि तिवारीको पुस्तक पाँच एकाङ्कीबाट यसरी बिसे नगर्ची पुस्तकका रुपमा प्रकाशित भयो । बिसे नगर्चीका बारेमा आजकाल सबै दलित नेतालाई चिनाइरहनु पर्दैन । बिसे नगर्ची आन्दोलनको पर्याय पनि बनेका छन् ।
साभार:- इसमाता
No comments:
Post a Comment