Wednesday, January 20, 2016

बौद्धिक वर्गमा अझै परिवर्तन भएको छैन : डा.विष्णु नेपाली

माघ ५ , विभेद बिरुद अभियान  विद्यालय जीवनदेखि नै मेधावी छात्र विष्णु नेपालीको सानैदेखि डाक्टर बन्ने लक्ष्य थियो । उनले आफ्नो लक्ष्य प्राप्तीको लागि निरन्तर अथक मेहनत गरे । पोखराको मालेपाटनमा जन्मिएका नेपाली विगत आठ वर्षदेखि चिकित्सा क्षेत्रमा कार्यरत छन् । उनले मालेपाटनकै अमरज्योति बोर्डिङ स्कुलबाट एसएलसी सकाए र माउण्ट अन्नपूर्ण कलेजबाट आईएस्सी उत्तिर्ण गरे । सरकारी कोटामा छात्रवृत्तिमा नाम निकालेर रुसको पिपुल्स फ्रेण्डशिप युनिभर्सिटी अफ रसियाबाट एमडी गरेका नेपाली विगत आठ वर्षदेखि चिकित्सा क्षेत्रमा संलग्न रहेका छन् । हाल मणिपाल अस्पतालको इमरजेन्सी इन्चार्ज रहेका नेपालीको पोखराको जिरोकिलोमिटरमा आफ्नै नेपाली मेडिकल हल समेत सञ्चालनमा रहेको छ । उनी हाल पोखराको बगालेटोलमा रहेको लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रा.लिका मेडिकल डाइरेक्टरको रुपमा पनि कार्यरत छन् । उनै डा.विष्णु नेपालीसँग गरिएको कुराकारीको सम्पादित अंशः
चिकित्सा क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
एसएलसी देखि नै डाक्टर बन्ने लक्ष्य थियो । एसएलसी पछि आइएस्सी छात्रवृत्तिमा पढियो । आइएस्सी पास भएलगत्तै मन्त्रालयमा परीक्षा दिए । नाम निस्किएपछि रुस गएर पढेर फर्किए । 
चिकित्सा क्षेत्रमा प्रवेश गर्ने प्रेरणा कसरी मिल्यो ?
सानैदेखि मलाई विद्यालय जीवन देखिनै मेरो लक्ष्य भनेकै चिकित्सक हुने थियो । पारिवारीक ‘सपोर्ट’ पनि भयो । मेरो दिदी पनि सुरुमा स्वास्थ्य क्षेत्रमै लाग्नुभएको हुँदा त्यता वेसी आकर्षण भएर गएको हुँ ।

विद्यालय जीवनदेखि यहाँसम्मको यात्रा कत्तिको सहज भयो ?
बाटो त गाह्रो नै छ । त्यति बेला नै गाह्रो थियो । पढेर आइसकेपछि एक दुईवर्ष धेरै गाह्रो भयो । भाषाको समस्या र ‘मेडिकल प्रोटोकल’को समस्याले गर्दा । हाम्रो फिल्डमा सिनियरहरु भएपछि जुनियरलाई अलिकति पेल्ने खालको स्वभावले ‘एडजस्टमेन्ट’मा गाह्रो भयो । पछि काम गर्दै जाँदा समुहमा भन्दा पनि एकल अभ्यास गर्न, निर्णय लिन गाह्रो भयो । पछि काम गर्दै गर्दा अनुभवले पनि सिकायो र अहिले सम्म पनि संघर्ष नै गरिएको छ । अब हेर्दै जाउँ ।

अहिले चिकित्सा क्षेत्रमा कस्ता–कस्ता समस्या छन् ?

