Friday, December 9, 2016

मैले भोगेको विभेद : जात ढाँटेर डेरा बसेँ - मन्जित ताम्राकार (सदस्य, राष्ट्रिय दलित आयोग)

विभेद बिरुद्ध अभियान- काठमाडौं, २५ मंसिर ।म सुदूपश्चिमको बझाङ र त्यसमा पनि दुर्गम देउलीकोट गाविसमा जन्मेको मान्छे । मेरो गाविसको एक वडाबाहेक सम्पूर्ण वडामा दलित समुदायको बलियो उपस्थिति थियो । तर, मेरो घर गैरदलित समुदायको बस्तीबीचमा थियो । म भएको गाउँबाट दलित बस्तीमा पुग्नका लागि आधा घन्टा हिँड्नुपथ्र्यो । गैरदलितकै बीचमा हाम्रो घर भएकाले पनि विभिन्न खालको विभेदको सामना गर्दै अगाडि बढ्नुप-यो मलाई ।

केदार माविबाट मैले विद्यालयस्तरको शिक्षा लिएँ । म स्कुलको फस्र्ट ब्वाई थिएँ । फस्र्ट डिभिजनमा एसएलसी पास गर्ने पहिलो दलित व्यक्ति थिएँ म । ०५५ सालमा मैले एसएलसी उत्तीर्ण गरेको थिएँ । मभन्दा पहिले गाविसका कुनै पनि दलित विद्यार्थीले एसएलसी पास गरेको थिएन । तर, पनि स्कुलमा होस् वा गाउँमा विभिन्न खालको जातीय विभेदको सामना भने गरिरहेँ । सुदूरपश्चिममा दलितलाई ढोली र डुम भन्ने चलन थियो । यो शब्द गाली गर्दागर्दा प्रयोग गरिन्थ्यो । यस्ता गाली त पाइलापाइलामा सुन्नुपर्दथ्यो ।

मेरो विद्यालयनजिकै चिया पसल थियो । र, त्यहाँ विद्यार्थीहरू चिया पिउने गर्दथे । पाँच कक्षामा पढ्दा त्यहाँ पुगेर साथीहरूसँग मैले पनि चिया पिएको थिएँ । चिया पिइसकेपछि साथीहरूसँगै उठेर हिँडेँ । तर, कसैले तानेर पुनः पसलमा पु-यायो । अनि, भाँडा माझ्न लगायो । अरू साथीले भाँडा माझ्नु नपर्ने मैलेचाहिँ किन माझ्नुपर्ने होला भन्दै आफैँमा अचम्म लाग्यो । म दलित भएर जन्मिएकाले चियाको ग्लास माझ्नैपर्ने बाध्यता थियो । तर, मैले त्यहाँ ग्लास माझिनँ । त्यो मेरो पहिलो विद्रोह थियो र, त्यसपछि कहिल्यै त्यहाँ बसेर चिया पनि पिइनँ।

म नौ कक्षामा पढ्दा स्कुलमा सरस्वती पूजा भयो । प्रसादका लागि खिर पकाउने कुरा भयो । त्यतिवेला सबै साथीले दूध ल्याए । तर, मलाई दलित भएकै कारण चामल ल्याउन लगाइयो । कक्षामा म मात्र एक्लो दलित विद्यार्थी थिएँ । जब सरस्वती पूजा हुन थाल्यो, मलाई टाढै राखियो । न साथीहरूसँग भान्सामा जान दिइयो न त पूजा गर्ने ठाउँमा नै । त्यतिवेला मलाई निकै नमजा लागेको थियो । नेपाल विद्यार्थी संघको क्षेत्रीय अधिवेशनमा पनि जात लुकाएर बस्नुपरेको तीतो अनुभव छ मसँग । म हाम्रो विद्यालयबाट अधिवेशनमा प्रतिनिधिको रूपमा गएको थिएँ । तर, त्यहाँ साथीहरूले बोहोरा थर लेखाइदिनुभयो । त्यसैले गर्दा नै म साथीहरूसँग बस्न पाएँ । र, म त्यतिवेला क्षेत्रीय सभापति भएँ ।

जब म एसएलसी पास गरेर उच्च शिक्षाका लागि काठमाडौंमा आएँ, त्यसपछि पनि एउटा रमाइलो घटना स्मरणीय छ । म डेरा खोज्नका लागि ब्राह्मण थरको घरबेटीकहाँ पुगेको थिएँ । मेरो थर ताम्राकार थियो, त्यसैले नेवार हुँ भनिदिएँ । किनकि त्यतिवेला जात सोध्ने चलन थियो र दलितले सितिमिति कोठा पाउँदैनथियो । मैले जात ढाँटेकै कारण कोठा पाएँ र बसेँ । उहाँसँग धेरैपटक सँगै लन्च डिनर पनि गरिन्थ्यो । तर, हामीले कोठा छाड्नुभन्दा दुई वर्षपहिले उहाँले हाम्रो असली रूप थाहा पाउनुभयो । यद्यपि, केही भन्नुभएन । म उहाँलाई अहिले पनि धन्यवाद दिन चाहन्छु । - सुदुरपश्चिम अनलाइन 

No comments:

Post a Comment