Friday, July 31, 2020

प्रकाश मानव अधिकार पुरस्कार-२०७६ बाजुराका डाक्टर विश्वकर्मालाई

विभेद बिरुद्द अभियान - अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसका अवसरमा २६ औँ “प्रकाश मानव अधिकार पुरस्कार–२०७६” बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मालाई प्रदान गरिने भएको छ ।

साउन १६ गते इन्सेकले काठमाडौँमा आयोजना गरेको २८ औँ प्रकाश स्मृति दिवस तथा २६ ओँ प्रकाशमानव अधिकार पुरस्कार घोषणा सहारोहमा सो जानकारी गराइएको हो ।कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य एवम् राष्ट्रपतिका पूर्व मानव अधिकार र राजनीतिक विज्ञ सुशील प्याकुरेलले स्वर्गीय प्रकाश काफ्लेले मानव अधिकारको क्षेत्रमा पुर्‍याउनु भएको योगदानको चर्चा गर्नु भयो ।अध्यक्ष श्रेष्ठले कोरोना महामारीका कारण यो वर्ष पहिलोपटक पुरस्कृत व्यक्तिको उपस्थितिबिना कार्यक्रम गर्नु परेको बताउनु भयो ।'

इन्सेकका महासचिव रुद्रबहादुर चर्माकारले इन्सेकका सात प्रदेशमा रहेका प्रदेश कार्यालयहरू तथा केन्द्रीय कार्यालयले तयार पारेको सिफारिसको सूचीलाई पुरस्कार छनोट समितले पुरस्कृत व्यक्तित्व छनोट गरिएको बताउनु भयो ।

मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा पुर्‍याउनु भएको योगदानका लागि यसअघि २५ जनालाई प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत गरिसकिएको इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले बताउनु भयो ।'बाजुरा जिल्लाको स्वास्थ्य सेवामा समर्पित कर्मशील व्यक्तित्वका रूपमा सुपरिचित रुपचन्द्र विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।'-महासचिव चर्माकारले भन्नु भयो ।

कोरोना सङ्क्रमणको महामारीका कारण यो वर्ष साउन १६ गते पुरस्कार प्रदान गर्न नसकिएको बताउँदै अवस्था सामान्य भएपछि पुरस्कार प्रदान गरिने पनि उहाँले जानकारी दिनु भयो ।मानव अधिकारकर्मी गणेश बिकले पुरस्कृत व्यक्तित्वले समाजमा योगदान पुर्‍याएको र उक्त कामलाई इन्सेकले चिनेको बताउनु भयो ।

इन्सेकका संस्थापक सदस्य डा. बद्रिप्रसाद खतिवडाले नेपालको मानव अधिकारको विकासका लागि स्वर्गीय प्रकाश काफ्लेको निकै ठूलो योगदान रहेको बताउनु भयो ।

‘जातको प्रश्न’ लिएर आउदै अभिनेता राजेश हमाल

विभेद बिरुद्द अभियान - जातको आधारमा हुने विभेदमाथि बहस गर्ने कार्यक्रम 'जातको प्रश्न' कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने भएको छ । अभिनेता राजेश हमालले प्रस्तुत गर्ने 'जातको प्रश्न' १२ एपिसोडको हुने राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
'समता फाउण्डेसन'ले सुरु गर्न लागेको 'टक सो' मा हमालले विभिन्न क्षेत्रका मानिसलाई प्रश्न गर्नेछन् । साउन १७ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रत्येक शनिबार साँझ ६:३० बजे कार्यक्रम आउनेछ । ६ वटा एपिसोडपछि विभेद सहेकासँग भेटेर नै कार्यक्रम सञ्चालन गरिने कार्यक्रमकी निर्देशक शान्ता नेपालीले बताइन् ।

पहिलोपटक यस्तो कार्यक्रममार्फत् प्रश्न गर्ने जिम्मेवारी पाएको भन्दै हमालले आफूलाई जातको आधारमा गरिने भेदभावमा चित्त नबुझ्ने गरेको बताए । 'हाम्रो सँस्कृतिमा, रहनसहन, समाज, परम्परामा विभिन्न किसिमले गासिँदै आएका विभिन्न किसिमका प्रथा, कुप्रथाहरु मध्य सबैभन्दा चित्त नबुझेको चाहिँ जातको आधारमा एउटा मानिसले अर्को मानिसप्रति गर्ने भेदभाव, भेदभावमात्रै नभएर क्रुर अमानवीय व्यवहार हो,' उनले भने, 'यो अमानवीय व्यवहार हामी संसारभर नै देख्छौं । त्यसैले एकदमै जादुको छडी चलाएर छुमन्तर गरेर जरादेखि नै उखेल्न सकिन्छ भन्ने प्रश्नचिन्ह पनि छ, अन्यौलता पनि छ । तर, त्यो हुँदाहुँदा पनि यो मुद्दामा बहस गरिरहने, दर्शकमा भेदभाव, अन्यायका कुरा उजागर गर्ने कार्य हुनैपर्छ । यो कार्यक्रमको मुख्य उद्देश्य यही हो ।'

'समता फाउण्डेसन'का कार्यकारी अध्यक्ष प्रदीप परियाले हालै रुकुममा ६ जना युवाको ज्यान लिनेगरी भएको जातीय विभेदको घटनाले यस विषयमाथि थप बहस आवश्यक लागेपछि आफूहरुले 'जातको प्रश्न'सुरु गरेको बताए । 'नेपालमा जातको आधारमा हुने विभेद छ भनेर हामी सबैलाई थाहा छ । तर, थाहा हुँदाहुँदै पनि यो विषयमा आवाज उठाउनुपर्छ भन्ने कुरा कमै मानिसले सोच्छन् । परिवर्तनका लागि केही गर्नुपर्छ भनेर यो कार्यक्रम सुरु भएको हो,' परियारले पत्रकार सम्मेलनमा भने, 'रुकुमको घटमा जुन बर्बरता भयो, जातको जाँतोले मानिसहरु मरिरहेका छन् भनेर स्पष्ट देखायो । त्यसपछाडि यसमा थप बहस र प्रश्नहरु उठाउनुपर्छ भन्ने हाम्रो टिमलाई लाग्यो ।'

यो विषयमाथि हरेक परिवारमा बहस अनि छलफल होस् भन्ने उदेश्यले कार्यक्रम सिर्जना गरेको उनी बताउँछन् । 'धेरैलाई के लाग्छ भने यो दलितहरुको समस्या हो । उनीहरुले भोग्दै आएका छन् तर यो हामी सबैको समस्या हो । अझ यो गैरदलितको समस्या हो । किनभने यो उनीहरुले गरिरहेका छन् । त्यसैले यो बहस एक तहमा पुर्याउउनुपर्छ, जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि हामीले केही गर्नुपर्छ भनेर कार्यक्रम सुरुवात गर्यौं,' उनले भने । नयाँ र पुराना पुस्तासम्म यो कार्यक्रम पुर्‍याउन राजेश हमाल उपयुक्त लागेका कारण उनलाई प्रस्तोतामा लिएको उनले बताए ।

कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले परिवारमा देखेको विभेद अबको पुस्तामा न्युनीकरण होस् भन्न यो पहलमा साथ दिएको बताए । '२०५३ सालम मेरो बुबाले मेरी शेर्पा आमासँग बिहे गर्नु भएको थियो । मेरो आमा शेर्पा भएको कारणले क्षेत्रीको चुलोमा गएर काम गर्न पाउनु भएन । वर्षौंपश्चात जातभात केही हुँदैन रहेछ भनेर हजुरआमाले आमालाई भान्सामा जान दिनु भयो । योभन्दा हामी छक्क पर्यौं । त्यो कुरा सानै हुँदा मैले देखें । त्यो देखेका र भोगेका कुराहरु अबको पुस्ताले भोग्नु नपरोस्, न्युनीकरण हुँदै जाओस् भन्ने उदेश्यका लागि कान्तिपुरले यो पहल गरेको हो ।'-कान्तिपुर

Wednesday, July 29, 2020

मान्छेको निर्मम हत्या गर्दा पाप लाग्दैन ? - सुमन ल्वागुन ‘क्षितिज’

विभेद बिरुद्द अभियान - विभेद शून्य हुन्छ । विचारहरूमा सम्झौता हुन्छ । त्यसैले प्रेम सोंचे भन्दा सुन्दर हुन्छ । प्रेमको अन्त्य र मान्छेको भावनाको कुनै गन्तव्य हुँदैन । प्रेमी–प्रेमिकाहरू गन्तव्यहीन यात्रीहरू हुन । प्रेमको दुनियाँमा उनीहरू स्वतन्त्र हुन्छन् । तर समाज निर्मित मानकको हतियारले धेरै प्रेमिल जोडीहरूको कायरतापूर्ण हत्या गरिन्छ ।

तिनीहरूको छाला काढेर धर्म संस्कार छल्ने छल्की बनाइन्छ । प्रेम, धर्म, संस्कार भन्दा उच्च चेत हो । धर्म, संस्कारले निर्माण गरेको कथित हिन्दु उच्च जातीय दम्भ गैरमान्छेहरूको आहारा हो । नवराज विश्वकर्मा र ठकुरी थरकी एक किशोरी बीचको प्रेम सम्बन्धलाई लिएर नवराज विश्वकर्मालगायत दुई जनाको निर्मम हत्या र अन्य तीन जना बेपत्ता बनाइएको घटना जति भत्र्सना गरे पनि कम नै हुन्छ ।यो घटना देखिएको घटना हो । यस्ता खालका धेरै घटनाको सत्य तोडमोड गरिएको इतिहास साक्षी छ । यो समय प्रत्येक सचेत मान्छे आफ्नो गिदीलाई नै बम बनाएर हिन्दु उच्च जातीय दम्भ ध्वस्त बनाउन लाग्नै पर्छ । आखिर विभेद कहिलेसम्म ?

कोरोनाले विश्वका मान्छेको धर्म, संस्कार क्वारेन्टाइनमा थुनिदिएको बेला नेपालमा भने दिन प्रतिदिन धर्म, संस्कार बचाउने कुसंस्कारले हत्या हिंसा मौलाउँदो छ । विश्वव्यापी नोवेल कोरोना भाइरसले मान्छेको चेत फर्कायो भन्दै गर्दा हाम्रो समाजमा निर्मम गैरमानवीय घटनाहरू हुनु भनेको नेपाली समाजको चेतनास्तर कहाँ छ भन्ने कुराको कसी हो ।

कोरोना कहरको कारण मान्छे भोकभोकै मर्दै गर्दा पूर्वको पाँचथरदेखि पश्चिमको रूकुमसम्म हिन्दु उच्च जातीय पराकाष्ठाको उपज गैरमानवीय घटना घटिरहेका छन् । आश्चर्यलाग्दो कुरा त यहाँ छ कि यस्तो गैरमानवीय घटनामा जनप्रतिनिधिको नाम जोडिएर आएको छ । यसरी हेर्दा हाम्रो समाजको राजनीतिक सचेतता हिन्दु संस्कारमा जगडिएको छ र वर्णवादी शासन व्यवस्थाबाट प्रशिक्षित छ । कहाँबाट आयो वर्ण व्यवस्था र किन समाजबाट हट्दैन ?

दक्षिण एसियामा करिव ४५ सय बर्षअघि जात व्यवस्था शुरू भएकोे मान्न सकिन्छ । जात व्यवस्थाको उद्गम विन्दु ऋग्व वेद हो । जहाँ एक विराट पुरूष ब्रह्माको परिकल्पना गरिएको छ । जसको मुखबाट ब्राह्मणको उत्पत्ति भयो ब्राह्मणको काम पठनपाठन अर्थात यज्ञ गर्ने ।

हातबाट क्षेत्रीको उत्पति भयो क्षेत्रीको काम अर्थशास्त्र र राज्य सञ्चालन गर्ने, तिघ्राबाट वैश्यको उत्पति भयो जसको काम खेतीपाति गर्ने । पैतालाबाट शुद्रको जन्म भयो जसले माथिका तिनै वर्णको सेवा गर्नु पर्ने भनेर किटान गरियो ।

सयौं बर्षसम्म वर्ण व्यवस्था छुवाछुतसहितको बनाइएन कालान्तरमा छुवाछूतसहितको वर्ण व्यवस्था निर्माण गरियो । छुवाछूतसहितको वर्ण व्यवस्था करिव ३५ सय बर्ष अघिदेखि सुरूवात भएको मान्न सकिन्छ । नेपालमा वर्ण अर्थात् जात व्यवस्था प्रवेश एकै पटक भएन किस्ता वन्दीमा प्रवेश गर्‍यो ।

छुवाछूतसहितको वर्णव्यवस्था गौतमबुद्ध कालभन्दा अगाडि नै तराईमा आएको प्रमाणित छ । भने क्रमशः छैटौं शताब्दीदेखि ११ औं शताब्दीसम्म छुवाछूतसहितको वर्ण व्यवस्था नेपाल प्रवेश गरेको इतिहास छ ।

छुवाछूतसहितको जात व्यवस्थाले काठमाडौ उपत्यकामा सबै भन्दा पहिले पूर्णता पायो भने गोरर्खाका राजा राम शाहले भारतबाट ५ ब्राह्मण ल्याएर चार वर्ण ३६ जात स्थापना गरे । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा पूर्वको राई, लिम्बूसम्म वर्ण व्यवस्था ल्याएर लागू गरे अनि घोषणा गरे नेपाल चार वर्ण ३६ जातको साझा फूलबारी हो । त्यसताका रोपिएको जातको कलंक आज रक्तपातपूर्ण हिंसामा परिणत भएको छ ।

हाल आएर वर्ण अर्थात जात व्यवस्थाको सिकार भइरहेको दलितहरू धर्म परिवर्तनको बाटोमा छन् । के धर्म परिवर्त नै मुक्ति हो ? मुक्ति पटक्कै होइन । जो कथित उच्च जातीय अंहकारले समाजको उच्च ओहोदाको वाणी छाट्छ । हत्या हिंसा गर्नु हुँदैन भन्छ तर, मन्दिर प्रवेशमा रोक लगाउँछ ।

धर्म, संस्कार संरक्षणको नाममा मान्छेको हत्या गरेर छाला काढेर धर्म, संस्कार संरक्षण गर्ने ओत बनाउँछ । धर्म, संस्कारसँग तुलना नै गर्न नसक्ने उच्च चेत हो प्रेम त्यहि प्रेमको निर्मम हत्या गर्छ । यो जटिलता मान्छेको मस्तिष्कमा हावी भइरहँदा । कुविचारले निर्देशित गरेको ब्यवहार जबसम्म परिवर्तन हुन सक्दैन । तबसम्म उपेक्षितहरूको मुक्ति सम्भव छैन ।

दलित समुदाय अज्ञानी, अशिक्षित छन् यो भनाई उच्च हिन्दु अंहकारवादले निर्माण गरेको हो । एक पंक्ति समाजलाई टुक्रा टुक्रामा विभाजन गरेर शोषण, दमन र उत्पीडन खडा गर्दै मान्छेलाई दास बनाउने कुकर्म, हत्या, हिंसा र अत्याचार गरेर लुटेर खाने स्वभावले समाज ध्वस्त बनाइएको छ । यहि समाजमा एउटा पसिनाको सुगन्ध, श्रम र सिर्जनाले समाजलाई सुन्दर बनाउदै आएको शुद्र अर्थात् वर्तमानका दलित समाजका कुपात्र होइनन् समाजका सौन्दर्य हुन् ।

रूकुममा अन्तर जातीय विवाह असफल बनाउन हत्याको कायरतापूर्ण बाटो रोजियो । यो जात व्यवस्थाको चरम अवस्था हो । हिजो व्यवस्था परिवर्त गर्छाै भनेर दलित समुदायलाई संगठित गर्दै युद्धमा खटाइयो । आफ्नो मुक्तिका लागि दलितहरू युद्धको अग्रमोर्चमा खटिए । रगत बगाए, वीरगति प्राप्त गरे, अंगभंग भएर व्यवस्था परिवर्तन भयो ।

अरू सबै शासन व्यवस्थाको मालिक भए तर दलितहरू मुक्तिका लागि अझै रगत बगाईरहेका छन्, ज्यान आहुति दिरहेका छन् । दलितहरूले त्यस समय रगत बगाएर ज्यान बलिबेदीमा चढाएर निर्माण गरेको वर्तमान स्थानीयदेखि केन्द्रिय सरकार हो । स्थानीय सरकार दलित समुदायबाट प्रतिनिधित्व गर्ने महिला सदस्यलाई आफ्नो निर्णयमा ताली बजाउन राखेर आफू धर्म, संस्कारको खोल ओढेर हिन्दु उच्च जातीय हमला गर्छ भने, केन्द्रिय सरकार दलित मुक्तिको सवालमा लाचार छ ।

सरकारी जागिरको समावेशी कोटा सबै काटेर आधारभूत तहसम्म अनिवार्य संस्कृत पढ्न बाध्य बनाउनै ३ हजार ३५ सय संस्कृत भाषाको शिक्षक नियुक्ति गर्ने योजना बनाउँछ । सरकारले कसलाई समृद्ध बनाउँदैछ नेपाली दलित मुक्ति आन्दोलले हेक्का राख्ने छ । अन्त्यमा एउटै प्रश्न छ–गाई मार्दा पाप लाग्छ भन्नेहरूले, मान्छेको निर्मम हत्या गर्दा पाप लाग्दैन ?

