Saturday, August 27, 2016

दलित समुदायले राज्यको अनुभूति कहिलेदेखि गर्न पाउने हो ? -श्यामबहादुर मगराती

विभेद बिरुद्ध अभियान, भाद्र १२ -नेपाल सरकारले मुलुकलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको पनि आज दश वर्ष पुगिसकेको छ । तर व्यवहारिक र मानसिक रुपमा नेपाली समाज जातीय छुवाछूत र विभेदको रोगबाट अझै ग्रस्त छ । जातीय आधारमा भेदभाव र अवहेलना गर्ने प्रवृत्ति नेपाली समाजमा निरुत्साहित भएको छैन । कथित दलित भएकै कारण दलित समुदायमाथि गरिने छुवाछूत र विभेद अझैसम्म कायम रहेकोछ ।
नेपालमा पटक पटकको राजनीतिक परिवर्तनपछि गणतन्त्र आईसकेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधानमा जातीय छुवाछूत तथा विभेद विरुद्धका व्यवस्थाहरु उल्लेख गरिएका छन् । नयाँ संविधानको धारा (४०) मा दलित हकलाई मौलिक हकको रुपमा र धारा (२४) मा जातीय छुवाछूत तथा विभेद विरुद्धको हकको रुपमा व्यवस्था गरेकोछ । तर दुर्भाग्यवश नेपाली समाज पुरातन सोच र चिन्तनबाट बाहिर निस्कन सकेको छैन ।
लामो समयदेखि नेपालमा जातीय छुवाछूत तथा विभेद विरुद्धका आन्दोलनहरु चल्दै आईरहेको छ । यहाँ सरकार तथा राजनीतिक दलहरुले आफूलाई जातीय छुुवाछूत तथा विभेद विरुद्ध उभ्याउँदै आएका छन् । २०६३ जेठ २१ गते तत्कालीन सरकारले नेपाललाई सदाका लागि छुवाछूतमुक्त राष्ट्र घोषणा ग¥यो । अन्तरिम संविधान, २०६३ तथा जातीय छुवाछूत तथा विभेद कसुर र सजाय ऐन, २०६८ ले जातीय छुवाछूत तथा भेदभावलाई हिंसा र अपराधको रुपमा परिभाषित गरेको छ ।
ती नीतिगत व्यवस्थाहरु सरकार र राजनीतिक दलको प्राथमिकतामा परे पनि समाज पूर्ण रुपमा दलितमैत्री बन्न सकेको छैन । तुलनात्मक रुपमा विगत भन्दा केही परिवर्तन आएको छ । तर जातीय छुवाछूत तथा विभेद पूर्ण रुपमा अन्त्य हुन सकेको छैन । सरकारको नीतिगत व्यवस्था हुँदाहुँदै पनि समाजमा जातीय छुवाछूत तथा विभेदले जरो गाड्नु आम नेपालीहरुको लागि विडम्बना नै हो ।
जातीय छुवाछूत तथा विभेदका नाममा दलित समुदायले धेरै दुव्र्यवहार खेपिरहेका छन् । धारा, कुवा, विद्यालय, मन्दिर जस्ता स्थानहरुमा जातीय छुवाछूत तथा विभेद विद्यमान नै रहेको छ । अन्तरजातीय विवाह गरेकै कारण समाजबाट विस्थापित हुनुपर्ने, मारिनु पर्ने जस्ता घटनाहरु निरन्तर रुपमा विकास भईरहेका छन् । सरकारले अन्तरजातीय विवाहित जोडीलाई प्रोत्साहन गर्ने नीति र कार्यक्रम ल्याए पनि समाजमा ती जोडीहरु सहज रुपमा स्थापित हुने वातावरण छैन । नयाँ संविधान जारी भएपछि जातीय छुवाछूत तथा विभेदका फरक फरक प्रकृतिका घटनाहरु घटिरेका छन् । पछिल्लो दुई महिनामा धेरै जातीय छुवाछूत तथा विभेदका घटनाहरु घटेका छन् ।
२०७३ जेठ ६ गते आवाज मिडिया गु्रप सुनसरी, धरानले संचालन गरेको आधारभूत रेडियो पत्रकारिता तालिमका प्रमुख अतिथि तथा कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेलले सार्वजनिक मञ्चबाटै जातीय छुवाछूत तथा विभेद हटाउन नमिल्ने अभिव्यक्ति दिए । त्यसपछि दलित अधिकारकर्मीहरुले उक्त एसएसपी खरेललाई कारवाहीको लागि गृहमन्त्रीसँग माग गरे । गृहमन्त्री र गृह सचिवले तत्काल घटनाको यथार्थ बुझि कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे । तर अहिलेसम्म पनि कुनै कारवाही गरिएको छैन ।
