Monday, January 9, 2017

‘म उसको श्रीमती होइन भनेर कसरी भनूँ’ :लक्ष्मीदेवी बिक

रामहरी ओझा, विभेद बिरुद्ध अभियान, २६ पुस-डोटी । ‘उसैको घरमा बसेकी छौ, कि त हाम्रो पैसा देऊ, कि उसको श्रीमती होइन भन ।’ डोटीको सानागाउँ-३ रिनकोटकी लक्ष्मीदेवी बिकले अचेल गाउँमा यस्तै बचनको सामना गर्नु परेको छ ।श्रीमान् बालु भारतमा सम्पर्कविहीन भएपछि लक्ष्मीलाई साहुहरुको बचनमात्र खानु परिरहेको छैन, दुई छोराहरुको पालनपोषण कसरी गर्ने भन्ने चिन्ता पनि थपिएको छ ।
‘श्रीमानले घर बनाउन ऋण लिएको भन्दै साहुहरु दैलोमा आउँछन् र पैसा माग्छन् । तर, मलाई को-कोसँग कति-कति ऋण लिएको भन्ने थाहा छैन,’ उनी भन्छिन्, ‘मसँग पैसा पनि छैन । मैले कहाँबाट दिने ? म उहाँको श्रीमती होइन पनि कसरी भन्ने ?’

चार वर्ष पहिले रोजगारीका लागि भारत गएका बालुसिं बिक उतै हराएपछि लक्ष्मीलाई निकै धौ-धौ भएको छ ।बाल्यकालदेखि नै रोजगारीका लागि भारत जाने बालु घर बनाउनका लागि चार वर्ष अघि आएका थिए । उनले घर बनाउँदा स्थानीयहरुबाट ऋण लिए । त्यो ऋण तिर्नका लागि उनले फेरि भारत पस्नु पर्‍यो । २०६९ साल मंसिरमा घरबाट भारतको मुम्बई जान्छु भनेर हिँडेका बालु घरबाट निस्केदेखि सम्पर्कमा छैनन् ।‘ऋण लागेको छ, घर बसेर हुँदैन, म उतै गएर नोकरी गर्छु घरमा बालबच्चाको हेरबिचार गर्नू भनेर जानु भएको हो,’ उमेरले ३० पुगेकी लक्ष्मी भन्छिन्, ‘गएपछि कुनै सम्पर्क छैन ।’

१२ वर्षको कलिलो उमेरमै बालुसँग लगनगाँठो कसेकी लक्ष्मीका दुई छोरा छन् । १२ वर्षको जेठो छोरा भरत स्थानीय बिद्यालयमा कक्षा ४ मा पढ्दैछन् । कान्छो छोरो सुदर्शन चार वर्षमात्रै भयो ।‘यो तीन महिनाको मात्रै थियो उहाँ जाँदा,’ कान्छो छोरा सुदर्शनलाई देखाउँदै लक्ष्मीले भनिन्, ‘अहिले यसलाई कसैले तिम्रो बुवा खै भनेर सोध्यो भने मरिसक्यो भन्छ ।’

घर बनाउँदा ऋण लागेको त थाहा छ लक्ष्मीलाई तर कति ऋण लागेको हो र को-कोसँग ऋण लिएको हो भन्ने कुरा सबै थाहा छैन । तर, घरमा साहु आएर पैसा माग्छन् उनीसँग । ‘मलाई थाहा छैन, कति ऋण लिएको हो भन्दा उसको घरमा किन बसेको त ? भन्छन्,’ निन्याउरो अनुहार बनाउँदै लक्ष्मीले भनिन्, ‘यो घर छोडेर म कहाँ जाउँ ?’जमिनका नाममा दुई रोपनीमात्रै छ लक्ष्मीसँग । उनी अहिले आफ्नो र छोराहरुको पेट पाल्नका लागि दैनिक ज्यालामजदुरी गर्दै आएकी छिन् । भारतमै रहेका देवरले छोराहरुलाई लुगाफाटो सहयोग गरिरहेको लक्ष्मी बताउँछिन् । श्रीमान सम्पर्कबिहीन भएपछि लक्ष्मीले भारतमा भएका आफन्तहरुलाई फोन गर्दै खोजी गर्न आग्रह त गरिन् तर कतैबाट पनि बालुको खबर आएन ।

बालु जस्तै रोजगारीको सिलसिलामा भारत गएका डोटीका युवाहरु उतै हराउने गरेका छन् । निड्स नेपाल नामक गैरसरकारी संस्थाले जिल्लाका १२ गाबिसमा गरेको अध्ययनअनुसार डोटीका ९४ जना सम्पर्कविहीन छन् ।

No comments:

Post a Comment