विभेद बिरुद्ध अभियान- काठमाडौ, २९ साउन । मलाई संसारमा दुईवटा मात्र जात छ भन्ने लाग्छ । कोही दलित र माथिल्लो जाति भन्ने हुँदैन । मान्छेलाई दलित भन्ने चलनमा पनि कारण छ । जस्तो हामी खड्गीहरु मासुको काम गर्छौं । जीउभरि रगतै रगत लत्पतिएको हुन्छ । हामी त शुरबीर हौं । काटमार गर्न जोकोहीले सक्दैन । कसैले नसकेको काम हामीले गरेर मान्छेलाई बचाइरहेका छौं । खड्गीहरु दह्रो मुटु भएका मान्छे हुन् । एउटा ज्यान मारेर सय जना अघाउँछ भने त्यसमा पाप हुँदैन भन्ने त शास्त्रमा पनि लेखिएको छ ।
राँगा कस्ले मार्ने ? हामीले नै मार्ने । रगत लत्पतिएको हुँदा त्यसमा जीवाणुहरु पनि हुन्छ । हामी काम गर्नेलाई यो सबै पचिसकेको हुन्छ । तर अरु मान्छेलाई यो कुरा घिन लाग्छ, गनाउँछ । त्यसैले मानिसहरुले हामीलाई दलितको रुपमा व्यवहार गर्थे । चिया पसलमा आफूले खाएको ग्लास आफैं माझ्नुपर्ने यस्तो छुवाछुत थियो । मैले नै कतिपल्ट ग्लास माझ्न लाउँदा ग्लाँस नै फ्याँकिदिएको छु । बरु ग्लासको पैसा तिर्थें ।
दमाईँ, कामी सबै परिश्रम गर्ने जात हो । पसिना धेरै आउने कारणले उनीहरुको जीउबाट गन्ध आउँथ्यो त्यसैले कथित माथिल्लो जातले उनीहरुलाई हेपेको हो । उनीहरु नुहाउँदैनथे । तर बाहुनहरु त दिनदिनै नुहाउँने । बाहुनहरुलाई राम्रो कुराहरु थाह थियो । मलाई म खड्गी भनेर कसैले भन्यो म त आफ्नो जातप्रति गर्व गर्छु । तर अहिले कसैलाई कसाइ वा दमाइ कामी भन्यो भने रिसाउँछन् तर मलाई रिस उठ्दैन ।
राजनीति गर्नेहरुले जातपातको कुरा गरेको हो । मैले त राजाहरुसँग बसेर पनि खाना खाएको छु । राजामती चलचित्र आउँदा एकपटक नीर शाहले दरवार जाउँ भन्नुभयो । नेवारी भाषाको चलचित्रमा भाषाको समस्या आउला भनेर नीर शाहले मलाई लानु भएको थियो । हामी वीरेन्द्र राजासँगै बसेर खाना खायौं । एकपटक गीरिजाबाबु खड्गी समाजले मलाई सम्मान गरेको कार्यक्रममा आएर आफू पनि आधा खडगी भएको बताउँदा सबैले ताली पिटेका थिए । कुरा के रहेछ भने उनी लुकेर राजनीति गर्ने बेलामा खड्गीको घरमा लुकेर बसेका रहेछन् ६ महिना । अहिले यो जातपातको कुरा सब बेकार हो । सबैले उद्यम गरौं । पैसा कमाऔं । कसैले कसैको बारेमा नराम्रो कुरा गर्नै पर्दैन । मैले १३ विगाहमा पाउलोनिया रोपेको छु । सबैले नगदे वाली लगाउने हो भने देश विकास हुन बेर लाग्दैन । मरेर जाने जीवन हो केही गरेर मात्र मर्नु पर्छ । मैले जानेको त्यत्ति हो ।
No comments:
Post a Comment