Sunday, May 22, 2016

मानिसले चिनेको जात प्रकृतिले चिनेन् - सरोज उपरकोटी


जेष्ठ १०, विभेद बिरुद्ध अभियान  -हामी मानिस प्रकृतिको उपज हौं । प्रकृतिले हामीलाई जस्तो बनायो, हामी त्यस्तै छौं, जस्तो बनाउनेछ त्यस्तै हुनेछौं । आखिर हामी मानिसको रुप, रङ्ग, अंग, प्रत्यङ्ग, प्रवृति र विषेशता उस्तै छ । फरक छौं त बाहिरी बनावटमा । हामी कोहि काला, कोहि गोरा, कोहि रातो वर्णका वा कोहि होचा छौं त कोहि अग्ला, कोहि चुच्चो नाक भएका छौं त कोहि थप्चो नाक भएका । कसैले मिठो बोल्न जानेको हौंला त कसैले नजानेको हौंला, त्यो पनि समाज अनुसार निर्धारण हुन्छ । यी सबै मानवीय विविधता आखिर प्रकृति र समाजले नै निर्धारण गरिदिएको हो । प्रकृतिको हावापानी, प्राकृतिक बनावट र समाज अनुसारं हाम्रो रुप, रङ्ग, शरीरको आकार, प्रकार र व्यवहार बनेको छ । प्रकृतिले हामीलाई जति दिएको छ हामी त्यतिका भागिदार हौं । यहि प्रकृतिले हामी मानिसले बनाएका जातहरु सबैलाई एकै किसिमको विधि, प्रक्रिया बाट यहा“ जन्मायो र एकै विधि, प्रक्रियाबाट एक दिन हाम्रो प्राण पखेरु उडाउनेछ । कथित हामी विभिन्न जात भनिएकाहरु मरणशील छौं, हामी कसैलाई मरण बाट छुट छैन् । हामीहरुको भुमिका जे–जे भए पनि आखिर हामी चलचित्रको पात्र जस्तै हौं, आ–आफ्नो भुमिका प्रस्तुत गर्ने र पर्दाबाट ओझेल पर्ने । आज हामी जे–जसमा रमाईरहेका छौं त्यो प्रकृति कै अंशमा रमाईरहेका छौं, जे गरिरहेका छौं त्यो पनि करिब प्रकृतिकै निर्देशन र नियम अनुसार गरिरहेका छौं । हामी मानिस अमेरिकाको वासिङटन, जापानको टोयियो वा नेपालको काठमाडौं जहा“ जन्मिए पनि हामी मानिस जाती नै भएर जन्मियौं । हामी सबैको मानव जात हो त्यो भन्दा अर्को हुनै सक्दैन् । 
तर, प्राकृतिक छटाले भरिएको यस नेपालमा हामी मानवको एक्लो जातमा उप–जात बनाएर बहुजाती भन्दै टुक्रिएका छौं । हामी कसैलाई बाहुन, क्षेत्री, कसैलाई दमाई, कामी, सार्की, कसैलाई गुरु·, मगर, तामाङ आदि ईत्यादि नामले छुट्याएका छौं । यस देशमा जात मात्र छुट्टिएन जात अनुसार मानिसमा श्रेणी पनि निर्माण गरियो । जस अनुुसार कसैलाई ठूलो जात, कसैलाई सानो जात वा कसैलाई पानी चल्ने, कसैलाई पानी नचल्ने, छुत—अछुत, उच—निच भन्ने बनायौं । अनि यसैका आधारमा कतिथ दलित भनिएकाहरुलाई अवहेलना, विभेद तथा छुवाछतै गर्न पनि पछि परेका छैनौं । तर आखिर हामी जातको नाममा जे गरिरहेका छौं त्यो प्राकृतिक नियम, प्रक्रिया, पद्धती र विज्ञान भन्दा विपरीत छ । प्रकृतिले हाम्रो नेपालमा बनाईएको कुनै पनि जात चिनेको छैन् । यसले न हामी सबैभन्दा ठूलो भन्ने गरेका ब्राह्मण चिनेको छ । न कथित शुद्र वा सानो जाती तथा जनजाती भन्नेहरुलाई चिनेको छ । प्रकृतिले कसैलाई चिनेको छैन्, अनि चिन्ने आधार पो के छ र यहाँ ? यसैले प्रकृतिको उत्पति सबै मानिसहरुमा समान छ । व्यवहार पनि सबैमा समान छ । हेराई, दृष्टिकोण, दण्ड, सजाय सबै–सबै समान छ । 
