Thursday, February 4, 2016

कुष्ठरोग लागे पछि शितली कामीको ६० वर्ष जङ्गलमा बित्यो

माघ २२, जाजरकोट , विभेद विरुद्ध अभियान – जंगलबीच एक्लो झुपडी छ । पैंक ५ सरगाउँकी शितली कामीले त्यस झुपडीमा ६० वर्ष बिताइसकेकी छन् । यो उनको रहर नभई परिवार र समाजका कारण उत्पन्न बाध्यता हो ।
कुष्ठरोगले कुँजिएपछि अपांग बनेकी उनको लाउँला र खाउँलाको रहरलाग्दो यौवन त्यही एक्लो झुपडीमा बित्यो । १० वर्षकी हुँदा कुष्ठरोग देखिएपछि उनलाई गाउँमै बस्न दिइएन ।
१० वर्षकी हुँदा कुष्ठरोग देखिएपछि उनलाई गाउँमै बस्न दिइएन, गाउँलेले जंगलको बीचमा झुपडी बनाएर राखिदिए
गाउँलेले नै जंगलको बीचमा झुपडी बनाएर सारे । गत माघ १७ मा ६३ औं विश्व कुष्ठरोग दिवस मनाइरहँदा कसैको पनि ध्यान शितलीको ६ दशकयताको कष्टकर जीवनतर्फ तानिएन ।
उपचार नपाएका कारण उनका हात र खुट्टाका औंला सबै झरे । ‘यतिका वर्ष झुपडीमा रोएरै बिते,’ ७० वर्षे शितलीले भनिन् ।

६ वर्षको उमेरमा आमाबाबु गुमाएपछि छिमेकीको घरमा गोठालो बसेकी थिइन् । शरीरभर घाउ निस्किए, उपचार गरिदिने कोही भएन । कुष्ठरोग भन्ने थाहा भएपछि कसैले घरमा छिर्नै दिएनन् । ‘सर्ने त्रासले छुनसमेत छाडे,’ उनले बरर्र आँसु झारिन् ।
गाउँघरमा कुष्ठरोग पूर्वजन्मको पापको फल रहेको अन्धविश्वास अझै कायम छ । सोही कारण गाउँले मिलेर उनलाई जंगलमा राखेका हुन् । ‘अहिले त केहीजस्तो लाग्दैन । बानी परिसकें । सानी छँदा एक्लै राति जंगली जनावरको डरले रुँदै रात काट्थें,’ उनले भनिन्, ‘मेरो दु:ख हेर्न कुनै भगवान् आएन ।’
२० वर्षकी छँदा उनका हातखुट्टाका औंला झरेका हुन् । बिनाउपचार कुष्ठरोगको संक्रमणबाट पार पाइन् तर उनलाई कसैले घर फर्काएन । बरु पूर्ण अपांग भएर जंगलमै बस्नुपर्‍यो । वृद्ध अवस्थामा अहिले झनै बिचल्लीमा परेकी छन् । ‘न गरी खान सकिन्छ न मरिजान । हत्तेसँग बाँचेकी छु,’ उनले पीडा सुनाइन् ।
उनको झुपडीमा एउटा कुकुर र एउटा कुखुरो छन् । छानाबाट शीत चुहिन्छ, न्याना लत्ताकपडासमेत छैनन् । अन्न अभावमा भोकै बस्नुपर्ने बाध्यता छ । अँध्यारो झुपडीलाई
उज्यालो पार्ने केही छैन ।
गाउँलेले दया गरेर दिएको खाएर उनको कष्टपूर्ण जीवन बितिरहेको छ । नातागोता र आफन्त पनि छैनन् । ‘गाउँलेले दिए खान्छु, नदिए भोकै बस्छु,’ उनले भनिन्, ‘अरूलाई काल आउँछ । मेरो भाग्यमा त्यो पनि आएन । हातखुट्टा कुँजिएर हिँडडुल गर्न सक्दिनन् । घिस्रिंदै वरपर गर्छिन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Post a Comment