२०७३ जेठ ९ गते कास्की जिल्ला भदौरे तामागी गा.वि.स. वडा नं. १ देउराली ढापस्वाँरास्थित देउराली देवी मन्दिरमा चण्डी पूर्णिमाका दिन पूजा गर्न पुगेका दलित समुदायलाई पुजारी देवीप्रसाद पौडेलले मन्दिर प्रवेशमा रोक लगाए । उनले दलित समुदायलाई अछुत भन्दै टीका लगाएनन् । घटना सार्वजनिक भएपछि दलित अधिकारकर्मीहरु आन्दोलनमा उत्रिए । मेलमिलापको प्रयास गरिंदा पीडितले ईन्कार गरेपछि घटनालाई कानुनी प्रक्रियामा लगियो ।
बैतडी जिल्ला दशरथचन्द नगरपालिका वडा नं. १ बाडिलेककी गर्भवती हिरा भुललाई प्रसुती उपचारको लागि एम्बुलेन्स माग्न गएका दलित महिलालाई मेडिकल सुपरिटेन्डेन्ट डा. गुणराज अवस्थीले मदिरा सेवन गरि डुम भन्दै दलित अपशब्दले गाली गरे । मेडिकल सुपरिटेन्डेन्ट डा. गुणराज अवस्थी विरुद्ध जातीय छुवाछूत तथा विभेद विरुद्धको जाहेरी दर्ता गराउन जाँदा उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय बैतडीले दर्ता गर्न ईन्कार ग¥यो । उल्टै दलित महिलालाई कालोमोसो लगाएको भनी सार्वजनिक अपराध मुद्दा दर्ता गरि प्रशासनले पक्राउ गरि हिरासतमा लियो । तर डा. अवस्थीलाई भने कुनै कारवाही भएन ।
सिराहा जिल्लाको विष्णुपुरकट्टी गा.वि.स. वडा नं. ४ का तीर्थलाल वि.क. धारोमा पानीको गाग्रो छोईएको आरोपमा स्थानीय कमल ढुंगाना र नीजका छोराबाट । पीडित वि.क.ले प्रहरीमा उजुरी दिए । तर पीडकलाई कारवाही नै भएन ।
यस्तै मोरङ जिल्ला गाछा सुन्दर दुलारी गा.वि.स. वडा नं. ७ की प्रमिला वि.क.लाई कथित दलित भएकै कारण स्थानीय मन्दिरा गुरुङको दिदीबहिनीले कुटपिट गरि मरणासन्न हुने गरि घाईते बनाए । पीडित प्रमिला वि.क.ले प्रहरीमा मुद्दा दर्ता गर्न जाँदा मुद्दा दर्ता गर्न ईन्कार गरेपछि पुनरावेदन अदालत विराटनगरमा रिट दर्ता गरेकी छन् ।
महोत्तरी जिल्लाका झगरु पासवान र उगनारायण पासवानको परिवारलाई स्थानीयले भात पानीमा रोक लगाए । त्यसपछि पीडितहरु विस्थापित भए ।
काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नं. ६ होक्सेका अजित ढकाल मिजार अन्तरजातीय विवाह गरेकै निहुँमा मारिए । उनको २०७३ असार २५ गते सँगै पढ्ने कल्पना पराजुलीसँग प्रेमविवाह भएको थियो । विवाह भएको पर्सिपल्ट कल्पना पराजुलीले आफ्नो माईती पक्षलाई फोन गरेर आफूले विवाह गरिसकेको जानकारी गराएकी थिईन् । त्यो जानकारी नै उनको लागि विछोड बन्न पुग्यो । आफूले माया प्रेम गरेको मानिसँग प्रेम विछोड त भयो नै अजित ढकाल मिजारको जीवन समेत सदाका लागि समाप्त भयो ।
राज्यले भने घटनाको मतियार टोलीको संलग्नतामा छानविन समिति बनाई अनुसन्धानको नाममा दुनियाँ नाटक गरिरहेको छ । यति बेला अजित ढकाल मिजार हत्या प्रकरणको घटनाले देशका आम दलित समुदाय त्रसित भएका छन् । यसरी दलित समुदायमाथि एकपछि अर्को श्रृंखलाबद्ध रुपमा जातीय छुवाछूत तथा विभेदका घटनापछिका परिघटनाहरुले नेपालका आम दलित समुदायले हाम्रो पनि राज्य छ भन्ने कुरा अनुभूति गर्न पाएका छैनन् ।

No comments:

Post a Comment