Saturday, May 13, 2017

नाममा के छैन ? -शिवहरि ज्ञवाली, विमल आचार्य

विभेद बिरुद्ध अभियान - वैशाख ३०, २०७४- यत्रतत्र सर्वत्र सुनिन्छ, ‘नाममा के छ र ?’ चार सय वर्षअघि बितिगएका विख्यात लेखक विलियम शेक्सपियरको नाम काढ्दै हामी थपिदिन्छौँ, ‘गुलाबलाई जे नाम दिनुस्, त्यो सुन्दर र बास्नादार नै हुन्छ ।’ यसो भनिरहँदा हामीले हाम्रो समाजको नेपथ्यको सत्य र तथ्यप्रति आँखा चिम्लिरहेका छौँ । यस आलेखमा हामीले नामको जातीय–सांस्कृतिक राजनीतिबारे चर्चा गरेका छौँ र हाम्रो निष्कर्ष छ, नाममा के छैन, सबथोक छ ।

से, ङ्गे, छे, रे
चलिरहेको चुनावका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाताहरूको नामावलीअनुसार पाल्पाको रैनादेवी–छहरा गाउँपालिका–३ का जम्मा ५४९ दलित मतदातामध्ये २१२ जना अर्थात् ३८.६१ प्रतिशतको बाबुको नाममा एकारान्त (केखेगे...) पाइयो । यस्तै, पश्चिम पहाडको शारदा नपा–३, सल्यानका मतदाताको सूची हेर्दा गाइने, गाइन, बादी, सार्की, नेपाली थर भएकाको नाम यस्तो पाइयो— काली, गासे, गोफ्लो, लाटो, लुखुरी, कर्से, पेरो, जंगे, ठुमरी, ठुम्री, जोगी, बटै । एक जनाको नाम त झनै कामी गाइन छ । के यो हामीले जिब्रो टोक्नुपर्ने मात्रै विषय हो या निधार पनि खुम्च्याउनुपर्ने ? कुरा के छ भने, दलितबाहेक अरू कुनै समुदायको नाममा एकारान्त छैन र ‘अपमानजनक’ संज्ञा पनि छैन । 
‘अनि तपाईंको बुवाको नाम ?’
‘तुले कामी’ उनले थपे, ‘बा’ को मात्रै होइन बाजे, जिजुबाजे र मलाई थाहा भएको पाँच पुस्ताको नाम पनि त्यस्तै–त्यस्तै छ ।’ 
‘त्यस्तै–त्यस्तै भन्नाले ?’
‘लाजै लाग्ने खालको छ नि, ढाले, काले, त्यस्तै–त्यस्तै...’ 
कैलालीको धनगढीबाट दक्षिणतर्फ ‘डी’ गाउँमा पराने कामी, ५६, आँगनमा प्लास्टिकको कुर्सीमा छन् । २०१९ सालतिर डोटीको चौकी दानकोटका तुले कामीको सपरिवार कैलाली झर्दा पराने तीन वर्षका थिए । आफ्नो औपचारिक पहिचान ‘पराने कामी’ भएकै कारण विद्यालयमा उनी रमाउन सकेनन् र पढ्नै छाडिदिए । 
प्रधान थरका सरकारी अधिकारीले उनलाई खाद्य संस्थानमा कार्यालय सहयोगीका रूपमा जागिर दिलाइदिए । तर, उनलाई फेरि ‘पराने’ ले पिरोल्नु पिरोल्यो । नयाँ हाकिम र कर्मचारीहरूसँग ‘प्रेमबहादुर’ भनेर चिनापर्ची गरे पनि केही दिनमै लिखित नाम ‘पराने’ थाहा भइहाल्थ्यो । 
बाबुको नाम ‘दमाई सार्की’ भएका राजघाट–८, सर्लाहीका श्याम रम्तेललाई स्कुल जानै मन नलागेपछि परिवारको सहयोगमा काठमाडौँ आए । तर, काठमाडौँमा पनि उनलाई बाबुको नामले तर्साउन छोडेन । भन्छन्, ‘कसैले नसोधे हुन्थ्यो, बाबुको नाम । नामै दमाई सार्की, कसले कसरी राखिदिएको होला यस्तो नाम ? साह्रै झ्याउ भइरहेको छ मलाई त ।’
