बैसाख २७ , विभेद बिरुद अभियान
सुमधुर स्वरका धनी गायक यशकुमारको एउटा चर्चित गीतका शब्दहरू यस्ता छन्–
म आफ्नै आँगनमा इनार बनाउँछु
मेरो भगवानलाई मेरै छातीमा सजाउँछु
चाहे धारामा रोक
चाहे मन्दिरमा छेक
म आफ्नो बेग्लै संसार बनाउँछु।
यशकुमार अर्को गीतमा भन्छन्, नआऊ मेरो सामु, मैले छोएको पानी चल्दैन।
यी गीतमा संगीतको माधुर्य जति छ, त्यति नै मुटुमा चस्स घोच्ने सामाजिक छुवाछूत र जातिभेदप्रति गुनासो छ। संगीतले मात्र नपुगेर उनले यिनै गीतको भावना समेटी दुई सिनेमा बनाएका छन्– बाटोमुनिको फूल र बाटोमुनिको फूल–२। दोस्रो भाग राजधानीका केही हलमा चलिरहेको छ। सिनेमाको मूलकथा धेरै हदसम्म उनकै ब्राह्मण पिता रामप्रसाद नेपाल र दलित आमा गीता परियारको प्रेम अनि उनकै छुवाछूत विरोधी गायकीमा केन्द्रित छ।
सुवर्ण थापाले निर्देशन गरेको सिनेमामा दिलीप रायमाझी, ऋचा शर्मा, यशकुमार, बाबु बोगटी, आशीष्मा नकर्मी, गणेश उप्रेती, अर्पण थापाको मुख्य भूमिका छ। छोटो भए पनि सबैभन्दा स्मरणीय भूमिका दलित नगरवधूका रूपमा रिमा विश्वकर्माको छ। रामको भूमिका गर्ने दिलीप र गीताको भूमिका गर्ने ऋचाबीचको प्रेम रामकै साहसका कारण बिहेमा परिणत हुन्छ। गीतामाथि कथित ठूला जातिका व्यक्तिले गरेको बलात्कारको दुस्प्रयास, त्यसमा रामले गरेको प्रतिकारविरुद्ध पञ्चैतीमा गीताको दाजु गणेशले बोलेका संवादहरू मार्मिक छन्। पञ्चैतीले ‘बिहे नगरी तरुनी चेली माइत राख्दा बलात्कारको प्रयास हुनु’ स्वाभाविक भएको ठहर गर्छ। प्रतिक्रियामा गणेश सभामै घाँटी थिचेर बहिनीको हत्या गर्ने प्रयास गर्छ। अनि घरबाट निकालिने सर्तमै राम गीतासँग बिहे गर्छ।
‘फूल बेच्दा यो समाजले जात हेरेरे मलाई लखेट्यो, तर शरीर बेच्दा कसैका लागि म अछूत भइनँ, कसैले पनि मेरो जात सोधेन।’
सुत्केरी बेथा लागेकी पत्नीको उपचारका लागि डाक्टर बोलाउन जाँदा दुर्घटनामा परेर रामको मृत्यु हुन्छ। दलित भएकै कारण उपचार नपाएर छोरा जन्माउनेबित्तिकै गीताको पनि मृत्यु हुन्छ। मन्दिरनजिक फूल बेच्न बस्ने दलित युवतीको भूमिका मार्मिक छ जसप्रति मुक्ति ब्यान्डका गायक बाबु बोगटी आकर्षित हुन्छन्। तर, सिनेमाले उनलाई अल्पनायिकामा सीमित गरिदिएको छ। ‘छूत’ महिलाहरू उनलाई भुत्ल्याएर लखेट्छन्। अन्ततःउनी बेश्यावृत्तिमा लाग्न बाध्य हुन्छिन्। त्यस क्रममा बोगटीसँग उनले बोलेको संवाद अत्यन्त मार्मिक छ, ‘फूल बेच्दा यो समाजले जात हेरेरे मलाई लखेट्यो, तर शरीर बेच्दा कसैका लागि म अछूत भइनँ, कसैले पनि मेरो जात सोधेन।’
‘दलित’को अन्तर्य
