विभेद बिरुद्ध अभियान , १२ जेठ २०७३- काठमाडौं । देशमा संविधान बनेर वा गणतन्त्र आएर के गर्नु ? मनवीर दर्जीहरुले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । एउटा दलालबाट ठगिएको दर्जी परिवार न्यायका लागि भौंतारिएको १० वर्ष बितिसकेको छ, तै पनि न्याय छैन । संविधानमा न्यायको ‘हक’ छ, तर दर्जी परिवार आत्महत्या गर्न बाध्य छ ।
पैसा कमाउने र सुख पाउने रहर कसलाई हुँदैन र ? यस्तै रहर जाग्यो नवलपरासीको गैंडाकोटका निम्नवर्गीय परिवारका मनवीर दर्जीलाई । र, उनले पैसा कमाउन विदेश जाने निर्णय गरे ।
गाउँमा एकजना व्यक्ति थिए, गैंडाकोट-५ का दशरथ गिरी । उनले युवाहरुलाई विदेश पठाइरहन्थे । मनवीर पनि दशरथको सम्पर्कमा पुगे । दशरथले कतार पठाइदिन्छु, कमाइ पनि राम्रो हुन्छ भनेर मनवीरलाई फकाए । गाउँ छिमेककै व्यक्तिले विदेश पठाइदिन्छु भनेपछि मनवीर दंग परे । पैसा टन्न कमाउने सपना बुन्दै घर फर्किए र बुवासँग अनुमति मागे । बुवा लक्ष्मण दर्जीलगायतका घरका अरु सदस्यहरुले पनि स्वीकृति दिए ।
घर परिवारबाट पाएको स्वीकृतिको खुसीसँगै मनवीरलाई अर्को चिन्ता आइलाग्यो, कतार जानका लागि पैसा कसरी जुटाउने ? दशरथले कतार जान ८५ हजार रुपैयाँ बुझाउनुपर्ने भनेका थिए । दैनिक मजदुरी गरेर जीवन धान्दै आएको दर्जी परिवारले कहाँबाट जुटाउनु त्यतिधेरै पैसा ? बाबु-छोरा लक्ष्मण र मनवीरले दशरथलाई भेटेर आफ्नो समस्या राखे ।
दशरथले भने, ‘तपाईहरु त गाउँ-ठाउँकै चिनजानको मान्छे, दुई कठ्ठा जग्गा मेरा नाममा पास गरिदिनुस् ।’जम्मा जग्गा २ कठ्ठा १७ धुर छ । दुई कठ्ठा दिएर बाँकी १७ धुरमा खेतिपाती गरेर कसरी गुजारा चल्ला ? दर्जी परिवारमा चिन्ता थपियो ।
दशरथले फेरि भने, ‘मेरो विश्वास लागेन ? तीन महिनापछि ८५ हजार मलाई फिर्ता दिनुस् । तपाईंको जग्गा फिर्ता गरिदिन्छु । बरु कागज गरम् ।’छोराले विदेश गएर कमाइहाल्छ, ८५ हजार फिर्ता गर्न कति पो गाह्रो होला र ? भन्ने सोचेर आखिर लक्ष्मण दर्जीले आफ्नो नामको दुई कठ्ठा जग्गा दशरथका नाममा राजीनामा गरिदिने र छोरो मनवीरलाई कतार पठाएर पैसा कमाउने निष्कर्षमा पुगे ।
गाउँका चारजना साक्षी बसे । कित्ता नम्बर १२६० को दुई कठ्ठा जग्गा लक्ष्मणले दशरथकी श्रीमती शुभलक्ष्मी गिरीका नाममा पास गरिदिए । तर, जग्गा हात परेपछि विदेश पठाउनु त कता हो कता दशरथ गिरी सम्पर्कमै आउन छाडे ।
गिरीको घरमा जाँदा थाहा भयो, उनीहरु स-परिवार घर जग्गा सबै सम्पत्ति बेचेर गैंडाकोटबाट अन्तै गइसकेका रहेछन् । विदेश जाने रंगीन सपना बुनेका दर्जी परिवारका सदस्यहरु छाँगाबाट खसेजस्तै भए । ‘हामीलाई बज्रपात नै आइलाग्यो, वरपरकालाई सोध्दा कहाँ गएको हो, थाहा छैन भन्छन्,’ अहिलेसम्म सम्पर्कमै छैनन्,’ कतार जाने सपना बुनेका मनवीर दर्जीका दाजु भक्तबहादुरले अनलाइनखबरसँग भने ।
