Friday, July 14, 2017

के हामीलाई त्यो आक्रोश पाच्य हुन्छ ? - गोपाल शिवा

विभेद बिरुद्ध अभियान - ३० असार  - केहि बर्ष अघि पशुपति शर्मा र देविका केसीले गाएको केको कामी.....मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नी दमाईसित गई भन्ने गीतमाथि धेरैजनाले म बिश्वकर्मा हो कामि होइन , म परियार हो दमाइ होइन भन्दै टिका टिप्पणी गरे ।पशुपति शर्माको गीतले कामी दमाई थरका मानिसलाई अपमान गर्यो एवं कामी र दमाई शब्दका कारण दलितहरुमा पीडाबोध उत्पन्न भयो भनेर दलित राजनीतिकर्मी, अधिकारकर्मी, मानवअधिकारवादी र सम्पूर्ण सरोकारवाला वर्गबाट पशुपति शर्मालाइ माफी मगाउने र गीतको प्रशारणमा रोक लगाउने काम सम्म भयो ।हेपने , विभेद बुझाएर भनिने शब्दहरु एउटा जघन्य अपराध हो भन्दै कुर्लिने धेरै दलित राजनीतिकर्मी, अधिकारकर्मीहरु आज रास्ट्रपति बनेकी एकल महिला विद्यादेवी भण्डारीलाइ रेडियो तौलिहवाका पत्रकार सोनुकुमार सुनारले अपमानजनक शब्द प्रयोग गर्दा चुँ…. सम्म पनि गरेका छैनन । अझ जनताको पेटमा लात मारेर सरकारी ढुकुटी बाट मोजमस्ती गर्नलाइ हुदैन भनी आक्रोशमा आएर थोरै अपसब्द निस्कदा अपमान मान्ने राज्य र तिनका ठेकेदारहरुले  दलित समुदाय माथि  तानाशाह लादेको र हेपुवा प्रवृत्ति देखाएको भन्दै दरिद्र सोचलाई ढाकछोप गर्दैछन  ।रास्ट्रपति लाइ १६ करोड निकाशा गर्ने कुराको छलफल र निर्णय गर्ने हाम्रै जनप्रतिनिधि छन ,बिरोध गर्ने अरु नै सभ्य तरिका छन तर  आक्रोशमा आएर यसरि भनेको हो भन्दै मौन स्वीकृति दिने र नसच्याउने हो भने भोलि तिन हजार बर्ष देखि जातमा आधारित उँचनीच, पवित्र-अपवित्रलाई सोच पालेर नेपाली समाजमा दलित समुदायलाई अपमानजनक शब्द प्रयोग गर्न अभिशप्तहरु गौडा गौडामा पानी छोएको , आफुले भनेको नमानेको , सार्वजनिक ठाउँमा मुख मुखै लागेको कारणमा प्रताडित भै रहन्छन । त्यतिबेला के हामीलाई त्यो आक्रोश पाच्य हुन्छ ?

