Monday, September 9, 2013

मधेसी दलित महिलालाई निःशुल्क सिलाइ मेसिन वितरण

कावासोती , १९ भदौ-उषा इन्टरनेसनलले नवलपरासीका मधेसी दलित महिलालाई निःशुल्क सिलाइ मेसिन वितरण गरेको छ । मधेसका दलित विपन्न महिलालाई आत्मनिर्भर, आयआर्जन गर्न मेसिनसहित सात दिने तालिमसमेत दिलाएको हो । २५,२५ जनालाई चार चरणमा कुल १०० दलित महिलालाई तालिम र मेसिन उपलब्ध गराइएको उषाले जनाएको छ ।  विपन्न समुदायलाई आयआर्जनमा सघाउनका लागि यस्तो कार्यक्रम गरेको भारतीय कम्पनी उषा इन्टरनेसनलकी प्रतिनिधि सङ्गीता जैसवालले बताए । तालिममा सहभागी हुने महिलालाई उषा इन्टरनेसनलकै प्रशिक्षक कविता विश्वकर्मा र सविता ठाकुरले एक सातामा १० प्रकारका
पोसाक सिउन सक्ने गरी तालिम दिएका छन् ।

उषाले दलित क्षेत्रमा काम गर्दै आएको स्थानीय कानुनी सहायता तथा अनुसन्धान केन्द्र (लार्क) समन्वयमा तालिम र मेसिन उपलब्ध गराएको संस्थाले जनाएको छ । तालिमपश्चात घरघरमै अनुगमन गरिने सफल भएमा थप एक हजार महिलालाई तालिम दिनुको साथै मेसिन उपलब्ध गराइने योजना रहेको संस्थाले जनाएको छ ।

उषा लिमिटेडले नेपालमा पहिलो पटक यस्तो कार्यक्रम सुरु गरेको र अन्य क्षेत्रमा विस्तार गर्ने योजना रहेको लार्कका महासचिव ओमप्रकास दुसादले बताए । जिल्लाको सीमावर्ती २० गाविसमा  कार्यक्रम  भएको  थियो ।

No comments:

Post a Comment