नया पेज डटकम बाट साभार 

झरुवाराशीमा एक धार्मिक क्रिश्चियन संस्थाले दलित बस्तीमा जाने बाटो गर्यो बन्द

विभेद बिरुद्द अभियान - ललितपुर जिल्लाको गोदवारी नगरपालिका वडा-१३ झरुवाराशीमा एक धार्मिक क्रिश्चियन संस्थाले दलित बस्तीमा जाने बाटो बन्द गरेको छ।

ओ.एम. नेपाल, ट्रान्सफरमिङ लाइभ्स एण्ड कम्युनीटी नामक संस्थाले विगत १२ वर्षदेखि पुस्तौ पुस्तादेखि बस्दै आएका दलित बस्तीको बाटो बन्द गरिदिएको हो । करिब १० रोपनी क्षेत्रफल रहेको त्यस स्थानमा संस्थाले आफ्नो कम्पाउण्डको गेट बनाएर ताल्चा आफूसंग राख्दै आएपछि कम्पाउण्डभित्रका परिवार बाहिर निस्कन कठिनाई भएको पीडितहरुको गुणासो छ ।

योजनाबद्ध रुपमा बाटो वारीपारीको जग्गा संस्थाले किनेर स्थानीय जनतासँग मौखिक सहमतीमा बाटो दिने भन्दै कम्पाउण्ड उठाए पछि गेटमा ताल्चा लगाएको स्थानीयहरुले बताए । यसबाट पाँच परिवारलाई सबैभन्दा धेरै समस्या रहेको छ । घरमै गाडी जानसक्ने अवस्थामा गाडी हुनेले पनि निजि सवारी साधन घरमा लैजान नसक्ने भएका छन् ।

विदेशी सहयोगमा बनेको उक्त संरचनामा आफूहरुले लिएको जग्गा परिसर भएकोले सुरक्षाको लागि कम्पाउण्ड लगाएको सोही संस्थाका कार्यकारी निर्देशक धनलाल पाख्रिनले दाबी गर्दै आएपनि त्यहाँका दलित बस्तीका परिवारहरु भने आफूहरुलाई अफ्टयारोमा पारेर त्यहाँबाट निकाल्न खोजेको गम्भीर आरोप लगाएका छन् ।

पैसा र शक्तिको प्रलोभन देखाई केही वर्षअघिसम्म संस्थालाई सस्तोमा जग्गा दवाव दिने गरिएको पनि स्थानीयले दावि गरेका छन् । आफूहरुलाई धर्म समेत परिवर्तन गराउन खोज्ने गरेको बताएका छन् । पिडित स्थानीयहरु पुस्तौं देखि बसोबास गरेको पुस्तैनी थलो नछाड्ने र स्वतन्त्रपूर्वक बाटो प्रयोग गर्न पाउनुपर्ने माग सहित न्यायका लागि नगरपालिकाको न्यायालय पुगेको बताएको छ ।

बाउबाजेको थातथलोलाई संरक्षण गर्न आफ्नो कर्तव्य रहेको भन्दै विदेशी लगानीको नाममा आफ्नो बस्तीलाई जबरजस्ती धर्म परिवर्तनका केन्द्र बनाउन खोजिए त्यसको मूल्य चुकाउनुपर्ने बताए । संस्थाको आडमा सस्तोमा जग्गा किनेर स्थानीयलाई पुस्तैनी थलोबाट प्रतिस्थापन गर्न लागिएको स्थानीए जनताहरुले आशंका गरेका छन् ।

२०६२ सालमा खण्ड-खण्ड जग्गा खरिद गरी ०६५ सालमा वडाको सिफारिस सहित निर्माण भएको संरचना पछिल्लो समय नगरपालिकाको मापदण्ड विपरीत गएको र ०७० सालमा गेट निर्माण गरी पूरै बस्ती समेत संरचनाभित्र पार्न खोज्दा स्थानीयले अवरोध पुर्‍याएको बुझ्न आएको छ । हालसालै पुनः गेट निर्माण गरी ताल्चा लगाएपछि बस्तीभित्रका परिवारका सदस्यहरु बाहिर निस्कन कठिनाई भएको उनीहरु बताउँछन् ।

साँधुरो गोरेटोमा संस्थाले काँडेतार लगाएकोले मानिसहरु घाइते हुने क्रम बढेकोले काँडेतार हटाउन वा पर्खाल लगाउन आग्रह गरे पनि हाम्रो जग्गामा हामीले जे’लाउन पर्छ लाउँछौं भन्दै ठाडो जवाफ दिने गरेको संस्थाबाट पिडितहरुले बताए ।

पिडितहरु घरबाहिर जान र भित्र गर्न समेत अरुलाई सोध्नु पर्ने परिस्थिति आएको भन्दै आफूहरु स्वतन्त्रपूर्वक हिड्न र बाच्न पाउने नैसर्गीक थलोको अस्तित्व नै हराएको भन्दै न्यायको लागि मिडियामा आउनुपर्ने बाध्यता सुनाउँछन् । विरामी हुँदा तथा अपतकालिन अवस्थामा समेत संस्थाको निर्देशनमा चल्नुपर्ने अवस्थाको पीडा आफूहरुले व्यहोर्नु परेकोले तत्काल बाटो खुल्ला राख्नुपर्ने पीडितहरुको माग छ । त्यस क्षेत्रमा झरुवाराशी गुठी पनि रहेको छ । जसमा २२ घरपरिवार र दलित समुदायको २२ घरपरिवार बस्दै आएका छन् ।

संस्थाले शिलो फार्मको नाममा नर्सरी तथा कृषिका कार्य गर्दै आईरहेको भएपनि उक्त स्थान क्रिश्चियन पास्टरहरुको प्रशिक्षण केन्द्रको प्रयोजनका प्रयोग भएको समेत स्थानीयहरुले बताए । संस्थामा स्थानीय केही परिवारका सदस्यहरुलाई रोजगारी दिदै आएको संस्थाका कार्यकारी निर्देशक धनलाल पाख्रिनको भनाई छ ।

समस्याको समाधानका लागि वडा कार्यालय पुगेका पीडितहरुलाई नगरपालिकाले  न्यायिक समितिबाट  समाधान निकाल्ने वडा अध्यक्ष भास्कार थापाले बताए । त्यस ठाउँमा बाटोकै नाममा पटक-पटक समस्या आउने गरेको खुलासा गर्दै, न्यायिक समितिको निर्णयबाट दुवै पक्षलाई राखेर समस्याको समाधानतर्फ जाने वडा अध्यक्ष थापाले बताएका छन् ।

वडा अध्यक्ष थापाले भने दुवै पक्षको उजुरी परेको कारण आउने शुक्रबार न्यायिक समितिको बैठक बसी विवाद टुंग्याउने र सामुदायिक हितका लागि दुवै पक्षले गम्भीरतापूर्वक ध्यान दिन पनि आग्रह गरे ।

-हेलो खबर बाट साभार 

Sunday, July 26, 2020

जातीय छुवाछुत : आतंकवादी व्यवहारको प्रतिच्छायाँ - विष्णुमाया परियार

विभेद बिरुद्द अभियान -  मलाई हालसालै स्वर्गे हुनुभएकी मेरी सासूको खुब याद आइरहेको छ । उहाँको चेतनास्तर सम्झँदा गर्व लाग्छ । मेरी अनपढ गाउँले सासूले म दमिनीलाई आफ्नो बुहारीको रुपमा सहजै स्विकार्नुभयो । सहजै स्वीकार गर्नुमात्र भएन, कतै र कहिल्यै असहजताको महसुस गर्न दिनुभएन ।

चुलोचौकोमा सहज पहुँच दिएर अरुले विभेद गर्लान् र मेरो चित्त दुख्ला कि भनेर सधैं चिया, खाजा र खाना पकाउन प्रेरित गर्नुभयो । आफू भुइँतल्लामा सुतेर हाम्रो लागि घरको माथिल्लो तल्लामा सुत्ने वातावरण बनाइदिनुभयो । मेरा पति प्रदीप थापा मगरले अन्तरजातीय विवाहमात्रै गर्नुभएन, आफ्नो थर वैधानिक रुपमा नै मेरो थर परियार ग्रहण गरेर 'प्रदीप परियार थापा' बन्नुभयो ।

साक्षरसम्म नभएकी तर चेतना र व्यवहारले उन्नत सासूको त्यो महानता र उदारता आज रुकुमकी सानी बैनी सुस्माकी आमाले देखाउन सकेको भए नवराज विकसहित ६ जना होनहार नेपाली भाइहरु मर्नु पर्दैनथ्यो ।

भन्छन्, नारीको सहनशीलता र महानताभित्र धेरै कुरा निर्धारित हुन्छ । यदि सुस्माकी आमाले छोरी प्रेममा परिहाली, भागभोग उसकै हो भनेर अनिष्ट आउनुअघि छोरीको प्रेम सफल बनाउन गुप्त भूमिका खेलेको भए आज यो कहालीलाग्दो नरसंहारको साक्षी आम नेपालीले बस्नु पर्दैनथ्यो कि ! मेरी सासूको चेतना र प्रज्ञा ती मल्ल थरकी नारीमा हुन्थ्यो भने यो कुरूप अमानवीय हर्कत पक्कै रोकिन्थ्यो ।

म सीमान्तकृत दलित समुदायको व्यक्ति भएका कारण बाल्यकालीन तिता अनुभवदेखि अमेरिकाको न्यु जर्सीका मेयरको सल्लाहकार भइरहँदा होस् या भिजिटिङ प्रोफेसर हुँदा; हत्या, हिंसा, असमानता र जातीय विभेदका कैयन् घटना सुक्ष्म रुपमा हेर्न र बुझ्न पाएँ । बालीघरे दमाईकी छोरी भएर आफूले प्रत्यक्ष भोगेको जातीय छुवाछुतको भेददेखि आज घरेलु हिंसा, यौनिक हिंसा र लैंगिक हिंसाको वकालत गरिरहँदा विभेदका अनेक रुप र आयामसँग साक्षात्कार गरेकी छु ।

६ भाइलाई आफ्नो गर्भमा अधीनस्थ गर्दा सायद भेरीले असह्य पीडा अनुभव गरेकी होलिन् । ज्यानमारा दोष र अबगालको भारी भेरी किनारका लागि दागी बनेर यो सभ्यता रहुन्जेल बसिरहन्छ । भेरीको पानी नसुकुन्जेल दलितका पीडा, व्यथा र दलन आँसु बनेर बगिरहनेछ । त्यो निर्मम हत्या र घटनाको अन्तर्य समाजमा विद्यमान जात व्यवस्थाको जरो र किलो नै हो । मलाई यहीँनेर शिक्षा र चेतनाको अन्तर भन्न मन लाग्यो । मेरी निरक्षर सासू पानी नचल्ने दलितकी छोरीलाई आफ्नो परिवार गुल्मीका चल्तापुर्जा थापा मगर परिवारमा भित्र्याउन राजी बनिन् । तर समाजका बौद्धिक प्राज्ञिक वर्ग यो चलन फेर्न आज पनि अग्रसर छैन । समाजमा व्याप्त कलंक आफ्नो निधारमा पोतेर बस्न राजी छ । सकारात्मक पहलकदमी गरेर, कानुन र न्यायको पूर्ण पालनसहित मेट्न र फाल्न तयार छैन । यो घातक मौनता चिर्ने कहिले ? सभ्य र समतामूलक समाज निर्माण गर्ने कहिले ? अत्याचारको दलनमा सधैं पिसिएर इशापूर्व सय वर्षअघि राजा मनुले स्थापना गरेको विभेदको नीति पचाएर, भोगेर आजको दिनसम्म उस्तै र सोही रीत कायम हुँदा आउने आक्रोश, उठ्ने घृणा र जाग्ने विद्रोह सामान्य हुन सक्दैन ।

मान्छेलाई पशुभन्दा तल सम्झेर अति अमानवीय व्यवहार गर्ने मनुको सोच निन्दनीय छ । यद्यपि तत्कालीन चेतना र परिवेश त्यस्तै थियो । पीडा र मर्मले आक्रान्त समुदाय आज पनि मान्छे हुन नपाउनुको दर्दले घाइते छन्, आहत र विह्वल छन् । संसारमा जात मान्छे र धर्म मानवताभन्दा ठूलो र महत्त्वपूर्ण कुरा अरु छैन ।

जंगबहादुरले औपचारिक रूपमा संस्थागत गरेको विभेदको नीति दलित अर्थात् कथित शास्त्रमा वर्णित शूद्र जातिलाई पशुभन्दा तलको स्थानमा राखेर आफूलाई आधुनिक भन्न रुचाउँछ हाम्रो समाज । समाज विकासक्रममा प्रचीनकाल, लिच्छविकाल हुँदै मल्लकालमा राजा जयस्थिति मल्लले समाज सुधारको नाममा मानवीय कलंकलाई अरु संस्थागत गरे भने जंगबहादुरले मानव सभ्यतामा कुठाराघात गरे । आज पनि सोही क्रम र सिलसिल चलिरहेको देख्दा कसको मन रुँदैन ? नृशंस हत्याले कसको आङ सिरिंग बन्दैन ? मनुको वर्ण व्यवस्थादेखि १९१० सालमा मुलुकी ऐन नै बनाएर दलितलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा शोषण र अपमानपूर्ण जीवन जिउन बाध्य पारियो । २०२० सालमा राजा महेन्द्रले छुवाछुत र विभेदविरुद्ध कानुन ल्याएर सम्बोधन गर्ने प्रयास गरेका थिए । तर आज गणतन्त्र प्राप्त भएको १२ वर्षपछि पनि समाजमा छुवाछुत मात्रै छैन सो बहानामा ज्यानको जोखिम र मृत्युदण्ड जीवित छ । दुरदराजको गाउँको कुरा अलग्गै तर देशको राजधानी काठमाडौंमा सांसद र न्यायाधीशले नै दलित भएका कारण कोठा पाउन सक्दैनन् भनेको सुन्दा राजधानीको चेतनाप्रति दया लाग्छ ।

योभन्दा ठूलो बिडम्बना दुरदराजमा छ । जहाँ सार्वजनिक धारा, पँधेरा, इनार र मन्दिर छोएको बहानामा मान्छे अपमानित बन्नुपर्छ । कुटाइ खानुपर्छ । कालोमसो र जुत्ताको माला लगाउनुपर्छ । विद्यमान सामाजिक विभेदविरुद्ध समाजको बौद्धिक वर्ग, प्राज्ञिक समूह, संस्कृतिविद्लगायत राजनीतिकर्मीको मौनताले कुरीतिलाई मलजल गरिरहेको कटुसत्य हो । राज्य आज पनि दलितको समस्याप्रति गम्भीर र संवेदनशील छैन । आतंकवादको रुप र अनुहार एकै हुँदैन । जातीय छुवाछुत पनि आतंकवादी व्यवहार र त्यसको प्रतिच्छायाँ हो ।

समाज आज पनि धार्मिक अन्धता र कुसंस्कारबाटै शासित र प्रताडित छ । दलित जातिले छुट्टै र विशिष्ट अधिकारको खोजी गरेका छैनन् बरु अरु मनुष्य बराबर समता र मर्यादा, स्वतन्त्रता र निर्बाध कानुनको पालना चाहेका हुन् । मर्यादा र समताका भारतीय अगुवा डा. भीमराव अम्बेडकरले भनेझैं हरमान्छेको परिचय केवल मान्छे हो । मान्छेमात्रै समता र मर्यादाको लागि काफी हुन्छ ।

नेपाली समाजमा हिन्दु धर्म ग्रन्थहरुमा उल्लेखित निम्न प्रसंग र उदाहरण राखेर पनि समाजको मनोविज्ञान र परम्परा बुझ्न हेर्न सकिन्छ ।

- मालिकले त्याग गरे पनि शुद्रजाति दासताबाट छुट्न सक्दैनन् किनभने कमारो बस्नु नै त्यसको स्वभाविक कर्म हो । (मनुस्मृति, ८/४१४)

- यदि कुनै शूद्र्ले लोभमा परेर उच्च जातिले अपनाएको व्यवसाय गर्छ भने सर्वस्वसहित तुरुन्तै देश निकाला गर्नू । (मनुस्मृति, १०/ ९६०)