काठमाण्डौं बाहेक पोखरालगायतका अन्य ठाउँमा ‘वेल फसिलेटेड’ अस्पताल छैनन् । कुनै पनि रोगहरु पत्ता लगाउनको लागि र उपचार गर्नको लागि अप्ठ्यारो हुन्छ । यो प्रमुख समस्या भयो । अर्को विरामीहरुको साइडबाट हेर्दा जुन ‘टेष्ट’ हरु लेखेको हुन्छौ त्यसमा ‘व्याक टु व्याक’ गर्दा आर्थिक भार पनि बढ्ने हुन्छ । उहाँहरुले त्यो गर्नु पनि पर्छ । किनकी फेरि कुनै ‘टेष्ट’ यस्तो हुन्छ जुन सरकारी अस्पतालमा पठाउन सकिन्छ तर त्यहाँ त्यो सुविधाहरु हुँदैन । त्यसले उहाँहरुले चित्त दुखाउनुभएको हुन्छ । हामीले परिक्षण नगरी डायग्नोसिस थाहा पाउँदैनौं । त्यसो हुँदा ‘कम्प्रोमाइज’ गरेर रोगको लक्षण हेरेर उपचार गर्नुपर्ने हुन्छ । अहिले मुख्य सस्या भनेको विरामी पक्ष र डाक्टरबीचको सम्बन्ध हो । सबैभन्दा डरलाग्दो भनेको त्यहि हो । किनकी कुनै पनि विरामी अस्पतालमा आउने वित्तिकै सतप्रतिशत बाँच्छु भनेर आउने मानसिकता छ, जुन गाह्रो कुरा हो । जस्तै मैले नै धेरै पटक सामना गरेको छु मणिपालमा हुँदा । हामीले लास्ट मुमेन्टसम्म प्रयास गरिन्छ । अन्तिममा विरामीको मृत्यु भयो भने डाक्टरको नाम टिप्ने, उसको पिछा गर्ने, लखेट्ने, पुत्ला जलाउने सम्म गरेका छन् । त्यसैले सामाजिक कारण देखि लिएर अस्पतालको भित्र काम गर्न गाह्रै छ । चुनौतीपूर्ण छ । अर्को, निजि अस्पतालमा काम गर्दा ठुलाठुला शल्यक्रियाहरु हुन्छन् तर त्यस्तो अस्पतालको ‘आइसियु व्याकअप’ हुँदैन । अपरेशन ग¥यो, विरामीको अवस्था गम्भिर भयो भने त्यहिबाट विरामी जबरजस्ती अन्यत्र लानुपर्ने हुन्छ । त्यसैले डाक्टर आफ्नो ठाउँमा समस्यामा त पर्छ नै विरामीको ज्यानको पनि धेरै जोखिम हुन्छ । जस्तो सामान्यतया भइराखेको उपचार हो, रेफर गर्दा बाटोमा अवस्था नाजुक हुने चान्स बढ्छ । पोखराको केसमा धेरैजनाको मृत्यु पनि भएको छ । 

दलित समुदायमा स्वास्थ्य प्रति सचेतता कस्तो पाउनुभएको छ ?

सबैभन्दा ठूलो शिक्षा हो । जहाँ शिक्षा राम्रो छ त्यहाँ ‘अफकोर्ष’ उनीहरुको परिवारमा सचेतना आउछ । जुन ठाउँमा शिक्षा हुँदैन त्यहाँ सचेतना भनको अरुको देखासिकीले सिक्यो भने सिक्यो नभए अहिले पनि गाह्रो छ । अहिले जुनपनि अस्पतालमा जानुस् दलित समुदायबाट विरामीको अनुपात एकदमै माथि छ । फेरि यस्तो ‘क्रोनिक’ रोगहरु छन् जुन पुरै ठिक हुने भन्ने खालको हुँदैन । त्यसैले मलाई लाग्छ हाम्रो समुदायमा स्वास्थ्य प्रतिको सचेतनामा अझै कमि छ । त्यसमा हामीले अझै काम गर्नुपर्छ ।

सचेतना बृद्धिको लागि के गर्नुपर्छ ?

पहिलो त शिक्षा नै हो । स्वास्थ्य विज्ञानलाई विद्यालयदेखि नै अनिवार्य बनाउने, दिनको एउटा स्वास्थ्य सम्बन्धि सन्देशमुलक कुराहरु सिकाउने गर्नुप¥यो । जुनसुकै ठाउँमा सानो भए पनि शिक्षित वर्ग हुन्छ । चाहे दलित होस् या गैरदलित, हो त्यहि समुहले समय समयमा कक्षाहरु सञ्चालन गरेर जानकारीहरु दिइरहनुपर्छ । 

चिकित्सा क्षेत्रमा जातीय भेदभावको सामना गर्नुभएको छ कि छैन ?

मैले सुरुसुरुमा केहि वर्षमा पाए । अहिले पनि क्लिनिकमा अभ्यास गर्दा स्थानीय ठाउँमा अप्रत्यक्ष रुपमा हुन्छ नै । आफुलाई अनुभूति भएको हुन्छ । मैले आफुले भन्दा पनि विरामीको तर्फबाट सोच्दा अझै पनि एकदम धेरै छ । हामीले दैनिक देखेको कुरा हो । एउटा दलित समुदायको विरामी आएको हुन्छ, हाम्रो मान्छे अरु वर्गको जस्तो टिपटप भएर आउने खालको हुँदैनन्, गाउँबाट आउने अलि फोहोर लुगा लगाएर आएका हुन्छन् । त्यो मान्छे ५५–६० वर्षको किन नहोस् । हाम्रो मेडिकल टिममा कुरा गर्दा विरामीले सिधै ‘त’ भन्छन् । त्यसमा मैले ३–४ जना नर्सहरुलाई व्यक्तिगत रुपमै कारवाही पनि गरेको छु । त्यहि ठाउँमा अर्को मान्छेलाई अर्कै व्यवहार गर्ने र हाम्रो मान्छेलाई अर्कै व्यवहार गर्ने गर्छन् । अर्को कुरा, बरु आर्थिक रुपमा सबल वर्गले ‘डिस्काउन्ट’ र यो–त्यो भन्छन्, हाम्रो मान्छेले पुरा पैसा तिरेका हुन्छन् । पुरा पैसा तिरेपछि त उसले सम्मान पाउनुप¥यो नि । भित्री जुन जरा छ, अझै पनि ‘क्लियर’ भएको छैन । यसमा अझै काम गर्नुपर्छ ।

