Monday, August 10, 2015

दलित पनि खस आर्य नै हुन् - मिलन परियार

२०७२ साउन २५, विभेद विरुद्ध अभियान ।

असार दोस्रो साता बहु प्रतिक्षित संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान २०७२ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरिएपछि यतिखेर राजनीतिक बृत्तमा नया बहसको सृजना भएको छ । नया बहस मात्र होईन मस्यौदाको जगनै खलबलिने संकेत देखा परेको छ । मस्यौदाको जग भनेको १६ बुदे सम्झौता हो । सत्तापक्ष र बिपक्षीबीचको लामो राजनीतिक संघर्षपछि १६ बुदे सम्झौताको जगमा प्रारम्भिक मस्यौदा सार्वजनिक गरिएको हो । धेरै लामो प्रतिक्षापछि संबिधानको मस्यौदा जनतामाझ सार्वजनिक भएपछि जनताको राय सुझाब संकलन पश्चात नेपाली राजनीतिमा नया बहस सृजना भएको हो । बहसले १६ बुदे सम्झौता संकटमा मात्र होईन दलहरुबीच फेरी विवादको संकेत देखा परेको छ । नेता,नागरिक समाजका अगुवा,पत्रकार,कानुनबिद्,दलित अधिकारकर्मी,महिला अधिकारकर्मी,मधेशी,मुस्लिम लगायतका उपेक्षित समुदायलाई आन्दोलित बनाएको छ । यो संबिधानको मस्यौदा सहमतीको दस्ताबेज हो । यो संसदबादी दल र पहिचान पक्षधर गणतन्त्रबादी दलबीचको सहमती मात्र होईन बर्षौदेखि उपेक्षित समुदाय दलित,महिला,मधेशी,मुस्लिम,आदीबासी जनजातीले लामो समयदेखि गर्दै आएको आन्दोलनको दस्तावेज पनि हो । 
संबिधानको मस्यौदामाथि जनताको राय,सुझाव संकलन गर्न संबिधान सभाले एक महिने कार्यसुचि निर्धारण गरेपनि साउन मसान्त भित्रै संबिधान जारी गर्ने नाममा कार्यसुचिको २८ दिन निलम्बन गरि फास्ट ट्रयाक नाम दिई देशैभरका दुई सय ४० निर्वाचन क्षेत्रमा साउन ४ र ५ गते दुई दिन मात्रै सुझाब संकलन गरिएको छ । जनताको राय,सुझाव संकलनका लागि १६ बुदे सम्झौतामा हस्ताक्षर गर्ने दलका सभाषद्हरु निर्वाचन क्षेत्रमा खटिएका थिए । संबिधान सभा सचिवालयका राष्ट्र सेवक कर्मचारीहरु मस्यौदासहित चार दिन अघिनै जिल्लाभर परिचालन गरिएपनि सुझाव संकलनका लागि सिमित ब्यक्तिलाई मात्र खबर गरिएको थियो । सुटुक्क चोरी शैलीमा प्रत्येक निर्बाचन क्षेत्रमा घण्टे कार्यक्रम आयोजना गरी सुझाव संकलन गरिएको थियो । देशैभरका उपेक्षित समुदाय दलित,महिला,आदीबासी जनजाती,मधेसी,मुस्लिम लगायतका समुदायहरुले मस्यौदाको कागज सम्म देख्न पाएनन् । कडा सुरक्षा घेराबीच बन्द सभाहलमा गरिएको सुझाव संकलन कार्यक्रममा सदरमुकामका सुकिलामुकिलाहरु मात्रै सहभागि थिए । मस्यौदा अध्ययन गर्ने र सुझाब दिने सबै सदरमुकाम बस्ने सरकारी कर्मचारी,एनजिओकर्मी,पत्रकार