यस्तो धार्मिक अन्धता र अवैज्ञानिक परम्परा भएको समाजमा छुवाछुत र भेदभावपूर्ण नीति अवलम्बन भइरहन्छ । निम उम्रेको वृक्षमा गुलियोको अपेक्षा फगत अपेक्षामात्रै हो । यसर्थ अब मान्छेको तत्कालीन चेतनाले स्वीकार गरेको वेद गीता, मनुस्मृति, उपनिषद्‌जस्ता धार्मिक ग्रन्थमा रहेका विभेदी परम्परा सोच र रीतलाई विस्मृतिमा राखेर समाजमा कानुनी राज र विधिशास्त्रीय नियमको पालना गर्न अग्रसर हुनुपर्छ ।

मानवनिर्मित कृत्रिम पुरातन अवैधानिक र अवैज्ञानिक धार्मिक कानुनलाई तिलाञ्जली दिन विलम्ब गर्नु हुँदैन । हाम्रा धर्मग्रन्थको कारण समाजमा विभेद भएको स्वीकार गरेर अग्रजले गरेको भूल र त्रुटिलाई सच्याउन पहल गर्नु बुद्धिमानी हुन्छ । मानव दिमागले रचना गरेको त्यो जातीय भेद मानव व्यवहारले मेट्नुपर्छ । मानव मस्तिष्कनिर्मित धार्मिक ग्रन्थ ईश्वरको रचना होइन । यदि ईश्वर छन् भने उनलाई पनि यो अन्याय मन परेको छैन ।

कानुनमा लेखेर मात्रै केही हुँदैन । जसको प्रमाण नवराज विकहरु हुन् । प्रेम गरेका कारण मारिएका अजित मिजारहरु हुन् । चुलो छोएको बहनामा मारिएका मना सार्कीहरू हुन् । बोक्सी भनी मारिएका लक्ष्मी परियारहरु हुन् ।

मुलुकी ऐन २०२० ले जातीय भेदभावलाई दण्डनीय मानेको थियो । नेपालको नयाँ संविधान २०७२ को धारा ४० मा मौलिक हक भनी दलितको हक र जातीय छुवाछुत र भेदभावविरुद्धको हकलाई धारा २४ मा लिपिबद्ध गरिएको छ । हाम्रो संविधानले राष्ट्रिय दलित आयोगलाई संवैधानिक अंग बनाएको छ । जातीय भेदभाव तथा छुवाछुत ऐन २०६८ ले कुनै पनि प्रथा, परम्परा, धर्म संस्कृति, रीतिरिवाज या अन्य कुनै नाममा जातजाति, वंश समुदाय वा पेसाका आधारमा कुनै स्थानमा गरिने छुवाछुत, बहिष्कार, प्रतिबन्ध, निस्कासन, अवहेलना वा त्यस्तै अन्य मानवताविरोधी भेदभावजन्य कार्यलाई दण्डनीय मानेर जरिवाना कैद या दुवै सजायको व्यवस्था गरेको छ ।

आधुनिक मार्क्सवादी द्वन्द्वात्मक भौतिकवादको दर्शन बोक्ने पार्टीले आजसम्म बाँकी रहेको विभेद र अन्यायको हिंसा आफ्नो हो भनेर स्वीकार अब गर्ने कि नगर्ने ? सत्तालाई यो प्रश्न आम न्यायप्रेमी नेपालीको हो । एकलौटी शासनसत्तामा प्रगतिवादी चेत हुनेहरु हाबी भएको दुई वर्षभन्दा बढी भइसक्यो । यसबीच सरकारले कुन कार्यक्रम ल्यायो, जसले जातीय भेदलगायत अरु सामाजिक कुरीति अन्त्यको लागि प्रभावकारी कार्य गरेको होस् । राजा महेन्द्रले घोषणा गरेको मुलुकी ऐनदेखि २०७५ भदौ १ मा लागू भएको नयाँ संहितामा कहाँ उल्लेख छैन र समानता, स्वतन्त्रता र अधिकारको कुरा ? समानता स्वतन्त्रता विभेदमुक्त राष्ट्र लेखेर मात्रै हुने रहेनछ । दैन्दिनको सामाजिक व्यवहारबाट प्रमाणित हुन्छ । बरु विकराल समस्या, अन्तरविरोध अनि समुदायबीच वैमनस्य उत्पन्न भएका छन् ।

आज पनि ६० लाख दलित समुदाय समता, मर्यादा, आत्मसम्मान र स्वाभिमान हुन देशले अवलम्बन गरेको नीतिमा खोट रहेको कारण वञ्चित छन् । दलितको आत्मसम्मान र अधिकारको लडाइँ कसैको अधिकार कटौती र कसैलाई निषेध र प्रतिशोध भनेर बुझ्न बुझिन थाल्यो भने समता र मर्यादाको लडाइँ कमजोर बन्नेछ ।

जातीय विभेदको अन्त्यका लागि शैक्षिक, मनोवैज्ञानिक, आर्थिक, लैंगिक र राजनीतिक चेतना र सशक्तीकरण प्रभावकारी र उपयोगी हुने कुरा स्वदेश र विदेशको अनुभवले भन्न सकिन्छ । कुप्रथा, मानव अधिकारको उल्लंघन, स्वतन्त्रता र समानताको हनन, प्राकृतिक प्रक्रियालाई अछूत सम्झने रीत मानवताविरुद्धको अपराध हो । सरकार यो भेद पखाल्न कटिबद्ध भएर लाग्नुपर्छ । पुर्खाले गरेको गलत परम्परा र अवैज्ञानिक थालनीको प्रायश्चित्त गर्न नयाँ पुस्ताले मानवीय समतामूलक समाजको निर्माणमा योगदान गरेर समाजलाई विभेदमुक्त बनाउने कृतसंकल्प गर्ने दिन आइसक्यो । अज्ञानता र अन्धविश्वास तोड्ने दायित्व मूलतः राज्यको हो, राज्यलाई हरतरहले सघाउनु नागरिकको कर्तव्य हो । आम नागरिकको परस्परको विश्वास, सद्भाव र सहयोग र संकल्प आजको मूल आवश्यकता हो ।

-कान्तिपुर दैनिक बाट साभार 

Saturday, July 25, 2020

दलित आन्दोलनमा छिपेको र छुटेको कुरो -राधा पौडेल/रमेश विश्वकर्मा

विभेद बिरुद्द अभियान - सात दशक लामो राजनीतिक सङ्घर्षपश्चात स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणाले समाजका सबै क्षेत्रमा अनौठो उत्साह छाएको थियो । तीन दशक लामो पञ्चायत विरुद्धको आन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्व र ६२/६३ को जनआन्दोलनको एकीकृत बलले स्थापित संविधानसभामार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा हुँदै जनतालाई उच्चतम् अधिकारको मालिक कसरी बनाउने भन्ने सवालमा संविधान सभामा झण्डै दशक लामो बहस र छलफलपश्चात संविधानसभामार्फत नेपालको संविधान २०७२ घोषणा भयो । नेपाली जनताको ऐतिहासिक सङ्घर्षपश्चात प्राप्त भएका संवैधानिक उपलब्धिहरूमा सदियौँदेखि राज्यको मूलधारमा आउन नसकेको समुदाय बढी उत्साहित हुनु स्वाभाविक थियो ।

२०४७ सालमा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना पश्चात दलित आन्दोलन विभिन्न कित्तामा विभाजन भयो । विभाजित दलित आन्दोलनले संविधान सभामा संविधान निर्माण गर्ने अवधिसम्ममा मुद्दागत रूपमा एकीकृत रूप ग्रहण गर्नसकेन । सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक क्षेत्रको उत्पीडनमा परेको दलित समुदायका संवैधानिक अधिकारका सवालमा पार्टीगत विचार र धारणाहरू हाबी हुँदै गए । सदियौँको सामाजिक, राजनीतिक र आर्थिक उत्पीडन भोगेको दलित समुदायको संवैधानिक अधिकार ग्यारेन्टीको विधिहरू के हुने ? आरक्षण कि प्रगतिशील आरक्षण वा क्षतिपूर्ति सहितको विशेषाधिकारका सवालमा दलित नेतृत्वले लय बनाउन सकेन । संविधान सभामा देखिएको विभाजित बहसले दलित समुदायका मुद्दाहरू कमजोर मात्र भएन दलित नेतृत्वको क्षमता र सक्षमताको स्तर पुष्टि भयो ।


संविधान निर्माण गर्ने ऐतिहासिक समयमा दलित प्रतिनिधिहरूले पार्टीको निर्देशन र व्याक्तिगत स्वार्थभन्दा माथि उठेर बहस सकेन । जसको परिणाम दलित समुदायका अधिकारहरू सङ्कुचित भएर संविधानमा उल्लेख भए । संविधानले प्रदान गरेका, राजनीतिक, कानुनिक आर्थिक, सामाजिक अधिकारहरू सतहमा रहेको दलित समुदायले प्राप्त गर्न सक्ने सम्भावना झिनो बन्दै गइरहेका छन् ।
अघिल्लो जेठ १० गते रुकुममा जातीयताको नाममा घटेको नरसंहारपश्चात छुवाछूत, जातीय विभेद र दलित आन्दोलनका सवालमा नयाँ बहसको सुरुवात भएको छ । चुलोदेखि, सडक संसददेखि राजनीतिक पार्टीका उपल्लो निकायसम्ममा छुवाछूत र जातीय विभेद विरुद्धको बहस बाक्लिएको छ । 

रुकुम घटना विरुद्ध केही समय गुपचुप रहेको नेपाली बौद्धिक समुदायलाई, अमेरिकी नागरिक जार्ज फोएडको मृत्यु र रङ्गभेदविरुद्ध अमेरिकी सडकमा ओर्लिएको श्वेत समुदायको सहभागिताले नैतिक दबाब सिर्जना गरिदिएपश्चात पछिल्लो समय विभेदका विरुद्धका, आवाजहरू चर्को रूपमा सुनिन थालेका छन् । जातीय विभेदविरुद्ध नचलेका कलमहरू चल्न थालेका छन् तथापी रुकुम घटनापश्चात दलित आन्दोलन प्रतिको दृष्टिकोण निर्माण र आन्दोलनको कोर्ष करेक्सन गर्नुपर्ने बेला भएको हो कि भन्ने सबैलाई परेको भान हुन्छ  ।

दलित शब्दका सवालमा दलित आन्दोलनभित्रै थुप्रै दृष्टिकोणहरू छन् । समाजमा विद्यमान जातीय विभेदका विरुद्धको बहसमा गैह्रदलित समुदायमा प्रवेश भइसकेको देखिँदैन । जातीय विभेदको सवाल, छुवाछूतको सवाल, दलित समुदायले भोगेको समस्या समाजको साझा दायित्व हो भन्ने ठाउँमा नेपाली समाज अझै पुग्न सकेको छैन । छुवाछूत र जातीय समस्या विभेद भोग्ने समुदायको मात्र समस्या होइन, जातीय विभेद गर्नुलाई आफ्नो अविछिन्न सामाजिक अधिकार ठान्ने समुदायको समस्या पनि हो भन्ने चिन्तन विकास हुन सकेको छैन । अहिले सामाजिक वृत्तमा रहेको बहसको केन्द्र यही हो । सामाजिक विभेदको अन्त्य तब मात्र सम्भव छ जब सिङ्गो समाज विभेदका विरुद्ध सङ्कल्परत हुन्छ । जातीय छुवाछूत र विभेद समाजको साझा दायित्व बन्ने छ ।

मण्डेला, मार्टिन लुथरको रङ्गभेद्ध विरुद्धको आन्दोलन सफल कसरी भयो ? रङ्गभेद्ध विरुद्धको आन्दोलन अश्वेतहरूको सहभागिता मात्र निर्णायक थिएन । सामाजिक विभेदविरुद्धको अभियानमा श्वेत नागरिकको श्वतस्फूर्त सहभागिता हुनुको पछाडि सामाजिक, सांस्कृतिक विभेदका सवालमा श्वेत समुदायसँगको निरन्तर बहसको परिणाम थियो । त्यसकारण अबको सामाजिक विभेद विरुद्धको अभियानमा दलित समुदाय विभेदविरुद्ध एक्लै होइन्, छुवाछूत र जातीय विभेदका सवालसँग जोडिएका सामाजिक, धार्मिक, पक्षहरू सँगसँगै हातेमालो गर्दै भावि दिशा तय गर्नुपर्ने देखिन्छ ।   

जातीयताको नाममा छुवाछूत भोग्ने, जातीयताको नाममा सांस्कृतिक विभेद भोग्ने समूह दलित समुदाय हो । छुवाछूत र जातीय विभेदका विरुद्ध समाजले सामूहिक सङ्कल्प गर्न सक्ने अवस्थाको सिर्जना गर्नु अहिलेको मुख्य चुनौती हो । दलित आन्दोलनले विभेदका सवालमा दलित समुदायलाई मात्र होइन, गैह्र दलित समुदायलाई पनि सशक्तीकरण गर्न आवश्य छ, धार्मिक, शैक्षिक, राजनीतिक, सामाजिक, कानुनी क्षेत्रसँग वृहत्तर बहस, छलफल र एकता गरेर अगाडिको दिशा निर्माण गर्न विलम्ब गर्नु दलित आन्दोलनका लागि अर्को गल्ती हुनेछ । 

छुवाछूत र जातीय विभेद दलित समुदायभित्रै कुरूपका रूपमा विकास भएको छ । बृहत्तर एकता र एकीकृत आन्दोलनका सवालमा बहस गर्दैगर्दा केही प्रश्नहरू दलित आन्दोलन र समुदायप्रति उठ्नेछन् । पहिलो प्रश्न दलित समुदायभित्रको आन्तरिक विभेदको कुचक्र र छुवाछूतका सवालमा दलित समुदायले निर्णायक बहस गर्न सक्ने कि नसक्ने ? दोस्रो दलित आन्दोलनभित्र विकास भएको असरवादको विकृत रूपलाई भण्डाफोर गर्दै अगाडि बढ्न सक्ने कि नसक्ने ? तेस्रो, दलित आन्दोलनलाई आफ्नो पुस्त्यौनी व्यापार ठान्ने अवसरवादी भ्रष्टहरूलाई सामाजिक शुद्धीकरण गर्ने साहस राख्ने कि नराख्ने ? दलित आन्दोलन एउटा वर्गको राजनीतिक स्वार्थ पूर्ति गर्ने जिनिसको रूपमा विकास भएको देखिन्छ, अर्थात दलित आन्दोलनमा एउटा सीमित समूहको सिन्डिकेटभित्र कैद भएको आन्दोलनलाई साझा आन्दोलनका रूपमा विकास गर्न सक्ने कि नसक्ने ?

