दीपेन्द्र राई- विभेद बिरुद्ध अभियान , साउन ६ - जिल्लाको नेचा बेतघारी गाउँ विकास समितिमा कोही बिरामी हुनासाथ चन्द्रबहादुर नेपालीलाई बोलाउने गर्छन् । नेपाली न डाक्टर हुन् न धामीझाँक्री नै । तैपनि कोही बिरामी हुनासाथ स्थानीय उनलाई बोलाउन बाध्य हुन्छन् ।
स्थानीयले उनलाई बोलाउनुका एउटै कारण हो- बिरामी बोकेर अस्पतालसम्म पुर्याउन । गाउँमा कोही बिरामी हुनासाथ स्थानीय उनलाई गुहार माग्ने गर्छन् । सहर-बजारमा एम्बुलेन्सले बिरामी बोक्ने गरे पनि सोलुखुम्बुको गाउँ–गाउँमा त्यो सुविधा छैन । सहर-बजारमा एम्बुलेन्सले बोक्ने बिरामी यहाँ चन्द्रबहादुर नेपालीले बोक्ने गर्छन् ।
बिरामी बोकेर अस्पतालसम्म पुर्याउने काम गर्दै आएकाले नै स्थानीयले चन्द्रबहादुर नेपालीलाई ‘गाउँको एम्बुलेन्स’ भन्ने गरेका हुन् । नेचा बेतघारी-७ थुम्कीका स्थानीय बुद्धिजीवी जितमान राई भन्छन्,
‘गाउँको नजिक अस्पताल छैन, कोही बिरामी पर्यो कि चन्द्रबहादुरलाई गुहार नमागी सुखै छैन ।’
‘गाउँको नजिक अस्पताल छैन, कोही बिरामी पर्यो कि चन्द्रबहादुरलाई गुहार नमागी सुखै छैन ।’
साह्रो-गाह्रोमा बिरामी बोकेर अस्पतालसम्म पुर्याउने काम नै चन्द्रबहादुर नेपालीको पेसा बन्यो । नेपाली भन्छन्, ‘नेचा बेतघारी गाविसको मात्रै पाँच सयजना बिरामी बोकेर अस्पताल पुर्याइसकेको छु ।’ उनले बिरामी बोकेर हात लागेको पारिश्रमिकले दसजनाको परिवार पाल्दै आएका छन् ।
नेचा बेतघारीको मात्रै नभएर जिल्लाको पन्चन, सोताङ, मुक्ली, सल्यान र जुबु गाविसकाले पनि उनलाई बिरामी बोक्न बोलाउने गर्छन् । बाल्यकालदेखि नै भारी बोक्दै आएका उनले भने, ‘भारी बोक्नुभन्दा डोकोमा राखेर बिरामी बोक्न अप्ठ्यारो हुन्छ । बिरामीको अवस्था हेरेर हिँड्नुपर्ने हुन्छ । संवेदनशील बिरामी भए त खान त के ठाउँठाउँमा बिसाउनसम्म पाइँदैन ।’ बिरामीलाई डोकोमा बोकेर जिल्ला अस्पताल फाप्लु, ओखलढुंगा मिसन अस्पताल र उदयपुरको कटारीसम्म पुगेको बताउने उनले भने, ‘आजसम्म जति बिरामी बोकेँ त्यसमा दुईजनाको ज्यान गयो । बाँकी सबैलाई अस्पताल पुर्याएर सफल उपचारपछि बिरामी बोकेर घरसम्म ल्याएको छु ।’
No comments:
Post a Comment