र राजनीतिक दलका कार्यकर्ताहरु मात्रै थिए । यो कर्मकाण्डी सुझाव संकलनमा मुकामबासीले आफू अनुकुलका मात्रै सुझाव दिएका छन् । बिवादित बिषयहरुमा मिश्रित सुझाव रहेपनि धर्म निरपेक्षताको ठाउमा हिन्दु राष्ट्र वा धार्मिक स्वतन्त्रता लेखिनु पर्ने,प्रदेश संख्या कम हुनु पर्ने,बहु पहिचानको आधारमा संघियता बनाईनु पर्ने आदी प्रमुख सुझाव रहेका छन् । 
घुमाउरो शैलीमा दलित,महिला,जनजाती,मधेसी,मुस्लिमले उठान गरेका माग र एमाओवादीको पहिचानको मुद्धा र दशबर्षे जनयुद्धको बलमा भएको संघियता,धर्म निरपेक्षता र समाबेशीको मुद्धालाई निरुत्साहित गर्ने सत्तापक्ष कांग्रेस र एमालेको रणनिति हो । मस्यौदामाथि देशैभर वा बिदेशमा बस्ने नेपालीहरुले पनि विभिन्न माध्यमहरु मार्फत सुझाव दिई रहेका छन् । यो पंक्तिकार स्वयं मुकामबासी भएर पनि साउन ४ गते मात्रै मस्यौदा अध्ययन गर्ने मौका पाए । रेडियो नेपाल क्षेत्रिय प्रशारण केन्द्र दिपायलका प्राबिधिक अधिकृत भीम घिमिरेले गत असार २७ गते गोरखापत्रमा छापिएको मस्यौदासहितको पत्रिका उपलब्ध गराई अध्ययन गर्ने मौका जुराई दिएका हुन् । सरसर्ती मस्यौदा अध्ययन गरे । क्षमतावान भएर पनि समाजमा अछुतको दर्जामा जिउनु परेको मेरो लागि मस्यौदालाई पत्रकार भन्दा पनि दलितको आखाले हेरे । भाग ३ को धारा २३ समानताको हकको उपधारा २ मा बाहुन,क्षेत्री,ठकुरीलाई खस आर्य भनेर चित्रित गरी लेखेको पढे । अधिकांस भाग र धाराहरुमा खस आर्य नै लेखेको पढे । त्यही आखा अडिए । निकै घोत्लिए । एकछिन त निकै रिस उठ्यो पनि सायद मस्यौदा लेख्ने सभाषद् नजिकै हुदा हुन त केही गरि पनि हाल्थे हुला । 
एमाओबादी,मधेशबादी र अशोक राई नेतृत्वको संघिय समाजबादी पार्टीसहितको पहिचान पक्षधर दलहरुको ३० दलिय मोर्चाले पहिचान सहितको संघियता निर्माण गर्न चर्को दवाव दिएपछि लामो समयदेखि अबरुद्ध रहेको संबिधान लेखन प्रक्रियाले १६ बुदे सम्झौता मार्फत गति पाएपछि पहिचान भनेको जात वा थर हो भन्ने परम्परागत बुझाई भएका वा बाहुन,क्षेत्री,ठकुरीको अस्तीत्व संकटमा पर्न सक्छ भन्ने बुझेका बाहुनबादी सोच भएका कांग्रेस,एमालेका नेताहरुले घुमाउरो शैलीमा उत्कर्षमा पुगेको पहिचानको पेचिलो मुद्धालाई तुहाउन बाहुन,क्षेत्री,ठकुरीको अधिकार सुनिश्चित गर्न खस आर्य भनेर लेखेका हुन् । यसो लेख्दा दलितहरु माथि ठूलो अन्याय मात्र होईन दलितहरुलाई यो संबिधानले अझै बर्षौसम्म अछुत बनाई राख्ने सत्तासिन दलका नेताहरुले खेल रचेका छन् । किन भने दलितहरु पनि खस आर्य नै हुन् । तर खस आर्य भनेको बाहुन,क्षेत्री,ठकुरी हुन वा दलित होईन भन्ने आशय प्रष्ट बुझिएको छ । बिश्व ईतिहासले मानिसका चार वटा जात मात्र रहेको कुरा पुष्टि गरेको छ । बिश्वमा चार जात मात्र छन् । जात भनेको नश्ल हो । थर होईन् । चार वटा जात बारे तल चर्चा गरिएको छ ।  