रुकुम घटनापश्चात दलित आन्दोलनका केही सहयात्रीहरू सडकमा छन् भने केही समूह विभेदविरुद्धको भर्चुअल अभियानमा छन् । साना साना समूहमा विभाजित दलित आन्दोलनले वैज्ञानिक मुद्दामा केन्द्रित बहस अहिले पनि गर्न सकेको छैन । सडक चाहार्दा र सामाजिक सञ्जाल हेर्दा विभेद विरुद्धका रणनीतिक योजनाको सवालमा चारवटा कोणबाट बहस भएको देखिन्छ । आन्दोलनको उग्रधारले जातीय विभेदविरुद्धको अन्तिम अस्त्र जेहाद अर्थात जातीय विभेदविरुद्धको निर्मम सङ्घर्षको आवश्यकता हो भन्ने पक्षबाट बहसमा प्रवेश गरेको छ, आन्दोलनको मध्यमार्गी धारले दलित समुदायको एकतामा जोड दिएर एकतासहितको अन्तिम सङ्घर्षको पक्षमा बहस सुरु गरेको छ । तेस्रो धारले न्यायिक अर्थात कानुनी आन्दोलनको पक्षमा बहस गरिरहेको छ । चौथो धारले मुद्दाको अन्तर्राष्ट्रियकरण गर्नुपर्ने मुद्दामा बहस सुरु भएको छ । जातीय विभेद र छुवाछूतको मुद्दामा विभिन्न विकल्पमा बहस भएको यो पहिलो पटक हो ।

जातीय विभेद र छुवाछूतको सवाल एक पक्षिय समस्या थिएन र होइन । यो सवाल विभेद भोग्ने र विभेद गर्ने दुवै पक्षको साझा सवाल हो । अनुपातिक रूपमा विभेद भोग्नेभन्दा विभेद गर्नेहरूको समस्या बढ्ता हो । जबसम्म विभेद गर्ने समूहको चिन्तनमा विभेदप्रति प्रायश्चित गर्ने मनोविज्ञानको विकास हुँदैन तबसम्म यो समस्या निराकरण हुनेमा शङ्का छ । जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा विभेदसँग जोडिएका सबै क्षेत्रहरू एकताबद्ध भई अगाडि बढ्नु अहिलेको प्रमुख सवाल भइसक्यो । 

धर्मशास्त्रमा विद्यमान विभेदहरूलाई सच्याउन धार्मिक नेताहरू तयार हुन जरुरी छ । धार्मिक गुरुहरूले  विभेदविरुद्धको साझा अभियानमा अर्थपूर्ण सहभागी हुँदै सामाजिक विभेदविरुद्ध बोल्नेबेला आएको छ । शैक्षिक प्रणालीले सामाजिक विभेदलाई निरुत्साहित गर्ने पाठ्यक्रमहरू निर्माण गर्नुपर्ने बेला भएको छ । आउँदो पुस्ताले नचिन्ने गरी जात प्रथाको अन्त्य नेपालमा आवश्यक भएको छ । जसरी हिन्दु समाजमा विद्यमान सती प्रथा इतिहास बन्यो, अब ईतिहास बन्ने पालो जातीय रूपमा हुने छुवाछूत र विभेदको छ । विश्वविद्यालयहरू, स्कुलहरू विभेद विरुद्धको जागरण केन्द्रको रूपमा विकास गर्न जरुरी भएको छ । शिक्षकहरू विभेदविरुद्धको अभियानमा सहभागी हुनेबेला भएको छ । प्रगतिशील पत्रकार समाजको विकृत रूपलाई सफा गर्ने अभियानमा लाग्ने बेला आएको छ । राजनीतिक पार्टीका नेताहरू विभेदविरुद्धको साझा अभियानमा सङ्कल्पबद्ध भएर लाग्ने बेला भएको छ, एउटा वकिल, एउटा न्यायाधीशले विभेदविरुद्धको अभियानमा एकताबद्ध हुनेबेला भएको छ । समाजमा विद्यमान छुवाछूत र विभेदविरुद्धको साझा अभियानमा राज्यले अविभावकीय भूमिका निर्वाह गर्ने बेला भएको छ । 

दलित आन्दोलन तीतो विगतको झगडामा वर्तमानको मूल्यावान समयलाई खेर फालिरहेको छ । दलित समुदायभित्र विभिन्न प्रवृत्तिका समूहहरू जन्मिएका छन्, ती समूहहरू जातीय रूपमा विश्वकर्माप्रति परियार समुदाय सङ्कीर्ण छ । सार्की समुदायप्रति विश्वकर्मा सङ्कीर्ण छ । दलित समुदायभित्रै एउटा मनोवैज्ञानिक विद्रोहको आवश्यकता छ । सांस्कृतिक क्रान्तिको आवश्यकता छ भने गैह्रदलित समुदायले यस मुद्दामा एकाकार भएर अगाडि हिँड्न जरुरी छ ।

 विश्वकर्माकी छोरीले परियार समुदायका केटासँग बिहे गर्दा के अवस्था सिर्जना भएको थियो ? अहिलेको समयसम्ममा प्रताप रामको सोचाइभन्दा माथिल्लो तहको सोचाइ राख्नसक्ने दलित नेतृत्व विकास हुनसकेको छैन । दलित समुदायभित्र जकडिएको विकृत जातिवादलाई अन्त्य गर्ने साहस दलित आन्दोलनले राख्नुपर्छ । दलित समस्या समाधान नहुनुको मुख्य कारण बाहिर होइन दलित समुदाय भित्रै झन डरलाग्दो छ । आफू परम्परावादी भइरहने र अरूलाई परिवर्तन हुनुपर्छ भन्ने उपदेश दिने दलित मानसिकता भएको नेतृत्व सच्चिनु दलित आन्दोलनको प्रमुख सर्त हो । दलित आन्दोलनलाई आवेगले, स्वार्थले होइन, विवेकको प्रयोग गर्दै यस मुद्दालाई समाजको साझा मुद्दाको रूपमा स्थापित गरौँ । प्रेमपूर्ण समाजको निर्माणमा सांस्कृतिक जागरणको अभियान सुरु गरौँ । समाज बद्ल्ने अभियानमा पहिले स्वयम् बदलौ, आफूभित्रको समाज बदलौँ, दुनियाँ अवश्य बदलिने छ । समाज बदल्न सङ्कीर्ण जातिवादी भएर होइन उद्धार समाजवादी बनेर साझा सङ्कल्पका साथ अगाडि बढौँ, समतामूलक ड्रिम नेपाल अवश्य निर्माण हुनेछ । 

-रातो पाटि बाट

धर्मशास्त्र पढेर दलित मुक्ति हुँदैन -रमेश विश्वकर्मा

विभेद बिरुद्द अभियान - मानव सभ्यता विकासको पहिलो सामाजिक उपज हो धर्म । समाजले धर्मको विकास गर्नु पुर्व सामाजिक कला, रितिरिवाज, सस्कृति, सस्कारको विकास भएको हो, धर्मको विकास समाज सञ्चालनका लागी भएको विधि थियो तर कालन्तरमा धर्मलाई समाज र मानवता भन्दा माथील्लो श्रेणी राखियो फस्वरुप धर्म सिमित जाति नियन्त्रित विधिको रुपमा विकास हुन गयो ।

धर्म के हो ? भनि धर्मशास्त्रको अध्यायन गर्नु र धर्मका सवालमा बुझ्नु अहिलेको पुस्ताका लागी राम्रो पक्ष हो, तर धर्म यस्तो किन बनाईयो ? भन्ने प्रश्न गर्न थालियो भने स्वयम धर्मशास्त्रबाट यो प्रश्नको जवाफ पाउन कठिन छ । मन्दिरका पुजारीहरु, पण्डितहरु, चर्चका पादरीहरु, धर्म भिरुहरु, धार्मिक विद्धवानहरु, धार्मिक अनुसन्धान कर्ताहरुले धर्मका सवालमा आफ्ना मृदृल प्रवचन प्रस्तुत गर्न सक्छन तर धर्मको नजरमा तिनका विचारहरुलाई अन्तिम सत्य मानिदैन ।
तितो सत्य के हो भने, धर्मशास्त्रमा प्रशस्त सामाजिक विभेद्धका श्लोकहरु उल्लेख गरिएको पाईन्छ, किन भने तत्कालिन समाजलाई धर्मको आडमा विभेद्ध र बहिष्करणको परम्परा स्थापित गर्नु थियो ।

तर अहिलेको समाजमा धर्मको परिभाषा फेरिएको छ, समाज धर्म ग्रन्थ बाट होईन मानविय विवेक र राज्य निर्मित संविधान बाट निर्देशित भएको छ । राज्यहरु धार्मिक रुपमा निरपेक्ष छन । यो शताब्दिको समाजले बैज्ञानिक लोकतन्त्रको वकालत गर्छ सहभागिता मुलक व्यवस्थाको वकालत गर्छ, समाजमा विद्यमान विभेद्धको अन्त समतामुलक व्यवस्था बाट निर्मुल होस भन्ने चाहाना राख्दछ । मानव समाजमा विभन्नि किसिमका विभेद्धहरु विद्यमान थिए र छन त्यसमा पनि हिन्दु समाजमा छुवाछुत जन्य पृथक अमानविय विभेद्ध सदियौ एउटा वर्गले भोग्दै आएको छ ।

हिन्दु समाजमा विद्यमान छुवाछुत जन्य सामाजिक विभेद्धको कारण धार्मिक समस्या हो ? भनि कहिलेकाहि प्रश्न उब्जिन्छ । धर्ममा दोष देख्ने पक्षले दलित आन्दोलनलाई धर्म विरुद्धको आन्दोलनको रुपमा परिभाषित गर्ने काशिस गरि रहेका छन, दलित आन्दोलनले समिक्षा गर्न नसकेको एउटा गम्भिर सवाल धर्म पनि हो । पछिल्लो समय दलित आन्दोलनमा एक थरि अभियान्ताहरुले दलित शब्द र हिन्दु धर्मका कारण दलित समुदाय विभेद्ध मुक्त हुन नसकेको आरोप लगाउदै फरक बहसको शुरुवात गरेको देखिन्छ ।

दलित शब्द फेरौ हिन्दु धर्म त्यागौ भन्ने मानसिकता दलित समुदाय भित्रको एउटा वर्गमा विकास भई सकेको छ, तथ्यांकले धर्म परिवर्तन गर्नेमा दलित समुदाय अग्र स्थानमा देखिनुमा यो सोचाईको प्रभाव बढी रहेको देखिन्छ । दलित शब्द र दलित समस्याका सवालमा स्वयम दलित नेतृत्व स्पष्ट देखिदैन । दलित समस्या के हो ? दलित मुक्ती कसरी हुन्छ ? शसक्त दलित आन्दोलनका सवालमा अल्पकालिन र दिर्घकालिन रणनैतिक योजनाको अभाव दलित आन्दोलनमा शुरुवाती काल देखी रहदै आएको हो ।

मन्दिर प्रवेश बाट शुरु भएको दलित आन्दोलनले राज्यको शक्ति संघर्षमा कसरी प्रवाहिकरण हुने स्पष्ट कार्यदिशा निर्माण गर्न बाट नेतृत्व ऐतिहासिक रुपमा चुकेको पाईन्छ । आलोचनात्मक चेत, त्याग र समर्पण स्वभावको दलित नेतृत्व विकास हुन नसक्दा अवशरवादी चरित्रको नेतृत्व राजनितिक र सामाजिक आन्दोलनमा हावि भयो । दलित समुदायको एउटा निश्चित वर्गले दलितको नाममा राजनिति लाभ र गैह्र राजनैतिक लाभ ग्रहण गर्ने प्रवृतिले दलित आन्दोलन अवशरवादको नियन्त्रणमा रहेको स्पष्ट हुन्छ ।

एक तिर दुई सिकार गर्ने चरित्र र प्रवृती दलित आन्दोलन भित्र डर लाग्दो रुपमा विकास भएको छ, अवसरवादमा लुप्त एउटा वर्गले दलितका मुद्धामा व्यापार गरि रहेको छ । दलितका मुद्धामा राज्यरोहण गर्नेहरु सुकुम्वासी, दलित र हलियाका सवालमा एउटा परियोजना विकास गर्न नसक्नुले, राज्य सँग सम्बन्ध भएको नेतृत्वको क्षमता माथी वेला वेला प्रश्न उठि रहन्छ ।

दलित आन्दोलन नेपालको शन्दर्भमा अन्य आन्दोलन भन्दा जेठो आन्दोलन हो, तर पनि यस आन्दोलनले अपेक्षित गति लिन सकेन । किन भने दलित नेतृत्वले दलित समस्यालाई सामाजिक चिन्तन र राजनितिक व्यावहार सँग जोड्न सकेन शुरुवाती कालमा धार्मिक समस्याको रुपमा दलित समस्यालाई चित्रित गर्न खोजियो । महिला, मधेशी र जनजाती आन्दोलन तुलनात्मक रुपमा सफल भए, किन भने ति आन्दोलन राज्यको चरित्र, सामाजको व्यावहार र व्याक्तिको व्याहारका विरुद्ध थिए, चिन्तनका विरुद्धमा थिए ।

दलित आन्दोलनले सामाजिक सम्बन्धका श्रृंखला निर्माण गर्न बाट चुक्यो, दलित समुदायलाई आन्दोलन सँग जोड्न बाट चुक्यो । बरु धर्मले दलितलाई अछुत बनायो, मन्दिरमा दर्शन गर्न नपाएकै कारण दलितहरु अपमानित भए, मन्दिरमा पुजारी बन्न नपाएरै समाजमा विभेद्ध भोगियो भन्ने पुरातन सोचाई भन्दा माथी दलित नेतृत्व उठ्न सकेन, परिवर्तित समाजको मनोविज्ञान सँग दलित समस्यालाई परिभाषीत गर्न नसक्दा राजनितिक आन्दोलन सँग प्रभावकारी साझेदारी गर्न सकेन ।

पुरातन चिन्तन र ईतिहासलाई दोष दिएर विकास भएको दलित आन्दोलन र नेतृत्वले एकातिर राज्यको महत्व बुझ्न सकेन भने अर्कोतिर उत्पिडित समुदायको भरपर्दो उर्जा बन्न सकेन ।केहि बौद्धिक तथा दलित अगुवाहरु दलित शब्द भित्र श्राप देखि रहेकाछन, उनिहरु दलित शब्द फेर्ने अर्थहिन तर्क गरिरहेका छन, अर्को थरी अगुवाहरु दलित समस्यालाई धर्म आवरित मुद्धा बनाउन चाहान्छन, यी दुवै कोण दलित आन्दोलनका लागी घातक प्रवृती हुन ।

दलित समुदायले भोग्दै आएको विभेद्ध धर्म आवरित समाज र सामाजिक व्यावहारले गर्दा सृजना भएको कारण छुवाछुतको प्रमुख पक्ष सामाजिक चिन्तन, मानविय व्यावहार हो भन्ने मान्यता दलित आन्दोलनमा ओझेल परेको छ । विभेद्धित सामाजिक चिन्तन र व्यावहार भित्रको सामाजिक रोगलाई कसरी परास्त गर्ने विचार, योजना तथा रणनिति विहिन दलित सामाजिक, राजनैतिक नेतृत्वका कारण दलित आन्दोलन कचल्टिएको छ ।

केहि दलित अगुवाहरु धर्मशास्त्र पढेर, ईतिहास पढेर दलित मुक्ति हुन्छ भनेर भ्रमित छन, धर्मशास्त्र पढेर दलित मुक्ति सम्भव छैन । ईतिहासको अध्यायनले ज्ञान दिन्छ, तर्क दिन्छ तर मुक्ति दिन सक्दैन, ईतिहास पढेर ईतिहास निर्माण गर्न सकिदैन । विभेद्ध बुझेर मुक्ति खोज्ने शाहसिक नेतृत्व दलित आन्दोलनको वर्तमान आवश्यकता हो । अहिलेको दलित नेतृत्व बाट समुदायले मुक्ति पाउन सक्दैन, किन भने यो नेतृत्वले दलित समुदायले भोग्दै आएको सामाजिक विभेद्ध अन्त्यको न्युनतम कार्यक्रम विकास गर्न सकेको छैन ।

यो नेतृत्व सँग समस्या सँग जुध्ने न्युनतम रणनैतिक कार्ययोजना छैन । यहि नेतृत्व र यस्तै अवस्थामा दलित आन्दोलनलाई छोड्ने हो र समयमै वैकल्पिक नेतृत्वको विकास गर्न सकिएन भने दलित आन्दोलनको विर्सजन निश्चित छ । अहिलेको नेतृत्वले गर्न सक्ने उच्चतम आन्दोलन बालि घरे आन्दोलन हो ।
प्रगतिशिल दलित आन्दोलनका लागी प्रगतिशिल विचार, प्रगतिशिल संरचना र बलियो बैचारिक नेतृत्वको विकास हुन आवश्यक छ । अहिलेको दलित नेतृत्वले आत्मसम्मानको संघर्ष गर्न सक्दैन र भावि पुस्तालाई घृणित सामाजिक विभेद्ध बाट मुक्त गर्न पनि सक्दैन ।

त्यसैले समतामुलक समाजको निर्माण गर्न रणनैतिक वैकल्पिक नेतृत्वको विकास गर्दै अन्तिम मुक्ति आन्दोलन विकास गर्न अहिलेका सचेत दलित नागरिको दायित्व बनेको छ । यो शताब्दिमा विकास भएको दलित आन्दोलनलाई भावि पुस्ताले सम्मान गर्ने ईतिहास निर्माण क्षमतावान र प्रगतिशिल नेतृत्व बाट मात्र सम्भव छ । त्यस कारण प्रगतिशिल दलित आन्दोलनका लागी आन्दोलन भित्र विकास भएका तिन वटा प्रवृतीलाई परास्त गर्न जरुरी छ ।

पहिलो प्रवृति जातिय श्रेष्ठता हासिल गर्ने लोभी मनोविज्ञान भएको एउटा समुहले दलित आन्दोलनलाई कम्जोर पारेको छ यहि प्रवृतीका विरुद्ध दलित आन्दोलनमा शुद्धिकरण हुन जरुरी छ । दोश्रो दलित आन्दोलनलाई आफ्नो पेवा ठान्ने प्रवृती, यो समुह दलित समुदायले प्राप्त गर्ने अवशरहरु सिमित घेरा भित्र सिमित गर्न चाहान्छ, दलित आन्दोलनलाई वृहत्तर अभियानको रुपमा नभई ऐच्छिक आन्दोलनको रुपमा विकास गर्न चाहान्छ, यो प्रवृतीको भण्डाफोर र बहिस्कार अहिलेको आवश्यक हो, तेश्रो नेतृत्व पलायनको प्रवृती ।