दलित अभियन्ता सरिता परियारको आग्रहमा सिनेमा हेरेपछि लाग्यो, छुवाछूत विरोधी गीत गाएर र सिनेमा बनाएर यशकुमारले एक हदसम्म प्रशंसनीय काम गरेका छन्। तर, उनका गीत र सिनेमा दुवै दलितका व्यथा, मर्म र अन्तर्यसम्म पुग्न सकेका छैनन्। उनका गीत मार्मिक र सुमधुर छन्। तिनले दलितविरुद्ध समाजको व्यवहारप्रति मार्मिक व्यंग्य पनि गरेका छन्। दलितप्रति सहानुभूति बटुल्न सहयोग गरे पनि ती गीतले दलित आन्दोलनलाई बल दिँदैनन् । तिनले आफूलाई दया र सहानुभूतिको पात्रमात्र बनाउँछन्। खासमा उनका गीत र सिनेमाको स्वर अराजनीतिक छ। राजनीतिक हुनुको अर्थ तिनले सोझै राजनीतिक विषय समाउनुपर्छ भन्ने होइन। त्यसले उठाउने आवाज राजनीतिक हुनुपर्छ भन्ने हो। जस्तो कि, वर्णव्यवस्थाले शूद्रलाई ब्राह्मण, क्षत्रीय र वैश्यको सेवा गर्ने काम तोकिदियो र विद्याबाट वञ्चित गर्यो । पढ्न नपाएपछि सत्ता र अवसरहरूबाट ऊ वञ्चित हुँदै गयो। यसले उसलाई अछूत र हेयमात्र बनाएन, आर्थिकरूपले पनि कमजोर बनायो। यसरी ती ‘बाटोमुनिका फूल’ भए । तिनलाई माथि ल्याउन राज्य संरचनामा समतामूलक प्रावधान अँगाल्नु अनिवार्य छ। यस तथ्यलाई आत्मसात नगरी आफूलाई दयाको पात्र बनाउनु अराजनीतिक हुनु हो।
मुक्ति ब्यान्डका गायक यशकुमार एक ठाउँमा जोड दिएर भन्छन्, मलाई दलित नभन, मान्छे भन। ‘दलित’शब्दको मर्म र अन्तर्य नबुझेका समाजका भद्रभलादमी पनि यही भन्छन्।
सिनेमामा पटकथा र चलचित्रकलाका दृष्टिले खट्कने कुरा धेरै छन्। तर, यसको वैचारिक पक्ष सबैभन्दा बढी खट्कँदो छ। मुक्ति ब्यान्डका गायक यशकुमार एक ठाउँमा जोड दिएर भन्छन्, मलाई दलित नभन, मान्छे भन। ‘दलित’शब्दको मर्म र अन्तर्य नबुझेका समाजका भद्रभलादमी पनि यही भन्छन्। तिनको तर्क हुन्छ, दलितले आफूलाई दलित भनेर आफैलाई हीन बनाएका छन्। जसमाथि अन्याय र विभेद गरिएको छ, जसलाई दलनमा पारिएको छ, उसैलाई दलित भनिएको हो। समाजका ठालू र कामचोरहरूले आफूलाई उच्च अनि सीप जान्ने, श्रम गर्ने मेहनती वर्गलाई शूद्र घोषित गरेका हुन्। त्यस्तो प्रवृत्ति हाम्रो समाज, संस्था र कार्यालयहरूमा आज पनि प्रस्टै देखिन्छ।
जो मेहनतपूर्वक काम गर्छ, ऊ तल्लो तहमा हुन्छ। जो गफ र खुसामद गर्न जान्दछ, ऊ माथिल्लो तहमा हुन्छ, उसैले बढुवा पाउँछ। यही प्रथा विगतमा वर्णव्यवस्थामा परिणत भयो। दुई हजार वर्षअघि ब्राह्मण राजा पुष्यमित्रको पालामा मनुले यिनै मेहनती वर्गलाई अछूत बनाइदिए। आहुतिको किताब ‘नेपालमा वर्णव्यवस्था र वर्गसंघर्ष’ का अनुसार ‘हिन्दु शासक र जनताको नेपाल प्रवेशसँगै यहाँ पनि वर्णव्यवस्था छिरेको हो।’ छुवाछूतसहितको वर्णव्यवस्थालाई व्यवस्थित गर्न नेपालका शासकहरूले ती मेहनती र सीप जान्ने वर्गलाई अपमानपूर्वक शुद्र, अछूत, पानी नचल्ने, थी मज्यूपिँ, कुजात, पउनी आदि नाम दिएका हुन्। भारतका दलित नेता भीमराव अम्बेडकरले सन् १९२७ मा अछूत बनाइएका यिनै अनगिन्ती समुदायलाई पहिलोपल्ट ‘दलित’ भनी साझा नाम दिएका हुन् । नेपालमा २०२४ सालमा पहिलोपल्ट यो शब्द प्रयोग भएको हो, ‘नेपाल राष्ट्रिय दलित जनविकास’ का नाममा। खासमा ‘दलित’ कसैले हेपेर दिएको नाम होइन, यो त अछूत बनाइएका, हेपिएका, थिचिएका र अन्यायमा पारिएका व्यक्तिहरूको गौरवमय आन्दोलनबाट स्थापित शब्द हो। आहुतिका अनुसार दलित भन्नु आफूलाई निचा ठान्नु होइन, अन्याय गरिएको छ भन्ने जनाउ दिनु हो। तसर्थ वर्णव्यवस्थाले अछूत बनाएका व्यक्तिले आफूलाई दलित भन्नु अनर्थ हुँदैन। बरु तिनले आफूलाई अछूत र हेयचाहिँ ठान्नुहुँदैन।
‘दलित’ कसैले हेपेर दिएको नाम होइन, यो त अछूत बनाइएका व्यक्तिहरूको गौरवमय आन्दोलनबाट स्थापित शब्द हो। आहुतिका अनुसार दलित भन्नु आफूलाई निचा ठान्नु होइन, अन्याय गरिएको छ भन्ने जनाउ दिनु हो।
धर्मको दुहाई
‘बाटोमुनिको फूल–२’ मा रामप्रसाद नेपाल भन्छ, ‘हाम्रो महान् धर्म (हिन्दु) ले कसैमाथि जातिभेद गरेको छैन। भगवानका नजरमा सबै बराबर छन्, विभेद मान्छेले मात्र गरेको हो।’ चलाख पण्डित, भद्रभलादमी र अजासु (अति जान्ने/सुन्ने) ले पनि यही भनिरहेका छन्। यथार्थ त्यस्तो हुँदो हो त भारतका दलित नेता अम्बेडकर बौद्ध धर्मको शरणमा जाने थिएनन्। थुप्रै दलित समुदायले धर्म परिवर्तन गर्ने थिएनन्। वेद, पुराण, उपनिषद्, महाभारत, रामायणजस्ता हिन्दु धर्मशास्त्रमा जातिभेद र लिंगभेदका अनेक प्रसंग छन्।
रामायणको उत्तरकाण्डमा महाराज रामले तपस्या गरिरहेका शम्बुकलाई यसकारण मृत्युदण्ड दिए कि शम्बुक शूद्र थिए। महाभारतमा एकलव्यलाई द्रोणाचार्यले पहिले धनुर्विद्या दिन चाहेनन्। जब द्रोणको मूर्ति स्थापना गरेर स्वअभ्यासबाटै उनी अर्जुनभन्दा पनि निपुण भए, अनि गुरु दक्षिणाबापत उनीबाट द्रोणले बूढी औँला मागे। प्रस्ट थियो, शूद्र एकलव्य क्षत्रीय राजकुमारहरूभन्दा निपुण भएको द्रोणलाई सह्य थिएन। लोहासुर, महिषासुरलगायत थुप्रै राक्षस जातिका मानिस यस कारण मारिए कि ती अनार्य अर्थात् शूद्र थिए। भगवान् मानिएका कृष्ण, सत्यवादी मानिएका युधिष्ठिर, द्रोण, भीष्म, कृपाचार्य, द्रौपदी, शल्य यस कारण कर्णलाई बारम्बार अपमान र अवसरहरूबाट वञ्चित गर्छन् कि उनी ‘सूतपुत्र’ थिए ।
धार्मिक समाजमा कानुनभन्दा धेरै प्रभावशाली हुन्छ धर्मशास्त्र । हिन्दु धर्मशास्त्रले आफ्नै समुदायका एउटा वर्गमाथि गरेको यस्तो होचो/अर्घेलीप्रति आँखा चिम्लन सकिन्न । हो, हिन्दु धर्मलाई महान् र उदार बनाउने हो भने यसको पुनर्गठन हुनु अनिवार्य छ। सोध्न मन लाग्छ, एक दलित गायकले बनाएको सिनेमामा यस तथ्यलाई किन बेवास्ता गरियो ?
नागरिक दैनिक बाट
No comments:
Post a Comment