Saturday, March 24, 2018

यो समाजको कस्तो रित हो, वाह…!- ई. डम्बर बहादुर सुनार

विभेद बिरुद्ध अभियान - चैत्र १०- -“बनु सत्यबादी पढु नित्य बिद्या हटाऊ सबै चित्त देखि अबिद्या “, कवि शिरोमणी लेखनाथ पौड्यालद्धारा लिखित यो उक्तिले जनाउँदछ कि बिद्या त्यस्तो शक्ति हो जसले मानिसलाई अज्ञानताको संसारबाट ज्ञानलोकमा पुर्याउँदछ । आमा बुबाले आफ्नो सन्तानलाई राम्रो शिक्षा हासिल गरेको देख्न चाहान्छन् अनि समाज र देशमा एउटा प्रतिस्ठित नागरिकको रूपमा स्थापित भएको देख्न चाहान्छन। कुनै पनि देशले हरेक नागरिकको अनुहारमा शिक्षा र ज्ञानको प्रतिबिम्ब झल्केको देख्न चाहन्छ। शिक्षित नागरिकबाट देशले जति आशा गर्दछ शायद अशिक्षित नागरिकबाट त्यो कुराको आभास देशले गर्दैन ।

बिद्या आर्जन गर्ने थलोलाई स्वायत्त अनि पवित्र क्षेत्रको रूपमा हेर्ने गरिन्छ जहाँ सत्य अनि न्यायसंगतीको कुरा अंगाल्नुलाई प्राथमिकतामा राखिन्छ। जहाँ सबैलाई एउटै आँखाले हेरिन्छ र सबै समान ब्याबहारको हकदार मानिन्छन्। त्यो क्षेत्र जसलाई देवी सरस्वतीको मन्दिर पनि मानिन्छ जहाँ अनिवार्य रूपमा बाल्यकाल देखी अधबैश अवस्था सुरु हुने अवस्था सम्म त्यो मन्दिरका निरन्तर पूजाको यात्रा तयार भएको हुन्छ, अहिलेको समाजमा सभ्य नागरिकको दर्जा हासिल गर्नलाई।

भनिन्छ शिक्षा एउटा त्यस्तो आवाज हो जसले आवाज बिहिनहरुलाई आवाज प्रदान गर्दछ, अपाङ्गको साहारा बन्दछ, असफलतमा सफलताको मलम लगाउँदछ, कमजोरीलाई ताकत प्रदान गर्दछ, सृष्टि बिहिन हरुलाई दृष्टि प्रदान गर्दछ, अज्ञानीलाई ज्ञानको ढोका खोल्दछ, अबिकशितलाई विकासको आयाम दिलाउँदछ, अध्ँयारोमा बिजुली बनेर मार्ग निर्देश गर्दछ अनि ज्ञानले कुबेरको साख पनि झार्दछ। यही ज्ञानको पुञ्जमा सिकाईन्छ मानिस सामाजिक र चेतनशिल प्राणी हो, सबै मानिस बराबर र समान हुन्छन्, कोही मानिस जात र धर्मको आधारमा सानो र ठुलो हुँदैन, राष्ट्र र समाजको आँखामा सबै समान हुन्छन् जसलाई मानव धर्म पनि भनिन्छ भनेर अनेक थरी ज्ञानका कुराहरू सिकाइन्छन्।

अनि विज्ञान विषय पढीरहदा हरेक विद्यार्थीले पढ्छन कि मानिसको शरीरमा ७ % देखी ८ % रगत हुन्छ जुन रगत ४००० विभिन्न कुराहरूको समिश्रण बाट बनेको हुन्छ। त्यही रगतमा ईरिथ्रोसाइट, ल्यूकोसाइट, प्ल्याटिलेट्स र प्लाजमा लगायत अन्य थुप्रै कुराहरू हुन्छन् जुन हरेक मान्छेको रगतमा हुन्छ। सजिलो अर्थमा बुझ्नलाई रगत रातो हुन्छ भनेर बुझिन्छ। चाहे त्यो मान्छेको वर्ण गोरो होस् या कालो, अग्लो होस् या होचो, मोटो होस् या पातलो, धनी होस् या गरिब र समाजले भन्ने गरेको सानो जात होस या ठुलो जात, संसारमा सबैको रगत एउटै रगंको हुन्छ मात्र, रातो। देशको मूल कानुन अर्थात् संविधान जहाँ सबैको अधिकार र सुरक्षको प्रत्याभुती भएको हरेक जनताले आभास गरेको पाइन्छ र त्याहा प्रत्याभुतीका खातिर नछुट्याइकन लेखिएको हुन्छ कि कुनै पनि मानिसलाई धर्म, संस्कृति, जात, भाषा, वर्ण आदिको नाममा भेदभाव गर्न पाईदैन र यदि कसैले त्यसो गरेको पाइएमा कानुनको नजरमा दोषी ठहरी कानुनबमोजिम सजाए दिईनेछ।