दलित आन्दोलन भित्र दलितका मुद्धाहरु बेचेर विदेश पलायन हुने प्रवृति अर्को चुनौती बनेको छ । यो समुह दलित मुद्धामा स्थापित बनेर विदेश पलायन भएर परिवारीक लाभमा फसेको छ । जस्को कारण नेपालको दलित आन्दोलनले विभिन्न काल खण्डमा ठुलो चुकाउनु परेको छ । दलित आन्दोलन भित्र विकास भएका यस्ता डर लाग्दा अवसरवादी प्रवृतिले दलित आन्दोलन कचल्टाएर रक्षात्मक अवस्थामा पुर्याएका छन ।

दलित आन्दोलनले एक शताब्दि समय पुरा गर्दैछ आन्दोलनको शताब्दि समिक्षा गर्नै पर्छ । यस अवधिमा दलित राजनितिकर्मी, अधिकारकर्मीले दलित समस्याको बैज्ञानिक समाधानको उपाय विकास गर्न त सकेन्न बरु दलित आन्दोलनलाई शब्दमै अल्झाई रहेका छन । आन्दोलनको नेतृत्व, विचार र संरचना सम्बन्धि दृष्टिकोणको निर्मम समिक्षा दलित आन्दोलनको अहिलेको आवश्यकता हो, दलित समुदायको आत्म सम्मान प्राप्तिको नयाँ अभियानले मात्र दलित शब्दलाई सम्मानित रुपमा परिभाषीत गर्दै दलित समुदाय विभेद्धको लगुताभास बाट मुक्त गर्न सक्छ । दलित समुदायको मनोविज्ञानमा राजनितिक लाभ ग्रहण गर्ने ठेकेदारी प्रवृती र व्यापारिक चरित्रलाई निश्तेज गर्न सक्ने विचार युक्त क्षमतावान दलित नेतृत्व जस्ले मण्डेलाको जस्तै, मार्टिन लुथरको जस्तै ईतिहास दोहोर्याउन सकोस अहिलेको दलित आन्दोलनको आवश्यकता हो ।
-नेपाल समाचार पत्र बाट

अझै विभेदको चपेटामा दलित --तीर्थ सुनार

विभेद बिरुद्द अभियान - २१औँ शताब्दीमा जातका आधारमा विभेद गर्नु कानुनी राज्यलाई नै ढाडस दिनु हो । पछिल्लो समय अमानवीय ढङ्गबाट जातीय विभेदका घटना भएका छन् । ती घटनाले राज्यलाई नै चुनौती दिँदै आएका छन् । नेपाल जातीय छुवाछूतमुक्त राष्ट्र भएकाले यस्ता हर्कत गर्नेलाई कानुनी दण्ड सजायको व्यवस्था छ । तर ती कानुन कार्यान्वय नहुँदा लज्जास्पद अवस्थामा थन्किएका छन् ।

जातीयताका कारण दैलेखका सेतु विकले दिनु परेको आहुति होस् या रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरेको घटना किन नहोस्, यसले जातीय छुवाछूत बारे उदाङ्गो रूप देखाएको छ । यस्ता धेरै उदाहरण छन् जहाँ माथिल्लो जात भनिएकाबाट दलित समुदायले खेप्नुपरेको पीडा कम्ता दर्दनाक छैन ।

सँगै बस्नु र खानु मात्र जातीय विभेद होइन । केही पढेलेखेका भनिएकाहरुबाटै यस्ता आवाज आउने गरेका छन्– सँगै बस्छौ र खान्छौ कहाँ छ जातीय छुवाछुत ? यसो भन्दै उल्टै दलित समुदायप्रति उत्तर फर्काउँछन् । अहिले सँगै बस्ने र खानेको सवाल होइन तर यस्तो अवस्थाको अन्त्य भइसकेको छ भन्ने अर्थ भने होइन ।

दुर्गमका कतिपय गाउँमा अहिले पनि पुराना पुस्ताले दलित समुदायका व्यक्तिलाई सहजै ढोकाभित्र पस्न दिँदैनन् । दलित समुदायको व्यक्तिले छोएको पनि खाँदैनन् । यसलाई लुकाउन र छिपाउन पनि सकिँदैन ।

भलै नयाँ पुस्तामा आउँदा यो समस्या केही समाधान भएको छ । नयाँ पुस्तामा नयाँ खालको विभेद सुरु भएको देखिन्छ । नयाँ पुस्ताले सँग खान र बस्न अपराध नै मान्दैनन् । फेरि सँगै खानु र बस्नु मात्र विभेद होइन । जातीय कारण हुने विभिन्न खालका गतिविधि पनि विभेद हो । अहिले दलित समुदायका व्यक्तिलाई कार्यक्रममा सहभागी नगराइनु, अवसरबाट वञ्चित गराइनु, दलित समुदायलाई स्वीकार नगरेर छोरी लिन दिन हुन नसक्नुलगायत अहिलेका विभेदका रूप हुन् । जुन रूपले दलित समुदायले छुवाछूतमुक्तको आभाष गर्न पाएका छैनन् । यसको अन्त्य गर्न चेतना र कानुनी व्यवस्थालाई चलायमान गराउनुपर्छ । उक्त कानुनी व्यवस्था कार्यान्वय गर्ने ठाउँसम्म दलित समुदायको पहुँच पनि छैन । उक्त ठाउँमा पहुँच नहुँदा जातीय विभेदका मुद्दा कमजोर हुन सक्न दलित समुदायको बुझाइ छ । यद्यपि न्याय काखा र पाखा हुँदैन भनिन्छ ।

जातीय विभेदका घटना प्रहरीसम्म पुग्न सक्दैनन् । जसले दोषीले सहजै उन्मुक्ति पाउँछन् र यस्ता घटनाले प्रसय पाउँछन् । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा अति न्यून घटना मात्र प्रहरीसम्म पुगेका छन् । अधिकांश यस्ता विषय गाउँघरमै मिलापत्र गरिन्छ । यो कार्य झन् खतरानाक हो । यस्ता घटना मिलापत्रमा टुङ्ग्याउनुभन्दा कानुनी दायरामा ल्याउन जरुरी छ । दलित समुदाय पनि अब यस्ता मुद्दामा मिलापत्रमा सहभागी हुनुहुँदैन । न्याय पाउन अदालतसम्म धाउनै पर्छ ।

प्रहरीसम्म पुगेको जातीय विभेदका घटना

घटनाः १

२०६८ भदौ १३ गते दैलेखको साविक तोली गाविस–२, धनीगाउँका सन्तबहादुर दमाईले शाही थरकी युवतीसँग प्रेम विवाह गरे । विवाह गरे पनि उनले पारिवारिक खुसी टिकाउन सकेनन् । विवाहपछि माइती पक्षले सन्तबहादुरका बुबा सेतेलाई कुटपीट गरी हत्या गरे । हत्यामा संलग्नलाई जिल्ला अदालतले सजाय दियो तर सन्तबहादुरले सधैँका लागि बुबा गुमाए । 

घटनाः २ 

२०७५ जेठ १९ गते कालीकोट नरहरिनाथ–९, लालुकी ५६ वर्षीया मना सार्कीलाई कुटपीट गरी गम्भीर घाइते बनाइयो । निर्घात कुटपीटपछि विष खुवाई उनको हत्या गरियो । वडा सदस्यमा निर्वाचित मनालाई आफ्नो बाबुसँग गलत सम्बन्ध राखेको आरोप लगाउँदै स्थानीय शाही थरका युवायुवतीले कुटपीट गर्दा मृत्यु भएको थियो । प्रतिवादीलाई २०७५ असार १४ गतेको जिल्ला आदेशले पुर्पक्षका लागि कारागार पठाइएको छ ।

घटना: ३ 

२०७७ जेठ १० गते जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विक मल्ल थरकी युवतीसँग भएको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुगे । त्यहाँ आफ्नी प्रेमिकालाई भेट्न नपाउँदै सोही वडाका वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका परिवार र गाउँलेले नवराज र उनका साथीमाथि आक्रमण गरे । आक्रमणबाट नवराजसहित ६ जनाको ज्यान गयो । उक्त घटनाका २८ जना आरोपितलाई जिल्ला अदालत रुकुमले पुर्पक्षका लागि कारागार पठाएको छ ।

घटना: ४ 

२०६८ मङ्सिरमा चुलो छोएको निहुँमा कालीकोट जुविथास्थित माईधाराका मनवीरे सुनारले अकालमै ज्यान गुमाए । शाही ठकुरी परिवारका दुई जनाले कुटपिट गरेर उनको हत्या गरेका थिए । प्रहरीको तथ्याङ्कमा छुवाछूतको घटना नभई कर्तव्य ज्यान मुद्दामा यो घटना सूचीकृत गरिएको छ ।

लेखक नेकपाका युवा नेता तथा समाज सेवी हुन् ।-रातोपाटि बाट

देशभर भएका जातीय विभेदको घटनाको विरुद्धमा काठमाडौंमा प्रदर्शन

विभेद बिरुद्द अभियान -  रुकुम पश्चिममा दलित युवकको हत्यालगायत देशभर भएका जातीय विभेदको घटनाको काठमाडौंमा शुक्रबार प्रदर्शन भएको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजको आयोजनामा काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्म प्रदर्शन भएको हो ।प्रदर्शनकारीले रुकुमपश्चिमको सोती नरसंहारमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, दलितमाथि भएका विभेद अन्त्य गर्नुपर्नेलगायतका माग राखेका थिए ।

गत जेठ १० गते भएका रुकुम घटनाका दोषि, गत जेठ २७ गते प्रहरी हिरासतभित्र मृत भेटिएका शम्भु सदाको घटना लगायत देशभरी घटेका जातीय विभेदका घटना विरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरुले ‘विभेदकारी सरकार खवरदार’, ‘सोती घटनाका दोषिलाई कारवाही गर’, ‘मान्छे मार्न पाइदैन’, ‘पीडितलाई न्याय दे’, ‘हत्या, हिंसा र बलात्कार बन्द गर’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका नेता मिन बहादुर विश्वकर्मा लगायतका विभिन्न पार्टीका नेताहरुको पनि सहभागिता रहेको थियो ।

भद्रमायाकला नेपालीको उपचार नपाएर भयो मृत्यु

विभेद बिरुद्द अभियान - नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ । तर,  लेटाङ्ग नगरपालिका–१ की ४४ वर्षीया भद्रमायाकला नेपालीको उपचार नपाएर साउन ४ गते मृत्यु भएको छ ।

साउन २ गते रिङ्गटा लागेर अस्वस्थ्य भएपछि ४८ वर्षीय पति धनबहादुर नेपालीले भद्रमायाकलालाई साउन ३ गते उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याउनुभएको थियो ।

अस्पतालले बिरामीको स्वास्थ्य परीक्षणका लागि सिटी स्क्यान(टाउकोको परीक्षण) गर्न लगाएपछि पैसा नभएर सिटी स्क्यान गर्न नसक्दा उपचार अघि नबढेको धनबहादुरले बताउनुभयो ।

छिमेकी सापटी दिएको एक हजार रुपियाँ लिएर पत्नीलाई उपचारका लागि अस्पताल आउनु भएको धनबहादुरले सिटी स्क्यानका लागि पैसा नहुँदा र उपचार अघि नबढ्दा साउन ४ गते पत्नीको मृत्यु भएको बताउनुभयो ।

काठमाण्डौंमा रहनु भएका कोशी अस्पतालका मेडिकल सुपरीटेण्टेन्ड डा.चुमनलाल दासले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा अस्पतालमा न्यूरो सर्जरीको सुविधा नभएकाले बिरामीको मृत्यु भएको हुन सक्ने बताउनुभयो ।

अस्पतालमा सेवा उपलब्ध नभएर बिरामीको मृत्यु भएको विषयमा आवश्यक अध्ययन पश्चात छानबिन गरी निर्णय गरिने अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

ठेला मजदूरी गर्दै आउनु भएका धनबहादुरले अस्पातलले घरसम्म लैजान शववाहन व्यवस्था गरीदिएको बताउनुभयो ।

Tuesday, July 21, 2020

दलितमाथि मधेशमा भएका हिंसा तथा छुवाछुतका १० चर्चित घटनाहरु - राजकरण महतो

विभेद बिरुद्द अभियान - भनिन्छ, सबैको मानिसको शरिरको रगत रातो छ ।त्यसैले दलितको पनि रगत रातो नै छ । तर, दलितले छोएको पनी गैर दलित वा ठूला जातीले छोएको भन्दै खाँदैनन् । दलितले पानी छोइदिए कुटपीट गरिन्छ, ज्याननै लिइदिन्छ । श्रम र सीप चल्ने यो समाजले पचाउँछन् । तर, उनीहरुको हातको पानी अझै पचाउन सकेको छैन ।कानुनी रुपमा छुवाछुत समाप्त भएको छ ।तर, व्यवहारमा दलितहरुले दिन्हुँ जातीय विभेद भोग्न बाध्यछन् , प्रदेश २ मा । गाउँका सिंहदबारमै दलितहरुले दुव्र्यवहार र यातना खेप्न बाध्य छन् । कानुन कार्यान्वय फितलो हुँदा दलितहरुमाथिको विभेद गर्नेहरु प्रस्य पाइरहेका छन् । धेरै कम पीडितले न्याय पाउँछन् । प्रहरीमा उजुरी नै पर्दैन । परिहाले पनि राजनीति चलखेल हुन्छ । दलितमाथि भएका अन्याय मिलापत्रमा टुङ्गिन्छ । कारवाही भएपनि न्युन हुन्छ हदैसम्म हुदैंन ।

लठ्ठीले कुटदा त चोट मात्रै लाग्छ, तर अशब्द बोलेर गरिने दुव्र्यहारले मान्छेको मुटुलाई छियाःछिया बनाइदिन्छ । तँ तल्लो, जाती छस्, तेरो छोएको पानी चल्दैन, तँ अछोप जाती हो भन्दै गरिने दुव्र्यहारले दलितहरुको मुटु छियाः छिया भएर दिनहुँ फुट्छ । उनीहरुको त्यो घाउमा मलहम पट्टी गर्ने कोही छैन ।
दलिताका छोरीचेलीहरु क्रुरुर हिंसाको सिकार बन्दै आएकी छिन् । अपहरण गरि बलात्कारपछी हत्या गरेर जलाइएको घटनाहरु भएको छ । यि घटनाहरु सुन्दा जीउ सिरिङ्ग हुन्छ । उनीहरुका छोरोछोरीहरुलाई स्कूलमा छुवाछुत र तल्लो जाती भनेर अपहेलित नगरेका होइनन् । जातीय भेदभाव गर्नु आफैँंमा अपराध हो । यससम्बन्धी कानुन बनेको पनि एक दशक पुग्न लाग्दैछ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ पारित भई कार्यान्वयन भने फितलो छ ।

पानी छोएको भन्दै कुटपीट

जातीय भेदभाव सहन नसकेर महोत्तरीको महोत्तरी बर्दिबास नगरपालिका–४ भब्सीकी बुद्धमाया विश्वकर्माले बिष सेवन गरेर आत्महत्याको प्रयास गरिन् । २०७५ वैशाख १५ गते साँझ पानी छोएको निहुँमा बुद्धमायाकी छोरी मनीषालाई छिमेकी कमला गिरीले कुटपिट गरेकी थिइन्। आफ्नो छोरीलाई कुट्नुको कारण के हो भनी छिमेकमा न्याय माग्दा उल्टै कमलाका भान्जा रामबाबु दाहाल र कमला बुद्धमायामाथि जाइलागेका थिए।
न्यायको खोजीमा अदालत पुगेकी बुद्धमाया र मनीषाले असार २४ गते न्याय त पाइन्। तर, पीडिकहरू जेल जाने भएपछि बुद्धमायामाथि छिमेकीहरूले दबाब बनाए । त्यसपछि उनी डराइन् । दबाब सहन नसकेरे उनी विष सेवन गर्न बाध्य भइन्। विष गरेकी उनलाई सहयोगी हातहरुले काठमाण्डौंमा लगेर उपचार गरेर बचाइन् ।‘मैले जुन दुःख भोग्नुपर्यो त्यो अरूले नपरोस्’, बुद्धमायाले भनिन्, ‘समाजमा मिलेर बस्दा नै सबैको भलो हुन्छ।’उनीसंग अहिले छिमेकीहरु बोल्दैनन् ।
बुद्धमाया र उनकी छोरी मनीषामाथि जातीय छुवाछुत र दुव्र्यवहार गर्ने छिमेकी कमला र उनका भान्जा रामबाबु दाहाललाई जिल्ला अदालत महोत्तरीले २०७५ असार २४ गते ६ महिनासम्म कैदसहित जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । ‘सम्भवतः छुवाछूतमा यति ठूलो कारबाही पहिलो नै हो’, प्रदेश २ का विश्वकर्मा समाजका अध्यक्ष तथा दलित अधिकारकर्मी मीन रहपालले भने ।
पीडकहरू जेल जाने भएपछि बुद्धमायाको परिवारमाथि छिमेकी खनिएका थिए । त्यसपछि उनले आत्महत्याको प्रयास गरेकी थिइन् ।

