Tuesday, September 12, 2017

साउदीको नौ वर्षको सीपले वीरबहादुर विकले गाउँमै यसो गरे

विभेद बिरुद्ध अभियान, बेसीसहर, भदौ २७ गते । बेसीसहर नगरपालिका–५, टारगाउँका वीरबहादुर विकले साउदी अरेबियामा नौ वर्ष बिताउनुभयो । साउदीमा तरकारी खेतीमा काम गर्नुभएका विकले स्वदेशमा पनि यही पेसा रोज्नुभयो । साउदीमा सिकेको सीपलाई उहाँले आफ्नै करेसाबारीमा व्यावसायिक रूप दिनुभएको छ ।

६१ वर्षीय वीरबहादुर र ३९ वर्षीया पत्नी चिजाको दैनिकी तरकारी खेतीमा बित्ने गर्छ । सात वर्षदेखि तरकारी खेतीमा लागेका यी दम्पतीको दिनाचार्य विभिन्न जातका हरियो तरकारी फलाउने र बजार पु¥याएर बिक्री गर्दैमा बित्छ ।उहाँहरूले बारीमा काँक्रो, करेला, घिरौँला, लौका, बोडी, सिमी, भिण्डी, खुर्सानी, गोलभेँडालगायत तरकारी फलाएका छन् । अहिले उनीहरू मौसमी तरकारीको स्याहारमा व्यस्त छन् । घरछेउको पाँच रोपनी बारीमा विभिन्न जातका हरियो तरकारी लगाइएको छ । 
सात वर्षदेखि तरकारी खेतीमा लागिरहेको छु, वीरबहादुरले भन्नुभयो । आफ्नै माटोमा दुःख गरेर मासिक ६० हजार जति कमाइ हुन्छ । यसमै खुसी छु ।

२०४५ सालमा पहिलोपटक रायोको साग, प्याज र तोरीको सागबाट तरकारी खेती सुरु गरेका उहाँहरूले यतिबेला आफ्नो पाँच रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आउनुभएको छ । सुरुमा आफूले खानलाई मात्र तरकारी लगाइन्थ्यो । पछिल्लो सात वर्षदेखि व्यावसायिक खेती गरेका छौँ, चिजाले भन्नुभयो । बारीमा १७ प्रकारका तरकारीका साथै अङ्गुरलगायतका फलफूल पनि फलाएका छौँ ।

विक दम्पतीको मिहिनेत देखेर जिल्ला कृषि विकास कार्यालयले ४० हजार रुपियाँ अनुदान उपलब्ध गराइएको छ । जिल्ला कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले विक दम्पती मिहिनेती किसान भएको र अनुदान रकमको पूर्ण सदुपयोग गरेको बताउनुभयो । उहाँहरूको पौरख देखेर छिमेकी पनि खुसी छन् । वल्र्ड भिजन लमजुङ एडीपी र आरसीडीसी नामक गैरसरकारी संस्थालेसमेत उहाँहरूको व्यवसायलाई प्रोत्साहन हुने गरी बीउ बिजनमा सहयोग गरेको छ । 
बारीमा उत्पादित तरकारी तथा फलफूल बेसीसहर बजारमा बिक्री गर्ने गरेको विकले बताउनुभयो । उहाँले बेसीसहर बजारमा हाटबजार नभएको र व्यवसायीले थोरै मूल्य दिने गरेकाले घरघरै बिक्री गर्दै हिँड्नुपर्ने झण्झट रहेको बताउनुभयो ।

No comments:

Post a Comment