बारा, कलैयाबाट करिब ३ किलोमिटर दक्षिण–पूर्वमा पर्ने साबिकको पथेरा–५ की अनाथी राम (६१) लाई श्रीमान्को नाम ‘भिखारी’ कसैलाई सुनाउन मन लाग्दैन । अनाथी–भिखारी जोडी कसरी चित्त बुझाउँछ भने, उनका छिमेकीका नाम ‘चोर, कानो, हिले, गोबरे’ हुन् । 
पृथ्वीनारायण कालका बिसे नगर्ची, सात सालको क्रान्तिका सहयोगी बाङ्गे सार्की, पञ्चायतका गोल्छे सार्की र गणतन्त्रका भैरे कामी । यी सबै नामको साझा विशेषता हो, एकारान्त (से, ङ्गे, छे, रे) । बालकृष्ण समको ‘चिसो चुह्लो’ को सन्तेदेखि हाम्रा अनेकन साहित्यकारका पात्र लिखे, खिने दर्जी, दुर्गे दर्जी हुँदै यज्ञशको प्रकाशोन्मुख ननफिक्सनको चुके, यी सबैमा एकारान्त छ । 
पंक्तिकारद्वय कथित तल्लो जातमा जन्मिएका भए हाम्रा नागरिकतामा विमले–शिवे नै लेखिन्थ्यो होला । हाम्रो सामूहिक अवचेतनले कसैको नामलाई एकारान्त बनाई चढाइदिनुलाई कति हेपाइ भन्ठान्छ, यसबारे थप भनिरहन परेन । हामीलाई कसैले एकारले बोलाइदिँदा त कति रिस उठ्छ, आजीवन एकार–नागरिकता बोकी हिँड्नेलाई ‘नाममा के छ र’ सुन्दा कस्तो लाग्दो हो !
स्थानिक र कालिक दूरको कुरा छोडौँ । राजधानीकै इचंगुनारायण निमावि (हाल आधारभूत) का शिक्षक शशि रिमालले दिएको जानकारीअनुसार मंगले–ट्यांकुली–प्यांकुली–घोप्टे पुतुवार नामका अभिभावक छन् । २०६८ मा जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन लागू भइसकेपछि मारिने कालीकोटका मनवीरे सुनार, दैलेखका सेते दमाईको एकार हामीले नभुलेकै हुनुपर्छ । 
नाममा जातीय दृष्टि दिँदै गर्दा थर पनि भनिने पछिल्लो नामको लैंगिक रूप पनि विरूप नै भेटियो । २०१५ कात्तिक–पुस अंकको ‘स्वास्नीमान्छे’ पत्रिकामा कमलमणि दीक्षितले ‘श्रीमती दुर्गादेवी आचार्याणी दीक्षितानी’ लेखेका छन् । तारानाथ शर्माले त्यसैमा ‘झर्राे पारामा राइनी, तामाङ्नी, नेवार्नी लेख्न मन पर्छ’ लेखेका छन् । स्मरण रहोस्, हालै दिवंगत श्यामप्रसाद शर्मा ‘स्वास्नीमान्छे’ की ‘सम्पादिका’ शशिकला शर्माका पति थिए । 
मगरातमा जन्मिएका पंक्तिकारद्वयले ‘तपाईं मगर हो दिदी ?’ भनी प्रश्न गर्दा ‘होइन म मगर्नी हो’ भनेर दिएको जवाफ सम्झन्छन् । श्रीमान्को जात/थर लिएर त्यसमा अनावश्यक ईकार थपिएका लिखित उदाहरण पनि प्रशस्त छन् । थरकै कुरा गर्दा सन् १९७९ मा महिलामाथि हुने सबै किसिमका विभेदविरुद्धको महासन्धिले महिलाहरूलाई पुरुषलाई जस्तै आफ्नो थर, पेसा र व्यवसाय छनोट गर्न पाउने अधिकार दियो । यसअघिसम्म महिलाहरूले आफ्नो थरसमेत राख्नै पाउँदैनथे, अधिकांश मुलुकहरूमा उनीहरूले श्रीमान्को थर ग्रहण गर्नुपथ्र्यो/पर्छ । 
