विभेद बिरुद अभियान , २१ साउन । आफ्नो फोटो टाँसेका धेरै परिचय पत्रहरु फटाइसकेका दलजीतको नाममा भर्खरै फेरी अर्को परिचय पनि थपिएको छ, मन्त्री । र काठमाडौंबाट निक्कै परको रुकुम जिल्लाको एउटा कुनामा जन्मिएका ‘कान्छा’ यतिबेला ‘मन्त्रीज्यू’ भएका छन् ।
युवा तथा खेलकुद मन्त्रीमा यिनको नाम दर्ज भएसँगै यिनको मोबाइलले फुर्सद पाएको छैन । फोन र म्यासेजको भारी दलजीतसम्म ल्याइपुर्याउन निकै दौडधुप गरिरहेको छ त्यसले । यो त्यही मोबाइल हो, जुन केही महिना अघि एकाएक निकै फुर्सदिलो बनेको थियो । जतिबेला दलजीत श्रीमतीको किड्नी ट्रान्सप्लान्टका लागि टिचिङ्ग हस्पिटलमा थिए, र ऋण खोजेको पैसा पनि सबै सकिइसकेको थियो ।
सांसद दलजीतबाट विभिन्न काम गराउन फोन गर्नेहरु त्यतिबेला दलजीतले गरेको फोन पनि उठाउँदैनथे । ती दिनहरुमा हस्पिटलमै पुगेको एक साँझ उनले बडो मन दुखाउँदै भनेका थिए, “दलजीतले ऋण माग्छ भनेरै फोन नउठाको त होला नि ।” उनको कुरा सुनेर मन भारी भएथ्यो । बोल्ने शब्दै निख्रिएको महसुस भएर चुप बसेको थिएँ म ।
मन्त्री भएपछि पद तथा गाेपनीयताकाे सपथ लिँदै खेलकुद मन्त्री दलजीत श्रीपार्इली |
मन्त्रीको सपथ ग्रहण गरेको रात दलजीतको आँखाभरि पुराना दिनहरु तँ छाड मँ छाड गर्दै आईरहे । अबेरसम्म के—के सोँचेर बसिरहेका थिए उनी । कुनै चलचित्रको पात्र ‘फ्ल्यास ब्याक’मा गएको दृश्य जस्तै भयो त्यो रात । खुबै नोस्टाल्जिक बने ।
दलित भएकैले गाउँमा बुवा, आमा, दाई, दिदीहरुले गैरदलितहरुबाट अन्याय खेप्नु परेको सम्झिए । उनीहरुले साहुकोमा काम गरेपनि ज्याला नपाएको सम्झिए । अनि सम्झिए, बेलाबखत गाउँका चेलीबेटीहरुको ईज्जत लुटिएको भन्ने हल्लाहरु । अहिले सम्झिँदा पो झसङ्ग हुन्छन्, ईज्जत लुटिनुको अर्थ त बलात्कार हुनु पो रहेछ । त्यतिबेला न्याय खोज्न जाने हैसियत कहाँ थियो र त्यहाँका दलितहरुको, गरीबहरुको । प्रहरी प्रशासन सबै ती नै ठुलाबडाको हैकममा थियो, जसले अन्याय गरिरहन्थे ।
दलजीत वि.सं. २०२८ साल असोज २७ गते जन्मिएका हुन्, रुकुमको महत ५, गुनाममा । गणेश वि.क. र सुकैदेवी वि.क.को कान्छो छोरा भएर । दाईहरु जस्तै साहुकोमा गोठालो बस्नु परेको भए आजको मन्त्री गुनाम मै गुमनाम हुने थियो सायद । तर बुवा आमाले एउटा छोरोलाई चाहीँ जसरी भएपनि पढाउने निधो गरेकैले उनी यहाँ आईपुगेका छन् ।
उनी सँधै प्रथम हुन्थे । कक्षा ५ पास गरेपछि बाँकी पढ्न अलि परको विद्यालयमा गए । विद्यालयमा शिक्षकले सबै जात समान हुन्छ भनेर पढाउँथे । तर गाउँमा त्यस्तो हुन्थेन् । गाउँको अन्याय देखिरहेको उनी कक्षा ७ पढ्दै गर्दा त्यतिबेलाको मोटो मशालको विद्यार्थी संगठनमा आबद्ध भए ।
संयोग कस्तो भने दलजीतलाई कोर्सको किताब पढाउँदा पढाउँदै समाजको थिचोमिचो विरुद्धमा लाग्न घच्घच्याएका शिक्षक पनि अहिले एउटै मन्त्री मण्डलमा छन् । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा । महरा किताब त पढाउँथे नै, सँगै समाजमा भईरहेका अन्यायको बारेमा पनि खुसुक्क भनिदिन्थे ।
