फागुन ८ , विभेद बिरुद्ध अभियान - प्रिय शिखा मुटु भरीको मायाँ अनन्त सम्झना । आराम छु आरामताको कामना गर्दछु । पत्रको सुरुवात कसरी गरु र के सम्बोधन गरुँ अन्यौलताका बिच दुई चार शब्द कोर्नै पयत्न गरिरहेको छु आशा छ स्वीकार गर्ने छौ । हाम्रो सामाजिक परम्परा हेर्ने हो भने तिमीलाई पत्र लेख्ने मलाई कुनै अधिकार छैन कारण तिमी ठुलो जात अनि म कथित पानि नचल्ने जात । यद्दपि मानसपटलको शान्तिका लागि पत्र लेख्दै छु । शिखा समय परिवर्तन शिल छ भन्छन यही परिवर्तनको उपज स्वरुप अचम्मका पत्यारै गर्न नसकीने आविस्कारहरु भएका छन तर नेपाली समाजमा सहज रुपमा अपेक्षा गरिने मानवताको आविस्कार हुन कहिल्यै सकेन । हामी संगै छदा पनि त्यती धेरै खुसि थिएनौ यसर्थ तिमीलाई सम्झेर दुखी छु भन्ने साहस म भित्र छैन । हाम्रो सम्बन्ध त्रासै त्रासको विकराल चक्र भित्र चक्रित थियो । संगै मन्दिर जादा कामीलाई मन्दिर किन ल्याइस भनेर पुजारीले गाली गर्दा तिमीले धरधरी आसु झार्दै सोधेकी थियौ के तिमी मान्छे होइनौ ? मैले तिम्रो प्रश्नको जवाफ धेरै खोजेँ तर भेट्न सकेन शिखा ।
हामीलाई बिज्ञान पढाउने सरले भन्नु भएको थियो संसारमा असम्भव भन्ने केही छैन प्रयास गरे हरेक कुराको जवाफ भेटिन्छ तर मैले तिम्रो प्रश्नको जवाफ लाख प्रयत्न गर्दा पनि जवाफ भेट्न सकेन । शिखा तिमी संग बितेका पलहरु अझै मेरो मानशपटलमा ताजै छ । तिमीले छुटिदै गर्दा यसलाई एउटा मिठो सपना सपना सम्झेल भुलिदिनु भनेकी थियौ मैले आज्ञाकारी विद्यार्थीले झै हवस भनेको थिएँ सायद तिमीले त मलाई भुल्यौ होला तर मैले गरेको प्रतिज्ञा पुरा गर्न सकेन शिखा हो म फेल भएँ जिन्दगीको लामो यात्रामा । हाम्रा सहसाथहरु जसले मलाई पोलिरह्यो सबैलाई तिम्रो बारेमा थाहा छैन भनेर ढाटेँ तर आफुले आफुलाई ढाट्न नसकिदो रहेछ । शिखा तिमीलाई याद छ त्यो रात तिमी अस्पतालको बेडमा रगतको अभावमा छटपटी रहेको वेला तिमीलाई रगत दिएर बचाउने मान्छे अरु कोही नभएर म नै थिएँ । मैलै यसलाई आफ्नो कर्तब्य ठाने र कहिल्यै तिम्रो शरिरमा अछुत रगत बगिरहेको छ भनेर भन्ने कोसिस नै गरेन । सधै मलाई करेटा भनेर सति श्राप गर्ने तिम्री आमा मैले रगत दिदा भने त्यरो रगत अछुत छ पर्दैन भनिनन कारण मैले रगत नदिएको भए तिम्री आमाले आफ्नी छोरी गुमाउनु पथ्र्यो र मैले मेरी प्यारी शिखा……………….