मानव निर्मित जातीय व्यवस्था अवैज्ञानिक, अप्राकृतिक र कपोलकल्पित हो । मानिस भित्र जात छैन् । सबै मानिस—मानिस नै हुन् अर्को जात छैन् भन्ने कुरा २०७२ वैशाख १२ गते गएको महाभुकम्पले सावित गरिदिएको छ । गोरखाको बारपाक केन्द्र बनाएर गएको ७.८ रेक्टरको यस महाप्रलय मान्छे बिच समानता छ । भिन्नता छैन् भन्नकै लागि आयो कि झैं नि लाग्छ । किनकी सदियौं देखि जातको नाममा टुक्रिएको हाम्रो समाजलाई यस भुकम्पले समान किसिमको धक्का महसुुस गरायो । यस धक्कामा कुनै विभेद थिएन् । जुन हाम्रो समाजमा छ । यसले मानवीय पिडामा विभेद गरेन् । न यसले मानवीय समवेदनामा विभेद ग¥यो । फलत यस प्रलयले समान खालको क्षति हामी माझ ल्यायो । संख्यात्मक र परिणात्मक क्षति फरक थियो होला तर भावानात्मक र मनोवैज्ञानिक चोट करिब समान थियो । यस महाभुकम्पले यो बाहुन, यो क्षेत्री, यो दमाई, यो कामी, सार्की वा गुरु·, तामाङ भनेन् । बाहुन, क्षत्रीको घर कम भत्काउँ, दमाई, कामी, सार्कीको घर बढि भत्काउँ वा बाहुन, क्षत्रीको घर बढि भत्काउँ, दमाई, कामी, सार्कीको घर कम भत्काउँ भनेन् । बाहुन, क्षत्रीको घर नभत्काउँ भत्काउँ, दमाई, कामी, सार्कीको घर बढि भत्काउँ वा बाहुन, क्षत्रीको घर कम भत्काउँ, दमाई, कामी, सार्कीको घर बढि नभत्काउँ पनि भनेको थिएन । दमाई, कामी, सार्कीलाई घाईते बनाई मारुँ, बाहुन, क्षेत्री नमारुँ वा दमाई, कामी, सार्कीलाई नमारुँ, बाहुन, क्षत्रीलाई मारुँ पनि भनेन । बाहुन मरेको ठाउँमा दमाई मरे, कामी मरेको ठाउँमा क्षेत्री मरे गुरु·, तामाङ मरे । कसको मलामी को बने, कसले कसलाई सुनपानी खुवायो । कसले कसलाई रगत दियो र जीवन बचायो, त्यसको कुन धर्म र संकारले लेखाजोखा गर्न सक्छ । त्यो अवस्थालाई कुन जातीवादीले रोक्न सकेको थियो । आखिर यी सबै प्रकृतिले जात नचिन्दा नै भएको थियो । प्रकृतिले यो जात ऊ जात नभनी सबैमा उत्तिकै आहात पु¥याएको थियो । आफ्नो आफन्त र धन दौलत गुमाउन पर्दा गोरखाका कथित दलित र सिन्धुपाल्चोकका कथित उपल्ला जाती भन्नेहरुको उहि पिडाका साथ आँसु बग्यो । अझ एउटा बाहुनको जनधनको नास हुँदा कथित दलितका आँखा रसाए । एउटा सार्कीको जनधन गुम्दा अर्का बाहुनका आँखाबाट आँसु खसे । त्यहि हो प्राकृतिक समवेदना । त्यहि आँखाका आँसुले भनेका थिए मानव भित्र जात छैन् भनेर । मान्छे भित्र जात थियो भने किन एक जात भनिएका मर्दा अर्का जात भनिएका बिलौना गरेर रुन्थे । त्यसैले मानव भित्र जात नभएको उदाहरण थियो त्यो । 
एउटा बाहुन वा क्षेत्रीलाई घरले च्यापेर मृत्युवरण गर्नु पर्दा त्यहाँ भएका दमाई, कामी, सार्की, पोडे वा च्यामे गएर लास निकाले । कथित दलित च्यापिएर मरेको खण्डमा बाहुन वा क्षेत्री वा जो कोही गएर लासको उद्धार गरे । त्यस बखतमा एक जात मर्दा अर्को जातले छुन हँुदैन भन्ने धर्म, संस्कार र मुल्य मान्यता र विश्वासले, किन रोक्न सकेन ? कथित उपल्लो जातको मृत लास पुरिएको ठाउँबाट कथित दलित भनिएका जातले निकाल्दा के प्रलय भयो । भयो, त मृत शरीरको उद्धार मात्र, जबकी नेपालमा कथित एक जातको मृत्यु हँुदा अर्को जातले छुन हुन्न भन्छौं र छुन्नौं । अन्नत हामीले भन्ने गरेको जातीय व्यवस्था, संस्कार र संस्कृति गलत छ भन्ने पाठ यस महाभुकम्पले सिकाएको छ । महाभुकम्पले सिकाएको पाठलाई पूर्ण रुपमा आत्मसाथ गरेर सबैलाई समान मानव मान्नु पर्ने समयको माग रहेको छ । यो जात र ऊ जात भन्ने विविधता होईन मानव जात भित्र अर्को जात छैन् भन्ने विगुल फुक्न आवश्यक छ । असमानता र विभेद भन्ने कुरा कथित उपल्लो जात भनिएकाहरुले आजैबाट मनबाट हटाई सदियौं देखि अमानवीय व्यवहार सहन गर्दै आएकाहरुलाई मानवीय हैसियत दिन आह्वान गरिन्छ । आजैबाट समान मानव, समान सोच, समान व्यवहारका साथ सम्पूर्ण नेपाली, नेपाली वा मानव बनेर बाँचौं ।

No comments:

Post a Comment