Saturday, December 23, 2017

सुको र उजेलीका दुःखमा पनि फर्केनन् छोराहरु

विभेद बिरुद्ध अभियान - पुष ८ ,बझाङ, पुस ८– न बाली लगाउने जमिन छ । न छ आय स्रोतको कुनै माध्यम नै !  ६ जना छोराछोरीसहित दयनीय अवस्थामा एक छाक खाई एक छाक भोकै बसेर गुजारा चलाउँदै आएका थलारागाउँपालिका –६, का सुको सार्कीको परिवारको अवस्था अहिले पनि उस्तै छ । शरीरमा शक्ति छउञ्जेल त गाउँमा गएर कसैको जग्गामा काम गरेर पाइने अन्नले सुकोले जीविका चलाउनुभयो ।जब उनलाई उमेरले बुढ्यौलीले छुँदै गयो, उनी निवेकमा नसक्ने भए । सुको अहिले थला परे सरह छन् । ६० वर्षीय सुको सार्की जन्मजात नै अपाङ्ग हुनुहुन्छ । उहाँकी श्रीमती ४९ वर्षीया उजेली सार्की १४ वर्षको उमेरपछि अपाङ्ग हुनुभयो । १२ वर्षको कलिलै उमेरमा विवाह बन्धनमा बाँधिएकी उजेली सार्कीको १४ वर्ष पुग्नै लाग्दा माइती घरबाट सिमललेखको भिरमा घाँस काट्ने क्रममा भिरबाट लडेर दाँया हात नचल्ने भयो ।उज्यालो अनलाइनमा खबर छ   । 
‘माइती घरबाट घाँस काट्न जंगल गएकी थिएँ, अचानक खुट्टा चिप्लिएर ठूलो भिरबाट खसेँ, उजली सार्कीले भन्नुभयो, ‘अगाडिको दुईवटा दाँत भाँचियो । हातमा चोट लागेको थियो । उपचार गर्ने पैसा भएन् । जिल्लामा उपचार गराउँदा बाहिर लैजानुपर्छ भनेको थियो डाक्टरले ।  बाहिर गएर उपचार गराउन सक्ने क्षमता भएन् । पछि हात नै नचल्ने भयो । अपाङ्ग भएर जीवन कटाउनु पर्यो ।’ 

उजेलीका गुनासो यतिमै सकिँदैन, रसाएका आँखा पुछ्दै भन्नुहुन्छ, ‘उब्जनी गर्नका लागि जग्गा छैन । अहिले हामी ऐलानी जग्गामा बसोबास गर्दै आएका छाँै । धेरै पटक यहाँका स्थानीय बासिन्दा यो ठाँउमा बस्न पाइन्न भनेर धम्काउन आएका थिए । कि त आफूलगायत छोराछोरी सबैले पासो लगाउर मर्नु पर्यो ! नत्र अन्त जाने ठाउँ नभएपछि धम्की सहेर पनि बस्नैपर्यो ।’

‘सरकारले हाम्रा लागि केही पनि सहयोग गरेको छैन् । उमेर हुन्जेल त अर्काको मेलापातमा काम गरेर छोराछोरीको लालन पालन गरेका थियौँ । तर अहिले आफ्नो शक्ति नै छैन्’, सुको सार्कीले भन्नुभयो, ‘मलाई कुष्ठरोगले थला पार्यो आँखा पनि राम्रोसँग देख्न सक्दिन् ।’ सुकोका ३ छोरा र ३ छोरी छन् । उहाँको जेठो छोरा मोहन र माइलो छोरा देवले विवाह गरिसकेका छन् । सुको भन्नुहुन्छ, ‘छोराको हामीले विवाह गरिदिएका होइनौँ । उनीहरुले आफैले भागेर विवाह गरेका हुन् । अब कान्छो छोराको र सानी ३ छोरीको चिन्ता छ ।’ सुकोका तीनै जना छोरा भारत गएका छन् । उनीहरु सानै हुँदा भारत गएका हुन् । अहिलेसम्म घर फर्किएका छैनन् ।

