विभेद बिरुद्ध अभियान, अछाम, १४ जेठ-तुर्माखाँद गाउँपालिका–२ अछामकी मीना नेपालीले नाकको फुली बेचेर चामल किनिन् । उनको परिवारले त्यही चामलले छाक टार्न थालेको एक महिना नाघ्यो ।‘खाद्यान्नको जोहो गर्दा भएको पाखोबारी, भैंसी र बाख्रा पनि रहेनन्,’ स्थानीय तह निर्वाचनका लागि भोट माग्न गाउँ पुगेका नेतासँग उनले भनिन्, ‘सबै सकिएपछि नाकको फुलीसमेत बेचें । अब त जायजेथा सबै सकियो ।’
सिँचाइ सुविधाको अभावले उत्पादन शून्यमा झर्दा पुख्र्यौली सम्पत्ति बेचेर परिवार पाल्नु परेको उनको पीडा सुनेपछि नेताहरूले पनि आश्वासन देखाए । तर, उनलाई खास विश्वास लागेन ।
‘म मात्र होइन, यो गाउँका सबैको पीडा उस्तै छ,’ उनले भनिन्, ‘तपाईंहरूले भोटको सट्टा चामल पठाइदिनुहोला ।’ उत्पादन नहुँदा भोकभोकै बस्ने अवस्था आएको भन्दै उनले जसले चामल दिन्छ उसैलाई मात्र भोट दिने बताइन् । ‘यो कुरा सरकारलाई पनि भन्नुहोला,’ उनकै छिमेकी कला दमाईले भनिन्, ‘नत्र हामी कसैलाई भोट दिन्नौं ।’
तीन वर्षदेखिको लामो खडेरीका कारण बाली लगाउन नपाउँदा ढुंगाचाल्ना, ढकारी, लयाटी, बारला, पुल्लेतोला, सिउडी, सोकट, ठाँटी, कुस्कोटलगायत ठाउँका राम्रो उत्पादन हुने खेत पनि बाँझै छन् । केही वर्षअघिसम्म जिल्लाको साँफेबगर, हिच्माको चाइरा, ढुंगाचाल्नाको मालुमेला, मंगलसैनको कैलासखोला, मुजाबगरलगायत ठाउँ धान उत्पादनका लागि प्रख्यात मानिन्थे, राजधानी दैनिकमा खबर छ ।
No comments:
Post a Comment