नामकरणको नालीबेली
बच्चाले आफ्नो नाम आफैँ राख्न सक्दैन । अरूले नै राखिदिने उसको नामसँग आर्थिक, सामाजिक र राजनीतिक हैसियत जोडिन्छ । त्यहाँको भूगोल र इतिहास, धर्म र मिथ, समाज र संस्कार जोडिन्छ । फर्डिनान्ड ससुरले भाषालाई सिग्निफायर अर्थात् ध्वनि संकेत मात्र नमानेर सिग्निफाइड अर्थात् अवधारणा पनि मान्छन् । त्यसैले नाम अर्थात् शब्द कुनै ‘भाषिक संकेत’ मात्र होइन । मानवशास्त्र र भाषाविज्ञानको एक विशेष शाखाको रूपमा ‘ओनोम्याटोलजी’ (नामशास्त्र) छ । नाममा यत्रो ‘राजनीति’ हुने नेपालमा भने यससम्बन्धी कुनै शोधपत्र/सोचपत्र पाइएको छैन । छ त केवल शेक्सपियरको क्यारेक्टर जुलियटको भावुक भनाइको बेक्कारको बाढी । 
हिन्दु वर्णाश्रमका १६ संस्कारमध्ये नामकरण एक प्रमुख संस्कार हो भन्नेबाहेक नेपाली कल्चर, हिस्ट्री र आर्कियोलजी (नेका) विषयमा ‘नेपाल’ पढाइ नै हुँदैन । नेपाली समाजमा विशेषत: हिन्दु र हिन्दु धर्मको प्रभाव रहेका गैरहिन्दुमा समेत नामकरणमा हिन्दु परम्परा र यसको जगमा रहेको वर्णव्यवस्थाले प्रभाव पारेको देखिन्छ । वैदिक कालमा नामकरणसम्बन्धी खास साहित्य नभेटिए पनि गणपति, विष्णु, शिव, सरस्वतीलगायतका नाम र पर्वतका नामहरू उल्लेख छन् । वेद, पुराण र महाभारतका पात्रहरूमा नाम र ‘वंश’ उल्लेख भए पनि थर उल्लेख गरिएको पाइँदैन । 
नामकरणका लागि स्रोतपुस्तक ‘अग्निस्थापना विधि’मा नामकरणको कुनै आधार उल्लेख छैन । तर, ‘मनुस्मृति’ २/३१ श्लोकमा शिशुको नामकरण गर्दा ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रले क्रमश: मङ्गलवाचक, बलसूचक, धनसूचक, र सेवासूचक नाम राख्नुपर्ने भनिएको छ । यसैको ३२ औँ श्लोकमा ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रले क्रमश: शर्मा, सिंह/बर्मा, गुप्त/दास राख्दा उत्तम हुने बताइएको छ । यसलाई नै नामकरणको ‘विधान’ मान्ने हो भने पूर्वमा स्मृतिकालमै पुग्न सकिन्छ । हिन्दु धर्मावलम्बीहरूमा भगवान्ले बोलाउने नाम, जन्म तिथि–नक्षत्र–ग्रहका आधारमा जुर्ने नाम र सार्वनजिक नाम गरी तीनथरी नाम प्रचलित छन् ।
