Saturday, November 21, 2015

सबै उत्पीडित जातीहरु अब एकै ढिक्का हुनु पर्छ - सचिन्द्र श्रेष्ठ


मंसिर ५ , विभेद विरुद्ध अभियान ।गाउँ , शहर जहाँ तहि जातिय विभेद विरुद्ध विभिन्न खालका उत्सव ,नारा र जुलुशहरुमा जनताहरु लागी परेका छन् आफ्ना हक , अधिकार सुनिश्चीतको माग गर्दै आवाज बुलन्द गरेर बाटो ,चौबाटोमा हातमा हात र काँधमा काँध लिएर तछाड मछाड गर्दै दौडिरहेका छन् । नेपालको सर्वाङ्गीण विकासमा दलितका अलावा उपेक्षित वर्ग , समुदाय , जनजाति , सिमान्तकृत सम्पुर्णको विकास हुनु जरुरी छ । दलित आफुमा दलित होइन उनीहरुको आनि बानी , व्यवहार , संस्कार र चालचलनले उसलाई दलित भनेर हेला र हिंसा गर्ने परिपाटि हाम्रो समाजमा बिद्यमान छ । साथै दलित हुनु पुर्व जन्मको पाप पनि त होइन उसको व्यवहारले दलितको संज्ञा दिने गर्दछ ।
वि .सं .२००७ सालको जनक्रान्ति सँगै सामाजिक स्तरमा जातिय छुवाछुत विरुद्ध आन्दोलन भएको पाइन्छ । त्यो क्रान्तिको अभियान सँगै कानुनी रुपमा वि .सं .२०२० सालमा मुलुकी ऐन लागू भए पछि मात्र कानुनत ः सामाजिक भेदभाव र छुवाछुत प्रथाको अन्त्य भएको हो । तर पनि हालका समय सम्म आइपुग्दा ती जातिय भेदभावको अन्त्य हुन सकेको छैन् । दलितमा पनि सानो र ठुलो जात भनि आफैमा उपेक्षित हुनु पर्ने अवस्था आएको छ । उच्च धनि मानि जातिले गरिब र सानो जात भनेर छिँ छिँ र दुर दुर गर्ने समुह एवं व्यक्ति पनि स्वयं दलित नै रहेका छन् । दलित भित्र पनि असंख्य दलितका उच्च धनिमानि बाहुनहरु रहेकाले दलितका मुद्दा ज्यूँका त्यूँनै छन् । साथै पेशागत दृष्टिकोणले पनि सानो खालका रोजगारी , दैनिक मजदुरी गर्ने , सहज अरुले विश्वास गर्न नसक्ने भएका कारण पनि दलित आफैमा उपेक्षित हुनु पर्ने अवस्था छ । फोहोरी प्रवृत्ति देखाउने भएकाले पनि अरु जातिको तुलनामा गिरनु पर्ने अवस्था छ । तर अहिले दलितमा रोजगारी , सफासुग्घर , आनीबानीमा सुधार ,विभिन्न संघ संस्थामा संलग्न ,राजनितिक छवि उच्च भएता पनि दलित दलितको भेदभावले भने दलितलाई माथि उठाउन सकिरहेको छैन् ।
दलितलाई अन्य गैह्र जातिले भेदभाव गर्ने भन्दा पनि आफ्नै दलितले नै हेला र दूर दूर गर्ने बढि देखिन्छ जसको दूरी मात्र उच्च कोटीको धनी दलित र सानो निम्न स्तरको गरिब दलित हो । तर पनि दलित तथा उपेक्षित जातिहरुले अपेक्षा गरे अनुरुप प्रतिफल एवं सुधारको अनुभुति गर्न सकिरहेका छैनन् । यस्तो खालको स्थिति रहनु मुख्य कारण दलित भित्र पनि छुवाछुत हुनु हो , दलित एवं उपेक्षित जातिहरुमा दिने कार्यक्रमहरुमा दिगोपन नहुनु , राजनितिक खिचातानिमा रुमलिनु , गैह्रदलित भनेर सहि पहिचान लुकाउनु वा नाम थर ढाँटनु , दलितलाई आएका कार्यक्रमको सहि अनुगमन र सुपरिवेक्षण नहुनु हो । यस्ता खालका कमी कमजोरीलाई हटाई एक आपसमा भाईचारा र विकास एवं जातिय संरक्षणमा लाग्नु पर्दछ । परम्परा , धर्म, संस्कृति , प्रथा , जातिगत नाममा दलितलाई समावेश नगराएको धेरै नै देख्न र भोग्न पाईन्छ साथै बोक्सीका आरोपमा घरदेखि बहिष्कार हुनु , सानो जात पानी नछुने भनि मठ मन्दिर प्रवेशमा रोक लगाउने खालका प्रवित्ति पनि अनगिन्तीनै छन् । जसका कारण अनगिन्ती दलित यूवाहरु विदेश पलायन हुनु पनि एक हो ।
प्रजातन्त्रको स्थापना पश्चात विभिन्न राजनितिक आन्दोलनमा दलितहरु को बलिदान अतुलनिय योगदान रहेको छ । त्यसमा पनि टाठाबाठा दलितहरुनै अगाडी बढेको देखिन्छ माथी उल्लेखित शिर्षकले बाहुनहरु वा अन्यजातीलाई नराम्रो वा भ्रमित पार्न खोजेको होइन मात्र परापुर्वकाल देखि बाहुन भन्ने बित्तिकै उपल्लो जात भनेर चिनिने र सम्मान गर्ने भएका कारण उल्लेख गर्न खाजिएको हो तर अहिले दलितमा समेत ठुलो जात र सानो जात वा पानी चल्ने वा नचल्ने भनि आएको जातीय भेदभावलाई उजागर गर्न जोडिएको हो ।
