Friday, August 7, 2015

समावेशी भनेर देखाउने विष्ट प्रवृत्तिमा परिवर्तन हुन जरुरी छ - धिरेन्द्र सिनाल

साउन २२ , विभेद बिरुद अभियान । साउन ३ गते, महेन्द्रनगरमा हिन्दु सभा गर्नेहरु  शुक्ला फाँटा एफएममा फोन गरेर भने —हाम्रो कार्यक्रमको लाइभ गर्दिनुपर्‍यो।
म स्टेसन म्यानेजर थिएँ। धर्मसभाको लाइभ गर्ने विषय मलाई संवेदनशील लाग्यो। हिन्दुहरुको सभा लाइभ गर्ने हो भने,भोली अर्को धर्मकाले आएर लाइभ गरिदे भन्ने छन्। त्यो बेला पनि मैले नाइँ भन्नु हुँदैन। धर्महरुको विषयमा आफ्नो एफएमलाई चेपुवामा पर्न नदिन मैले अध्यक्षलाई समेत भनेँ। उहाँले पनि मान्नु भयो।
लाइभ गरिदिनुपर्‍यो भनेर आउने हाम्रो एफएमका पूर्व अध्यक्षका नातेदार रहेछन्। यसलाई उहाँले प्रतिष्ठाको विषय बनाउनु भयो।
यो घटनाको १५ दिन पछि मैले स्टेसन म्यानेजरको पदबाट राजिनामा दिनुपर्‍यो।
...
हाम्रो एमएमले बिबिसी मिडिया एक्सनसंग मिलेर रेडियो नाटक गर्ने प्रोजेक्ट पाएको छ। नाटकको प्रोड्युसर म नै थिएँ। मैले नै त्यो नाटक गर्नका लागि अरु स्टाफहरु नियुक्त गर्नुपर्ने थियो। स्टाफहरु मध्ये नाटकको अनुभव भएकालाई मैले सिफारिस गरेँ। बिबिसी मिडिया एक्सनबाटै अएको टिमले उनीहरुको अन्तरवार्ता लियो र टिममा योग्य ठहर्‍याएको थियो। मैले एउटालाई अन्यायमा पारेर अर्कोलाई छानेको थिइँन।
टिममा पुरै दलितलाई मात्र लिने? भनेर रेडियो भित्र असन्तुष्टिहरु सुनिन थाल्यो। जाँच लिदाँ उनीहरु दलित भएकै कारणले पास भएका थिएनन्। उनीहरुले पहिले पनि नाटक गरिसकेका र योग्य थिए।
...
एफएमको प्रमुख भएका कारण स्थानीय स्तरमा धेरैले चिन्ने कुरा त स्वभाविकै हो। व्यवसायिक पत्रकारितामा प्रवेश गरिसके पछि कतिपय मञ्चहरुमा मलाई चिन्नेहरुले भन्ने गर्थे 'तिमिलाई दलित भनेर कस्ले भन्न सक्छ?'
आफैलाई पनि कहिलेकाहीँ त्यस्तै लाग्थ्यो।
दमाइको घरमा जन्मिएको म जन्मले दलित नै हुँ। बा-आमाले सानै देखि मेरो शिक्षाको लागि कुनै कसर बाँकि राखेनन्। उनीहरुको निरन्तरको प्रेरणा र हौसलाले पढाइमा म अब्बल थिएँ। त्यसैले स्कुल र गाउँमा सबैको प्रिय थिएँ। बा कपडा सिलाउनुहुन्थ्यो। त्यसैबाट आएको आम्दानीबाट उच्च शिक्षा पढाउन मलाई भारतको केरला र दिल्लीमा पठाउनु भएको थियो।  त्यहाँ पनि राम्रै वातावरणमा पढ्ने, सिक्ने मौका पाएँ। स्कुल देखि क्याम्पस सम्म पढदा मैले कहिलै आफु ‘दलित’ भएको महसुस गर्न परेन।
काम गर्न थाले पछि आफनो मिहेनत, योग्यता र इमानदारिताले म आफ्नो गाउँठाउँमा नाम कमाएँ।
यसरी चिनिएपछि लाग्थ्यो ‘साँच्चै मलाई कस्ले दलित भन्न सक्छ र?’