पश्चिममा सर्वप्रथम रोमनहरूले (ईसापूर्व ८००–५००) नाम र थरको व्यवस्थित सुरुआत गरेको पाइन्छ । रोम सभ्यताको एउटा महत्त्वपूर्ण विशेषताका रूपमा ‘मान्छेको नामकरणको वैधानिक व्यवस्था’ लाई पनि लिइन्छ । रोमनहरूले सुरु गरेको नामकरणको प्रभाव त्यसबखतको सम्पूर्ण युरोप र पश्चिमा मुलुकहरूमा पनि पर्‍यो । मध्यकालसम्म युरोपमा नाम मात्रको प्रचलन थियो । तर, बढ्दो जनसंख्यासँगै व्यक्तिगत पहिचानका लागि ‘उपनाम’ राख्ने प्रचलन सुरु भयो । जसमध्ये आमा वा बाबुको वंशगत नाम, भौगोलिक अवस्थिति, पेसागत अथवा सामाजिक अवस्था र व्यक्तिगत विशेषताका आधारमा नामकरणको सुरुआत भयो । 
बुलिक (२००३) का अनुसार बच्चाको नामकरण विशिष्ट क्षमता वा गुणसँग सम्बन्धित रहेर राख्ने गरेको पाइन्छ । जस्तो, हिन्दु संस्कृतिमा प्राय: राखिने छोरीको नाम ‘प्रभा’ को अर्थ प्रकाश/चमक हुन्छ भने स्पेनिसमा छोरीको नाममा प्रचलित ब्लांका, फ्रेन्च/अंग्रेजीमा ब्लान्ची, फियोनाजस्ता प्रचलित नामको अर्थ पनि सुन्दर र सेतो भन्ने नै हुन्छ । 
युनिभर्सिटी अफ वेस्ट इङ्ल्यान्डका प्राध्यापक रिचर्ड कोएट्सको नेतृत्वमाको एक अध्ययनले धेरै स्कटिस र वेल्सहरूले १७औँ शताब्दीसम्म नाम मात्र उल्लेख गर्ने गरेको बताउँछ । यस्तै, अठारौं शताब्दीसम्म डचहरूले आफ्ना बच्चाहरूलाई दुइटा नाम दिन्थे । त्यस्ता नामहरूमध्ये पहिलो नाम पुरोहितले दिएको हुन्थ्यो, जुन नाम सामाजिक रूपमा प्रयोग गरिँदैनथ्यो भने दोस्रो नाम भने सामाजिक रूपमा प्रयोग गरिन्थ्यो । सन् २००५ सम्म फ्रान्समा बच्चाहरूले बाबुको थर लिनुपथ्र्याे । तर, फ्रेन्च सिभिल कोर्टको आर्टिकल ३११ (२१) ले हाल आएर आमा वा बाबुको थरबाट थर लिन सक्ने व्यवस्था गरेको छ । जर्मन, स्वीडेन, डेनमार्क र स्पेनमा पनि यस्तै व्यवस्था छ । 
बर्कले विश्वविद्यालयले सन् २००४ मा गरेको एक अध्ययनअनुसार युरोपमा जर्ज फस्ट, जर्ज सेकेन्डजस्तै जन्मको क्रम, जन्म मिति (टियुस्डे विल्ड), जन्मस्थान (ब्रोकलिन), अपेक्षा गरिएका गुण (होप, फेइथ, एमी), कुनै अपेक्षा गरिएको व्यक्तिको गुण वा क्षमता (ख्रीष्ट, अब्राह्म, मेरी, बेन्जामिन) का आधारमा नामकरण गर्ने प्रचलन विद्यमान छ ।
माक र साथीहरूले सन् २००३ मा गरेको एक अध्ययन अनुसार चीनमा थर राख्ने प्रचलन चिनियाँ शासक ‘फु सी’ को पालादेखि सुरु भएको थियो । उनले त्यत्तिबेलै नामकरण गर्ने प्रचलन सुरु गरी जनगणनालाई व्यवस्थित गरेका थिए । विगतमा चीनमा वंशगत वा उपाधिका आधारमा नामकरण गर्ने र आमाको नामबाट थर लेख्ने प्रचलन थियो । तर आजभोलि प्राय: बाबुको थर नै ग्रहण गरिन्छ । 
अफ्रिकी, अफ्रिकी–अमेरिकी र रैथाने अमेरिकीहरूमा पनि दुई किसिमका नाम राख्ने प्रचलन छ । जसमध्ये एउटा नाम गोप्य राखिन्छ र सार्वजनिक नाम मात्र अरूले थाहा पाउँछन् । अमेरिकामा दास प्रथा उन्मूलन हुनुपूर्व काला जातिहरूका लागि गोराहरूले बेग्लै नाम राखिदिन्थे । गोराहरूले राखिदिने त्यस्ता नाम जनावर र कीराफट्याङ्ग्राका नाम, कुकुर, भ्यागुता, माकुराजस्ता हुन्थे । 