आज विश्व २१ औ सताब्दीको पाइला द्रुत गतिमा अगाडि बढाउँदै छ, जहा को बढी विकसित हुने भन्ने होडबाजी चलिरहेको बेला, को देश विश्वमा अरू भन्दा अझ बढी शक्तिशाली र सभ्य हुने भन्ने रस्साकस्सी चलिरहेको बेला, मानिस अर्को ग्रहमा पुग्नलाई खोज र अनुसन्धानको गतिलाई तीव्रता दिइरहेको बेलामा केही वर्ष पहिले मात्र नयाँ ग्रह पत्ता लागिरहँदा एउटा शिक्षको मन्दिरमा जातको प्रसङ्गले १७ जनवरीको घटना मानव समाजको बिचमा आउदै गर्दा कसको मनमा चस्को नपस्ला र ? अनि को स्तब्ध नहोला र ? कसको मन बैचन नहोला र? को मान्छे अचम्म हुँदैन र ? एक वर्षमा ३६५ दिन हुन्छ यो आकडा न त १ दिन घटेर ३६४ नै हुन्छ न त १ थपिएर ३६६ दिन नै हुन्छ वार्षिक पात्रोमा, तर १७ जनवरी प्रकृतिका घटना हजारौँ यो संसारमा भईरहन्छन निरन्तर निरन्तर। विश्वको सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भनेर आफूलाई दाबी गर्ने भारतमा अझ पनि अप्रजातान्त्रिक घटनाहरुले समाजलाई उथलफुतल पार्ने कार्य भई रहदा प्रजातन्त्रको परिभाषा के हो भनेर सोध्ने बेला आएको छ भन्ने कुराको बोध दिलाएको छ।

१ अर्ब २६ करोड जनसङ्ख्या भएको विश्वको सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुकको दर्जा पाएको भारतमा जहाँ ६७४३ जात जातीका मानिसहरूलाई फुल्न र फल्न पाउने अधिकार दिइएको भन्ने बुझिन्छ। १६.६ % जनसङ्ख्या भएको दलित जाती अर्थात् २१.१४ करोड जनसङ्ख्याले अझै पनि फल्न र फुल्न पाउने अधिकार बाट वञ्चित गरिएको ताजा उधारण हो रोहित चक्रवर्ती भेमुलाको आत्माहत्या प्रसङ्ग। त्यो पनि शिक्षाको मन्दिरमा, हैदराबाद सेन्ट्रल यूनिभर्सिटी सबैको मानसपटलमा गुञ्जेको नाम हो, यो विश्वविद्यालय। जुन विश्वविद्यालयका एक जना रोहित भेमुला नाम गरेका दलित छात्रले जातकै कारणले कलेज प्रशासनबाट झेल्नु परेको अवस्था र विडम्बनाले गर्दा आत्महत्या गर्न बाध्य भएको घटनाले, “पढायो पढायो पाठ सोह्र दुना आठ” भएको कुरा झल्केको छ। जुन ठाउँमा जातीय छुवाछुत दण्डनिय अपराध हो भनेर सिकाइन्छ त्यही ठाउँमा सिकाउनेले नै शिक्षाको धर्म बिर्सेर अपराधयुक्त ब्यावहार एउटा पी.एच.डी गरिरहेको दलित छात्रलाई गर्दा अरू दलितहरु जो न्यायको पहुँच भन्दा बाहिर छन् उनीहरूले कानुनी राज्यको प्रत्याभूती भएको कसरी ठान्छन र प्रजातन्त्रिक मुलुकको जनता हौ भनेर विश्वस्त हुने आधार के ? भन्ने खालका प्रश्नहरुले मन मस्तिकमा स्थान पाउनु अस्वभाविक ठान्नु हुँदैन।