दलजीतले एस एल सि पास गरेपछि गाउँकै विद्यालयमा दरबन्दी शिक्षकको हैसियतमा पढाउन थाले । त्यतिबेलै हो विवाह गरेको पनि, सुनकारी वि.क.सँग । त्यतिबेला विद्यालयमा यस्ता शिक्षकहरु पनि थिए जसले एउटा दलित केटो आफ्नै विद्यालयमा मास्टर भएको स्वीकार्न सकेनन् । प्रधानाध्यापक नै उनको विरुद्धमा लागे ।
उनको कसुर केही हुन्थेन् र पनि सार्वजनिक ठाउँमा अमपानजनक व्यवहार खेप्नुपथ्र्यो । राती आएर घरमा ढुङ्गा हानेर सताउँथे । “दलजीत चोर, गाउँ छोड” भन्दै नाराबाजी गर्थे । कति रात त उनी घरदेखी पर गएर खेतका कान्लाहरुमा सुते । रुखका फेदहरुमा सुते । राती केही गर्ने हुन् की भनेर परिवारले उनलाई अन्तै गएर सुत्नु भन्थे ।
अन्ततः उनले पढाउन छोडे । सताउन पनि छोडियो । सायद हाई सञ्चो भयो सताउनेहरुलाई । लाग्यो होला, अब चाहीँ दाईहरु जस्तै यो पनि अरुकोमा गोठालो बस्छ । तर दलजीत पछाडी हटेनन् । पहिले गरिबीकै कारण पढ्न नसकेका उनीलाई जसरी पनि पढाउने भनेर आमा, श्रीमती, दाईहरुले अठोट गरे । अनि मुसिकोट क्याम्पसमा भर्ना भए । मुसिकोट मै बसेर पढ्थे । घरबाट झोलामा हालेर पिठो लगेका हुन्थे, गुन्द्रुक लगेका हुन्थे ।
उनी पढाई सँगै संगठनको काममा पनि सक्रिय भए । कक्षा १२ को परीक्षा दिएर बस्दा पार्टीले (तत्कालीन नेकपा माओवादी) जनयुद्ध शुरु गर्ने निर्णय ग¥यो उनी पनि सामेल भए । जनयुद्धमा लाग्न घर छोड्ने दिनको दृश्य निकै कारुणिक थियो । उनी अघिल्लो दिन नै आवश्यक कपडाहरु हालेर तयार गरिएको झोला भिरेर आँगनमा उभिएका थिए । आमा र बुवा पिँढीमा थिए ।
श्रीमती मलिन अनुहारमा अब यो बच्चा कसरी पाल्ने ? भनेर सोध्दै थिइन् । उनीसँग त्यो प्रश्नको जवाफ थिएन । सानी छोरीले दलजीतको खुट्टामा समातेर बसेकी थिइन् । आमा अघि सर्दै अबिर लगाईदिइन् । भनिन्, एउटा छोरो युद्धकै लागि भयो, आँट गरेर अगाडी बढ् । बुवाले पनि ‘ल राम्ररी जा’ भनेर बिदा गरे । उनी आँगनबाट हिँडे । अलि पर पुगेर यसो फर्कि हेरेको, बुवा पनि एकातिर फर्किएर रोइरहेका रहेछन् । मुटुमा गाँठो पारेर अघि बढे उनी ।
अब उनको दैनिकी फेरियो । हतियारसँगको यात्रा शुरु भयो । यो यात्रा त्यति सहज कहाँ थियो र । पाईला पाईलामा मृत्युको सम्भावना बोकेर हिँडेका थिए उनी ।
एकदिन उनी गाउँकै सेल्टरमा पुगेका थिए । बम हेर्न खोज्दा हातबाट फुस्किएर अगेनामा प¥यो । तत्कालै बडेमाको आवाज निकालेर पड्कियो । उनी बेहोस् भएर ढले । शरीरैभरि आगै आगो भयो । सँगैको साथी दौडिएर अरुलाई दलजीतको मृत्युको खबर सुनाउन गए ।
उनकी श्रीमतीलाई गएर भने, भाउजु प्रशान्त (भूमिगत नाम) दाईको मृत्यु भयो । श्रीमती हत्तपत्त घाँस काट्न छोडेर धुँवै धुँवा भएको छाप्रोमा पुगिन्। छेउमै रहेको डुँडमा फोहोर पानी थियो । त्यही पानी दलजीतको जीउमा खन्याएर आगो निभाइन् । सबैलाई लाग्यो दलजीत मरे । तर निक्कै बेरपछि उनको होश आयो ।
