Thursday, May 3, 2018

च्यातिएका जुत्ता सिलाएर धानेको जिन्दगी

विभेद बिरुद्ध अभियान - बैसाख २० -प्रकाश पार्की, डडेल्धुरा । कलम र कापी बोक्ने सपना थियो । तर अधूरै रह्यो । परिस्थितिले जुत्ता सिलाउने बाकस बोकायो । २५ वर्ष भयो, जिल्ला सदरमुकाम अगरगढीस्थित बसपार्कमा बसेर उनले जुत्ता सिलाउन थालेको । उनी हुन् ठगी सार्की ।

‘दलितले विद्यालय जान हुँदैन भन्ने गलत संस्कार थियो । बाबु–बाजेले स्कुल पठाएन् । त्यसैले सानैदेखि यही पेशा अंगाले । यहाँ बस्न थालेको चैं २५ वर्ष भयो,’ बसपार्कमै भेटिएका ठगी सार्कीले भने । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाका २ जोसिनाका ६४ वर्षिय ठगी सार्की च्यातिएको जुत्ता–चप्पल सिलाएरै जीवन धानिरहेका छन् । 

जाडो होस् या गर्मीको समय, उनी बिहान ७ बजेभित्रै बाकस बोकेर बसपार्क पुग्छन् ।  बाकसबाट झिकेर जुत्ता सिलाउन आवश्यक सामाग्री तयारी अवस्थामा राख्छन् । अनि ग्राहकको सेवामा तल्लिन् हुन्छन् ।

७ सदस्यीय परिवारको गुजारा यही पेशाबाट चलिरहेको उनले बताए । अब उनका धेरै ठूला चाहना  छैनन् । कापी–कलम बोक्ने सपना त्यागेको त वर्षौ भयो । च्यातिएका जुत्ता सिलाएर धानेको जिन्दगी त त्यतिबेला उध्रियो जब छोराहरुले पढाइ छाडे । ‘धेरै पढाउन मन थियो । तर छोराहरुले ६÷७ कक्षामै पढाइ छाडे । यही कुरामा सबैभन्दा दुःख लाग्छ । अब उनीहरुले पनि मलाई सघाए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने,‘बाँचुन्जेलको समय आफूले सिकेको सिपलाई उपयोग गरेर खान पाउँ बस् । देखेको भन्दा लेखेको हुन्छ ।’ जुत्ता सिलाएर दैनिक ५ सय देखि एक हजारसम्म कमाउने गरेको उनी बताउँछन् । 

जीवनको उर्जाशील समय च्यातिएका जुत्ता सिलाएरै बिताएका ठगी सार्कीको कामप्रतिको लगाव भने गज्जबको छ । ‘मलाई त मैले जुत्ता सिलाएको भन्दा यही च्यातिएको जुत्ताले मेरो सारा परिवारको जीवनलाई सिलाएजस्तो लाग्छ,’ ठगीले यति भन्दै गर्दा एक व्यक्ति जुत्ता पालिस गराउन आए । केही समय उनी काममा खटिए । जुत्ता टल्काएर सुकाउनका लागि राखे । ग्राहक आउँदै–जाँदै गर्दा बचेको समयमा उनी मज्जाले आफ्ना अनुभव साट्थें । बाबु–बाजेले घरमै साबरका जुत्ता निर्माण गर्ने गरेको विगत उनले कोट्टयाए ।१०–१५ वर्षअघिसम्म उनी पनि घरमै जुत्ता बनाएर ल्याउँथे । बसपार्कमा सिलाउने, पोलिस गर्ने र नयाँ जुत्ता बेच्ने काम एकसाथ गर्थे । ‘१ सयदेखि ३ सय रुपैयाँसम्ममा घरमै सिलाएको जुत्ता बेच्ने गरेको थिएँ। आजकाल मानिसहरुले राम्रा–राम्रा कम्पनीका जुत्ता किन्छन् । त्यसैले हाम्रो काम सिलाउने र पोलिस गर्नेमात्रै हो,’ उनले भने । ठूला कम्पनीका जुत्ताले बजार लिन थालेपछि कच्चा पदार्थ किन्नका लागि ठूलो पुँजी नहुने साना व्यापारीहरु मारमा परेको उनको अनुभव छ । 

‘कसैबाट सहयोग पाए यो बाकसको पसललाई बढाएर राम्रो पसल निर्माण गर्ने सपना थियो, तर पूरा हुने कुनै सम्भावना देखेको छैन,’ उनले भने । २५ वर्ष सडकमा जुत्ता सिलाएर बस्ने क्रममा उनले ग्राहकहरुको मनोविज्ञान पनि राम्ररी बुझ्न भ्याएका रहेछन्, ‘पहिले पहिले हामीलाई हेलाको दृष्टीले हेर्थे । होच्याएर बोल्थे । अहिले मानिसले बोल्ने भाषा धेरै परिवर्तन भइसकेको छ ।’ 

उनले ग्राहकले जस्तोसुकै व्यवहार गरेपनि आफुले उनीहरुप्रति सम्मानजक व्यवहार गर्ने तथा नम्र भएर प्रस्तुत हुने गरेको बताए । ‘मेरा लागि त जुत्ता सिलाउने ग्राहक नै देवता हुन्’ उनले भने । समाज परिवर्तनसँगै आफुले गर्दै आएको पेशालाई युवापुस्ताले सम्मानजनक रुपमा हेर्न थालेको र त्यही कुरामा सबैभन्दा धेरै सन्तुष्टी मिलेको उनी बताउँछन् ।

No comments:

Post a Comment