भारतमा १२२८ दलित जाती छन् जुन अझै पनि दिनानु दिन जातीय छुवाछुत जस्तो जघन्य अपराधबाट मुक्त हुन सकेको छैन। भावनात्मक रूपमा कोमामा जानु परेको अवस्था र विभिन्न तरिकाले प्रताडित हुनु परेको अवस्था छ। यही भारत हो जहाँ १ वर्षमा मात्र ४७ हजार उत्पीडनका घटनाहरू मात्र दलितका दर्ता भएका हुन्छन्। २ हजार भन्दा बढी दलित महिलाहरू १ वर्षमा बलत्कार भएका घटनाहरू आकडमा पाइन्छ। जात दलित भएकै कारण र अम्बेडकर विद्यार्थी सङ्घको राजनैतिक क्रियाकलापमा संलग्न भएको विषयलाई नजिर बनाउदै कलेज प्रशासनका माफियाहरुले रोहितलाई पी.एच.डी गाईडको पनि व्यवस्थामा ढिलाइ गर्नु अनि मासिक रूपमा छात्रवृत्ति बापत विद्यार्थीले पाउनु पर्ने २५,००० रुपैयाँ रकम उपलब्ध गराउनबाट वञ्चित गराउनु, दलित भएकै कारण छात्राबासबाट निकालिनु परेको अवस्था, विभिन्न समयमा अनावश्यक मानसिक तनाव कलेज प्रशासन बाट दिईनु र यस्ता अन्य थुप्रै कारण बाट एउटा बिधार्थीलाई तनावका तीरहरु प्रहार गरिरहँदा यो कलीयुगामा रोहितले काहाँबाट भिष्म पितामह जस्तो बरदान लिएर आएका थिए र जो मृत्युलाई जित्न सक्थे। सम्पूर्ण रूपमा यो दोष कलेज प्रशासनका अधिकारीहरू रहेको कुरा आम जगतले बुझेको सन्दर्भलाई आफूलाई कानुनी राज्यको मसिहा ठान्ने भारत सरकारले दोषीलाई कारबाहीको दायरा ल्याउन सकेको खाई? के प्रजातान्त्रिक मुलुकको धर्म यही हो ? के सत्यको पक्षमा यो सरकारले काम गर्न सक्दैन ? यदि दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न सक्दैन भने यो देशले प्रजातन्त्रको बिल्ला भिर्न छोड्नुनै उपयुक्त हुन्छ। यो घटनाले देशको कानुन माथि गम्भीर प्रश्न उठेको छ।

दलित भएकै कारण छोईन्छ भन्नेहरु, दलितहरु दोस्रो दर्जाको नागरिक हुन भन्ने ठान्नेहरु कम्तीमा ५ मिनेटको लागि दलित भएर अनुभूति गरी हेर भित्रको पिडा कस्तो हुन्छ, भित्र भित्रै दलितहरु ज्यूदै कति पटक मर्दा रहेछन् भन्ने कुराको अनुभूति भएपछि बल्ल थाहा हुन्छ के हो दलित भनेको। झिनो सोच पालेर बसेकाहरु एक पटक गम्भिरता पूर्वक यो समाजको संरचना र प्राकृतिक दायित्वलाई पनि बोध गर्नुपर्ने र सिक्नुपर्ने अहिले आवश्यकता देखिएको छ। लोहार जातीले फलामको काम गर्छन् राम्रो भगवानको मूर्ती र घण्ट बनाएको हुन्छन्। त्यो मूर्ती र घण्टले मन्दिर भित्र प्रवेश पाउछ तर त्यसको निर्मातालाई मन्दिरको गेटमा रोकिन्छ र भनिन्छ तिमी भित्र पस्यौ र पूजा गर्‍यौ भने देउता रिसाउँछन र पृथ्वीमा अनिष्ट हुन्छ, अनिकाल पर्छ अनि प्राकृतिक संरचना भताभुङ्ग हुन्छ। यदि त्यसो हो भने दलितले बनाएको घण्टी बजाएर भगवानको मूर्तीलाई खुसी पार्छु भन्नेले किन सोच्दैनन कि त्यो घण्टी छुदा आफू पनि छोइन्छु भनेर। एउटा सुनको काम गर्ने दलितले बनाएको गहनाले आफूलाई सन्दरता देखाउनका लागि पहिरदै गर्दा त्यो गहनाले आफू पनि छोइन्छ भन्ने कुरालाई किन बिर्सन्छन? एउटा दलितले साह्रै मेहेनेत गरेर लुगा सिलाउँछ र त्यही लुगा लगाईरहदा किन सम्झिन चाहान्न कि त्यो लुगाको माध्यम बाट छोईन्छ भन्ने कुरा? एउटा दलितले बनाएको जुत्ता प्रयोगमा ल्याउदै गर्दा किन सोचिन्न कि त्यो जुत्ताले छोईन्छ भन्ने कुरा? यस्ता कैयन प्रश्नहरू संगाल्ने हो भने एउटा कृति नै तयार हुन्छ तर कानमा तेल हालेर बसेको मान्छेले यसको अर्थ कहिल्यै पनि सुन्न सक्दैन। चाहे त्यो जति नै ठुलो ओहदामा बसेको किन नहोस या जति नै ज्ञानि किन नहोस। यो समाजमा एउटा जनावर त छुत हुन्छ तर मानिस अझै पनि अछुत भएर ज्यूनु परेको छ २१ औ शताब्दिमा।

