Sunday, January 31, 2016

यस्तो छ बहिष्करणको दलन

माघ १८ - विभेद बिरुद्ध अभियान -पछिल्लो १५०० वर्षअगाडि निर्माण भएको इस्लाम महासभ्यतालाई पनि जोड्ने हो भने पाँचवटा महासभ्यता नेपालभित्र छन्। तर पाँचवटा महासभ्यता हुँदाहुँदै पनि विशेषतः पृथ्वीनारायण शाहको गोरखा राज्यको विस्तार अहिलेको नेपाल निर्माण, त्यसपछि जंगबहादुरको उदय र मुलुकी ऐन आइसकेपछि नेपाललाई जसरी समाजलाई निर्माण गर्ने प्रयत्न गरियो, विर्ताहरु बाँडियो, जागिरको नाममा विर्ताहरु आफ्ना कर्मचारी वा भारदारहरुलाई बाँडियो, हिन्दु मन्दिर र गुठीहरुको नाममा विर्ता सिर्जना गरियो, यो सबै कोणबाट हेर्दा नेपाली समाजको बनावट परम्परागत वर्णव्यवस्था र त्यसमाथि जंगबहादुरले १९१० मा जारी गरेको मुलुकी ऐनमा आधारित भएर नेपाली समाजको संरचना गरियो। त्यसपछि नै विविध प्रकारका उत्पीडन सुरु भए।


सुदुरपश्चिममाथि जब गोरखाली सेना गयो, उनीहरु अंग्रेजसँग मिलेर हर्षदीप जोशीको नेतृत्वमा गोरखाली फौजसँग लडे। तर उनीहरु हारे। हारेका कर्णालीपारीका १५०० जनालाई लहरै उभ्याएर १४९८ जनालाई काटियो। दुईजना उपाध्याय ब्राम्हण परे भनेर काटिएन। तिनका परिवारमा अविवाहित कन्या केटी खोज्दै जाँदा पाँच सय जना भेटियो। पाँच सयजना कन्या केटी लगेर काशीमा पन्डाहरुलाई पाँचपाँच रुपैयाँमा बेचियो। सुदुरपश्चिमको कथा यही हो। त्यहाँबाट सुरु हुन्छ क्षेत्रीय उत्पीडन।



प्राकृतिक रुपमा डडेलधुरा इलामभन्दा कम छैन। तर त्यो दमनमै पर्‍यो किनकि सुदुरपश्चिमले कहिल्यै पनि काठमाडौंको केन्द्रसँग आत्मसमर्पण गरेन। लिम्बुवानले १८३१ मा सन्धि गर्‍यो र आफ्नो संघर्ष त्यहीँ बिसाइदियो। किराँतले पनि त्यहीँ नै बिसायो। गुरुङ र मगर त पृथ्वीनारायण शाहको सेनामै भरपर्दा थिए, लड्ने कुरा थिएन। तामाङ राजालाई गजुलदहमा काटिसकेपछि तामाङहरुले पनि लड्न सकेनन्। तर सुदुपश्चिमले २०१९ सालको बैशाखसम्म काठमाडौंसँग लडिरह्यो।



गोरखाका लखन थापालाई पहिलो सहिद भनिन्छ तर त्यो भन्दा २७ वर्षअघि बझाङका बाँकावीरले राणातन्त्रको विरुद्ध वा केन्द्रीय सत्ताको विरुद्ध विद्रोह गरेका थिए। राजखलकका बाँकावीरको बास्तविक नाम वलवीर सिंह थियो। जाजरकोट र दैलेखका समेत सेना लगेर बाँकावीरको हत्या गरिएको थियो। केन्द्रीय सत्ताको विरुद्ध लड्ने पहिलो सहिद उनी हु्न्।



बझाङका बाँकावीरको हत्यापछि जयपृथ्वीबहादुर सिंहलाई चन्द्र समशेरले आफ्नी छोरी दिए तर जयपृथ्वीबहादुर सिंहले भने कि चन्द्र समशेरलाई नेपालमा बेलायतको जस्तो संविधान चाहिन्छ। त्यसपछि उनीहरुको अन्तरविरोध सुरु भयो र जयपृथ्वीबहादुर सिंह नेपालमै बसेनन्। उनकी छोरी पनि त्यगिदिए। विदेशमा गएर बसे। त्यहाँ पनि केन्द्रीय सत्तासँग सुदुरपश्चिमको आत्मसमर्पण देखिँदैन। त्यसपछि राजा महेन्द्रले बझाङकै राजपरिवारका ओमसिंहलाई आफ्नी छोरी दिने प्रस्ताव गरे भनेर त्यहाँका मान्छेले भन्छन्, कहीँ लेखिएको छैन। तर उनले भने कि तिमी त ठकुरी नै होइनौ के बिहे गर्ने? ओमसिंहले मेरो गुमेको राज्य फेरि चाहिन्छ भनेर हतियार उठाए।