बौद्धिक क्षेत्रमा दलित समुदायमाथि छुवाछूत जन्य विभेद नभएपनि दलितलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन भनिन्छ । यहाँको अनुभवले के भन्छ ?
हाम्रो सहकर्मी हेर्दा, साथीभाई बस्दा केहि त्यस्तो हुँदैन । तर कुनै कर्मकाण्ड हुन्छ, ‘सोसियल फ्याक्टर’ हुन्छ, त्यो कहि न कहि थोरै भएपनि लुकेर बसेको हुन्छ । त्यो म आफैले भोगेको कुरा हो । अझै पनि त्यो ठाउँमा, त्यो स्तरमा छुवाछूत गर्नु हुँदैन भन्ने जुन सचेनता आउनुपर्ने हो, अझै पनि आइसकेको छैन ।

दलित समुदायमा सिप, क्षमता हुँदाहुँदै पनि कम आक्ने प्रवृत्तिका बारेमा के भन्नुहुन्छ ? 
त्यस्तो अझै पनि कायमै छ । यसमा त हामी लड्नुपर्छ । मैले अघि नै भने एउटा दलितले त्यतिनै पैसा तिरेको हुन्छ, अर्कोले त्यति नै तिर्छ वा ‘डिस्काउन्ट’ गराउँछ भने भेदभाव किन ? अर्को तपाई हामीजस्तो योग्य मान्छेहरु जसलाई आर्थिक रुपमा पनि अप्ठ्यारो छैन, हाम्रो आफ्नो जुन अभ्यास छ, हामीले जानेको जुन शिक्षा छ, अरु वर्गको सरह छ भने अधिकार भनेको खोस्ने हो । हामीले ‘डोमिनेन्ट’ गरेर अगाडि बढ्नुपर्छ । कहिलेकाही कसैले भेदभाव गरेको देखियो भने आवाज उठाउनुपर्छ । मेरो तर्फबाट मैले गरेको छु । मेरो विचारमा हामीले पेलेर नगएसम्म यो अन्त्य हुँदैन ।

दलित समुदायको जीवन उकासेर समाजमा स्थापित गर्न के गर्नुपर्छ ?
पहिलो कुरा शिक्षा नै हो । अर्को हामी जति पनि दलित छौ, हाम्रो पेशा एकदमै राम्रो हो । सार्कीहरुले जुत्ता सिलाउने, सुनारले सुनको काम गर्ने, यो जति पनि छ, त्यो भनेको ‘डेली क्यास’ हो । हामीले काम गरेर दैनिक रुपमा पैसा कमाउछौं । हाम्रो नराम्रो संस्कार भनेको हामीले जम्मा गर्न जानेनौं । आज कमाइन्छ, आजै खाइन्छ, आजै उडाइन्छ । यो नै मुख्य समस्या हो । त्यसैले हामीले अवको पुस्तालाई सतप्रतिशत शिक्षा, एउटा स्तरसम्म न्युनतम स्नातक तहसम्म अनिवार्य शिक्षा गर्नुप¥यो । अर्को भनेको कमाएको धन बचत गर्ने, बृद्धि गराउने, लगानी गर्ने, व्यवसाय गर्ने । आर्थिक रुपमा बलियो बनाउनुपर्छ । त्यसपछि संघसंस्थामा आवद्ध हुने, मुख्य पदमा जाने र अरुको आकर्षणको केन्द्र बन्नुपर्छ ।

अहिले कस्ता खालका स्वास्थ्य समस्याहरु देखिएका छन् ?
हाम्रो समुदायमा माछामासु, रक्सी, चुरोट खाने धेरै छ । त्यो हुँदा अहिले प्रायलाई ब्लड प्रेसर, सुगर, कलेजो र किड्नीको समस्याहरु देखिएको छ । मैले दैनिक जाँच गर्ने १० विरामी मध्ये ६ जना ‘हाइपोटेन्सन व्लड प्रेसर’का विरामी हुन्छन् । स्ट्रोक मस्तिष्क घातको धेरै आउछन् । अहिले कलेजो फेलियर, किड्नी फेलियर, दिर्घकालिन दम अधिकतममा पाइन्छ ।