प्रसंग एक खस आर्य
इसापूर्व पन्ध्रौ शताब्दीतिर युरोपबाट आएका आर्यन्हरुले भारतमाथि कब्जा गरेपछि हिन्दु धर्मको सुरुवात भएको हो । ती आर्यन्हरु फारसी अर्थात अहिलेका इरानका बासिन्दाहरुका पूर्खा हुन् । तिनीहरुले भारतमाथि आक्रमण गरे र त्यहाका स्थानीय मूल बासिन्दाहरुलाई कब्जामा लिई दास बनाए । ती स्थानीय मानिसहरुमाथि शासन गर्न तिनीहरुले आफूलाई उच्च अनि स्वतन्त्र वर्गमा राखे । त्यसैको आधारमा हिन्दु धर्मको सुरुवात भारतबाट भएको हो । आर्यन्हरुले हिन्दु धर्मको सुरुवात गरेपछि भारतबाट नेपालमा भित्रिएको हो । हिन्दु धर्मको प्रभाव सबैभन्दा बढी भारत र नेपालमा भएकाले यी दुबै देशको सामाजिक स्वरुप बर्ण व्यवस्थामा आधारित छ । आर्यन्हरुलाईनै तहगत रुपमा बिभाजन गरी ब्राम्हण,क्षेत्री,बैश्य र सुद्र भनि बिभाजन गरिएको हो । कामको आधारमा बिभाजन गरिएको यो समूहलाई कालान्तरमा आएर जात भनेर प्रचार गरिदै आएको हो । ब्राम्हणले लेख्ने जोशी,भट्ट,जैशी थर हो जात होईन् । ब्राम्हण समुदाय हो जात होईन् । जात त आर्य हो । ब्राम्हणले क्षेत्री,बैश्य वा सुद्रसंग विवाहबारी गरे वा सम्वन्ध कायम गरे उसलाई जातबाट खसाल्ने परम्परा अनुसार जातबाट खसेर खत्री बनाईयो र नामको पुछारमा खत्री लेख्ने  गरियो त्यसैलाई खस भनिने गरेको हो । जनै लगाउने मात्र आर्य होईनन् । दलितलाई अछुत मानिएको हुनाले मात्र उ जनै लगाउनबाट बंचित भएको हो । हिन्दु धर्ममा उल्लेख भए अनुसार जनैलाई शरिरको रक्षा कवचको रुपमा लगाईने हो तर यहा हिन्दु धर्म मान्ने भएर पनि दलितहरु जनै लगाउनबाट बंचित छन् । कारण ब्राम्हणले ब्रतीमन गर्दा कर्मकाण्ड नगरिदिएर मात्र हो । मेरो परिवारलाई डोटीमा ब्राम्हणले चिन्ने भएकाले ब्रतीमन गर्न घरमा नआईदिएका हुन तर मेरो काका र दाजुहरु सबैले काठमाण्डौको बंगलामुखि मन्दिरमा ब्राम्हणद्धारा जनै लगाएका छन् मलाई पनि लगाउन अनुरोध गरेपनि मैले मात्र आबश्यक नठानेर नलगाएको मात्र हो । 
प्रसंग दुई मंगोलियन