तर, दलित परिवारमा जन्मिएपछि, कसरी हेपिन्छ, कसरी होच्याइन्छ र मन्द विष जस्तो विभेद कस्तो हुन्छ भन्ने कुरा विहे गर्दा राम्रै संग महसुस गरेँ।
म हिन्दु धर्म मान्छु। म जन्मै देखि शाहाकारी हुँ। यो धर्म प्रति मेरो गहिरो आस्था छ। मेरो धार्मिक आस्था र संस्कार अनुसार, वैदिक विधि अनुसार विहे गर्ने मैले इच्छा राखेँ। यो मेरो मौलिक अधिकार पनि थियो। तर मैले मेरो विहेमा मन्त्र पढिदिने व्यवसायिक ब्राह्मण पाइन। मेरो विहेमा आएर मन्त्र पढ्नका लागि यो जिल्लाका कुनै पनि पण्डित राजि भएनन। आफनो संगत भएकाहरुलाई पण्डित खोजिदिन आग्रह पनि गरेँ। हिन्दु स्वयंमसेवक संघका पदाधिकारीलाई पनि भनेँ, तर अहँ कोहि आएनन्।
हिंग नभए पनि हिंगको टालै सही, वाह्मणको घरमा जन्मेको मान्छेलाई किताब हेरेर मन्त्र पढ्न लगाएँ र विहे गरे।
मैले बल्ल बुझेँ, उठवस र सार्वजनिक व्यवहारमा यो समाज जतिसुकै आधुनिक देखिए पनि दलितहरुका लागि न्यायपूर्ण बन्न सकेको छैन। 
साइन्स पढेको मैले महेन्द्रनगर आएपछि पत्रकारीता गर्न सुरु गरेँ। नेपालमा एफएम खुल्ने लहरै चलेको थियो। म फेरि पत्रकारीता पढ्न भारत गएँ।
फर्किँदा महेन्द्रनगरमा  शुक्लाफाँटा सामुदायिक एफएम खुल्न लागेको थियो। म त्यही एफएमको  स्टेसन म्यानेजरको रुपमा काम पाएँ।
पहिले, हाम्रो एफएमको अध्यक्ष ऋषिराज लुम्साली हुनुहुन्थ्यो। उहाँले गर्वका साथ भन्नु हुन्थ्यो— मुलुकभरमा पहिलो दलित स्टेसन म्यानेजर हाम्रै एफएममा छ। हामीले  दलितलाई कुनै भेदभाव गर्दैनौँ।
म पनि दंग पर्थेँ।
दिन वित्दै गए। २०६३ साल यता दलित र सिमान्तकृतको मुद्दा झन् चर्को उठ्यो। यो समुदायले राज्यका निकायमा सहभागी हुन आरक्षणको व्यवस्था नै भयो। संविधानले नै त्यसको सुनिश्चित गर्‍यो।
एकदिन एउटा एनजीओले दलितसम्बन्धी कार्यक्रम गर्ने प्रस्ताव लिएर आयो। दलित उत्थानको कार्यक्रम गर्ने एनजीओ भएकाले उसको माग थियो यो कार्यक्रमको निर्माता पनि दलित समुदायकै व्यक्ति हुनुपर्छ।
एनजीओको माग मैले लुम्साली सरलाई सुनाइदिएँ।
मलाई स्टेशन म्यानेजर बनाएकोमा गर्व गर्ने अध्यक्षले त्यो दिन कुरैकुरामा भन्नु भयो — कुनै पनि परीक्षा हलमा अब वाह्मणले सवै प्रश्नको उत्तर दिनु होला, क्षेत्रीले ५ प्रश्नको उत्तर दिए हुन्छ, अनि दलित, महिला र आदिवासीले परिक्षा हलमा प्रवेश मात्र गरे पनि पुग्छ भन्ने सिस्टम आउन बेर छैन!
समावेशीताका कुरा गरेर नथाक्ने उहाँको यस्तो अभिव्यक्ति देखेर मलाई उदेक लागेको थियो। मैले उहाँलाई व्यक्तिगत रुपमा दोष दिन खोजेको होइन तर उहाँको अभिव्यक्तिले मलाई कताकता पोल्यो। हुन सक्छ म आफ्नो जात प्रति बढी संवेदनशील भएको हुँला।
यस्ता खालका हेलाहोचो र व्यङ्ग्यवाण मैले प्रोफेसनल भएपछि धेरै बेहोर्नु पर्‍यो। तर मलाई कहिले पनि लागेन मेरो जात तल्लोस्तरको हो। हो म दलित समुदायको भाग्यमानी मानिस हुँ। यसो भन्न मलाई लाज पनि लाग्दैन। कर्मशील परिवारको व्यक्ति हुनु भाग्यको कुरा पनि हो।
जब समाजमा जान्छु केही मानिसहरुले मलाई दलित भनेर कुनै न कुनै हिसाबले हेपिदिन्छन्, तै पनि म उनीहरुको सोच भनेर चुपचाप आफ्नो काम गर्छु।
...