सिंहालीहरू प्राय: आफ्नो उत्पत्तिको ठाउँ र पछाडि खास नाम राख्छन् । महिलाहरू बिहेपछि पतिको पछिल्लो नाम लिने गर्छन् । तर, तमिलहरूको भने बेग्लै छ । उनीहरूको पहिलो नामले बाबुको र पछिल्लो नामले आफ्नो नाम लिन्छ । अरब देशहरूमा पनि नामकरणको प्रचलन तमिलहरूको जस्तै छ । ख्रीष्टियनहरूमा पनि बातिज्म लिएपछि ‘ख्रीष्टियन’ नाम राख्ने प्रचलन छ । त्यस्तै बुद्धिस्टहरूमा लामा धर्मगुरुबाट नामकरण गर्ने प्रचलन छ ।

जातशास्त्र र धर्मशास्त्र
करिब तीन हजार वर्ष पहिलेदेखि अस्तित्वमा रहेको मानिने हिन्दु वर्ण व्यवस्थाअन्तर्गतको एक अशिष्ट व्यवस्था हो, जातीय विभेद । कतिपयले यो अशिष्ट व्यवस्थालाई विशिष्ट व्यवस्था पनि भनेका छन् । वर्ण व्यवस्थाले मानिसहरूको श्रेणीगत विभाजन गर्‍यो । सबैभन्दा तल्लो श्रेणीमा पारिएका शूद्रहरूलाई मूलत: सेवामूलक र फोहोर कामहरू गर्न बाध्य पारियो ! जुन काम उनीहरूले गरे त्यही कामको आधारमा उनीहरूलाई त्यो सामाजिक परिवेशमा कलङ्कित तुल्याइयो । उनीहरूलाई आफूखुसी सन्तानको नामकरण गर्नबाट पनि वञ्चित गरियो । 
मनुस्मृतिको अध्याय ८ (श्लोक २७१) मा ‘नामजाति ग्रहं त्वेषामभिद्रोहेण कुवेत:, निक्षेप्योऽयोमय: शङ्कुज्र्वलन्नास्ये दशाङ्गुल’ अर्थात् रिस वा विद्रोह गरेर शूद्रले ब्राह्मण आदिको नाम लिन्छ भने उसलाई १० अंगुल तातो फलामको सुइरो मुखमा हालिदिनुपर्छ भनिएको छ । यसैगरी अध्याय ९ (श्लोक २२४) मा ब्राह्मणको चिन्ह धारण गर्ने शूद्रलाई दण्डित गर्नुपर्छ भनिएको छ । यस्तो विधानले शासन गरेका बेला यहाँ शूद्रहरूले कथित मंगलवाचक, बलसूचक र धनसूचक नाम राख्न सक्ने कुरै भएन । 
ब्राह्मण, क्षत्रिय र वैश्यहरूमा कुमार, प्रसाद, मणि, सिंह, बहादुरजस्ता सेतु खडा गर्ने चलन छ । नामकरणको सन्दर्भमा विषेषगरी देवी–देवता र अलौकिक शक्तिहरूको नामबाट नामकरण गर्दा उत्तम हुने र पुण्य कमाइने विश्वास छ । तर, कथित शूद्र वा दलितहरूलाई विधान बनाएरै ‘माङ्गलिक नामकरण’ मात्र होइन नामकरण गर्नैबाट समेत वञ्चित गरियो । कथम्कदाचित, ‘मङ्गलवाचक’ नाम राखेमा दण्डको व्यवस्थासमेत गरियो । 
