Saturday, February 17, 2018

मदिरामुक्त गाउँ घोषणा भए पछि बदलियाे बस्ती

बिभेद बिरुद्ध अभियान ,फागुन ५ - वीरगन्ज : ‘मजदुरी गरेर दिनहुँ चार सय रुपैयाँ कमाउँथें तर अढाई सय त रक्सीमै सकिन्थ्यो। घर आउँदा पत्नीले अरू पैसा खोइ भन्दा झगडा पथ्र्यो। म नसामा हुन्थें। उसले सधैं कुटाइ खान्थी’, जिगनाका शंकर मुसहर भन्छन्, ‘दुई महिनादेखि दारु (रक्सी) खान छाडेको छु। गोजीमा सधैं पैसा हुन्छ। हामी पति–पत्नीबीच प्यार पनि बढेको छ।’

लालसादेवीका अनुसार उनका पति विगतमा सधैं बेलुकी रक्सी पिएर आउँथे। नुन, तेल, तरकारी खोइ भनेर सोध्दा रक्सीमै पैसा सकियो भनेर जवाफ दिन्थे। ‘त्यही निहुँमा झगडा हुन्थ्यो अनि अनाहकमा कुटाइ खानुपथ्र्यो’, उनी भन्छिन्, ‘अहिले त मेरा पतिले दारु छाडिसकेका छन्। पैसा बचत हुन थालेको छ। घरमा झगडा पनि भएको छैन, मायाप्यार पनि बढेको छ।’

जिल्ला सदरमुकाम वीरगन्जबाट झन्डै १५ किमि दूरीमा रहेको पर्सागढी नगरपालिकाको जिगना टोलस्थित दलित बस्तीमा मुसहर, डोम र दुसाद समुदायका ६३ घरधुरी छन्। प्रायः घरमा घरेलु रक्सी उत्पादन हुन्थ्यो। रक्सीकै कारण दिनहुँ झगडा हुँदा पतिले पत्नीलाई कुट्दै आएका थिए।


पतिको कुटाइबाट आजित महिलाको पहलमा बस्ती दुई महिनाअघि रक्सीमुक्त गाउँ नै घोषणा भएको थियो। आमा समूह गठन गरी उनीहरूले रक्सी भट्टी, भाँडाकुडाका साथै पसलमा राखिएका रक्सी नष्ट गरेपछि बस्तीलाई रक्सीमुक्त गाउँ घोषणा गरिएको हो।

० आमा समूहको सक्रियतामा दलित बस्ती रक्सीमुक्त बन्यो।
० बाल विवाह पनि हुन छाडेको स्थानीय अगुवा बताउँछन्।

० घर–घरमा शौचालय, खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता टर्‍यो।

० पुरुषले रक्सी छाड्दा दलित बस्तीमा महिला हिंसा घट्यो।

अहिले पनि प्रत्येक साँझ हरेक घरमा पसेर आमा समूहका सदस्यले अनुगमन गर्छन्। कसैले रक्सी पिएको भेटिए नियन्त्रणमा लिई प्रहरी चौकीमा बुझाइदिने गरेको समूह अध्यक्ष रावडीदेवी राम बताउँछिन्। ‘अहिले पनि हामी घर–घरमा पसेर रक्सी छ कि छैन भनेर अनुगमन गर्छौं’, उनी भन्छिन्, ‘तर, कुनै पनि घरमा रक्सी बनाएको फेला परेको छैन। कहिलेकाहीं अरू गाउँबाट खाएर आएका एक÷दुई जना भेट्ने गरेका छौं। उनीहरूलाई समातेर प्रहरीमा बुझाइदिने गरेका छौं।’

बस्ती रक्सीमुक्त भएपछि सबैभन्दा बढी खुसी गृहिणी महिला छन्। ‘सबैभन्दा बढी खुसी यहाँका जनानी (महिला) भएका छन् किनकि रक्सीको नसामा पतिले सधैं पत्नीलाई कुट्थे। घरमा किचलो हुन्थ्यो’, उनी भन्छिन्, ‘रक्सी बन्द हुँदा महिला हिंसा निकै घटेको छ।’


बाल विवाहसमेत रोकिएको वडा सदस्य सतियादेवी राम बताउँछिन्। ‘रक्सी खान भट्टी र होटलमा गएका बेला लोग्नेहरूले १०–१२ वर्ष उमेरकै छोराछोरीको विवाह छिनेर आइदिन्थे’, उनी भन्छिन्, ‘छोरी हुर्की भने पोइला जान्छे, इज्जत जान्छ, दाइजो पनि धेरै दिनुपर्छ अनि त्यति धेरै पैसा कहाँबाट आउँछ भनेर रक्सीकै नसामा बिहे छिन्दिने चलन व्यापक थियो। तर, अहिले रक्सी बन्द भएपछि बाल विवाह रोकिएको छ।’

अहिले घर–घरमा शौचालय पनि बन्न थालेको स्थानीय महिला बताउँछन्। रक्सीमा खर्च हुने पैसा बचत गरेर स्थानीयले घरमा शौचालय बनाएका हुन्।

‘अहिले हरेक घरमा शौचालय बनेको छ’, स्थानीय कैलासीदेवी राम भन्छिन्, ‘यो सबै रक्सी बन्द गरिएको कमाल हो। पुरुषले हरेक दिन रक्सीमा दुई– तीन सय रुपैयाँ खर्च गर्थे, अहिले त्यो पैसा बचत भएको छ। रक्सी–मासुमा खर्च हुने पैसा जोगाएर हामीले आआफ्नो घरमा शौचालय बनाएका छौं।’

खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता हटेको र यसले छोरीबुहारीको इज्जत पनि जोगिएको तपियादेवी राम बताउँछिन्।


छिमेकी गाउँ पचरुखीस्थित दलित बस्तीका महिला रक्सी बन्द गर्ने अभियानमा लागेको वडा सदस्य सतियादेवी बताउँछिन्। ‘हाम्रै सिको गरेर पचखीको दलित बस्तीका महिला रक्सी बन्द गर्ने अभियानमा लागेका छन्। अब त्यो गाउँ पनि करिब–करिब रक्सीमुक्त भइसकेको छ’, उनी भन्छिन्, ‘ उनीहरूलाई हामीले सघाइरहेका छौं।’

जिगना र पचरुखी गाउँ नमुना वडाका रूपमा चिनिन थालेको स्थानीय युवा अशोक यादवको बुझाइ छ। ‘दलित बस्तीमा प्रायः सबैले छोराछोरी १०–१२ वर्ष नपुग्दै बिहे गरिदिने चलन थियो’, उनी भन्छन्, ‘तर, अहिले महिलाले रक्सी बन्द गर्दा त्यसको पहिलो फाइदा भनेको बाल विवाह पूरै रोकिएको छ। हरेक घरमा शौचालय बनेको छ। यसका साथै सधैंको झगडा र होहल्लाबाट हामीले पनि राहत पाएका छौं।’अन्नपुर्ण पोस्ट बाट 

No comments:

Post a Comment