Saturday, October 21, 2017

“म” र “म” मिलेर हामी बनौँ - बिश्वदिप लामिछाने

विभेद बिरुद्ध अभियान - ४ कात्तिक । ३०,३२ बर्ष अगाडीको कुरा होला, मेरो घरमा एकजाना कामी बा तल भाडामा बस्नु हुन्थ्यो आफु सानै हुनाले जहिले पनि मौका पायो कि उनकोमा गएर खानेकुरा मागेर खान्थे । हजुरआमा जहिले पनि,कामिले छोएको खान्छस् ? भन्नु हुन्थ्यो । आमा पनि तेसै भन्नु हुन्थ्यो । आफुले भने जातभात के हो ? बुझ्ने बेला नै भएको थिएन । जस्ले दिए नि खान पाए दङ्ग ।
कामी बा खरानी रङको दौरासुरुवाल माथी कालो इस्टकोट र ढाकाटोपि लाउनु हुन्थ्यो । सायद त्यो पहिरनले वहाँले “म पनि तपाईंहरु जस्तै नेपाली हुँँ” भनेर भन्नु हुन्थ्यो होला, तर कस्ले बुझ्ने ? आफु बच्चा बुझ्दै नबुझ्ने । बुझ्नेहरुले कामी बुडा भन्थे । ३,४ बर्ष पछि उहाँ बित्नु भयो । हजुरआमाले घर बेच्नु भयो र हामी सर्यौं ।
तर त्यो बेला र अहिले काठमाडौं धेरै नै परिवर्तन भइसकेको छ । ३/४ वटा तन्त्र नै आइसके । लगभग काठमाडौले जातीभाति र छुवाछुतबाट मुक्ती पाइ सक्यो । तर गाउँगाउँमा यि कुराहरु अझै छन् । केहि अघि डोमलाइ इनारको पानी दिएनन् भन्ने कुरा आयो, त्यो पुरापुर अन्याय हो । यस्ता कुरा धेरै नै आउदै छन्, सबैले उनिहरुले छोएको पानी खाने पनि भने, राजेश हमाल देखी साझासवालसम्मले पनि कुरा उठाए जुन जायज थियो । यो सम्स्या यस्तै हो जुन कहिले राम्रोसँग कसैले ध्यान दिएनन्, न कहिले अधिकार बादीले पुरै समस्या समाधन हुने बेलासम्म समर्थन गरे न राज्यले नै त्यो कुराको निराकरण हुने बेलासम्म धैर्य धारण गर्न सक्यो । आज समस्या उठ्छ, २/४ दिन पत्रपत्रिकामा आउँछ, २/४ दिन अधिकारबादी कराउँछन्, त्यसपछि सधै जस्तो फेरि सेलाउँछ तर दलितहरुको समस्या जहाँको तहीँ हुन्छ । छुवाछुत जस्ताको तस्तै हुन्छ ।
कसरी यस्लाई उन्मुलन गर्ने ? भन्ने कुरा सजिलो छैन । यो त प्रत्येक ब्यक्तीको सोचमा परिवर्तन आउनु पर्ने कुरा हो । एकथरी छन् जो काठ्मान्डौ मै बसेर देश सुधार गर्छु भन्दै ५ तारेमा सेमिनार गर्दै दलितलाई हक दिलाउँछु, भन्दै हिँड्छन् । कोहि मैले छोएको पानी चल्दैन भन्दै हिंड्छन् । अशिक्षा नै यस्को मुल जरो हो भनेर बुझेकाहरु पनि शिक्षामा जोड नदिइ ठुलाकुरा गर्दै दलित लाइ बेच्दै हिँडेकाछन् । आफु सुटटाइमा सजिएर बिचराहरुको नाममा आफ्नो रोजिरोटि पकाउँदैछन् । समस्या गाउँमा हुन्छ तर आवाज र दोश काठमान्डौलाइ आउछ, यहाका मानिसले सिकायेको जसरी कुरा गर्छन। मौलिक हक येस्तो उस्तो भनेर फलाक्छ्न, तर जहा तेस्को जरुरत छ त्याहाँसम्म कहिले पुग्दैनन् । पुगि हाले पनि डाटा मात्र बोकेर फर्किन्छन् र उनिहरुको हक खोइ भन्दै यहीँ बसेर कराउंछन् । र सोझासाझालाई बेचेर शहरमा बसेर बर्षभरिलाई पुग्ने राजनीति गर्छन् ।
प्रत्येक ब्यक्ती समाज हो । तेहि प्रत्येक ब्यक्तीले गर्ने ब्यवहार मिलेर समाजलाइ निर्माण गर्छ । दलित पनि हामी जस्तै ब्यक्ती हुन् । जस्ले समाजकोलागी केहि न केहि योगदान गरेकै हुन्छन् ।
किन हामी यस्तो भएन भनेर कराउने ? कसरि गराउने भन्ने तिर लागेर परिवर्तन गरिनुपर्ने कुरा,अहिले २१औं शताब्दीसम्म आइपुग्दा पनि परिवर्तन नहुनु हाम्रो नै गल्ती होइन र ? कति दलितहरु समाजमा स्थापित छन् । यो सराहनिय कुरा हो, अरुहरुले पनि स्थापित हुन पाउन भन्ने कामना गरौँ । उनिहरु स्थापित हुनुमा उनिहरु दलित भएर होइन उनिहरुले गरेको मेहनत र शिक्षा नै प्रमुख कुरा हो । समाज यस्तै छ, गरिब लाइ हेप्छ र पद र पैसा लाइ कदर गर्छ । यो हाम्रो निकृष्ट सोच हो । यही सोचको कारण गर्दा दलित जहिले पनि हेपिएर बसेका छ्न् र छुवाछुत कम भएको छैन ।
किन हामी दलित बस्तीमा नि:शुल्क शिक्षा दिने स्कुल खोल्दैनौ ? किन हामी अहिले पनि उनिहरुलाइ हामी जस्तै मान्छे हो भनेर बुझ्न सक्दैनौ ? किन हामी उनिहरुलाइ पढ्न प्रेरित गर्दैनौ ? अशिक्षा नै सबै भन्दा ठुलो समस्या हो भनेर बुझे पनि किन उनिहरुलाइ बुझाउन सक्दैनौ ? शिक्षाले अलिकती भएपनि सोच्ने कुरामा परिवर्तन ल्याउँछ । बिस्तारै आफ्नो मौलिक अधिकारका कुरा बुझ्न सकिन्छ । आज नभए पनि अर्को १०/१५ बर्षमा धेरै नै परिवर्तन आउँछ । हामी सभ्य भन्ने समाजले पनि आफ्नो छरछिमेकमा भएका दलितहरुलाई शिक्षाको लागी किन प्रेरित नगर्ने ? कतिपय कुरामा समाजले गरेको ब्यवहारमा दलितहरु बोल्दैनन् । त्यो हाम्रो कमजोरि हो कि उनिहरुको जो बर्षौ देखी पिडित छन । समाज भएका सामाजिक बिकृतिलाई किन हामिले हटाउन मदत नगर्ने ? आउनुस “म” र “म” मिलेर हामी बनौँ र आफ्नो सामाजिक उत्तरदायित्व पुरा गरौँ ।

No comments:

Post a Comment