बलात्कारपछी हत्या गरेर जलाइयो

धनुषाको मिथिला नगरपालिका—३ हरीहरपुर, मगरटोलकी रेशमा(दुतिया) रसाईली विश्वकर्माको फागुन २०७५ फागुण १ गते राती उनको अपहरण भयो । छिमेकीको छोरीको विवाहमा रमाउँदै गरेकी उनको बलात्कारपछी हत्या शव जलाइयो । फाल्गुण २ गते बिहान गाउँ नजिकैको उखुबारीमा शव भेटियो । उनको हत्यारालाई पक्राउ गर्न आन्दोलन भयो ।
बटेश्वर गाउँपालिका —४ बैगाली टोल घर भई मगरटोलमा काकाको घर बस्दै आएका २२ वर्षिय निरज जर्गा मगरलाई हत्या आरोपमा प्रहरी पक्राउ ग¥यो । सानै उमेरमा उनलाई छाँडर उनकी आमा अर्कैसंग गएपछी बुवा देवनारायणले पाल्दै आएका थिए । उनको हत्या हुनु एक महिना अघि उनको घर आगलागी भएर शखाप भएको थियो । बेटी पढाऊ, बेटी बचाऊ नारा घनकाइरहेका प्रदेश २ सरकारबाट उनको परिवारले क्षतिपुर्ती पाउन सकेको छैन ।

बन्धक बनाएर सामुहिक बलात्कार

धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने एक दलित समुदायकी १७ बर्षीया किशोरी २०७५ फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन् । अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर घरतिर भाग्न सफल भइन्। नशालु पदार्थ नाकमा सुँघाएर उनलाई बेहोस बनायो । आँखामा कालोपट्टी बाँधी अपहरण गरियो ।
भारतको मझफरपुर पु¥याएर तीन महिनासम्म उनको सामुहिक बलात्कार भयो । महोत्तरीको लोहारपट्टी नगरपालिका–२ सुखैनियाका २२ बर्षीय रवानी राईन कवारी सहित चारजन विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको डिएसपी रामेश्वर कार्की बताउँछन । किशोरीको झुक्याएर भारतबाट नेपाल फर्किएकी किशोरीको अंचल अस्पताल जनकपुरमा उपचारार्थ भर्ना छिन् ।
किशोरीको हातखुट्टामा दाम्लोले बाँधेको डाम छ। शरीरभर पोलेका फोका छन्। कुटपिटको नीलडाम छन्। ‘घरमा बन्धक बनाएर राखे, रड र लठ्ठीले कुटे,’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा बाँधेर सुई लगाइदिन्थ्यो अनि बेहोस बनाएर राख्थ्यो।’
राम्रोसँग खाना र सुत्न नपाएकी ती किशोरीले भनिन्, ‘होसमा आउँदा रुन्थें। मुखमा कपडा कोचिदिन्थे। कञ्चटमा पेस्तोल राखेर मारिदिन्छु भन्थे। फेरि सुई लगाएर बेहोस बनाइदिन्थे।’ सकिला खातुन भन्ने महिला र तीनजना केटाले मदिरामा लठ्ठिएर आफूलाई सताउने गरेको उनले बताइन् । जेठ ५ गते उनी पापीको चंगुलबाट भागेर जनकपुर आउन सफल भएकी थिइन् ।

विद्यालयमै दलितसंग विभेद

महोत्तरीको भङ्गहा नगरपालिका–९ हरिणमरीका सिकिन्दर मलिलक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट २०७५ असोज १६ गते निष्काशनमा परे । कक्षा ७ मा पढ्ने मुकेशलाई विद्यालयमा भएको भोजको पात नउठाएको भन्दै प्रधानाध्यापक मनोहर यादवले निष्काशन गरेका बताए । पीडित मुकेशले भने,‘विद्यालयका लेखापाल राकेश यादवको हजुरआमाको क्रियाभोज स्कूलमा गरिएको थियो । ’न्यायको माग गर्दै लागि २०७५ असोज २३ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिए पीडित परिवारले ।

सिंहदरबारमै छुवाछुत

सिंहदरबारको अधिकार गाउँगाउँमा आइसक्यो । वडा कार्यालय गाउँको सिंहदबार हो । तर, यही जातीय छुवाछुतको घटना भएको छ । वडा कार्यालयको टेवुलमा राखेको पानी छोएको भन्दै सर्लाहीको विष्णु गाउँपालिका–२ का अजय राम वडाध्यक्ष सञ्जय साहले २०७५ साउन २७ गते गालीगलौज गर्दै हातपात गरेर कार्यालयबाट बाहिर निकालिदैएको पीडित बताउँछन् । ‘चमार जाति भएर यहाँको पानी किन खाएको ?, पानीलाई छोएर अपवित्र पारिस’ भन्दै वडा अध्यक्ष जातिय विभेद गरे ।

वडा अध्यक्ष र कार्यालय सहयोगी रामईश्वर चौधरी विरूद्ध पीडितले २०७५ साउन २९ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी दिए । नेपाल सरकारले दलित बालबालिकालाई कुपोषणबाट जोगाउन प्रत्येक महिना पोषण भत्ताको व्यवस्था गरेको छ । आफ्नो चार वर्षीय छोराको दलित पोषण भत्ता बुझ्न उनी वडा कार्यालय गएका थिए । आरोपितहरू २०७५ माघ २ गते जिल्ला अदालतमा हाजिर भएपछि अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश दियो । मुद्दाको फैसला भएको छैन ।

श्राद्ध भोजमा विभेद

सर्लाहीको गोडैता नगरपालिका–९ का १४ वर्षीय रंजित कुमार राम गाउँमा श्रद्धाको भोज खान जाँदा उनले जातीय विभेदको सिकार भए । २०७५ साउन ३ गते बकैनियाटोलका रामनाथ रायको घरमा श्राद्धको भोज खान भएका थिए । भोज खान संगै बसेको भन्दै बगदहकका स्थानीय ५१ वर्षीय शुभलाल राय यादव, ४५ वर्षीय अजोधी राय यादव र ५० वर्षीय चन्देश्वर राय यादवले छुवाछुतको व्यवहार गरे ।

तिमी तलो जातिको भएर कुन हिम्मतले हामीहरू सित बसेको, तँ बाट हट, जिउ छोइन्छ भन्दै गाली गलौज सहित अमानवीय व्यवहार गरी उनलाई भोज स्थलबाट थपाएका थिए । पीडितले २०७५ साउन ५ गते जिल्ला प्रहरी कार्यालयमा सर्लाहीमा उजुरी दिए । आरोपित मध्ये शुभलाललाई साउन १७ गते गिरफ्तार ग¥यो । आरोपितलाई २०७५ भादै ५ जिल्ला अदालतवाट २४ हजार रुपियाँ लिई धरौटीमा रिहा गरेको थियो । मुद्धाको किनारा लागेको छैन ।

त्यसैगरि पर्सा गाउँपालिका–६ का धविन्द्र महरालाई छठियार भोज संगै खाएको भन्दै कुटिए । २०७५ वैशाख १३ गते राम लक्षण पण्डित र श्याम कुमार पण्डीतले छठिहारको भोजमा सँगै बसेको भनि कुटपिट गरेको पीडितले प्रहरीमा उजुरी गरे । आरोपिहरुलाई २०७५ जेठ १८ गते प्रहरीले पक्रियो । असार ५ गते जिल्ला अदालतले १८ हजार रुपियाँ जनही धरौटी राखी तारेखमा रिहा गरिदिए । मुद्दाको फैसला भएको छैन ।

अन्तरजातिय विवाहमा १४ लाखको कपाली कागज

सर्लाहीको बह्रम्पुरी गाउँपालिका–६ पिरारीका १८ वर्षीय जयनाथ राम चमारले गैरदलित युवतीसँग पे्रम सम्बन्ध राखेको भन्दै निर्वाचित वडा अध्यक्षसहित गाउँलेहरूले मरणासन्न कुटपिट गरे । रु.१४ लाख रुपियाँको कपाली तमसुक समेत बनाए ।

स्थानीय जयनाथ राम चमार र सल्मा बैठा मुस्लिम बीच प्रेम सम्बन्ध थियो । २०७५ पुस ५ गतेदेखि भारतको सितामढी जिल्ला बस्दै आएका उनीहरू पुनः गाउँ फर्किएका थिए । वडा वडा अध्यक्ष श्यामबाबु राय भनिने राकेश यादव र रघुनाथ रायले अपहरणको शैलीमा युवकलाई घरबाट उठाउन लगाएर एकान्त बास घारीमा लगेर मरणासन्न हुने गरी पुस १० गते जयनाथका वुवा गगनदेव रामसँग १४ लाख रुपियाँको कपाली तमसुक बनाएको पीडित परिवारले जानकारी दिए ।

पीडितहरूले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीमा निवेदन दिएसँगै घटनामा दोषी रहेकालाई कारबाहीको माग गर्दै, राजेश पासवानको पहलमा जिल्ला प्रहरी कार्यलयमा पुस १२ गते पीडितले उजुरी दिए । पीडित जयनाथका अनुसार घटना भएको करिब ३ घण्टापछि उपप्रमुख गीता रायको घरमा बसेर १४ लाख रुपियाँको कपाली तमसुक गरेको बताए । आरोपितलाई पुस १५ गते प्रहरीले पक्रियो । गिरफ्तार ग¥यो । पछि जनप्रतिनिधिले माफी मागे । कागज च्याते ।

मन्दिरमा जातिय छुवाछुत

बाराको परवानीपुर गाउँपालिका–३ का १२ वर्षीय राकेश राम गाउँकै राधाकृष्ण मन्दिरको धारा (चापाकल) मा पानी खाँदा कुटिए । २०७५ भदौ २४ गते चपाकल छोइएको भन्दै मन्दिरका पुजारी रामदयाल यादव लगायतले कुटपीट गरेको प्रहरीमा उजुरी प¥यो ।

घटनाका बारेमा बुझ्न जाँदा पुजारी ५५ वर्षीय रामदयाल यादव, ३० वर्षीय दिपक यादव, ५५ वर्षीय किसान यादव, २५ वर्षीय अनिल यादव, २४ वर्षीय अरबिन्द यादव, २६ वर्षीय राजेश यादव, २० वर्षीय रमेश यादव, २८ वर्षीय भोला साह रौनियार लगायतले मिलेर दलितले पवित्र मन्दिर छोएकाले मन्दिर अशुद्ध भयो भनी बाँसको लाठी, भाँटा, फलामको रड र धारिलो खुकुरीले दलित समुदायका व्यक्तिमाथि सोही दिन आक्रमण गरेको स्थानीय राखी रामले दुःखेसो पोखे ।

आक्रमणमा परी स्थानीय ३६ वर्षीय सुमन रामको बायाँ हात तथा गोडा भाँचिएको र टाउकोमा चोट लागेको थियो । त्यस्तै १६ वर्षीय आकाश रामको टाउकोमा चोट लागेको थियो । गण्डक र जितपुरबाट खटिएको नेपाल प्रहरीको टोलीले अवस्था नियन्त्रणमा लिएको थियो । यो घटना त्यतिकै सेलायो । कुनै कारवाही भएन न त मुद्दा चल्यो ।

डोम झनै अपहेलित

जनकपुरधामबाट पाँच किमि पूर्व धनुषाको हंसपुर नगरपालिका–३ कठपुल्लाका जगदिश डोमका परिवारले पुस्तौंदेखी समाजले गर्ने हेलाले पीडित छन् । दुई सय घरधुरी अन्य जातको बसोबास रहेको त्यो गाउँमा उनको एक परिवारमा डोम जाती बस्छन् ।

अझै समाजमा छुवाछुतको मार खेपिरहेका छन्। समाजमा सम्मानपूर्वक बाँच्न पनि पाएका छैनन्। ‘गाउँका हाटबजार, होटलमा प्लेटमा खान दिदैन। गिलासमा चिया पानी पिउन दिदैन’, देवाका जेठा छोरा जगदीशले भने, ‘कागजमा खाजा दिन्छन्। पसल बाहिर भुँइमा बसेर खानुपर्छ। प्लाष्टिकका गिलासमा पानी र चिया दिन्छ।’

मधेशको अल्पसंख्यक जातिको सूचीमा पर्छ डोम। ‘दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो’, जगदिसले भने, ‘हाम्रो समाज अझै मान्छेलाई अछुत जाति भनेर हेला गरिरहेको छ।’ श्रम र सीप स्वीकार्ने समाजले पानी अझै चलाएको छैन।

सिरहाको सीमावर्ती नवराजपुर गाउँपालिका –३ फुलवरिया गाउँमा घर छेउकै कमल यादवको धान बिउ लगाएको खेतमा सुगुर गएको निहुँमा रेखा मल्लिक(डोम) र धनेश्वरी मल्लिक कुटिईन् । २०७६ जेष्ठ ८ गते कमलका छोरा श्याम यादवले उनीहरुलाई कुटपिट गरे । उनीहरु अहिले उपचार गराउन अस्पताल धाउँदै छन् । सुरुमा उपचार खर्च कमलले पनि सहयोग गरेका थिए । अहिले उनी उपचार नगराइदिने भन्दै आएको छ । पीडितहरुले प्रहरीमानिवदेन दिएका छन् । स्थानीयहरुले घटनालाई बाहिर नलगेर गाउँमै मिलापत्र गर्न उनीहरुमाथि दबाब दिँदै आएको छ ।

लहान नगरपालिका –१८ अमही गाउँ नजिकै रहेको मुतनी खोलामा दुखी मल्लिकका ८ वर्षीय छोरा सुशिल मल्लिक शौच गर्न गएका थिए । शौच गरेर फर्किने क्रममा जिउँ छोएको भन्दै छिमेकी बुधवा सदायको छोरा अशोक सदायले उनलाई २०७५ फाल्गुन ३ गते कुटपिट गरे । छोरा कुटिएको गुनासो लिएर सुशिलको आमा ललिता मल्लिक सदायको घर पुगिन् । त्यहाँबाट घर फर्केपछि फेरि ललिता र उनकी छोरी अमेरिका मल्लिकलाई अयोधी सदाय, सकल सदाय र विरोधी महतोले घरमै आएर कुटपिट गरे । प्रहरीमा निवदेन दिएपछि पिडक पक्षले मिलापत्र गर्न दबाब दिए ।

२०७५ जेष्ठ २५ गते गोलबजार नगरपालिका –९ गोविन्दपुर स्थित जनता आधारभूत विद्यालयको भान्सेमा व्यवस्थापन समितिले डोम समुदायकी भालसैर मरिकलाई नियुक्त गरेपछि विद्यालयको खाजा कार्यक्रम नै बन्द भयो । भान्सेमा भालसैर राख्नु केहीदिनअघि सोही विद्यालयका बाल विकास सहजकर्ता गिता रोक्का मिझारले खाजाको लागि पकाइएको चना आफैँले झिकेर खाएपछि घटना क्रम बढेको थियो । अर्कोदिन फेरि खाजा खाना जाँदा प्रधानाध्यापक जगदीश यादव र भान्से वीनादेवी महतोले साँचो लुकाएका थिए । साँचो माग्न जाँदा मिझारलाई विनाले ‘तल्लो जातकी’ भन्दै गालीगलौज गरेकी थिईन् । आफुसँग छुवाछुतको व्यवहार देखाएको गुनासो मिझारले गरेपछि विद्यालय व्यवस्थापन समितिले भान्सेमा डोम समुदायका मरिकलाई नियुक्त गरेका थिए । पछि वडाअध्यक्ष रामपुकार कामती र प्रअ यादवले मरिकलाई भान्सेबाट हटाएका थिए ।

जातीय विभेद गर्नेलाई ज्यान मुद्धा लगा

नेपाललाई छुवाछुत र दलितमाथि हुनै सबै खाले विभेद, हिंसाहरु अन्त्यको लागि गत जेष्ठ २१ र २२ गते प्रदेश २ स्तरीय दलित अगुवा भेला भयो । मुख्यमन्त्री लालबाबु राउतको उपस्थितमा भएको सो भेलामा सरकारले दलितहरुको हक अधिकार दिन पछी नहट्न माग गरे ।