एउटा कुकुरलाई घरको सदस्य बनाएर राखिन्छ र पालन पोषणका निम्ति मनग्य खर्च गरेर राखिन्छ तर एउटा दलित जातिलाई छुत समाजले सामाजिक कार्यक्रमको हिस्सा बनाउने कुरा त परै जाओस बाटोमा हिड्दा पनि छोईन्छकि भन्ने डरले दुरी राखी यात्रा गरेको उदाहरण हाम्रा सामु प्रस्ट छन्। एउटा कुकुर मर्दा कुकुरले सम्मान पूर्वकको अन्त्यष्टिको भागेदार हुन्छ तर दलित त एउटा यस्तो जाति जिउँदो रहदा मात्र होइन मर्दा पनि छुत हुनुपर्ने यो कस्तो विडम्बना। यो समाजको कस्तो रित हो, वाह…! बधाई छ यो रितको जन्मदातालाई। श्रृष्टिकर्ता लाई पनि धन्यवाद छ जन्मदैनिधारमा यो दलित भनेर छाप लगाएर पठाएकोमा। यस्तो अचम्मको दृष्टिकोण आखिर कहिले सम्म? अन्तर्जातिय विवाह गरेकै बापत सजाय स्वरूप बिभत्ष हत्याको सिकार हुनु पर्ने हो ?अझै कति अजित मिजार हरुले हाम्रो देश नेपालमा मृत्युबरण गर्नु पर्ने हो ? अझै कति सन्ते दमाईहरुले अन्तर्जातिय विवाह गरे बापत समाजको बहिष्करणमा जिन्दगी यापन गर्नु पर्ने हो ? छोई छिट्टो को नाममा अझ कति बच्छे बि.कि हरुले हाम्रो देशमा कुटा ई खाई रहनु पर्ने हो ? अझै कति नन्दसिंह भुल हरुले सहरमा डेरा नपाएर पढाई छोड्नु पर्ने अवस्था हुने हो ? चुल्हो छुएको निहुँमा अझै कति मनबिर सुनार हरुले आफ्नो ज्यान गुमाउनु पर्ने हो ? अझै कति रोहित भेमुलाहरुले शाहदत प्राप्त गरे भने दलितहरु यो ऋणबाट मुक्त हुन्छन् ? यो असमानता आखिर कहिले सम्म? यो भावनात्मक दूरीको खाडल आखिर कहिलेसम्म? यो समाजको आखाँ कहिले खुल्छ? यी तमाम प्रश्नहरुले सदियौ देखि उत्तर खोजी रहेका छन्। तर यी प्रश्नहरू पनि लाचार भएर बिबशताको चङगुलमा जवाफ विहिन भएर प्रतिबिम्बित मात्र भएका छन्। अझ भन्ने हो भने, यी प्रश्नहरू पनि अछुत भएर कोमामा बसेका छन्। यी प्रश्नहरुले पनि कहिले न्याय पाउँछन त्यो हेर्नलाई यी समाजका आँखाहरू प्यासी झैँ तिर्खा मेटाउने बाटो हेरिरहेका छन्।