आखा च्याप्टो,नाक थ्याप्चो वा छोटो कद भएका जनजातीहरुको जात मंगोलियन हो । यीनलाई सेता मगुराली पनि भनेर चिनिन्छ । मंगोलियाबाट नेपालमा प्रबेश गरेका मंगोलियनहरु नेपालका हिमाली क्षेत्र देखि बिभिन्न क्षेत्रमा छरिएर रहेका छन् । मंगोलियन जातीकाले पनि हिन्दु धर्म मान्ने भएपनि जनै लगाउदैनन् । बाहुन,क्षेत्री,ठकुरीले मात्र जनै लगाउछ भन्ने मान्यता रहे अनुसार जनजातीहरु पनि जनै लगाउनबाट बंचित रहेका छन् । जनजातीले लेख्ने राई,लिम्बु,तामाङ,गुरुङ,थारु,मगर जे जती छन् यी थरहरु हुन् । तर धेरै जनजातीहरुले यो नै जात हो भन्ने बुझेका छन् ।
प्रसंग तीन ककेसाईड (हप्सी)
अफ्रिकी मुलुकमा बस्ने काला,नाक र थोल उचो भएकाहरु हप्सी हुन् । यीनको जात ककेसाईड हो । यीनिहरु गर्मि समयमा बस्ने गर्छन् । 
प्रसंग चार द्रबिड
द्रबिड भारतको मद्रास र बिहार राज्यमा बसोबास गर्ने छोटो कदका हात लामो र टाउको सानो भएका न काला न गोरा हेर्दा बीचका जस्ता देखिनेहरु द्रबिड जाती हुन् । यीनिहरु भारतको बिहार राज्यसंग जोडिएका नेपालको तराई क्षेत्रमा पनि बसोबास गर्छन् ।  
मैले जाने बुझेसम्म माथि चर्चा गरेझै विश्वमा चार वटा जात छन् । जात भनेको नश्ल हो । जात सानो वा ठूलो हुदैन् बरु एकै जातमा पनि गुण फरक हुन सक्छ । बनावट फरक हुन सक्छ । गहु गोरो बर्णका सबै आर्य जाती हुन् । हामीले नामको पुछारमा लेख्ने भनेको थर हो जात होईन् । तर नेपालमा बर्ण व्यवस्था लागु गरि कामको आधारमा समूह बिभाजन गरी त्यसलाई जात बनाईयो तर बिज्ञान सम्मत भन्ने हो भने हाम्रो जात भनेको आर्य नै हो । थरलाई जात ठान्ने यो ढोंगी समाजमा आफूलाई ठूलो जात भनिएकाले सानो जातकोलाई विवाह गर्दा वा सम्बन्ध कायम गर्दा जात खसेको मान्ने गरिन्छ । बाहुन समुदायभित्रकाले आफूभन्दा तल्लो जाती भनिएकालाई बिवाह गर्दा खसेर खत्री भएको मानिन्छ । त्यसलाई खस भन्ने गरिएको हो यो अहिले आएर खस आर्य भएको छ । त्यसैले यो समाजले जे भनेता पनि आर्यनहरुले समूह बिभाजन गरि सुद्र बनाएको हुदा दलित पनि खस आर्य नै हुन् । जनै लगाउनेहरु मात्र आर्य होईनन् । समाजमा दलितलाई अछुत मानिएकाले पानी नचल्ने हुदा मात्र बाहुनहरु दलितको घरमा नआउने र दलितहरु हिन्दु धर्म मान्ने भएर पनि अछुत मानिएकै कारण धार्मिक कार्यबाट बंचित भएका हुन् । दलितहरु जनै लगाउन,नाग पंचमीमा हातमा धागो बाध्नबाट समेत बंचित छन् । त्यसैले जनै लगाउने मात्र आर्य होईनन् । यो कसैले ठानेको छ भने उसले गलत बुझेको छ । मस्यौदामा लेखिएको खस आर्य भित्र यो समाजले भन्ने गरेका बाहुन,क्षेत्री,ठकुरी र दशनामी मात्र होईनन् दलित पनि पर्छन् भन्ने शब्द उल्लेख गर्नका लागि दवाव सृजना गर्न सबै सचेत बर्ग,दलित समुदाय लाग्न जरुरी छ । सबैलाई चेतना भया । 

No comments:

Post a Comment