Thursday, August 22, 2013

मधेसी दलित भएकै कारण खाइपाई आएको सेनाको जागिर नै चट

आफूमाथि भएको ज्यादती र शोषणको विरोधमा आवाज उठाउँदैमा आफ्नो खाइपाई आएको जागिर नै चट हुन्छ भनेर शङ्कर पासवानले सायदै सोचेका थिए ।  तर मधेसी दलित भएकै कारण र आफूमाथि गरिएको छुवाछुत, भेदभावजन्य एवम् यातनापूर्ण अमानवीय व्यवहारविरुद्ध मुख खोलेकै कारण उनले जागिरबाट हातधुनुपरेको छ । सुनसरी–५ का शङ्कर पासवानको यो यथार्थ सुन्दा कथा झै लाग्नसक्छ, तर नौ महिनादेखि राजधानीमा भौँतारिँदै हिँडेका उनको दैनिकीलाई बुझे छर्लङ्ग हुन्छ ।विसं. २०५० सालमा नेपाली सेनामा जागिर खाएका पासवान दलित जाति भएकै कारण आफूमाथि भएको छुवाछुत र अमानवीय यातनापूर्ण व्यवहारविरुद्ध आवाज उठाउँदा २०५६ सालमा जागिरबाट निकालिए ।
सेनाको कनिष्ठ सिपाही दर्जामा जागिर खाएका पासवान खाना खाने बेलामा यातना सहन बाध्य हुन्थे, जतिबेला उनी धनकुटाको सल्लेरी छाउनीमा कार्यरत थिए ।
“म जागिरमा छँदा जहिले पनि त्यहाँ अमानवीय व्यवहार हुन्थ्यो ठूलाले सानालाई र पुरानाले नयाँलाई हेप्ने परिपाटी त सामान्य थियो, तर म दलित मधेशी भएकाले खाना खाने बेलामा जहिले पनि छुवाछुत गरिन्थ्यो । किन यसो गरिन्छ भनेर आवाज उठाउँदा जवाफमा उनले अनेकौँ यातना पाउँथे अन्ततः जागिर नै चट भयो ।”– पासवानले भने ।
खानाखाने समयमा मात्र हैन पासवानले अन्य कार्यमा पनि उत्तिकै छुवाछुत र भेदभावयुक्त व्यवहारको सिकार हुनुप¥थ्यो ।साधारण लेखपढ मात्र गरेका पासवान हिम्मतका साथ आफूमाथिको पीडा उजागर गर्न खोज्दा जागिरबाट निकाला मात्र भएनन् पाउनसम्मको यातना पाए ।कहिले सिंहदरबार मूलढोकाका अगाडिको पेटी, कहिले बबरमहलको विश्रामस्थल त कहिले बागमती झोलुङ्गे पुलमुनि समय काट्नु यतिबेला उनको दैनिकी बनेको छ ।“दलित भएको र छुवाछुतजन्य व्यवहार र यातनाको बारेमा कुरा उठाउँदा आफ्नो जागिरै गुमाउनु प¥यो” पाँच दिनदेखि भोकै अवस्थामा ललितपुर यूएन पार्कसँगैको पुलमनि भेटिएका पासवानले भने ।
पहिला सिंहदरबार गेट अघिल्तिर सुत्ने गरेकोमा सुरक्षाकर्मीले लखेटेपछि अहिले पुलमुनि बस्दै आएको उनले बताए ।
“पछिल्लो समयमा यहाँ बस्दै आएको छु । पानी पर्दा असाध्यै समस्या हुन्छ । एकचोटी त बागमतीमा आएको भेलले राति सुतेको अवस्थामा कसो बगाएन”–उनले भने ।पछिल्लो समयमा यूएन पार्कसँगै बागमतिको झोलुङेगे पूलमुनि बस्दै आएका पासवानसँग सामानका नाममा एकमात्र पकाउने डेक्ची छ । यसैमा उनी पकाउने र प्लास्टिकमा राखेर खाने गर्दै आएका छन् । दैनिक एकछाक मात्र खान वाध्य छन् । काठमाडौंमा करिब सय ठाउँमा काम गरेपनि कहीँ पनि दिगो रूपमा टिक्न सकेनन् पासवान ।सेनाको जागिरबाट निकाला भएपछि उनले दुई वर्ष नेपाल टेलिकममा भनसून गराएर जागिर खाए । सूर्यटोवाको कम्पनीमा दुईवर्ष सुरक्षा गार्डको काम पनि गरे ।
तर समयक्रमसँगै उनको जीवनमा अकल्पनीय ठूलो सङ्कट आइलाग्यो । २०५६ सालमा श्रीमतीसँगको झगडामा श्रीमतीको मृत्यु भएपछि हत्याको अभियोगमा उनले सात वर्ष जेल सजाय काट्नुप¥यो ।पासवानका दुईवटा श्रीमती भएकोमा एकको हत्या भयो र दोस्रोको पक्षघातका कारण निधन भयो । उनका दुई छोरी हाल सिरहामा आफन्तकहाँ बस्छन् ।
पासवानले २०६२ सालतिर जेलमुक्त भएपछि सिकर्मी र डकर्मी काम गरे । यतिबेला कवाडी सामान सङ्कलन गर्दै दैनिक ३० देखि १५० सम्म कमाएको आम्दानीबाट निक्कै कष्टपूर्ण एक्लो जीवन बिताइरहेका छन् ।
    अन्य सम्पत्तिको नाममा ऊसँग नागरिकता र सेनाको परिचयपत्र थियो । ती पनि राति सुतेको अवस्थामा चोरी भयो ।आफूलाई भूमिहीन भनी परिचय दिने पासवानको बाबुको नाउँमा इटहरीमा १३ धुर जग्गा रहेको र त्यसलाई अहिले आफन्तले मिचेर खाएको उनी बताउँछन् ।पासवानका सात जना दाजुभाइमध्ये एक सशस्त्र प्रहरीमा जागिरे थिए । दुर्घटनामा उनको मृत्यु भएको थियो भने बाँकी अरू सबै सुकुम्बासी छन् ।जातीय छुवाछुतको नाउँमा राजनीति गर्ने र गैरसरकारी संस्था चलाउनेलाई पासवानको बास्तविकता बुझ्न फुसर्द छैन । पासवानजस्ता पीडित नागरिकको दुर्दशाप्रति राज्यबाट कहिले दृष्टि पुग्ला नपुग्ला भन्न सकिंदैन ।
साभार : - mechikali.com

No comments:

Post a Comment