अर्थात रगत चल्यो पानि चलेन । तिम्री आमाले यस बिषमा तिमीलाई केही भनिन होला किनकी मेरो बारेमा कुरा गर्ने तिम्री आमा संग कुनै शब्द नै छैन । मलाई अछुत देख्ने तिम्री आमाको नजरले मेरो रगत किन अछुत देखिनन यो प्रश्नले आजभोली औधि पिरोल्ने गरेको छ । हुनत तिम्री आमा पनि विवश थिइन अमुर्त धर्मात्माहरुको अगाडी । तिमीले मलाई जतिनै घृणा गरेर छाडेर गयौ म प्रतिको तिम्रो घृणा बाध्यकारी थियो वा वास्तविक म अझै सम्म पनि अन्यौलमै छु । यदी बाध्यता थियो भने यतिका बर्ष सम्म किन सम्पर्कमा आइनौ ? मेरो सम्झनालाई किन साथिहरुको सोधपुछमै सिमीत राख्यौ ? यदी वास्तविकता थियो भने अझै सम्म बिवाहा किन गरिनौ ? मेरो बारेमा साथिहरु संग किन कुरा गर्छौ ? शिखा तिमीले मलाई प्रश्नै प्रश्नको जालोमा पारेर गयौ यस्ता प्रश्नको चाङ्ग म संग पनि थिए तर सोध्ने मौका नै पाएन । जात नै नमिल्नेको यति धेरै मायाँ किन लागेको होला है शिखा जात नै नमिले पछि त मायाँ पनि नलाग्नु नी हैन यति धेरै पिडा हुनै नै थिएन । तिम्रो घरमा मेरो बारेमा कुरा चल्दा तिम्रा बाबाले केटा पढे लेखेको छ इज्जत छ इमान्दार छ जाड रक्सी केही खादैन तर पानि नचल्ने जात पर्यो भनेर खुइया काढेको मेरा यिनै कानले सुनेको । यसको अर्थ तिम्रो परिवारको लागि सबै भन्दा ठुलो मेरो जात रहेछ ।
शिखा सम्बन्ध दुई प्रकारको हुन्छ भन्छन रगतको र भावनात्मक तर हाम्रो सम्बन्ध कस्तो दुबै भित्र नपार्ने भयो । रगतको सम्बन्ध भनौँ भने हामी एउटै परिवारका होइनौ भावनात्मक सम्बन्ध भनौँ भने तिम्रो र मेरो नशामा समान रगत बगीरहेको छ अछुत रगत…………….। शिखा तिमीले नै भनेको होइन परिवर्तनका लागि धैर्य गर्नु पर्छ भनेर खोइ त तिम्रो धैर्यताले तिमीलाई छाडेर कहाँ गयो ? समस्या देखि भागेर परिवर्तन हुदैन परिवर्तनका लागि निरन्तर लागि रहनु पर्छ । सायद तिमी अछुत संग बिवाह गरी भनेर ज्युदै छोरीको काज-किरीया गर्ने पण्डीत परम्परा देखि डरायौ होला । हुन त आफु जिउँदै छदा आफ्नो काज किरीया गरेको हेर्ने रहर कस्लाई हुन्छ र ? मलाई छोडेर जाने तिमीलाई दोष दिउँ वा पाखण्ताले गजेडेको समाजका पण्डीतहरुलाई की कथित तल्लो जात भनिने परिवारमा जन्मेकोमा आफ्नै भाग्यलाई । संसारमा कतिपय यस्ता कुराहरु छन जो देख्न सकिन्छ छुन सकिदैन महशुस गर्न सकिन्छ देख्न सकिदैन । तिम्रो माया र साथ पनि यस्तै भयो शिखा देख्न पाएन महशुस भने बारम्बार भइरहन्छ । समस्या संग भागेर काहीँ पनि पुगिदैन आउ शिखा अन्धता र पाखण्डताका बिरुद्धमा संगै लडौँ मलाई तिम्रो खाचो छ । अनि सकारात्मक समाज परिवर्तनको ……………………………………………।
छुवाछुतको बिरुद्धमा आवाज उठाउन लाखौँ शिखाहरुलाई आह्वान ।
प्रस्तुत प्रेम पत्र काल्पनिक हो कसैको वास्तविक जिवन संग मेल खान गएमा संयोग मात्र हुनेछ ।
(लेखक उज्यालो लाल्टिनका सम्पादक हुनुहुन्छ )(उज्यालो लाल्टिनबाट साभार)
No comments:
Post a Comment