ब्राह्मण, क्षत्री र वैश्यहरूले धार्मिक ग्रन्थ पढ्न र सुन्न पाएकाले उनीहरूले धार्मिक ग्रन्थमा उल्लिखित नाम पाए/राखिदिए । यत्ति मात्र होइन, उनीहरूले ‘नामकरणलाई राज्यशक्तिको स्रोत’ का रूपमा समेत व्याख्या र प्रयोग गरे । एकातिर ‘जन्मना जायते शूद्र, कर्मणा द्विज उच्यते’ भन्ने र अर्कोतर्फ शूद्रहरूले चाहेर पनि ‘कथित असल कर्म’ गर्न नपाउने विधि बसालियो । वेद, वेदाङ्ग पढ्ने र वर्णधर्म पालना गर्नेहरूलाई असल चरित्र भएका व्यक्ति र उनीहरूको कर्म मात्र ‘सत्कर्म’ हुने मानक बनाइयो (मनुस्मृति, अध्याय २, श्लोक २) । तर, शूद्रहरूलाई वेद, वेदाङ्ग पढ्ने र सुन्ने कार्यबाट समेत वञ्चित गराइयो (मनुस्मृति, अध्याय ४, श्लोक ८०–८१) । 
हिन्दु वर्णाश्रममा आधारित नेपाली समाजमा ‘मनुस्मृति’ को प्रभाव नपर्ने कुरै भएन । धनवज्र वज्राचार्यको ‘गोपालराजवंशावलीको ऐतिहासिक विवेचना’ मा उल्लेख गरेअनुसार सूर्यवंशी (लिच्छवी) राजा श्रीसुपुष्पदेवले ‘वर्ण व्यवस्था’ चलाएको पाइन्छ । यसअघि गोपालवंशीहरूले नाममा ‘गुप्त’, महिषपालहरूले ‘सिंह’ पदवी जोड्थे । किरातहरूले कुनै त्यस्तो पदवी जोडेको देखिँदैन । लिच्छवीहरूले श्रीसुपुष्पका पालादेखि ‘वर्मा’ र श्रीभीमार्जुनदेवका पालादेखि ‘देव’ उपाधि जोड्न थाले । त्यो परम्परा अरि मल्लदेखि ‘मल्ल’ पदवी धारणबाट सुरु भयो । गोपालवंशदेखि ‘मल्ल’ कालसम्मको नाम र थरको परम्परा हेर्दा ठ्याक्कै ‘मनुस्मृति’ को अध्याय २ को ३१ र ३२ औँ श्लोकको विधानसँग मेल खान्छ । 
विसं १४३६ अर्थात् आजभन्दा करिब ६३८ वर्षपहिले राजा स्थितिराज मल्ल (जयस्थिति मल्ल) ले ‘मनुस्मृति’ मै आधारित रहेर ‘मानवन्यायशास्त्र’ बनाई लागू गरे । स्थितिराजको यो कानुनले पनि मनुस्मृतिकै विधानलाई निरन्तरता दिँदै ‘निच वर्णमा जन्मिएको व्यक्तिले ब्राह्मण, क्षत्रिय र वैश्य वर्णका व्यक्तिहरूको द्रोहपूर्वक नाम वा जातको उल्लेख गरेमा १८ अङ्गुल लामो फलामको किलो उसको जिब्रोमा गाडिदिनू भनेर कानुन बनाए (मानवन्यायशास्त्र : ४५०) । त्यति मात्र होइन, शूद्रले यस्तो साहस गरेमा उसलाई फलामको तातो डल्लो हातमा लिएर हिँडाउनू, विष सेवन गराउनू, तातो गाईको घिउमा रहेको सुनको टुक्रा निकाल्न लगाउने र यति गर्दा पनि उसलाई कुनै असर परेन भने मात्र निर्दोष साबित गर्नू भनेर ‘मानवन्यायशास्त्र’को व्यवहार, तप्त र सप्त प्रकरणमा सजाय तोके । यस्तो अवस्थामा ब्राह्मण, क्षत्रीहरूले राख्ने ‘राम्रा’ नाम राखेर कुन ‘दलित’ वा ‘शूद्र’ ले त्यस समयमा विद्रोह गर्न सक्थ्यो होला ? जबकि ‘विज्ञान र प्रविधिको यो एक्काइसौँ शताब्दी’ सम्म पनि त्यसको बलेसी तप्किरहेको छ । 