त्यसपछि उनलाई लखेट्दै लगेर दार्चुलामा २०१९ सालको बैशाख महिनामा हत्या गरियो। ओमसिंहको १९ सालमा हत्या भएपछि मात्र सुदुरपश्चिमले पुरानो खालको विद्रोह छोडेर नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्‍यो। त्यसकारण सुदुरपश्चिममाथिको जे दमन देखिन्छ, त्यो सुदुरपश्चिमले केन्द्रीय शासनसँग जोरी खोजेपछि भएको हो। यो भयो जंगबहादुरको मुलुकी ऐनपछिको क्षेत्रीय उत्पीडनको प्रसंग।



काठमाडौंले योजनाबद्ध रुपमा द्वेषपूर्वक दमन गरेको हुनाले सुदुरपश्चिम पछाडि परेको हो। पूर्व किन विकसित भयो? दार्जलिङ नजिक भएकोले विकसित भएको होइन। पूर्वले छिट्टै नै पृथ्वीनाराण शाहसँग सन्धि गरेको हुनाले त्यहाँ विकास भयो। क्षेत्रीय उत्पीडन सुदुरपश्चिममाथि देखा पर्‍यो, मधेसमाथि देखा पर्‍यो, नेपालका जनजातिहरुमाथि देखा पर्‍यो। समग्रमा पहाडिया खस अहंकारवादमा आधारित हिन्दु उच्चजातीय र पुरुषवादी सत्ता जुन ढंगले लागू गरियो त्यसले नेपालमा वर्गहरु पनि विल्कुल नयाँ ढंगले निर्माण हुन थाल्यो। र, जातमा आधारित वर्ग, पहाडमा आधारित वर्ग, रंगको शास्त्र पनि त्यहीँबाट सुरु हुन थाल्यो।



नेपालमा सौन्दर्यमूल्य हेर्‍यो भने कि त वर्ण व्यवस्थामा आधारित छ कि त पहाडमा आधारित। सौन्दर्य मुल्य, हेर्ने दृष्टिकोण, सोच्ने तरिका, आर्थिक वर्गको निर्माण सबै नै यही दुई आधारमा भएको छ। हिमालको गोरो मान्छे पनि नराम्रो, तराईको कालो मान्छे पनि नराम्रो, चुरेभन्दा माथि र महाभारतभन्दा मुनी बस्ने गहुँगोरो? राम्रो? पृथ्वीनारायण शाहको खलक जहाँ बस्छ त्यहाँको राम्रो। त्यहाँका चरा पनि राम्रा, फूल पनि राम्रा। नेपालमा वर्ण व्यवस्था तीनवटा समुदायले छलेका छन्। मारबाडीले, थकालीले र तराईको कायस्थले। बाहुन भन्दा बढी पढिदियो कायस्थले। थकालीले आफूलाई अघि बढाएको ठकुरीले थाहै पाएन। उसले ढुकुटीप्रथा निर्माण गर्‍यो। मारबाडी हिन्दु समाजभित्रको अपवाद हो। उसले आफ्नो समुदायभित्रको अर्थतन्त्र र एकताको नयाँ मोडल निर्माण गर्‍यो। अरुले वर्णव्यवस्थालाई छल्नै सकेन। 

बहिष्करणको दलन


बहिस्करणको मुख्य कारक सत्ताको निर्माण र यसको संरचना हो। मन्त्री, सचिव, सेनापति को को बन्ने त प्रष्ट थियो नि त। ३१ सालसम्म सेनामा एउटा कानुन थियो। सेकेन्ड लेफ्टिनेन्टमा ट्रेनिङ गर्न आउनेहरुलाई वेश्यावृत्ति गर्न पनि भत्ता दिइन्थ्यो। किन दिने रहेछ त भने सेकेन्ड लेफ्टिनेन्टमा ट्रेनिङ गर्न आयो, जर्नेलकै खलक आए त ठिकै छ नत्र सामान्य नागरिक पनि फुर्तिफार्ति गरेर आइदिने भए कोहीकोही। के गर्दा रहेछन् भने सेकेन्ड लेफ्टिनेन्ट हुनेबित्तिकै ऊ भोलि जर्नेल हुने सम्भावना पैदा भैहाल्यो। त्यसपछि तीन तीन महिनामा जर्साबका छोरीहरुसहित पिकनिक गराउँदा रहेछन् पास भएर आउने ज्वाइँ परोस् भनेर। छनोटको स्वतन्त्रता कम भएपछि त प्रेम पनि भइहाल्ने भयो। ट्रेनिङ सकिएपछि तीन महिना विदा दिने रहेछ। गाउँमा पुग्दा बिहे गरिदिने खतरा। त्यो तीन महिना वेश्यावृत्ति गर्न भत्ता दिने ताकि गाउँमा बिहे नगरोस् र जर्साबकै छोरीहरुसँग बिहे गर्न आइपुगोस्। चानचुने राजनीति हो त यो? यो नियमअनुसार नै गरिएको कुरा हो।



त्यसकारण नेपालको सत्ताले एउटा निश्चित संरचना भित्र निश्चित जाति र निश्चित खलकलाई मात्र पुर्‍यायो। ब्राम्हण भनेपछि सबै ब्राम्हण लुटिखाने भन्ने परेको छ, त्यसो होइन। क्षेत्री बाहुनबाट आएका निश्चित मानिस पो भनेको हो त। सबै क्षेत्री बाहुनले कहाँ खान पाएका छन्?