दलितलाई गाली गर्ने संस्कृतिलाइ जीवन्त राख्ने नेपाली समाजका केहि जत्थाहरु कहिलेकाही सामाजिक संजालमा दलित समुदायलाई जोडेर असभ्य शैलिमा गालि गर्दै देखा पर्छन । कतिका स्टाटसहरु त श्रवणयोग्य नि हुदैनन् पत्रकार सोनुकुमार सुनारका जस्तै । यधपी यी शब्दहरु उच्चारण गर्दा गैर दलित र फरक राजनीतिक सोच पालेका एवं प्रतिरोध साध्ने लाई आनन्द आउँला, तर आममानिसले भने स्टाटस लेख्नेको दरिद्र सोचलाइ खिसिको उनाईमा पारिरहेका हुन्छन ।यस्तै सुनारको स्टाटसमा पनि दरिद्र सोच झल्झली प्रतित हुन्छ। यधपी उनको यो स्टाटसलाइ सामाजिक संजालमा केहि ले  ठिकै त् भन्यो नि अरुले नि भनेका छन् नि , के कानुन कामीलाई मात्र लाग्ने हो  ? भन्नेजस्ता प्रतिक्रिया सम्म लेखेको पनि देखियो  । पुर्व जन्ममा गरिएका पाप कर्महरुको मोचन र पुर्नजन्मको हाउगुजी फैलाउदै जुन समाजले अहिलेका दलितहरुको जन्म गरायो त्यहि समाजले तथानाम लाल्छना लाउदै एकल महिलालाई समाजमा उहिले देखि अल्छिनी भन्दै परपुरूष संग बात लाउने ,अत्याचार  गर्ने ,  लाल्छाना लगाउने सँस्कृतिलाई समाजमा बढावा दिने तथा सँस्थागत गर्ने कार्यहरु निरन्तर रुपमा चलायो भने हामीले बुझेका पनि छौ । तर हामीलाइ कामि दमाई भन्दा  होच्याउने, गिज्याउने, जातीय विभेद भएको भन्दै कराउने हामीले नै यहि विभेद र अपमान बुझाउने पाराले एउटी एकलमहिलालाइ हाम्रै समुदायको व्यक्तिले भन्दा चै गर्व गरिरहेका छौ । विभेद र विभेद जन्य सब्दको प्रयोग गर्ने सँस्कृतिलाई मानवता विरुद्धको कलंकको रुपमा परिभाषित गर्दै अपमान बुझाउने सब्द त्यागेर सभ्य समाज बनौ बनाउ भन्ने दलितहरुले अपमान बुझाउने सब्द आफै बोकेर हिँड्नु भनेको पछौटे सोचको उपज होकि होइन ? 

पहिले भन्दा अहिले समाज बिकसित हुदै र रुढिबादी कुरा त्याग्दै आएको अवस्था छ तर अझै पनि यथास्थितिवादी सोच चिन्तन र प्रवृतिबाट माथि उठ्न सकेन भने समाजलाई असभ्यताबाट मुक्त हुन नि सकिदैन र गर्न नि सकिदैंन । समतामूलक समाज निर्माणका लागि हाम्रो दरिद्र सोच हटाउनु अपरिहार्य छ , हाम्रो सोच परिवर्तन गर्न जरुरी छ । किनकी हाम्रो अन्तर हृदयमा जमेर बसेको रुढीग्रस्त पुरातनी  दरिद्र सोच र संस्कारलाई भत्काउन र भौतिक यथार्थलाई आत्मसात् सकियो भने मात्र समाज परिवर्तन हुन्छ र नयाँ समाज निर्माण हुन्छ ।त्यसैले हामीले सोचाइमा सकारात्मक परिवर्तन मात्र होइन हाम्रा हरेक व्यवहारमा परिवर्तन ल्याउ । त्यसका लागि सुरुवात हाम्रै घर, परिवार र समाजबाट आरम्भ गर्नुपर्छ तब मात्र हामीले यस्ता सामाजिक कु–प्रथा तथा कु–संस्कृतिहरूलाई निर्मूल गर्दै नयाँ समुन्नत नेपाल निर्माण गर्न सक्छौ ।अझ त्यसमा ‘पत्रकार समाजको यस्तो अंग हो जसले सिंगो समाजलाई निर्देशित गरेको हुन्छ, पथप्रदर्शित गरिरहेको हुन्छ । हरेक राजनीतिक व्यवस्थामा जनताको आस्था, आड, भरोसा र इज्जतको मुख्य पात्र पत्रकार र पत्रकारिता हुने गर्दछ । हामीले नै  विभेदका स्वरूपहरू जीवन्त राख्न विभेद बुझाउने सब्दहरु प्रयोग गर्ने हो भने यहि सब्द्को प्रयोग हामि माथि नै कालान्तर सम्म दोहोरिने खतरा रहिरहन्छ । त्यसैले राज्य, राजनीतिक दल र बौद्धिक वर्ग सवैले आजैदेखि अरुले के गरे भन्दा पनि समाजका विभेदजन्य विकृति र विभेद बुझाउने  विसंगतिपूर्ण सब्दहरु लाई अन्त्य गर्न आफु चै लागौ ।

No comments:

Post a Comment