त्यतिबेला त उनी बाँचे । तर त्यो जीवन कहिलेसम्मको लागि हो भन्ने चाहीँ कसैलाई थाहै थिएन । जुनसुकै बेला जे पनि हुन सक्थ्यो ।
२०६० साल मंसिर महिनाको कुरा हो, कैलालीको बन वर्षामा उनी सुरक्षा फौजको घेरामा परे । चातैतिरबाट गोली बर्सियो । सँगै रहेका साथी काशीराम चौधरी (सयपत्री) गोली लागेर ढले, तत्कालै उनको प्राण पखेरु उड्यो । दलजीत भागेर केराको गाँज नेर पुगे र बाहिरी कपडा फुकालेर गन्जी र कट्टु मात्रै लगाएर अर्कै बाटो निस्किए ।
सुरक्षा फौजले सर्वसाधारण भन्ने ठानेर केही गरेन । अलि पर पुगेपछि उनी लामो फड्को हानेर उखु बारीमा हाम फाले । अनि पो सुरक्षाकर्मीहरुले चाल पाए, उनी माओवादी लडाकु रहेछन् भन्ने ।
त्यसपछि उखुबारीलाई केन्द्र बनाएर चारैतिरबाट गोली बर्सियो । कसो कसो उनी लम्पसार परेर कुहिनाले टेकेर अगाडी बढ्दै त्यहाँबाट निस्किएर भागे । त्यति नै बेला एउटा गोली उनको दाहिने खुट्टाको कुर्कुच्चा माथी लाग्यो । उनी रन्थनिँदै एउटा घरमा पुगे । आँगनमा ढले ।
अन्न निफन्दै गरेकी बुढी आमैले उनी माथी पराल, सुँगुरको दिसाहरु, घाँस थोपरेर लुकाए । सुरक्षाकर्मी त्यहीँ आएर सोध्दा आमैले भनिन्, यही बाटो बाट दौडिँदै गएको छ । उनीहरु त्यही बाटो पछ्याउँदै गए । १ घण्टा पछि दलजीतको होस् आयो ।
नजिकै भिडन्तमा केही साथीहरु मारिएका रहेछन् । रेडियोमा प्रसारण भएको समाचारमा उनी पनि मारिएको भनेर बज्यो । त्यतिबेला उनकी श्रीमती पनि जनसेना भइसकेकी थिइन् । बेलुकी मृतक साथीहरुको श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । उनकी श्रीमती पनि त्यहीँ आएकी थिइन् ।
त्यतिबेला टुकीको उज्यालोमा जब उनले दलजीतलाई जिउँदै देखिन् अनि त हुत्तिएर आएर गमलङ्ग अँगालो हालेर रोईन् । निकैबेर रोइरहिन् । यस्तो धेरै पटक भयो, उनको मृत्युको समाचार रेडियोमा बज्थ्यो, समाचार उनी आफै सुनिरहेका हुन्थे ।
दलजीतकी श्रीमती सुनकुमारी सुत्केरी भएको २ दिन मात्र हुँदाको एउटा स्मृति । उनी घरमै थिईन । पार्टीको गाउँ कमिटिका केही मान्छेहरु आएर कमरेड प्रशान्त सहित हुनुभयो भनेर सुनाए । अनि सुत्केरी अवस्थामा रहेकी उनलाई सहित पत्नी घोषणा गरेर सम्मान पनि गरे ।
तर केही दिनपछि एउटा पत्र आयो उनै दलजीतले पठाएको, म सञ्चै छु भन्ने खबरसहितको पत्र । जनमुक्ति सेनाको डिभिजन सह कमाण्डरसम्म भएका दलजीतलाई लिन आएको काल खै के सोँचेर हो, पटक पटक फर्किएर गयो ।
छोरा माओवादीको सशस्त्र युद्धमा हिँडेकै कारण उनको बुवा आमाले सेना, प्रहरीको कुटाई खाए । कुटाईबाट थला परे । ज्यान गुमाए । दलजीत त्यो दिन सम्झिँदा आज पनि आँखा भरि आँशु पार्छन, जुन दिन पर खोला छेउमा उनको बुवाको चित्ता जलिरहेको थियो, र दलजीत जङ्गलबाट दुरबिनले त्यो दृश्य हेरिरहेका थिए । मन त थियो, बुवाको चित्ता छेउमै बसेर बेस्सरी रोउँ, बुवा जीवित् छँदाको सबै सबै कुराहरु सम्झिएर आँशु झारी रहुँ । तर सुरक्षा चुनौतीकै कारण यो सबै सम्भव भएन । अनि जङ्गलबाटै दुरबिनले त्यो दृश्य हेरिरहे ।