आफ्नो बिगतमा थोरै बहकिँएछु। तर यो भन्नै पर्थ्यो। यसरी मैले प्रोफेसनल भैसकेपछि दलित हुनुको पिडा महसुस गरेँ।
बिबिसीसंग मिलेर गर्ने कार्यक्रममा मैले नियुक्त गरेका व्यक्तिहरु दलित भए भन्ने इस्यु बढ्दै गए।
‘सबै दलित राख्ने?’ सहकर्मी र अग्रजकै यस्ता कुरा सुनेर दिग्दार लाग्थ्यो।
स्टाफहरुले मलाई निकाल्न  अध्यक्षलाई दबाब दिइरहेका थिए। उहाँले मलाई आश्वासन दिनुभएको थियो,‘तिमीलाई महासचिव बनाएर काम गर्ने गरि राख्छु, स्टेसन म्यानेजरमा कसैलाई नियुक्ति गर्दिन।’
अध्यक्षको कुरामा मैले सहमति जनाएँ।
साउन १८ गते बोर्ड मिटिङ बस्यो। मिटिङमा बिबिसीकै कार्यक्रमलाई लिएर  एफएमका पूर्व अध्यक्ष तथा सल्लाहकार लुम्साली सरले भन्नु भयो — 'बिबिसीको कार्यक्रममा दलित गनायो'।
उहाँको अभिव्यक्तिले मर्माहत मात्रै बनाएन, यो इस्युकै कारण मैले राजिनामा दिनुपर्‍यो।
मलाई स्टेसन म्यानेजरबाट हटाइ बिबिसीसंग मिलेर गरिने कार्यक्रम निर्मातामा सिमित गरियो।त्यसपछि मैले एफएमको कुनै पनि काम नगर्ने गरि राजिनामा दिएँ।
मैले के अनुभव गरेँ भने, निर्णय तहका मानिसहरुले आफुलाई समावेशी भनेर देखाउन दलितलाई प्रयोग गर्ने रहेछन्। उनीहरुको विष्ट प्रवृत्तिमा परिवर्तन जरुरी छ।
मेरो प्रोफेसनल जिवनमा यो सबै रडाको चलिरहेकै बेला सिराहामा दिपक मलिकलाई पानी भर्न नदिएको मुद्दा छापाहरुमा आइरहेको थियो।
महानायक राजेश हमालले त त्यो देखेर आएर आफुलाई नेपालीहुनुमै पहिलो पटक लज्जा बोध भयो भनेर फेसबुकमा लेखे।
आफनो आँखा अगाडी आफुसँग भएको मान्छे माथि भएको घटना देख्दा महानायक राजेशलाई नेपाली हुनुमा लज्जा महसुस भयो। दिनहुँ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस्ता घटना भोग्ने हजारौँ दलितहरुलाई कस्तो लाग्दो हो? मन्दिर गई टाढैबाट पुजा गरेर फर्किने दलितले के महसुस गर्दो हो? देशको नागरिक भए वापत सरकारी अड्डामा गएर सेवा लिँदा परिचय दिने वित्तिकै सिधै तपाईँबाट तिमि र तँ जस्तो शव्दमा झर्ने नेपालीले कस्तो महसुस गर्दो हो? आफनो योग्यता र क्षमताले कुनै स्थानमा पुगेको मानिसलाई दलित भएकै कारण असहयोग गर्दा त्यो मानिसले के महसुस गर्दो हो? यो भावनालाई व्यक्त गर्ने शब्द सायद बनेकै छैन।
राजेश दाइ! सिराहाको घटनाका कारणले नेपाली हुनुमा किन लज्जा महसुस गर्नु पर्‍यो? लाज त तिनै मानिसले मानुन् जसले अमानवीय व्यवहार गरिरहेका छन्। राजेश दाइ, तपाई फिल्ममा समाजको कुरिति विरुद्ध लडनु हुन्छ, हामी वास्तविक जीवनमा नै त्यसका विरुद्ध लडिरहेका छौँ। फरक यति हो ३ घण्टाको फिल्ममा तपाइँले सफलता पाइ हाल्नु हुन्छ, हामीलाई भने सफलता पाउन गाह्रो छ। तर पनि तपाई जस्तो महानायकहरुले पाइला चाल्नु भयो भने फिल्ममा जस्तै गरि समाज साँच्चिकै फेरिन सक्छ। तपाईको फिल्मी चरित्र जस्तै मैले पनि स्वाभिमान र आत्मसम्मानको अगाडी नुझक्ने प्रण गर्दै आफनो मानमर्दन र अवमुल्यनलाई सहन नसकेर १२ वर्ष देखि गर्दै आएको जागिर छोडिदिएँ। आफुमा क्षमता भए पछि जागिर गर्न एक ठाउँमा रोकिएला, अर्को ठाउँमा त कस्ले रोक्न सक्छ र? उस्तै पनि श्रमजिवि र पाखुरी बजाएर खाने जात हौँ हामी दलित, यसरी नै चिनिएका पनि छौँ।
अन्तमा फेरी पनि भन्छु, राजेश दाइ, लज्जा महसुसको साटो फिल्म जस्तै वास्तविकतामा पनि कुरिति र अमानविय व्यवहारका विरुद्ध लड्न हामीलाई साथ दिनुस रियल हिरो बनेर। मलाई भने दलित हुनु र नेपाली हुनुमा फेरी पनि गर्व छ। बाँकि रह्यो समाजको कुरो, यसलाई हामी सबै मिलेर बदल्ने हो।
सेतोपाटी बाट साभार

No comments:

Post a Comment