दलितमाथि जातपातको नाममा छुवाछुत गर्नेलाई कडा भन्दा कडा कारवाही गनुपर्ने लहानका दलित अधिकारकर्मी उमेश विसुन्केको भनाई छ । ‘मन्दिरमा कुकुरलाई प्रवेशमा निषेध गरिदैँन तर, दलित समुदायलाई प्रवेशमा रोक लगाउँछ,’ उनले भने,‘छुवाछुतको नामले विभेद गर्नेलाई ज्यान मारे सरह कारवाही हुने व्यवस्था ल्याउनै पर्छ ।’ दलितसँगको विभेद घटनामा कारवाही नहुँदा छुवाछुत गर्नेको मनोबल बढेको सप्तरीका दलित अधिकारकर्मी भोला पासमान बताउँछन् । दलितभित्रै भइरहेको विभेद पहिले हटाउनुपर्ने मिथिला नगरपालिका ३ धनुषाका गोविन्द सदाको भनाई छ । ‘हामी आफैभित्र पनि एक जात, अर्को जात भनेर विभेद हुँदै आएको छ,’ उनले भने,‘पहिले आफ्नैभित्रको विभेद हटाएर सम्पुर्ण दलित समुदाय एक हुनुपर्छ ।’ आफैँमा एकता नभएपछि बाहिरको जातले झन हेप्दै आएको उनले सुनाए ।
सभा, सम्मेलन कार्यक्रममा दलितको बारेमा ठुलठुला कुरा हुन्छ तर, व्यवहारमा लागु नभएको लहान नगरपालिका १४ वस्तीपुरकी सरिता राम सुनाउँछन् । ‘मान्छेले ठुलठुला कुरा गर्ने तर, व्यवहार छुवाछुतकै देखाउने गरेको छ,’ उनले भनिन,‘छुवाछुत भएको कार्यक्रम, भोजभतेर बहिष्कार गर्नुपर्छ ।’ दलित समुदाय एक भएर यसको विरुद्ध लड्नुपर्ने उनको तर्क छ ।
दलित महिलामाथि भइरहेको हिंसाको घटना कानूनी कारवाहीमा गएपछि दबाब दिएर मिलापत्र गराउने गरेको लहान १५ ढोढनकी दलित अधिकारकर्मी रामकुमारी दास बताउँछिन् ।‘कानुनी प्रक्रियामा गएपछि दबाब दिएर क्षतिपूर्तीमा रकम दिएर घटना दबाउने गरेको छ,’ दलित अधिकारकर्मी भोला पासमान बताउँछन्,‘घटनामा संग्लनलाई कारवाही हुनैपर्छ ।’ एउटा घटनामा मिलापत्र हुँदा थप अर्को घटना हुने गरेको उनले सुनाईन् ।
कानून, निति नियम आएपनि समाजमा विभेद कायमै रहेको बाराका राजेन्द्र राम बताउँछन् । ‘छुवाछुत अन्त्य गर्न दलित र गैरदलित समुदायबीच अन्तक्रिया बढाउनुपर्छ,’ उनले भने,‘साकारात्मक छलफलको आवश्यक छ । दुवै समुदायबीच अन्तरक्रिया नहुँदा समस्या सुल्झाउन अप्ठयारो छ ।’
संघीय र प्रदेश सरकारले जनसंख्यामा आधारमा राजनीति र सरकारमा सहभागी नगराएको बारा जिल्लाकै दशरथ रामको कथन छ । ‘दलित समुदायलाई अझै राजनीतिक र समाजिक रुपमा पछाडी पारिएको छ,’ उनले भने,‘अवसरबाट वन्चित रहेको दलित समुदायलाई विभेद खेप्नु परेको छ ।’ छुवाछुत र विभेद गर्नेलाई कारवाही गर्नुपर्ने उनले बताए ।

‘जागरण अभियानको जरुरी छ’

मधेश मामिलाका जानकार पत्रकार चन्द्र किशोर भन्छन्, समाजिक संरचनामा बदलाब आउनु पर्छ । त्यसको संवैधानिक रुपमै पालना गरिनु पर्छ । छुवाछुत, जातीय विभेद विरुद्ध, हिंसा विरुद्ध कानुन बनिसकेको छ । त्यसको कडाइका साथ पालना हुनुपर्छ । गाउँदेहातमा जातीय छुवाछुत, बोक्सी भनेर दिएको यातना, कुटपीट जस्ता घटनाहरुमा मिलापत्र गराइन्छ, जसले गर्दा घटना गराउनेहरु हौसिरहेका छन् ।

‘समाज अहिले पनि समान्ति संरचनामै छ ।यसलाई कसरी भत्काउने भन्ने विषयमा सामाजिक जागरणका अभियानको जरुरी छ । यसको नेतृत्व राजनितिक दलबाटै हुनु पर्छ,’उनले भने,‘यी दुई कुरालाई संगसंगै लानु पर्छ । नत्र संविधानमा एउटा कुरा लेखेको हुन्छ, समाजमा अर्कै भइरहेका छ । हामी त्यो हेर्न बाध्य छौं ।’

एक अर्कालाई सम्मान गर्नु पर्छ भन्ने भावना पहिले भन्दा अहिले बढेको छ ।तर, मधेशमा गरिवी र अशिक्षा पनि त्यतिकै छ । त्यसले गर्दा समाजलाई विसंगत पक्षले थिचेर राखेको छ, गाँजेको छ । ‘कानुन अनुसारको दण्ड हुनु पर्छ ।तर, त्यसो हुन सकेको छैन,’उनले भने,‘हामीले के हेर्छौं भने यस्ता कुरामा पीडित पक्षले विचार पनि पु¥याउन सकिरहेको हुदैंन । सरकारी पक्षले मिलापत्र भइजाउस् भन्ने पक्षमा हुन्छ । ’राजनीतिक पक्षहरुले पीडितलाई न्याय दिलाउनु भन्दा घटना सामय पार्न प्रयास गर्छन् । उनीहरुले नै छुवाछुत जस्ता कुप्रथालाई कतिपय अवस्थामा टेवा दिइराखेको अवस्था रहेको उनी बताउँछन् ।

संबैधानिक रुपमा प्रत्येक वडामा दलित जनप्रतिनिधिको व्यवस्था गरिएको छ । उनीहरुलाई शक्तिकरण गर्नु पर्छ । दलितमाथि भएको ज्यादतिका घटनाहरु उनी मार्फत न्यायिक समितिमा लैजाने वातावरण तयार गर्न पर्छ । यसमा स्थानीय सरकारले कानुनी बाटो अपनाउस् ।‘यहिनै एउटा बाटो हो, दलितहरुको शक्तिकरणको बाटो,’उनले भने ।

छुवाछुत गर्नेलाई तुरुन्त कारवाही हुन्छ : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अधिकार प्राप्तिका लागि दलितहरुलाई आफै सशक्त हुनु पक्षमा छन् । सशक्त नभए सम्म अधिकार प्राप्त गर्न नसक्ने उनको भनाइ छ ।
प्रदेश सरकार दलित मैत्री रहेको दावी उनले दलित सशक्तिकरण ऐन, छात्रवृति योजना, दलित छात्रावासको निर्माण जस्ता कार्यहरुलाई अघि बढाएको आयोगको ट्रेलर मात्र भएको भन्दै मुख्यमन्त्री राउतले अधिकार प्राप्तिका लागि दलितहरुलाई आफै सशक्त हुनु पर्ने बताए ।

प्रदेश सरकार दलित मैत्री रहेको दावी गर्दै उहाँले दलितहरुको , दलित सशक्तिकरण ऐन, छात्रवृति योजना, दलित छात्रावासको निर्माण जस्ता कार्यहरुलाई अघि बढाई सकेको उल्लेख गरे ।
दलित शक्तिकरण ऐन सदनमा पेश गरेको बताउँदैं उनले भने,‘ऐन आएपछी छुवाछुत गर्नेलाई तुरुन्त कारवाही हुन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एउटा छुटै दलितको गुनासो सुन्ने टेवाल हुनेछ ।’प्रदेश भित्र १८ प्रतिशत दलितहरुको बसोबास छ । ‘उनीहरुलाई शसक्त नबाएसम्म प्रदेश र देशको पनि विकास हुदैंन,’उनले भने । ‘ऐन पारित भएपछि दलितहरुको स्वास्थ्य, शिक्षाको ग्यारेन्टी प्रदेश सरकारले गर्छ,’उनले भने ।

दलितमाथि मधेशमा भएका हिंसा तथा छुवाछुतका चर्चित घटनाहरु

घटना : १
धनुषाको मिथिला नगरपालिका—३ हरीहरपुर, मगरटोलकी रेशमा(दुतिया) रसाईली विश्वकर्माको फागुन २०७५ फागुण १ गते राती उनको अपहरण भयो । छिमेकीको छोरीको विवाहमा रमाउँदै गरेकी उनको बलात्कारपछी हत्या शव जलाइयो । फाल्गुण २ गते बिहान गाउँ नजिकैको उखुबारीमा शव भेटियो

घटना : २
खेतबाट साँझ घर फर्किदै गरेकी धनुषाको बटेश्वरकी दलित समुदायकी १७ बर्षीय स्कूले किशोरीलाई २०७५ फाल्गुण ११ गते मोटरसाइकलमा आएका तीन युवकले अपहरण गरियो । महोत्तरीको लोहारपट्टी नगरपालिका–२ सुखैनियाका २२ बर्षीय रवानी राईन कवारी सहित चारजनाले रातारात भारतको मझ्फरपुर पु¥याए । हातखुट्टा बाँधेर बन्धक बनाए, सामुहिक बलात्कार गरे ।

घटना : ३

सर्लाहीको बह्रम्पुरी गाउँपालिका–६ पिरारीका जयनाथ राम चमारले गैरदलित युवतीसँग पे्रम सम्बन्ध राखेको वडा अध्यक्षसहित गाउँलेहरूले २०७५ पुस १० गते मरणासन्न कुटपिट गरे । १४ लाख रुपियाँको कपाली तमसुक समेत बनाए ।

घटना : ४

विद्यालयमा गरिएको भोजको पत्ता नउठाउँदा महोत्तरीको भङ्गहा नगरपालिका–९ हरिनमरीका सिकिन्दर मलिक डोमका १२ वर्षीय छोरा मुकेशलाई प्रधानाध्याकले स्कूलबाट निकाले । कक्षा ७ मा पढ्दै गरेका उनलाई किशोरी जनता माविबाट २०७५ असोज १६ गते प्रधानाध्यापक मनोहर यादवले निष्काशन गरे ।

घटना : ५

बाराको परवानीपुर गाउँपालिका–३ का १२ वर्षीय राकेश राम गाउँकै राधाकृष्ण मन्दिरको धारा (चापाकल) मा पानी खाँदा कुटिए । २०७५ भदौ २४ गते चपाकल छोइएको भन्दै मन्दिरका पुजारी रामदयाल यादव लगायतले कुटपीट गरेको प्रहरीमा उजुरी प¥यो ।

घटना : ६

वडा कार्यालयको टेवुलमा राखेको पानी छोएको भन्दै सर्लाहीको विष्णु गाउँपालिका–२ का अजय राम वडाध्यक्ष सञ्जय साहले २०७५ साउन २७ गते गालीगलौज गर्दै हातपात गरेर कार्यालयबाट बाहिर निकालिदैएको पीडि बताउँछन् । ‘चमार जाति भएर यहाँको पानी किन खाएको ?, पानीलाई छोएर अपवित्र पारिस’ भन्दै वडा अध्यक्ष जातिय विभेद गरे ।

घटना : ७

सिरहाको गोलबजार नगरपालिका –९ गोविन्दपुरस्थित जनता आधारभूत विद्यालयको भान्सेमा व्यवस्थापन समितिले २०७५ जेष्ठ २५ गते डोम समुदायकी भालसैर मरिकलाई नियुक्त गरे । डोम जातिकी उनले पाएकी खाजा ठूला जातिकाले नखाने भनेपछी उनलाई हटाइयो ।

घटना : ८

सिरहाको सीमावर्ती नवराजपुर गाउँपालिका– ३ फुलवरिया गाउँमा घर छेउकै कमल यादवको धान बिउ लगाएको खेतमा सुगुर गएको निहुँमा रेखा मल्लिक(डोम) र धनेश्वरी मल्लिक २०७६ जेष्ठ ८ गते कुटिईन् । कमलका छोरा श्याम यादवले उनीहरुमाथि कुटपीट गरे ।

घटना : ९

महोत्तरी बर्दिबास नगरपालिका–४ भब्सीकी बुद्धमाया विश्वकर्मा र उनकी छोरी मनिषा पानी छोएको निहुँमा कुटिन् । २०७५ बैशाख १५ गते सार्वजनिक धारामा पानी लिन पुगेकी मनिषा र उनकी आमामाथि छिमेकी कमला गिरी र उनका भान्जा रामबाबु दाहालले निर्घात कुटपीट गरिन् । जातीय भेदभाव सहन नसकेर बुद्धमायाले विष सेवन गरेर मर्न प्रयास गरिन्।

घटना : १०

पर्सा गाउँपालिका–६ का धविन्द्र महरा छठियारको भोज संगै खाएको भन्दै कुटिए । २०७५ वैशाख १३ गते राम लक्षण पण्डित र श्याम कुमार पण्डीतले छठिहारको भोजमा सँगै बसेको भनि कुटपिट गरेको पीडितले प्रहरीमा उजुरी गरे ।

पुस्तौंदेखिको जातीय विभेद कायमै छ । दलितले समाजमा समानित जीवन जीउन पाएका छैनन् । दलितहरुले मन्दिरमा पुजा गर्न जाँदा कुटिनु परेको छ । दलितले गैरदलितसंग प्रेम विवाह गर्दा समाजमा यातनासंगै दण्डमा कपाली कागज औंठा छाँप गर्नु परेको छ ।-thepublictoday बाट 

दलित र सेक्स उस्तै हुन सबैले देख्नी गरी चल्दैन - नबिन बिक, चीन ,गोन्जाउ

विभेद बिरुद्द अभियान - साउन ५ , कोही पनी जन्मजातै दलित हुदैन । जब समाजमा उसलाई हेला गरिन्छ,उसलाई उसको अधिकार बाट बन्चित राखिन्छ।जसलाई शारीरिक वा मानसिक रुपमा प्रताडित गरिन्छ । जसले आफूसंग भएको अन्याय सहन बाहेक केही प्रतिकार गर्न सक्दैन वा सामाजिक,आर्थिक,शैक्षिक र राजनैतिक हिसाबले पिछडीएको ब्यक्तिनै दलित हो । तर अचेल मानिसहरुमा यो दलित शब्दको गलत बुझाई देखेर म अचम्मित छु।अहिले दलित भनेकै कथित पानी नचल्ने जात वा समुदाय भनेर बुझिन थालिएको छ। पहिला कामी,दमाई,सार्की ,गाईने,चमार,पासवान अनेक थरीको सबै नाम लेख्नु र भन्नु पर्थ्यो तर अहिले थोकमै “ दलित “ भनिदिएसी टन्टै साफ, सबैलाई एउटैमा शब्दले कान्ड पुर्याई दिन्छ।

मैले दलितको परिभाषा माथीनै दिई सकेको छु। त्यो परिभाषा भित्र भट्टराई, पौडेल,गुरुङ्, श्रेष्ठ वा सामाजका जुनसुकै जातका ब्यक्ती पनि पर्न सक्छन ।सरकारले दलितको नाउमा बिभीन्न कोटा र सुबिधा दिएको छ तर यो राहत र सुबिधा बास्तबिक दलितसम्म पुग्न सकेको छैन, यसको दुरुपयोग भएको छ, जस्तोकी उदारहणको लागी काठमाडौको न्युरोडको सुन पसले सुनारको छोरा र त्यही सुन दोकानमा चौकीदारी गर्ने लमजुङ्गकोअधिकारी बाहुनको छोरासंगै डाक्टर पढनको लागी ईन्ट्रान्स दिन गए भने, जसको न्युरोडमा घर छ, करोडौको कारोबार छ ,उसकै छोराले आरक्षण पाउछ किनकी उ सुनार हो ।

सरकारको परिभाषामा उ दलित भित्र पर्छ तर महिनाको १५ हजारमा चौकीदारी गर्ने बाउन दलितमा पर्दैन र उस्को छोराले सुनारको छोरासंग भिड्दा पछि पर्छ र उस्ले अरुनै बैकल्पीक क्षेत्र रोज्नुपर्छ। यहा दुई पात्रमा दलित को थियो ? सुनार वा अधिकारी बाउन? यो एक बृहत सर्बपक्षिय छलफलको बिषय बनेको छ ।

दलितलाई सधै दलितनै बनाई राख्ने खेलमा कथित दलित समुदायका केही पढेलेखेका र टाठाबाठा भनी टोपलीने ब्यक्तिहरु नै लागेका छन ।उनीहरु कुनै न कुनै संघसस्था खोलेर जे कुरालाई पनि जातिय रंग दिएर आफ्नै दुनो मात्रै सोझ्याउन तिर लाग्दछन । जस्तो की कुनै कथित तल्लो जात भनिने समुदायको कोही नारी बलात्कृत भए भने “ दलित महिला बलात्कृत” भनेर हेडलाइन न्युज बनाउछन ।