त्यसभित्रबाट आएका निश्चित खलकले राज गरे भनेको हो। अरु त उत्पीडित नै हुन् नि। निश्चित खलकले सत्ताको संरचना यसरी बनाएका थिए/छन्। संरचना टिकाउन विचार चाहिन्छ। त्यसैले विचारलाई संस्कार बनाइदिनुपर्छ। नत्र टिक्दैन। पुरुषको जुँगा राम्रो भन्ने त भनेर भएको हो नि। राम्रै हो त त्यो ? होइन। मूल्य त स्थापित गरेको हो। 



पञ्चायतले त सौन्दर्य मूल्यसहितको व्यवस्था स्थापना गरेको हो। राम्रो, नराम्रो वा ठिक, बेठिक भनेर। त्यसकारण मुख्य कुरा संरचना हो। संरचनालाई टिकाउने भनेको विचारले हो। त्यसपछि सौन्दर्य मूल्य र त्यसपछि संस्कार आउँछ।



नेपालको इतिहासका तीनओटा यात्रा छन्। पृथ्वी नारायण शाहले नेपाललाई एउटा बनाएपछि वर्ण व्यवस्था हुँदै नभएको जनजातिलाई पनि वर्ण व्यवस्थाभित्र राखेर उनले राज्य सुरु गरे। अर्को हो मुलुकी ऐन। समाजलाई तहगत संरचनामा लैजान र आफ्नो ढंगले व्यवस्थित गर्न यसले महत्वपूर्ण भूमिका खेल्यो। तेस्रो यात्रा पञ्चायत हो।



पृथ्वीनारायण शाहले सबैलाई आफ्नो राज्यको अधिनस्थ ल्याए। त्यसपछि जंगबहादुरले त्यसलाई मुलुकी ऐनमार्फत वर्ण व्यवस्थाको सिस्टमभित्र हाले। त्यसपछि आउँछ पञ्चायत। महेन्द्रले गरेको के हो भने त्यो वर्णव्यवस्थामा आधारित वर्गीय सिस्टमलाई विचारधारा र सौन्दर्य मूल्यसहित फुल फेजको व्यवस्था बनाए।



यी तीनवटा आधारस्तम्भ हुन् नेपालको इतिहासको। अहिलको लडाइँ त्यसैका विरुद्ध हो। त्यसलाई नभत्काएसम्म नेपाली समाज अघि जाँदै जाँदैन। पञ्चायतले सिस्टम व्यवस्थित गर्न आदर्श नारीका रुपमा सीतालाई ल्यायो। कसरी आदर्श? बहस त हुनुपर्‍यो नि। भृकुटीलाई ल्यायो।



उनी त राज्यले बाध्य पारेको सहानुभूति गर्न लायक पात्र हुन्। तर उनैलाई आदर्श मान्न लगाइयो। राजा जनकलाई महर्षि भनियो। कपिल भन्ने भौतिकावदी दार्शनिक थिए। कपिल महान दार्शनिक नहुने तर राजा जनकचाहिँ किन हुने? ब्राम्हणहरुको सभा बोलाएको हुनाले? सबै अड्डाहरुलाई कार्यालय बनाइयो। चर्पीलाई शौचालय। मौलिक नेपाली शब्दलाई काटकुट गरेर संस्कृतिकरण गरेर आलय प्रत्यय जोडेर, फटाफट बनाइदियो। समग्र सौन्दर्य मूल्य सहितको पञ्चायत हो त्यो। हाम्रो नेपाली समाजमा गरिबहरुको मुक्ति भने पनि मधेसको मुक्ति भने पनि त्यही सिस्टमसँग लड्ने हो।



(लेखक आहुतिले नेपाल लिटरेचर फेस्टिभलको पाँचौ संस्करणमा 'बहिष्करणको दलन' शीर्षकको छलफलमा व्यक्त गरेको विचारको सम्पादित अंश।)
 नेपाल लिटेरचर फेस्टिभल, पोखरामा , बहिष्करणको दलन, आहुती र प्रशान्त झासँग युग पाठकको कुराकानी 




pearlstjournal बाट

No comments:

Post a Comment