जिम्बाबेका राष्ट्रपति रोबोट मुगाबेले एउटा भाषणमा दिएको रङभेद सम्बन्धी बिचारले साह्रै नै चर्चा बटुलेको थियो। उनले भनेका थिए – “रङ्गभेद तबसम्म रहन्छ जबसम्म सेतो गाडीमा कालो पाङ्ग्राको प्रयोग गरिन्छ। जबसम्म सेतो रङलाई शान्तिको प्रतीक र कालो रङलाई अपशकुन मानिन्छ तबसम्म रङभेद कायमै रहन्छ। जबसम्म वैवाहिक कार्यक्रममा सेतो पहिरन र पार्थिव कार्यक्रममा कालो पहिरनको प्रयोग रहन्छ तबसम्म रङभेद कायमै रहन्छ। भेदभाव त्यति बेला सम्म रहन्छ जबसम्म बिल नतिर्ने हरुको नाम कालो सूचिमा निकालिन्छ न कि सेतो सूचिमा , स्नुकर खेल खेल्दा पनि कालो बललाई दुलोमा छिराई सेतो बल बोर्डमा रहे मात्र खेल जितेको मानिन्छ। तर जबसम्म मैले दिशा गरीसकेपछि सेतो ट्वाइलेट पेपरले मेरो कालो मलद्धार सफा गर्छु तबसम्म मलाई यी कुराले कुनै फरक पर्दैन”। रङभेद पनि एकताका पश्चिमा संकृतीमा मौलाएको थियो तर आज समाजको विकास र प्रविधिको विकास सँगै यो संस्कार हराएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल ईन्डिया भन्दै गर्दा सदियौ देखी जकडिएर रहेको यो परम्परा अहिले पनि विद्यमान भइरहदा भारतलाई डिजिटल ईन्डिया भन्न कति सुहाउँछ त्यो बहसको विषय बन्न गएको छ अहिले।

के दलित त्यो जात हो जसले आत्मसम्मान साथ देशको सम्मानित नागरिक भएर जिउन पाउने अधिकार छैन र? यो प्रश्नको जवाफ कस्तो हुने भन्ने बहस अहिले उठेको छ। देशलाई स्वतन्त्रता चाहिने बेलामा दलितहरुले बगाएको रगतले भारत माता नछोइने, देशलाई अङग्रेजहरुको पञ्जाबाट मुक्त गराउने बेलामा दलितहरुसंग छुत जातिले हातेमालो गर्दै लडाई लड्दै गर्दा नछोइने तर आज एउटा विद्यार्थी जो सभ्य समाजको यात्राको निर्माणको लागि शिक्षा सबै भन्दा प्राथमिकता हो भनेर पढ्नबाट तिरस्कृत भएर छात्राबासबाट निकालिनुपर्ने यो कस्तो खालको समाज हो? २००७ सालको देशको आमूल परिवर्तनमा दलित हरू सहभागी हुँदा कथित उपल्ला जातका नेताहरू नछोईने, २०४६ र ६२६३ सालको जनाआन्दोलन र ब्यव्स्था परिवर्तन को नाममा दलितहरु साहदत प्राप्त गर्दा अछुत नहुने तर जब सामाजिक चाड- बाड र सांस्कृतिक कार्यक्रममा भने अछुत हुने, आखिर यो कस्तो व्यवस्था ? १० बर्से जनयुद्दमा होमिदै गर्दा दलितहरु अछुत हुने र खुल्ला राजनीतिक व्यवस्था र लोकतान्त्रिक समाजमा फेरी छुत जातिको दर्जा भिर्नु पर्ने यो कस्तो व्यवस्था हो ? त्यसो हो भने १३० करोड भारतीय जनताको भविष्य लेख्ने बाबासाहेब अम्बेडकरले लेखेको संविधान भारत देशका ब्राहमणबादीका लागि किन छोइएन? खासमा नेपालीमा एउटा भनाई छ– “चाहिएको बेला भाडो नत्र ठाडो”। हो दलित जातीलाई त्यही नजर बाट हेरीन्छ। जतीबेला यो समाज यो देशमा दलितहरुको आवश्यकता बोध हुन्छ त्यति बेला मात्र उनीहरूको प्रयोग गरिन्छ नत्र “चुइगम” जसरी बेवास्ता गरिन्छ।


यो समाज पौरखमा बाच्ने समाज हो, यो समुदाय देशको गहना हो। यो समुदाय देशको सम्पति हो। माथि उल्लिखित तमाम वास्तविक प्रश्नहरूको जवाफ देशले खोज्ने प्रयास नै नगरेको हो या जवाफ दिन आवश्यक नठानेको हो। यदि त्यसो हो भने समाजले यसको जवाफ दिएर देश लाई सजक बनाउनु एउटा सभ्य समाजको दायित्व हुन्छ। यदि त्यसो होइन भने, समयैमा यस समाजको बृहत्तर हितको व्यवस्था गरेर अरू समाजको जस्तै दर्जामा राख्दै सही प्रजातान्त्रिक मुलुकको उदाहरण दिनु भारत र नेपालको दायित्व हो। होइन भने, सधैँ भरी दलित जस्तै दलित सवालका प्रश्नहरू पनि छुत नै छन् भनेर अन्बेषणको भागेदार नभई प्रश्नहरू अनुत्तरित रहिरहेने छन् ।

(लेखक ने. बि. सङ्घका नेता हुन्  ) 

No comments:

Post a Comment