Tuesday, April 5, 2016

“ताकत हुँदा सबैले प्रयोग गरे, अहिले कसैले साथ दिँदैनन्- प्रेम रसाइली

चैत्र २४, विभेद विरुद्ध अभियान ।माओवादी सशस्त्र हिंसाका बेला आफन्त र सम्पत्ति गुमाएका जाजरकोटका पीडित न्यायको पर्खाइमा छन् ।माओवादीका तत्कालीन जाजरकोट जिल्ला सदस्य प्रेम रसाइलीलाई १ चैत २०५४ मा सुरक्षाकर्मीले नियन्त्रणमा लिए । प्रहरी हिरासतमा ९ महिना बिताएका उनलाई त्यसपछि हातहतियार तथा खरखजना मुद्दामा दोषी देखाएर थप चार वर्ष कारागार राखियो ।
उनी जेलमा छँदै प्रहरीले घरमा आगो लगाइदिए । ६ र ४ वर्षका दुई सन्तान छाडेर पत्नीले अर्कै बिहे गरिन् ।
डाँडागाँउ–१ पालीका रसाईली अहिले घरमा एक्लै छन् । छोरा रोजगारीको सिलसिलामा मलेसिया पुगेका छन्, बुहारी माइती बस्छिन्, छोरीको बिहे भइसक्यो ।
“मजदुरी गरेर छाक टार्छु”, उनी भन्छन्, “जेलमा पाएको यातनाले अहिले पनि शरीर दुख्छ ।”
अहिले कुनै पनि पार्टीमा नरहेका उनले राहतका लागि स्थानीय शान्ति समितिमार्फत पटक–पटक प्रयास गर्दा पनि नपाएको बताए ।
“ताकत हुँदा सबैले प्रयोग गरे, अहिले कसैले साथ दिँदैनन्,” उनको दुखेसो छ ।
जाजरकोटकै भेरीमालिका–१ रिम्नाका बहादुर रानाको घरमा प्रहरी चौकी भाडामा बसेको थियो । २०५५ सालमा माओवादीले चौकीमा आक्रमण गरेर घरमा आगो लगाइदिए । त्यसबेला सरकारबाट पाएको रु.८० हजार पनि माओवादी लुटे । घर मर्मतपछि प्रहरी चौकी फेरी उनकै घरमा बस्यो । माओवादीले २०५७ सालमा फेरि आक्रमण गरे । यसपाली भने उनले क्षतिपूर्ति पाएनन् ।
“बस्न नदिउँ प्रहरीले सताउने, दिउँ माओवादीले आक्रमण गर्ने भइरह्यो”, उनी भन्छन्, “दोहोरो मारमा परेका हामीलाई अहिलेसम्म कसैले हेरेको छैन ।”
भेरीमालिका– १ की कमला खड्काका बाबु कुन्तबहादुर र आमा मनसरा खड्का दुवैलाई २०५५ सालमा प्रहरीले हत्या ग¥यो । घटना हुँदा कमला १० वर्षकी थिइन् । “त्यसयता दुखैदुखमा दिन बितेका छन्”, उनी भन्छिन्,“आतंककारी भनेर मारेको सरकारले केही सहयोग गर्ने कुरा भएन, आफ्नै पार्टी भनेको माओवादीले पनि हेरेन ।”
गाउँमै सानो होटेल चलाएर बसेकी उनले माओवादी धेरै टुक्रामा विभाजित भएको, नेताहरु सत्तामुखी भएर कार्यकर्तालाई बेवास्ता गरेको बताउँछिन् ।
शान्तिप्रक्रिया शुरु भएपछि मृतकको परिवारका लागि पाइने राहत रकमले जीवन निर्वाह गरिरहेको बताउने उनले आमा–बाबुको मृत्युपछि पढ्न नपाएको, सानै उमेरमा धेरै दुख पाएको बताउँछिन् ।
१० वर्षे माओवादी हिंसाका बेला जाजरकोटमा मात्रै ३७३ को ज्यान गएको थियो । सयौं विस्थापित र घाइते भएका थिए । दर्जनौं सरकारी संरचना ध्वस्त पारिएका थिए । त्यतिबेला ध्वस्त भएका केही सरकारी भवन बने पनि पीडितले अहिलेसम्म न्याय पाउन भने सकेका छैनन् ।
राजेन्द्र कार्की, जाजरकोट
हिमाल बाट

No comments:

Post a Comment