Tuesday, May 16, 2017

कामदार युवती दलित युवा संग भागे पछि पुर्वमन्त्रीले दिए चोरीको उजुरी

विभेद बिरुद्ध अभियान , जेठ २–आफ्नो घरमा काम गर्ने युवतीलाई दलित युवाले भगाएपछि पुर्वमन्त्री कृपाशुर शेर्पा चोरीको उजुरी बोकेर प्रहरीको शरणमा पुगेका छन् । केही दिनअघि शेर्पाको घरमा काम गर्न बसेकी डोल्मा शेर्पालाई धनकुटा मुगा स्थायी घर भएका दिपेश बराईलीले भगाएर विवाह गरेका थिए ।ईलाम नयाँबजार स्थायी घर भएकी डोल्मा विगत एक बर्षदेखि कृपाशुरको घरमा काम गर्दै आएकी थिईन् ।
यसरी आफ्नो घरमा काम गर्ने डोल्मालाई दलित युवाले सिन्दुर हालेपछि छुटाउने प्रयासस्वरुप शेर्पाले केही दिनअघि महानगरीय प्रहरी वृत गौशालामा दिपेशको बिरुद्ध सुन चोरेको जाहेरी दिएका हुन् ।  जाहेरीमा पूर्व पर्यटनमन्त्री शेर्पा आफैंले हस्ताक्षर गरेका छन् ।‘दिपेश बराईलीको बिरुद्ध सुन चोरीको जाहेरी परेको छ’ महानगरीय प्रहरी वृत गौशालाका डिएसपी नवराज कार्कीले भने,‘आज (मंगलबार) छलफलको लागी बोलाएको छु ।’
आफ्नो छोराले अन्तर्जातिय विवाह गरेको र सो विवाह असफल गराउन पुर्वमन्त्री शेर्पाले छोरामाथी अनर्गल आरोप लगाएको दिपेशका वाबु गोपाल बराईलीले दाबी गरेका छन् ।शेर्पाले आफ्नो घरमा पसेर दिपेशले साँढे दुई तोला सुन चोरेको जाहेरी दिएका छन् ।दिपेशका बावु गोपालले सुन चोरेको कुरा अस्विकार गर्दै भने, ‘बिना प्रमाण आरोप लगाएर मात्र हुन्छ ?, अन्तर्जातिय विवाह असफल बनाउन यो कदम चालिएको हो, अब म राष्ट्रिय दलित आयोगमा उजुरी हाल्छु ।’पुर्व मन्त्री शेर्पाले बराईली परिवारसँग सुनको मुल्य बराबरको १ लाख २५ हजार रुपैयाँ मागेका छन् । बराईली परिवारले सुन चोरेको कुरा अस्विकार गर्दै आएको छ ।
गत शनिवार र आईतबार दुई दिनसम्म गौशाला प्रहरीले दिपेश र डोल्मालाई गैरकानुनी रुपमा हिरासतमा राखेको थियो । आईतबार अबेर गौशाला वृतमा पुगेका कृपाशुर शेर्पाका छोरा फुर्वा शेर्पाले डोल्मालाई कुटपिट समेत गरेको बताईएको छ ।फुर्वाले दवाव दिएर डोल्मालाई दिपेशले सुन चोरेको कुरा पुष्टि गराउन खोजेको गोपालले दाबी गरेका छन् ।दिपेश चावहिलको भेटघाट दोहोरी साँझमा काम गर्थे । त्यहि दोहोरीमा डोल्मा र दिपशको बीचमा चिनाजान भएको र पछि विवाह भएको बताइएको छ ।
कृपासुर तिनै व्यक्ति हुन् जसले ताप्लेजुङमा सरकारी जागिरे कृपासुरले ३५ वर्ष अघि स्थानीय धनमाया दर्नालसँग प्रेमको नाटक गरेका थिए । धनमाया कृपासुरबाट गर्भवती भएपछि उनी ताप्लेजुङबाट भागे । धनमायाबाट गणेश जन्मेपछि सामाजिक तिरष्कार सुरु भयो । गणेश अलि ठूलो भएपछि धनमायाले कृपासुरले दिएको पीडा खप्न नसकेर मानसिक सन्तुलन गुमाइन् । केही महिना अघि उनको निधन भयो । धनमायाको निधनमा पनि कृपासुर अन्तिम संस्कारमा पुगेनन् । 
जसको दलित महिलासँगको सम्बन्ध र सन्तानका बारेमा निर्वाचन प्रचारका बेला पर्चा छपाएर छ्याप्छ्याप्ती बाँडिएको थियो, त्यसबारे निजलाई पार्टीको तर्फबाट सोध्दा होइन भनेका थिए ।   सिंगो पार्टीेले खण्डन र प्रतिवाद गरे पनि  पछि प्रमाणित भई कृपाशुर शेर्पाले सकारेका थिए ।सुशील कोइराला प्रधानमन्त्री हुँदा पर्यटनमन्त्री भएका कृपासुरका दलितपट्टिका छोरा गणेशको विषय बाहिर आएको थियो ।नागरिकतासमेत नदिई अधिकारबाट वञ्चित गरिएका गणेशको विषय बाहिरिएपछि कृपासुरले मन्त्री पद जोगाउन उनलाई नागरिकता दिएका थिए ।कृपासुरले नागरिकता दिए पनि अंश दिन आनाकानी गर्दै आएका थिए ।यधपी  हाल सम्म पनि छोराबुहारीलाई पद र पैसाको दबावमा थुनाउने तर्साउने र गोलीले उडाइदिन्छु भन्ने अभिव्यक्तिहरु स्वयमले दिएको कुरा सार्वजनिक सञ्चार माध्यममा आइरहेको छ ।
अंश सम्बन्धी कुराकानी गर्न कृपासुरले कृपासुरका माइली दलित पत्नीतर्फका छोरा गणेशलाई बोलाएर केही महिना अघि  प्रहरीमा बुझाएका थिए । हिरासतबाट छुटेपछि  छोरा गणेशले भने, ‘दुनियाँमा यस्ता बाउ त कसैका नहोउन् ।’उनले रुँदै भने, ‘यति लामो जीवन नागरिकता बिना नै बाँचे । पद जोगाउन नागरिकता दिए । विदेश पठाइदिन्छु भन्ने आश्वासन दिए । घर ना घाटको भएँ म ।’
 

No comments:

Post a Comment