Tuesday, April 5, 2016

४ नं. गेटमा रणध्वज लोहार - श्रीशिशा राई

चैत्र २३, विभेद विरुद्ध अभियान ।
मेरो पनि छातीभित्र
सद्भाव टुसाउने मन छ
कतै कसैका चोइटिएका भए जोडुँ भनेर
सहभोजमा आएको हुँ
भित्र पस्नै नपाएपछि
मेरो त मन पिटिक्कै भाँचिएको छ
घनले जति ठोक्दा पनि जोडिन नसकेपछि
रन्थनिँदै यहाँ आइपुगेँ
विश्वकर्मा पूजाका दिन यो वर्ष पनि
विश्वकर्मा मन्दिरको गेटमा रोके मलाई
बोक्रा–फुल अठ्याएका मान्छेहरूले
म नै विश्वकर्मा हुँ
यो मन्दिरको देवता म नै हुँ
लाग्थ्यो– अब म स्वायत्त छु
तर, मेरै मन्दिरमा प्रवेश निषेध गरिएको छ मलाई
देवताविनाको मन्दिरमा
अलच्छिनी–पूजा गरिरहेछन् अझैपनि मान्छेहरू
तिर्खालु देउरालीमा
चिसो पानी पिलाउने त्यो कलधारो अर्जाप्ने मै हुँ
यी हातहरू, अर्जाप्दै कलेटी परेका हुन्
उकालो खडेरीबाट घिस्रिँदै
त्यही धारो समातेर उभिन्छन्, पानी पिएर तंग्रिन्छन्
र मलाई धारा छुन दिँदैनन्
रुद्रघन्टी सुकेका यी मान्छेहरू
क्युरियोमा सजाइएका चाउचाउका पोका
सटरभन्दा परबाट औँल्याउन लगाएर
सोकेसमाथि अलग्गै राखिदिन्छ साहुजी
र पोकाको २० ले जम्मा ४० रुपैयाँ
मेरो हातैबाट थुत्छ
किन्ने कोही भइदिए
इमान बिक्ने सहर हो यो
भाला र खुकुरी उजाएर
७, ४६ र ६३ को क्रान्ति लडे मान्छेहरू
कैफियतमा समावेशी बैठक चलिरहेछ अहिले
पलकमै कुर्सीहरू टमाटम भरिएछन्
पछाडीको मेचमा छ मेरो स्थान
कागजमा ‘दलित’ को परिभाषा बाँडिन्छ
घोडादौड झैँ कुर्सीहरू विश्लेषण कुर्लिन्छन्
ठीक मैले बोल्ने बेला बैठक सकिन्छ
म मेरा सबै आवाजहरू विषझैँ फेरि पिएर
नीलो अनुहारमा हराउँछु कतै
म त्यही लोहार हुँ जसले ती भाला र खुकुरी कमायो
म त्यही सान हुँ जसले खिएका धारहरू तिर्खायो
स्कुलमा
‘छुवाछुत’ शीर्षकमा निबन्ध लेख्ने होमवर्क पाउँछ मेरो छोरा
रातभरि लेख्छ निबन्धमा नजरहरूले डढेको आफ्नै अनुहार
भोलिपल्ट जाँच्ने बेला
मेरो छोराको कापी छुँदैन ‘सामाजिक सर’
‘विभेद’ को शब्दार्थ घोक्दाघोक्दै छुट्टीको घन्टी बज्छ
कटुवालकी छोरीसँग ‘इन्टरकास्ट’ बिहे गरेको कसुरमा
आरनबाट लछारेर नालीमा मिल्काइएको बालीघरे हुँ म
म बेहोस भएको हेरेर फर्कने साथीहरू
सरकारले २ लाख घोषणा गरेपछि
फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउन थालेका छन्
बिहेको १५ वर्षपछि पहिलोपटक
यसपालीको दसैँमा ससुराली टेकेको हुँ
सरकार !
तपाईं चढेको हेलिकोप्टर ओर्लिएको
चोरबाटोबाट रुखमाथि चढेर
धेरैपटक हेरेको छु मैले
हेलिकोप्टरको पंखाले फालेको हावा जस्तै
सहरमा आत्मनिर्णयको लहर आएको सुनेँ मैले
मलाई पनि यो हावामा सास फेर्ने रहर जागेर आयो
आज आपैmँ आइपुगेँ
अहिले सिंहदरबारको ४ नं. गेटमा उभिएको छु
नयाँ बर्दीमा ठाँटिएर
मैले नै बनाएको बन्दुक भिरेर
घेरेका छन् चारजनाले चारैतिरबाट यहाँ
कति घेरिरहुँ म प्रश्नहरूले … ?
कति भागीरहुँ म मान्छेहरूबाट … ?
म उत्तरहरूको अन्तिम खोजीमा यहाँ आएको हुँ
सरकार !
यो गेट छिचोलेर तपाईंको सामुन्ने उभिन म
सबै विधी पूरा गर्न तयार छु
तर म कामी हुँ, यस्तै नै छु
तपार्इंको अघि सुकिलो देखिनकै लागि म
मेरो जात फेर्न तयार छैन
मेरो नाकको प्लास्टिक सर्जरी गर्न तयार छैन ।
-सौर्य दैनिक बाट

No comments:

Post a Comment