Wednesday, September 9, 2015

​गाउँमा श्रीमान्, शहरमा श्रीमती : देखभेट नै नहुने यो कस्तो नियति !

पी.टी.लोप्चन  ,काठमाडौ‌, भदौ २३ - विभेद विरुद्ध अभियान ।एकजना श्रीमान्, बेपत्ता श्रीमती र छोरीको खोजीमा ओठमुख सुकाएर दिनरात खटे, प्रहरी कार्यालयमा धाए, नेपाली सेनाको गुल्ममा गएर रोइ कराई गरे । बल्लतल्ल चार महिनासम्मको खोजतलासपछि श्रीमती र छोरी काठमाडौंको एउटा अस्पतालमा उपचारको पर्र्खाइमा रहेको त पत्ता लाग्यो, तर आर्थिक अभावमा त्यहाँसम्म पनि पुग्न पाएन । यतिबेला श्रीमान आर्थिक अभावमा गाउँमै थला परेका छन् भने छोरी र श्रीमती अस्पतालको शैयामा भरपर्दो मानिसको पर्खाइमा छट्पटाईरहेका छन् ।  प्रसँग हो धुन्चे ६ रसुवाको । वैशाख १२ गते जिल्ला सदरमुकाम धुन्चेमा चामल लिन पठाएका सुकलाल विकका श्रीमती र छोरी बीचबाटोमै भूकम्पमा परेछन् । रसुवाको भार्कु भन्ने ठाउँमा माथिबाट झरेको सुक्खा पहिरोले बाटो थुनिएपछि सुकलाल हप्ता दिनपछि मात्र त्यस ठाउँमा पुग्नुभयो । त्यतिबेला उहाँका श्रीमती र छोरीलाई उपचारका लागि नेपाली सेनाले काठमाडौ‌ लगिसकेको थियो । सुकलालले चार महिनासम्म श्रीमती र छोरीको बारेमा पत्तो पाउनुभएन । विभिन्न माध्यमबाट छोरी र श्रीमतीको टुङ्गो लागेपनि रकम अभावमा उहाँले श्रीमती र छोरीलाई अझैं भेटन सक्नुभएको छैन । 

यस्तो छ आमा छोरीको अवस्था 

ग्वार्कोमा रहेको किस्ट मेडिकल हस्पिटलको ठूलो भवनको छैटौं तल्लामा बेड नं. ५३२ मा पल्टिरहनुभएकी सीता विकको सर्वस्व भन्नु नै त्यही सानी छोरी मात्र छिन् । उनी भूकम्पका बेला घाइते भएरै आमासँगै काठमाडौ आएकी थिइन् । छोरी पनि घाइते भएका कारण सीतालाई सहरा मिल्यो । नत्र यतिबेला सीता विक मात्र अस्पतालको बेडमा पल्टिरहनुपथ्र्यो । ललितपुरको बीएनवी हस्पिटल, सुनाकोठीको पोषण गृह हुँदै सीताका आमा छोरी अहिले ललितपुरको अन्नपूर्ण पुनस्र्थापना केन्द्र ग्वार्कोमा उपचार गराइरहनुभएको छ ।  आमाको स्याहार सुसार गरिरहेकी १० बर्षीया बालिका लक्ष्मी विकलाई आफूभन्दा ठूलो मान्छे आइदिए आमाको थप उपचार हुन्थ्यो भन्ने लागेको छ । आमाको तुलनामा कम चोट लागेको लक्ष्मी घाउ निको भएयता निरन्तर आमाको स्याहारसुसारमा खटिरहेको बताउँछिन् ।  ‘बुबा आँखा देख्नुहुन्न, घरका ठूलाबडा आएमा आमाको उपचार सकेर कतिबेला घर जाउँ जस्तो भएको छ’ लक्ष्मीले भनिन् । 
डाक्टरका अनुसार सीताको दायाँ खुट्टाको थप अपरेशन गर्नुपर्नेछ । तर अपरेशनको मन्जुरीनामामा हस्ताक्षर गर्ने व्यक्ति नहुँदा सीता घाउको दुखाइ सहेर बाँचिरहनुभएको छ । अस्पतालको शैयामा थप उपचारको पखाईमा पल्टिरहेकी सीता भन्नुहुन्छ ‘मेरो दायाँ खुट्टा केही छोटो पनि भएको छ, राती कटकट घाउ दुख्छ, दुख्न थालेपछि निद्रा पनि पर्दैन, यस्तो खुट्टा लिएर कसरी हिँडडुल गर्नु ? छोरी कोही पनि आएनन् बरु डाक्टरलाई विदा मागेर घर जाउँ भन्छे’ सीताले मनको बह पोख्नुभयो । 
आमाले यति भनिसक्दा नजिकै बसिरहेकी लक्ष्मीले पुलुक्क हेर्दै भनिन् ‘मैले धेरै पटक गाडीको टिकट काटेर घर फकाईदिनुहोस् भनेर डाक्टरलाई पनि भनें, तर उपचार गरेर मात्र जानुपर्छ भनेर डाक्टरले सम्झाउनु भएको छ ।’ केही दिन अघि भेट्न आएका भिनाजुले फेरि फर्केर आउछु भनेर आशा मात्र देखाएको लक्ष्मीले सुनाइन् ।
सीताको भरपर्दो नजिकका नातेदार नआउँदा अस्पताललाई पनि आपत परेको छ ।  ‘कुनै पनि विरामीले ढिला उपचार होस् भन्ने चाहेका हँुदैनन् हामी घाइतेको निकट व्यक्ति पर्खिरहेका छौं’ अन्नपूर्ण पुनस्र्थापना केन्द्रका निखिल भट्टराईले भन्नुभयो । 

श्रीमान्को वाध्यता 

आफ्नो अनुपस्थितिमा श्रीमतीको उपचार अधुरो रहेको राम्ररी थाहा छ, सुकलाललाई । तर यो उहाँँको बुता भन्दा टाढाको विषय बनेको छ । दृष्टिविहीन सुकलाल विकलाई हिँडडुल गर्न अरुकै भर चाहिन्छ । गोजीमा एक सुको नभएपछि अरुलाई जिम्मेवारी दिएर पठाउन पनि सक्नुभएको छैन । सुकलाल भन्नुहुन्छ ‘छोराछोरीले वास्तै गरेनन्, मैले गईदेउन भनेर छोरालाई भनें, ल ल भन्छन् तर अहिलेसम्म गएका छैनन्, मेरो आउने बाटो छैन कहाँबाट रकम ल्याएर म श्रीमतीलाई भेट्न जाउँ ?’  सीता विक, सुकलालका कान्छी श्रीमती हुन् । सीतापट्टीका दुई सन्तान दुवै नाबालक छन् । जेठी पट्टिका सन्तानले सीतालाई वास्ता नगरेपछि सीता थप उपचार पाउनबाट बञ्चित भएका हुन् । जेठीको मृत्युपछि कान्छी विवाह गरेका सुकलालका ९ बर्षीया छोरो मानवहादुरलाई बुबा डो¥याउँदै ठिक्क छ । ११ बर्षीया छोरी लक्ष्मी पनि भूकम्पपछि आमाको सुसारे बनेर अस्पतालमा बसेकी छिन् । कक्षा २ मा अध्ययनरत मानबहादुर र कक्षा ४ मा अध्ययनरत लक्ष्मी पढाईबाट बञ्चित भएका छन् । 
उज्यालो बाट 

No comments:

Post a Comment