‘मनुस्मृति’ र ‘मानवन्यायशास्त्र’ लाई टेक्दै १९१० को ‘मुलुकी ऐन’ ले यसलाई झनै निरन्तरता दियो । ‘मुलुकी ऐन’ को धर्माधिकारको व्यवस्थासम्बन्धी महलको ३७ मा ‘जनै नपाउन्या जातले जात ढांटि ठुलो जात हुं भनि आफ्नै मुलुकमा छदा जनै लायेछ. भन्या पनि अथवा विराना मुलुक्मा गै जनैलाई आयेछ. भन्या पनि जनैलाई भात्मा वोरेछ भन्या ...मासिन्या जात भया जनै झिकि मासि दिनु’ भनी उल्लेख गरेको छ । 
एकातर्फ दलितहरूले शास्त्रहरूको अध्ययन गर्न नपाउने, शास्त्रार्थ पढेका ब्राह्मणहरूले पनि शूद्रहरूको नामकरण गर्न नपाउने (मनुस्मृति, अध्याय तीन: श्लोक १७८) र जात ढाँटेर यज्ञादि गरेमा सजायको भागीदार हुनुपर्ने भइसकेपछि दलितहरूले आफ्ना सन्तानजस्तो देखिन्छन् उस्तै नाम राख्न सुरु गरे । उनीहरू बढी श्रम र सेवामूलक काममा लगाइएका कारण उनीहरूको सन्तानको नाम पनि श्रम, रङ्ग र अवस्थासँग सम्बन्धित रहे । ब्राह्मण र क्षत्रियहरूले नामको जस्तो सौन्दर्यशास्त्र स्थापित गरे, त्यसलाई ‘राम्रो’ को रूपमा स्वीकार गरियो भने दलितहरूले राखेका सबै नामहरूलाई ‘नराम्रो’ नामका रूपमा स्थापित गरियो । 
नामको अर्थ नै खोज्ने हो भने ‘कृष्ण’ को अर्थ कालो हुन्छ र ‘सेते’ को अर्थ उज्यालो/सेतो भन्ने हुन्छ । तर, कालो रंग मन नपराउनेले पनि कृष्ण नामलाई पवित्र र सेते नामलाई अपवित्रको मानक बनाइदियो । शासन र प्रशासनमा एकछत्र राज गरेका कथित उच्च जातका अधिकारीहरूले प्रेमलाई प्रेमे/पराने, भैरवलाई भैरे’, रामलाई ‘रामे’ बनाइदिए । अवैध श्रीमान्को अर्थ लाग्ने ‘बाहुन’ लाई आर्यहरूको उच्च जात र सभ्य ‘ब्राह्मण’ समुदायका रूपमा अथ्र्याइयो र परम्परागत सीप र सिर्जनाले सुसज्जित समुदायको गर्विलो इतिहास बोकेको ‘दलित’ शब्दलाई थिचिएको, कुल्चिएको, पछि परेको जनसमुदायका रूपमा ‘प्रगतिशील’ शब्दकोश तयार पारियो । 
अहिले पनि कथित उच्च समुदायमा पहिलो सन्तान खेर गएपछि अर्काे सन्तानलाई भगवान्ले हेँला गरुन् भनेर दमाई, कामी, सार्की नाम राखेका उदाहरण प्रशस्तै छन् । छक्क त्यसबेला लाग्छ, सात समुद्रपारिका चार सयवर्षे शेक्सपियरको पात्रको लाइन कण्ठ छ यहाँ, तर डेढ सय वर्ष पुरानो मुलुकी ऐन भने गोप्य छ । नामबाटै सभ्य/पाखेको मानक बनाइने भएरै त होला, नाममा केही छैन भन्नेहरूले नै सन्तानका नाम खोजीखोजी ‘एक्स्ट्रा’ अंग्रेजी राख्ने । कान्तिपुर ‘कोपिला’ पल्टाउँदा राम, कृष्ण, सीता, देवकी नाम कतै नभेटिनुको समाजशास्त्र के हो ? उही सामाजार्थिक परिवेश र स्तरमा जन्मेका कोही रामु/रामजी र कोही भने रामे देखीदेखी हामी भनिदिन्छौँ, नाममा के छ र ? नाममा मनुस्मृति छ, मानव(अ)न्यायशास्त्र छ, मुलुकी ऐन छ र त्यसबाट दीक्षित (आम)मनोविज्ञान छ ।




No comments:

Post a Comment