किड्नी ट्रान्सप्लान्टको लागि श्रीमतीलाई अस्पतालमै राखेको बेला एक दिन उनको कोठामा नै पुगेको थिएँ म, एन्टेना फाउण्डेशन नेपालको रेडियो कार्यक्रम ‘मैले जे भोगेँ’का लागि उनीसँग कुरा गर्न । मलाई उनको भोगाई सुन्नु थियो । त्यो सुनाए । सँगै फुकाए मनको बह, सकि नसकी बोकेको भारी चौतारीमा फ्यात्तै बिसाए झैँ गरि । भने, “राजनीतिमा विचार मुख्य कुरा हो । तर त्यो विचार बोक्ने भौतिक शरीरलाई टिकाउने कुरा पनि उतिकै मुख्य हो । यसका लागि पनि पैसा चाहिँदो रहेछ ।”
युद्ध भूमिमा कहिल्यै नथाकेको कमाण्डर यतिबेला मेरो अघिल्तिर पटक पटक खुइइइ… गर्दै थिए । सायद कठिन थियो, जीवन बाँच्ने युद्ध । मलाई मनमा चिसो पस्यो, पैसाको अभाव पूर्ति गर्नकै लागि कतै नैतिकता नै बन्धकी राख्ने सोँचमा त पुग्दैनन् यिनी ? तर विगतमा आर्थिक, साँस्कृतिक लगायतका सबै परीक्षामा निश्कलंक उत्तीर्ण भएका दलजीत त्यति कमजोर कहाँ थिए र ।
उनले तत्कालै थपे, “अब पैसा पनि कमाउनुपर्छ भन्ने लागेको छ । राजनीति गर्नेहरुले वैकल्पिक पेशा गर्नुपर्ने रै छ । म पनि अब कुनै वैकल्पिक पेशा अपनाउँदै राजनीतिमा लाग्छु । तर म चोर बाटो बाट पैसा कमाउन लाग्ने मान्छे हैन । मेरो ईमान्दारितामा अहिलेसम्म कुनै दाग लागेको छैन, अब पनि लाग्न दिन्नँ ।”
जीन्दगी संघर्ष हो, सबै यसै भन्छन् । पाईलापाईलामा जोखिम मोलिरहेका हुन्छौँ हामी । त्यसैले जीन्दगी संघर्ष नै हो रे । तर उनको जीवन भोगाई सुनेपछि यस्तो लाग्यो की जीन्दगी संघर्ष मात्रै होईन बरु यो त संघर्षहरुको पहाड नै हो, जति छिचोल्यो उति थपिन्छ ।
उनी त्यही दलजीत हुन्, जसको टाउकोको मुल्य १० लाख तोकेर तत्कालीन सरकारले जताततै पर्चा टाँसेको थियो । अनि उनी त्यही दलजीत हुन्, जो बमका ७ वटा छर्रा अझैपनि शरीरभित्रै राखेर हिँडिरहेछन् । त्यो निकाल्न नेपालमा सम्भव पनि छैन भन्छन् । “उसो भए विदेशमा गएर भए नि निकाल्नुपर्यो नि त !” भन्दा उनी हाँस्दै भन्छन्, “जनयुद्ध लडेको मान्छे, यी छर्राहरु त गहना भए मेरा ।”
दलजीत यही गहना साथमा राखेर एउटा परीक्षामा उत्रिएका छन् यतिबेला । यो परीक्षा केही जटिल भने छ । सँधै सँधै जस्तै यो परीक्षामा पनि उनी उत्तीर्ण भए भने त्यतिबेला बधाई दिउँला भन्ने सोँचिरहेछु म । र सम्झिरहेछु जनवादी गायक जीवन शर्माको शब्द र स्वरमा गुञ्जीरहने एउटा गीत:
जाल थापी हिँड्ने जालहारीको पासोमा कतै नपस्नु है
दुष्टले तिमीलाई झुक्याई देला बल्छीमा कतै नफस्नु है
सागर भेट्न जाँदैछ नदी सँगै—सँगै जाउ ।
पानीमा खेल्ने माछी तिमी पौडी खेल्दै जाउ । ।
पहराले छेके पनि, पहिरोले रोके पनि…..
बीचमा कतै नहराउ..
(महावीर विश्वकर्मा एन्टेना फाउण्डेशन नेपालका कार्यक्रम उत्पादक हुन् ।)
दियो पोस्ट बाट साभार
No comments:
Post a Comment