Wednesday, March 21, 2018

प्रचण्डले भने – दलितबाटै राष्ट्रपति र प्रधानमन्त्री बनाउने मन थियो

विभेद बिरुद्ध अभियान -७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायकै व्यक्तिलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने मन भए पनि सफल नभएको बताएका छन् ।

५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको कार्यक्रममा उनले जनयुद्धका बेला दलितलाई जनसरकार प्रमुख बनाएजस्तै सिंहदरबारको पनि प्रमुख बनाउने मन भए पनि वाध्यतावश सम्झौता गर्नुपरेको बताएका हुन् ।‘मेरो इच्छा भन्नुहुन्छ भने मलाई सम्झौता गर्न मनै थिएन । पुरै दलितलाई शासक बनाएर काठमाडौंमा ल्याएर राख्न मन थियो’ प्रचण्डले भने ‘जसरी जनयुद्धमा गाउँगाउँमा आधार इलाका र जनसत्तामा दलितलाई प्रमुख बनाउँदा गर्व गथ्र्याैं । सिंहदरबारमा ल्याएर दलितलाई नै राष्ट्रपति र प्रधानमन्त्री बनाउने इच्छा थियो ।’

तर यसो गर्दा प्राप्त उपलब्धी पनि गुम्ने खतरा देखेपछि सम्झौता गरेको प्रचण्डले जिकिर गरे । ‘तर यसरी लागेको लाग्यैं गर्दा सबै सिद्धिने खतरा देखेँ । विद्रोह र क्रान्ति नराम्रोसँग पतन हुने खतरा देखेँ’ उनले भने ।

प्रचण्डले श्रीलंका, पेरु, बर्मा र ल्याटिन अमेरिकी देशको प्रसंग झिक्दै क्रान्तिको उपलब्धी सबै गुम्ने र क्रान्ति नै पतन हुने स्थिति आउन नदिन सम्झौता गरेको बताए ।

‘ल्याटिन अमेरिका हेरे पनि हुन्छ, अफ्रिकामा हेरे पनि हुन्छ, समाजवादी सत्ताहरु कसरी पतन भए ? बलिदानै नगरी पुँजीपतिले खोसिदिए’ प्रचण्डले भने ‘मुक्तिको लडाई लड्दै गर्दा हामीले देखेका कयौं देशमा न कम्युनिष्ट पार्टी, न क्रान्ति न बलिदान, सबै जिरोमा गयो ।’

प्रचण्डले आफूले उपलब्धी जोगाउन क्रान्तिलाई सम्झौतामा टुंग्याएको दावी गर्दै पार्टीभित्रकै वुद्धिजीविहरुले बुझ्न नसकेको आरोप लगाए । ‘तर मैले के देख्छु भने ठूला ठूला वुद्धिजीवि भन्ने साथीहरु यो सानो कुरा बुझ्न सक्दैनन् ।’

‘धेरै पढ्यो भने धेरै नबुझ्ने हुन्छन्’

प्रचण्डले धेरै पढ्यो भने धेरै नबुझ्ने हुने बताए । ‘लेनिनले असाध्यै धेरै भन्नुहुन्थ्यो, बुद्धजीविमा पाइने अहंकार, वुद्धिजीविमा पाइने अराजकता र आत्मकेन्द्रित व्यक्तिवादले आन्दोलनलाई बर्बाद पारिदिएको छ’ उनले भने ‘हाम्रो पार्टीमा पनि बल्ल बल्ल धेरै दुख गरेर एउटा वुद्धिजीविलाई नेतृत्वमा पुर्‍याएको थिएँ, उहाँले धेरै पढ्नुभयो र झण्डै झण्डै बौलाउनुभयो । अरु पनि को को बुद्धिजीविहरु बौलाउँदै जाने हो ?’

प्रचण्डले सुन्दाखेरि क्रान्तिकारी सुनिने तर साम्राज्यवादीलाई सहयोग हुने खालका गतिविधि दलित वुद्धिजीविहरुबाटै भएको आरोप लगाए । ‘हाम्रो भनाइ क्रान्तिकारी सुनिने, फाइदा साम्राज्यवादीले उठाउने नहोस्. । हाम्रै दलित समुदायले फाइदा उठाउने खालको हुनुपर्‍यो’ उनले भने ।

No comments:

Post a Comment