ओल्टै दलित,पोल्टै दलित भनेर कुरा उचालेर बसिखान गर्दैनन, हो तिमी अन्यायको बिरुद्द लड तर कुनै जातको लागी होईन मानवताको लागी लड हाम्रो पनि साथ हुनेछ। निर्मला पन्त पनि यसरी नै बलात्कृत भएर हत्या गरिएको थियो । उनको न्युजमा किन “बाउनी निर्मला बलात्कृत “ भनेर न्युज आएन? उनीहरु पहिला मानब हुन,महिला हुन जबरजस्ती बाउनी, दलित, मतवाली भनेर जात र धर्मको रंग दिएर समाजमा घृणा नफैलाउ र सामाजिक बिखण्डन नल्याउ,यो कार्य अति नै तुच्छ ,अमानबिय र गैर कानुनी कार्य हो ।

मैले धेरै यस्तो सज्जनहरुलाई चिनेको छु । आफैलाई कथित दलित नेता भनेर चिनाउन रुचाउछन,जो बिदेश बस्नु हुन्छ । तर बर्षमा वा दुईबर्षमा एकचोटी काठमाडौ आएर कुनै तारे होटलमा ब्यानर टाँगेर सम्मेलन गरेर भिडीयो र फोटो खिचेर २-४ वटा प्रायोजित पत्रकारहरुको साईटमा र आफ्नो फेसबुकमा असरल्ल पारेर जातिय छुवाछुतको आन्दोलन सफल पारेर पुन बिदेश फर्किनुहुन्छ।

मलाई पनि यस्तो संघसस्थामा लागेको पोष्ट लिनुस (अध्यक्ष बाहेक)तर हाम्रो सस्थामाआईदिनुस भनेर बिशेष अनुरोध कति आउछ आउछ । तर मैले समुदायको भन्दा व्यक्तिगत फाईदा हेर्ने झुन्डको कहिल्यै गोटी बनिन । मैले एउटा कुरा अहिले सम्म बुझ्न सकेको छैन की त्यस्ता जातिय बिभेदको बिरुद्द लड्ने संस्थाहरुमा एउट पनि बाउन,नेवार, क्षेत्री, मतवालीहरुलाई समेटेर संयुक्त संगठन बनाएको देखेको छैन। यो लडाई कथित दलित भनिने समुदायले मात्रै लडेर पार लाग्ने लडाई होईन ।

अमेरिकाको कालाहरुको स्वतन्त्रताको लडाईमा गोराहरुले साथ नदिएको भए त्यो लडाई सफलहुनअझै कति कुर्नु पर्थ्यो । जसरी एन्टीभेनन (सर्पले टोकेको औषधी) (Antivenom)बनाउनको लागी सर्पकै बिष प्रयोग गरीन्छ ।

जुन आगोले पोल्यो त्यै आगोले सेक्छ भन्ने नेपाली उखान छ । त्यसरी नै जुन समुदायले छुवाछुत गरेको छ । तिनै समुदायको बिद्वानहरुलाई साथ लिएर अघि बढेमा यो लडाई अवस्य सफल हुनेछ। जति भ्रम गैरदलित समदायको साथीहरुले चिर्दा प्रभाबकारी हुन्छ त्यति अरुले गर्दा हुदैन ।

अहिले क्षेत्री,बाउन, गुरुङ, मगर, राई, लिम्बु, नेवार लगाएत सम्पुर्ण समुदायका साथीहरुमा यस्तो सोच र ब्यबहार छैन र अत्यन्तै न्युन रहेको छ। कही कतै दुर्गम गाउमा घटेको एकाध घटनालाई लिएर सबैलाई एउटै तराजुमा राखेर हेर्नु अन्याय हुन्छ । मलाई जीबनमा माया गर्ने साथीहरु मध्या ९५ प्रतिशत भन्दा बढी गैरदलित साथीहरु छन। मेरो भुपु मायालुहरु सबै क्षेत्रीनी ,बाहुनी,गुरुङसेनी, नेवारनी लगायतका थिए ।

तर भबिस्य बनाउने चक्करमा बिदेशीएर यता घरजम गरियो नत्र मेरो पनि गैर दलित नै श्रीमती हुन्थे । म काठमाडौ जादा म आफ्नो दाजु भाई र आफन्तलाई छोडेर पौडेल बाउन साथीको घरमा र राजभण्डारी नेवार दाईको घरमा बस्छु। किनकी म उनीहरुका यती कम्फर्ट महशुस गर्छु त्यती त म आफ्नै दाजुभाई कहा पनि गर्दिन। उनीहरुको परिवार माँझ बस्छु,भान्छामा, मन्दिरमा र मनमा सबै ठाउमा बस्छु । हामीले कामी, दमाई, सार्की लगाएतको आफ्नो जातमा गर्ब गर्न सिक्नुपर्छ ।यो जातको नाम लिदा हिनताबोध महशुस गर्नु भएन । तपाई आफै हिनताबोध वा तल्लो महशुस गर्नु भयो भने अरुले झन कसरी लिन्छन?

जसरी सेक्सको बारेमा खुलेर बहस नगर्दा समाजमा बिकृती र अपराध बढेर गएको छ त्यसरी नै हामीले आफ्नै जात र छुवाछुतको बारेमा खुलेर बहस नगर्दा सामाजिक भेदभाव र सामाजिक अपराध पनि बढेको छ। दलित र सेक्स उस्तै हुन सबैले देख्नी गरी चल्दैन । लुकेर सबैलाई मज्जाले चल्छन। मैले दलित र सेक्स उस्तै भनेर किन चित्रण गर्न खोजे भनेर सबै जना अचम्म पर्नु भएको होला।

दलित र सेक्स कसैले पनि सजिलै नाम लिन हिच्किचाउछन । सेक्स भनेको खाना भन्दा पनि धेरै अत्याधीक रुचाईने चिज हो वा खाना पछिको अत्यावश्यक चिज हो भनेर भनेमा सायदै ब्यक्तिले बिमति जनाउलान । सेक्सबाट नै यो संसारको सुन्दर उत्पत्ति भएको हो । तपाई हाम्रो उत्पत्ति पनि यै सेक्सबाटै भएको हो तर हामी जब जब सेक्सको कुरा आउछ १२ हात पर भाग्छौ । नाक खुम्च्याउछौ, सेक्स त पाप नै हो । यो संसारको सबै भन्दा काम नलाग्ने घृणित चीज हो जस्तो गर्छौ ।

तर सेक्सको बारेमा कसैले पनी खुलेर कुरा गर्न रुचाउदैनन । राति मज्जाले श्रीमती संग समागम हुदा शिर देखी पाउ सम्म मुई खाएको श्रीमान भोली बिहान उठदा श्रीमतीलाई उसैको पाउमा शीर राखेर ढोग्न लाउछ । परिवारको अगाडी छुन त परको कुरा बोल्न पनि गार्हो गर्छन किनकी हाम्रो समाजको बनावट नै यस्तै छ । ठीक त्यसरी नै कामी,दमाई,सार्की ,गाईने समाजको लागी अति आवस्यक समुदाय थिए ।

यिनीहरुको समाजमा ठुलो योगदान थियो । यिनीहरले समाजलाई बाच्नको लागी अत्यावश्यक चीजहरु बनाएर यो समाजलाई बाँच्न सहज बनाईदिए तर यै समाजले हात हतियार,कृषी सामग्री,भाडाकुडा,गरगहना,लत्ताकपडा, जुत्ता चप्पल,मन्दिर सबै बनाउने यीनै समुदायको जीबननै असहज बनाईदिए । चाहिदा सबै चल्ने नचाहिदा पानी पनि नचल्ने।

कथित दलित समुदाय कुनै कोरनाका भाईरस होईनन । तपाईलाई छोेए वा भित्र छिरे तपाईको मृत्यु हुने,दुई महिना त तपाईहरु पनि अछुत भएर चारैतिर झ्याल ढोका बन्द गरिदिएर सिमित ठाउमा मात्र मान्छेले बाच्नुपर्दाको अछुतको जिन्दगी बाँचेर हेरीसक्नु भएको छ । र अझै कतिदिन यसरी बाँच्नुपर्ने हो थाहाछैन। तपाईहरु दुई महिनाको लकडाउन सहन नसकेर सरकारलाई कति गाली गर्नु भएको छ ।

कति आत्तिनु भएको छ । कथित दलितहरु जिन्दगी भर नै सामाजिक लकडाउनमा जिबन कसरी बिताए/बिताउछन होला ? कहिल्यै सोच्नु भएको छ ? मानव भएर बाँच्नुस र मानब जसरी बाँच्न दिनुस। मानबलाई मानब जस्तो ब्यबहार गर्नुस चार धाम जानै पर्दैन ।

मानबलाई पशु भन्दा तुच्छ ब्यबहार गर्ने जस्तो तुच्छ कार्य र पाप संसारमा सायदै अरु केही होलान ।-जय मातृभूमि

(लेखक एनआरएनएको केन्द्रीय सदस्य (चीनबाट) तथा भ्रष्टचार बिरुद्दको अभियन्ता पनि हुन।)-इनेप्लिज बाट 

‘म दलितको होइन, नेपाल सरकारको सचिव’-डा. मानबहादुर विश्वकर्मा

विभेद बिरुद्द अभियान - साउन ५ ,  स्कुले सहपाठीले कहिले बाटैमा किताब फ्याँकिदिन्थे, कहिले कुटपिट गर्थे । अप्ठ्यारो पार्ने र दुःख दिने नियतले कहिले त किताब मन्दिरभित्रै राखिदिन्थे, जहाँ उनका लागि प्रवेश निषेध थियो । प्राथमिक शिक्षा लिने क्रममा कैयौं यस्ता व्यवहारका कारण उनले मानसिक यातना सहे । सहपाठीबाटै निरन्तरको हिंसाले टिक्न सकेनन् । अन्ततः घर नजिकैको प्राथमिक विद्यालय छाडेर टाढाको विद्यालय धाउन बाध्य भए ।पाल्पाको रिब्दिकोट गाउँपालिका–३, लघुवाका मानबहादुर विश्वकर्मासँग बाल्यकालका यस्ता अनगिन्ती पीडाका खात छन् । जुन खाटा त बसिसके तर कहिलेकाहीँ प्रत्यक्ष/अप्रत्यक्ष बल्झिइदिन्छन् ।

दलित भएकै कारण हेपिनुपरेको र आर्थिक कमजोरीले झन्डै–झन्डै पढाइ छाड्नुपर्ने थुप्रै अवस्थाका भुक्तभोगी हुन् उनी । तर समय सधैं एकै रहँदैन । बाल्यकालमा अनेकौं हन्डर र सामाजिक विभेद भोगेका उनी यो साता सरकारको निजामती सेवाको विशिष्ट श्रेणी (सचिव) मा उक्लेका छन् । २०४७ सालमा लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट निजामती सेवाको अधिकृतमा प्रवेश गरेका उनी उच्च पदमा मात्र पुगेका छैनन्, सरकारको सचिव बन्ने दलित समुदायको पहिलो व्यक्ति बनेका छन् । गत साता मन्त्रिपरिषद्ले सचिवमा सिफारिस गरेपछि उनले इतिहास रच्ने मौका पाएका हुन् । दलित समुदायबाट मन्त्री र सांसद भए पनि प्रशासनिक नेतृत्वमा हालसम्म कोही पुगेका थिएनन् । यो कुनै राजनीतिक पद होइन, जहाँ व्यक्तिगत अध्ययन र मिहिनेतबाट मात्र पुग्न सकिन्छ ।गणतन्त्र प्राप्तिपछि खुला प्रतिस्पर्धाअन्तर्गत आरक्षण सिटबाट उनी २०६७ सालमा सहसचिव भएका थिए । सहसचिवमा समावेशी र आरक्षण व्यवस्थाले सघाउ पुर्‍याए पनि प्रतिस्पर्धाबाटै उनले सचिवको सिँढी उक्लेका हुन् ।

सचिव विश्वकर्माले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि र अमेरिकाको ब्रेन्डाइज विश्वविद्यालयबाट उत्तरविद्यावारिधि (पोस्ट डक्टरेट) उपाधि हासिल गरेका छन् । जागिरकै क्रममा उनी अमेरिकी सरकारको ‘फुलब्राइट स्कलरसिप’ मा छानिएका थिए । उनले लघुवित्तमा सामाजिक समावेशीकरण विषयमा विद्यावारिधि र अमेरिकाबाट खाद्य सुरक्षामा ‘पोस्ट डक्टरेट’ गरेका हुन् ।

‘निजामतीको विशिष्ट तहमा पुग्दा अहिले करिब ४० वर्षअघि मैले भोगेका जातीय विभेद र संघर्ष सम्झिइरहेको छु,’ उनले भने, ‘यो तहमा पुग्नुमा बुबाआमा र कलेज पढ्दा खर्च जुटाइदिने तानसेनको भगवतीस्थान प्राविका प्रधानाध्यापक मेघराज शर्माको ठूलो प्रेरणा छ ।’ ३०–४० घर दलित समुदाय रहेको बस्तीमा त्यो बेला पढ्नुपर्छ भन्ने चेतना थिएन । तर बुबाआमाको सुझबुझले नै आफू यो हैसियतमा पुगेको उनी गर्वसाथ बताउँछन् । दलित समुदायमा उनका काकाले ६ कक्षा पढेर छाडेका थिए । बुबा भीमबहादुर रोजगारीका सिलसिलामा भारतमा बस्थे । ‘त्यताको प्रभावले पनि छोरो पढाउनुपर्छ भन्ने भावना बुबामा जागृत भएको हुनुपर्छ,’ उनी अनुमान गर्छन् । एसएलसीपछि बुबासँगै भारत गएका विश्वकर्मा आफन्तको सल्लाहमा नेपालमै पढ्ने निर्णयमा पुगे र फर्किए ।

पाल्पाकै भैरवजनता माविबाट २०३७ सालमा एसएलसी उत्तीर्ण गरेका उनी कलेज पढ्न तानसेन आए । खर्च जुटाउन टक्सार टोलका बच्चा भेला पारेर ट्युसन पढाए । ‘मेघराज सरले भगवतीस्थान प्राविमा पढाउने जागिर नदिएको भए सायद खर्चको अभावमा उच्च शिक्षाबाट वञ्चित हुन्थें,’ उनी २०४१/४२ सालतिर फर्किए, ‘घरबाट झोला बोकेर हिँडें, केही काम पनि गर्नुपर्ने बाध्यताले कमर्श पढेको हुँ ।’

जिल्लामै हुँदा २०४३ सालमा लोकसेवा पास गरेर उनले सहलेखापालमा जागिर खाएका थिए । त्रिभुवन बहुमुखी कलेज तानसेनमा स्नातक पूरा गरेर थप अध्ययनका लागि राजधानी आएपछि सहलेखापाल छाडे र २०४६ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सीटीईभीटी) मा जागिर खाए । त्यहीबेला उनले लोकसेवाका लागि निकै मिहिनेत गरे । ‘परराष्ट्र, प्रशासनलगायत विभिन्न समूहमा ६३ जना अधिकृतका लागि प्रतिस्पर्धा गराइएको थियो । त्यसबेला आरक्षणको व्यवस्था थिएन,’ उनले भने, ‘पञ्चायतकै पाठ्यक्रमअनुसार लोकसेवा परीक्षा दिइएको थियो । पञ्चायतमै लिखित परीक्षाको नतिजा आयो, अन्तर्वार्ता भने बहुदलपछि लिइयो ।’ सहसचिव भएपछि उनले श्रम विभागको महानिर्देशक, बर्दिया, तनहुँ, सिरहा, मकवानपुर र चितवनको प्रमुख जिल्ला अधिकारी, कर्णाली र ५ नम्बर प्रदेशको सचिवको जिम्मेवारी सम्हाले । पछिल्लो समय उनी युवा तथा खेलकुद मन्त्रालयमा सहसचिव थिए ।

दलित समुदायबाट सरकारी सेवाको विशिष्ट पदमा पुग्नुलाई उनी स्वाभाविक ठान्छन् । ‘उपलब्धि नै होइन भन्ने होइन,’ उनले भने, ‘तर प्रजातन्त्र आएको ३० वर्षमा १३ प्रतिशत जनसंख्या भएको दलित समुदायबाट निजामतीमा एक जना विशिष्ट श्रेणीमा पुग्नुले नीतिगत रूपमा अझै धेरै कमजोरी छ भन्ने देखिन्छ ।’ परिवर्तनका सबै आन्दोलन पिछडिएको वर्गको उत्थानकै नाममा हुँदै आएको उनको बुझाइ छ । क्षमता नभएको र दलित भएकै कारण विशिष्ट श्रेणीमा पुगेको हो कि भन्ने सोचाइप्रति भने उनले असन्तुष्टि जनाए । ‘कतिले त दलित सचिव भन्ने गरेका छन् । म दलितको होइन, नेपाल सरकारको सचिव हुँ,’ उनले भने, ‘समाजमा यो बुझाइ नै गलत छ ।’-कान्तिपुर बाट