यो समुदायबाट चिकित्सा क्षेत्रमा प्रवेश गर्न चाहनेलाई के सुझाव दिनुहुन्छ ?
संघर्ष गर्नुप¥यो, राम्रोसँग पढ्नुप¥यो । पढेर पैसाको पछि मात्रै लाग्नुभएन । आफ्नो वर्गको लागि सकेसम्म के गरेर जीवनस्तर उकास्न सकिन्छ, त्यसको लागि काम गर्नुप¥यो । मेडिसिन भनेको अहिले बाहिर जानुस् पैसा हालेर ल्याउन ठूलो कुरा छैन । मुख्य भनेको ज्ञान हो । तीनवटा कुरा ज्ञान, कडा मेहनत र अनुशासन कायम गर्नुपर्छ । विद्यालयदेखिनै आधार बनाएर पढ्ने, घोक्नेभन्दा बुझ्न तिर लाग्ने गर्नुपर्छ । मेडिसिनको आधार एसएलसी पछिको १० जोड २ हो । १० कक्षा भन्दा १२ मा ‘लेभल डिफरेन्स’ धेरै छ । बाहिर पनि चाईना जानुस्, फिलिपिन्स जानुस् । नराम्रो भनेर सतप्रतिशत नराम्रो हुँदैन । त्यहाँ आफुले बुझेर कुन राम्रो कलेज छ, कुन राम्रो अस्पताल छ त्यस्तोमा जाने र नेपालमै पनि कोटाको लागि लड्ने । कडा परिश्रम त गर्नै प¥यो । पढ्नै प¥यो । संघर्ष भनेको जहाँपनि हुन्छ । हाम्रोमा आकर्षण किन हुन्छ भन्दा हामीले एकजनाले धेरैलाई सेवा दिन्छौ । पढ्नुप¥यो, अनुसाशन कायम गर्नुप¥यो, ‘हार्ड वर्क’ त छदैछ ।

पत्रिकामार्फत केहि भन्न चाहनुहुन्छ ?

मैले नेपाली मेडिकल हलमा अहिलेसम्म हाम्रो समुदायको विरामीलाई ओपिडि टिकट लिने गरेको छैन । मैले आफ्नो ठाउँबाट गर्ने भनेको ल्याव, औषधीहरुमा छुट गर्ने गरेको छु । लेकसिटीमा पनि ‘पिपुल्स फाउण्डेशन’ भन्ने संस्था छ, त्यसले कोहि गरिब छ, उपचार गर्न आर्थिक अभाव छ भने गाविसबाट सिफारिस लिएर आएको खण्डमा ५० प्रतिशत छुट देखि लिएर निःशुल्क उपचार गर्ने प्रणाली राखेका छौं । तपाईहरु मणिपालमा हुनुहुन्छ, आर्थिक समस्या केहि छ, पैसा आउँदासम्म, कति घण्टाको समय चाहिन्छ त्यतिखेर सहयोग गर्न सकिन्छ । मैले गर्न सक्ने भनेको स्वास्थ्य क्षेत्रमा जे समस्या आउछ, मैले नसक्ने समस्या छ भने पनि सल्लाह दिन सक्छु, पोखरामा सम्भव हुन्छ वा काठमाण्डौंमा सम्भव हुन्छ अथवा अन्यत्र कहि जानुपर्ने । निको नहुने रोग पो हो कि ? कहिलेकाही कस्तो हुन्छ भने क्यान्सरको विरामी छ, अन्तिम अवस्थामा भएको हुन्छ । गाउँबाट आएको हुन्छ । हामीलाई थाहा हुन्छ कि उसको परिणाम राम्रो हुँदैन । शुन्य प्रतिशत ‘चान्स’ छ । अहिलेको ‘टे«न्ड’ कस्तो छ भन्दा प्राय निजि अस्पतालका डाक्टरहरुले त्यस्ता विरामीलाई आईसियुमा राख्ने, भेन्टिलेटरमा राख्ने र ‘विल चार्ज’ गर्ने गर्छन । तर अन्त्यमा मान्छे बाँच्दैन भन्ने हामीलाई थाहा भएको हुन्छ । बाँच्ने मान्छेको पनि घरघडेरी सकिएको अवस्था धेरै छन् । त्यस्तो अवस्थामा कुनै पनि ठाउँबाट मलाई सम्पर्क गर्नुभयो भने म सल्लाह दिन सक्छु


तस्बिर र सामाग्री स्रोत:- बलेनी मासिक

No comments:

Post a Comment