सुकोलाई छोराहरु जग्गाजमिन केही नभएका कारणले घर नफर्केको जस्तो लाग्छ । ‘अहिले हाम्रो जीवनको साहारा तीन जना छोरीहरु छन् । दुईवटा छोरी कक्षा ८ मा पढ्दै छन् । एउटा कक्षा ५ मा पढ्दै छ । सार्कीले भन्नुभयो, ‘ छोरीहरु विद्यालय जाँदाखेरी पनि कहिले खाना खाएर जान्छन् । कहिले खाने खाना नै हुँदैन, भोकै जान्छन् ।’ 

सुकोका छोरीहरुलाई पढ्ने चाहना छ । सुको भन्नुहुन्छ, ‘ छोरीहरु अरुको भारी बोकेर भए पनि पढ्छु भन्दै छन् । हाम्रो पढाउने क्षमता छैन । हामी त मर्ने नै भयौँ । छोरीको लागि सरकारले केही गरीदिए पनि हुन्थ्यो  । अहिलेसम्म त मर्न नसकेर जसोतसो गुजारा चलैकै छ । अबका दिन के हुने हुन् । खै  ! भन्न सकिने अवस्था छैन् ।’सुको दम्पती दुवै जना अपाङ्ग भए पनि उनीहरुको आँट भने निकै दरिलो छ । पहिलेदेखि नै एउटा राम्रो घर भित्र बस्ने सपना साकार भएको छ । ‘खान भन्दा बढी चिन्ता एउटा सानो घर निर्माण गर्ने थियो’, उजेली सार्कीले भन्नुभयो, ‘तर त्यो कुरा सपनाजस्तो थियो । हामीले हरेस खाएका थिएनौँ । म विवाह गरी आएदेखि नै पक्की घर निर्माण गर्ने सोच थियो । १२ वर्ष अगाडिको सोच अहिले बल्लबल्ल पूरा त भएको छ । तर ऋण्को चिन्ताले बढी सताउछ    
 ।’
उजेलीको परिवारले गाँउकै मान्छेसँग ३० हजार ऋण निकालेर घर बनाएका हुन् । उक्त ऋण कसरी तिर्ने भन्ने ठूलो चिन्ता उजेलीको परिवारमा थपिएको छ । उजेली र सुकोले एक हातले बाँझो जमिन खनेर रायो, मुला लगाउनुभएको छ । उजेली भन्नुहुन्छ, ‘एकै हातले गोडमेल  गरेर अब आम्दानीको स्रोत त्यसैलाई ठानेका छौँ । त्यही बिक्री गरेर ऋण तिर्ने योजाना रहेको छ । कसैले सहयोग गरी दिए त हुन्थ्यो । ऋण नतिरेरै मरियो भने छोरीको अवस्था कस्तो होला भन्ने चिन्ता लागि रहन्छ ।’ 

चुनावमा भोट माग्न आए नेता, जितेपछि आएनन् 
‘भोट माग्दा धेरै नेताले यो जग्गा तपार्इँकै नाममा बनाइदिन्छौँ भनेका थिए, चुनाव सकिएपछि कुनै नेता पनि आएनन्’, सुको सार्की भन्नुहुन्छ, ‘जग्गा आफ्नो नाममा कसरी बनाउने हो ? कसैलाई चिने जानेका छैनौँ । अनि अड्डा गयो भने धेरै रुपैयाँ लाग्छ होला ! कसरी जानु । यति भन्दाभन्दै आँखाभरी आँसु बनाएर सुकोले आफूलाई भगवानले ठगेको बताउनुभयो । 

सुकोले यस वर्षदेखि वृद्धभत्ता पनि पाउनुभएको छ । वृद्धभत्ताले खर्च चलाउन केही सहज भए पनि सुकोलाई त्यो पैसाले न ऋण तिर्न सहज भएको छ । न त छोराछोरीको परिवार पाल्न नै । 
साभार :डीबी विष्ट/उज्यालो अनलाइन

No comments:

Post a Comment