दिन बिते, महिना बिते तर मनवीर दर्जीको विदेश जाने दिन आएन । जग्गा पनि गयो, विदेश पठाइदिन्छु भन्ने मान्छे पनि वेपत्ता भयो । दर्जी परिवारमा पीर थपिँदै गयो । त्यसैको कारण परिवारमा कलहसमेत सुरु भयो । अन्ततः छोरालाई विदेश पठाउन नपाएपछि लक्ष्मण दर्जीले घरभित्रै आत्महत्या गरे ।सुन्दा र पढ्दा कुनै चलचित्रको कहानीजस्तो लाग्ने यो घटना ०६२ सालमा गैंडाकोट-७ शक्ति टोलमा भएको हो । न विदेश, न जग्गा, न अभिभावक भएपछि अहिले दर्जी परिवार बिलखबन्दमा परेको छ । के गर्ने, के नगर्ने भनेर अलमलमा परेको दर्जी परिवार न्याय खोज्दै हिँडेको अहिले १० वर्ष भयो ।
‘हामी त हलो जोत्ने, कोदालो खन्ने, नपढेका मान्छे । छिट्टै विश्वासमा पर्यौं र दुःख पायौं,’ मनवीरका दाजु भक्तबहादुरले अनलाइनखबरसँग भने, ‘न बुवा रहनुभयो, न भाइ विदेश जान पायो, न जग्गा रह्यो ।’
मर्ने त मरेर गइहाले, तर बाँचेकाले त खानु-लाउनु पर्यो । त्यसैले कतार जानबाट बञ्चित मनवीर ऋण खोजेर अहिले भारतमा काम गर्न गएका छन् । गैंडाकोटमै रहेका दाजु भक्तबहादुर न्यायको भिख माग्दै हिँडिरहेका छन् ।
१० वर्षपछि प्रहरीमा
गत मंगलबार भक्तबहादुर सुरक्षित आप्रवासन केन्द्र कावासोतीमा भेटिए । सुरक्षित आप्रवासन केन्द्रले वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सजगताबारे निःशुल्क सल्लाह दिन्छ । यदि विदेशमा कोही अलपत्र परेको भए केन्द्रले उद्धारको पहल पनि गर्छ ।
तर, भक्तबहादुरको समस्या अलि फरक छ । त्यसैले केन्द्रले उनलाई प्रहरीमा जान सुझाव दिएको छ । सुरक्षित आप्रवासन केन्द्र कावासोतीकी परामर्शदाता रञ्जना लम्सालले भनिन्, ‘हामीले प्रहरीमा जान सुझाव दिएका छौं । उनलाई हाम्रो तर्फबाट हुने सबै सहयोग गर्छौं ।’
त्यही सुझावका आधारमा कावासोती प्रहरीमा उजुरी दिएको भक्तबहादुरले अनलाइनखबरलाई जानकारी दिए । ‘कावासोती ठानाले निवेदन दिनुस् भन्यो, मैले निवेदन दिएँ,’ उनले भने, ‘हामी जस्ता निमुखालाई कसले हेर्ला र ?’
अहिलेसम्म उक्त जग्गा दाबी गर्न दशरथ गिरी आएका छैनन् । गिरीलाई राजीनामा गरिसकेको घरसहितको जग्गामै दर्जी परिवार बसिरहेको छ । प्रमाणका नाममा जग्गा पास लिए-दिएको कागजमात्र छ ।‘हामीलाई ठगेर जग्गा खानेको फोटो पनि छैन, कहाँ गयो भन्ने थाहा पनि छैन । फोन नम्बर पनि छैन,’ भक्तबहादुरले भने, ‘कुन दिन आएर हामीलाई उठीबास लाउने हो, थाहा छैन ।’
No comments:
Post a Comment