यसै सन्दर्भमा रमा वि.क. ( नाम परिवर्तन ) विगत १ बर्ष देखि बजारमा बसेर अध्ययन गर्दै आइरहेकी छिन् । उनको घरधनिले दलित भन्ने थाहा पाए पछि घर बाट नै निकालि दिए । उनले भनिन –‘पहिले मैले नाम ढाँटेर बहालमा बसे एक दिन मेरा बा मलाई भेट्न आउनु भयो र घरभाडा दिदाँ म विश्वकर्मा हो भनेर भन्नु भयो घरधनिलाई , पछि बा गएको २ दिनमा घर खालि गर भनेर धम्काए ’। यस्तै गरि सुजिता नेपाली (नाम परिर्वतन ) उनी ३ बर्ष देखि एक एनजिओमा काम गर्छिन र काम गर्ने अफिसमा  नै बस्ने गर्छिन् । उनी बस्ने घरबेटी बाहुन हुन् , उनको घरबेटी सँग राम्रो सम्बन्ध छ । एक अर्का सँग राम्रो हेलमेल भएका कारण सँगै बसेर नास्ता समेत खान्छन् । उनी सँगै काम गर्ने संस्थामा अन्य जातीहरु पनि जागीर खान्छन् । उनले भनिन –‘हामी स्टाफ मिटिङ सकेर खाजा खान थाल्यौ , घरबेटी मन्दिर गएर आउनु भएको रहेछ सबैलाई टिका र प्रसाद दिनु भयो तर मलाई न टिका लगाई दिनु भयो न त प्रसाद नै दिनु भयो , मलाई अचम्म लाग्यो पहिले सँगै बसेर खाजा खान्थ्यौ तर आज किन यस्तो गर्नु भयो दिदिले थाहानै भएन् पछि बुझ्दा त थाहा भए छ कि म दलित भनेर अरु साथीले भनिदिएछन् र नदिनु भको रहेछ । ’
श्यामे दमै ( नाम परिवर्तन ) पनि आफ्नै गाँउमा पानीको इनार छोएको निहुँमा कठोर यातना , कुटपिटमा परे । श्यामेले भने –‘ बिहान पानी लिन इनार गएको थिए गाग्री इनारमा डुबाउन नपाउँदै सबै गाँउले एकजुट भएर पिटे , मैले किन पानी भर्न नपनउने भनेर बोल्दा उल्टै जाइलागे तर हाम्रा ठुला बा लाहुरे र समाजसेवी हुन् तर उनलाई रोकावट कतै बाट छैन् ।’ राजन सुनार (नाम परिर्वतन ) २ बर्ष देखि अर्काको घरमा भाँडा माझेर बस्छन् तर उनी कहिल्यै घरधनि सँगको कोठामा सुत्दैनन् । राजन भन्छन् –‘सधै भाँडा माझ्छु तर खाने बेलामा पिँढीमा बसेर खान्छु र सूत्ने बेलामा पनि भ¥याङ मुनि सुत्छु घर भित्र पस्न दिँदैनन् ।’सीता रसाइली (नाम परिवर्तन ) १ बर्ष पहिले माथिल्लो जात सँग विवाह गरेकोले उनलाई घरमानै भित्रिन दिएनन् । उनी भन्छिन् –‘मलाई जात ढाँटेर विवाह गरेको हो यो सानो जातकी रहिछ यसलाई घरमा राख्नु हुन्न गाँउमा बस्यो भने हाम्रा इष्ट मित्र समेत रुष्ट हुन्छन् , त्यो पतिले पनि छाड्यो मलाई अहिले मर्नु न बाँच्नु भएको छ ।’
माथिका आवाजहरुले पिडा बोलेको छ जहाँ धनि र गरिब , सानो जात ठुलो जात , पानी चल्ने र नचल्ने विभिन्न कुराहरुलाई उजागर गरेको छ । राज्यले छुवाछुतलाई कानुनी रुपमा अपराध माने पनि हाम्रो गाँउ घरमा यस्ता घटनाहरु दिनानुदिन बढिरहेका छन् । जातीय भेदभाव तथा छुवाछुत ऐन बने पनि सबै तह र तप्कालाई समेट्न सकिरहेको छैन् । आफ्नै जातीमा समेत छुत अछुतको संज्ञा पाउनुले पनि जातीय मुद्दाहरु ओझेलमा परिरहेका छन् विभिन्न अधिकारकर्मी , समाजसेवि पनि राजनितिको खोल अ‍ोढ्नाले निरह , गरिब , असाहय , असक्त जाती प्रतिको भेदभाव भने रोकिन सकिरहेको छैन् झन झन भुसको आगो सरी सल्किरहेको छ सबै उत्पीडित जातीहरु अब एकै ढिक्का हुनु पर्ने भएको छ । दलित , जनजाति , सिमान्तकृत पनि राष्ट्रका सम्पत्ति हुन् उनीहरुलाई सामाजिक चेतनामा अभिवृद्धि , सीप रोजगार अवसरमा समानता , सामाजिक सद्भाव र समान अवस्था सिर्जना गर्नु जरुरी छ ।

No comments:

Post a Comment