असोज २५, तनहुँ ।–जीप भाडाको बिषयलाई लिएर भिर्कोटमा प्रहरी चौकीमा आक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट सो स्थानमा सरुवा भएका प्रहरी जवान डण्डबहादुर थापा र ग १ ज ४८५ नम्बरको जीपका सहचालक शुकराज बिकबीचको सामान्य भाडा वीवादपछि विकसहितका स्थानियले हिजो साँझ भिर्कोट प्रहरी चौकीमाथि आक्रमण गरेका थिए ।
जीपको भाडा १ सय ८० लिएका विकले प्रहरी जवान थापाको सामानको १ सय ६० रुपैयाँ भाडा भनेपछि बढी भएको भन्दै थापाले प्रतिवाद गरेका थिए । पछि थापाले सामानको १ सय रुपैयाँ भाडा तिरेर चौकी गएका थिए । तर भाडाका बिषयमा भएको वीवादलाई लिएर विकले अन्य स्थानियलाई समेत लिएर गई चौकीमाथि ढुंगामुढा प्रहार गरेको तनहुँका प्रहरी उपरीक्षक गोपीमान श्रेष्ठले जानकारी दिए ।
प्रहरीले कुनै भौतिक प्रतिवाद नगरेकाले स्थिती थप तनावपूर्ण बन्न भने नपाएको श्रेष्ठले बताए । घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली भिर्कोट पुगेको थियो । प्रहरीले चौकी आक्रमणमा संलग्नताको आरोपमा सहचालक विकसहित स्थानिय बाबुराम विक, सुर्य विक र सपना विकलाई नियन्त्रणमा लिएको छ । तीमध्ये बाबुराम र सुर्य शिक्षक भएको बताईएको छ ।
यसैबीच, घटनाको वस्तुस्थिती अवलोकनका लागि प्रहरी उपरीक्षक श्रेष्ठको कमाण्डमा प्रहरी टोली आज त्यहाँ गएको छ । प्रहरीको सावधानीका कारण कुनै अप्रिय घटना हुन नपाएको बताउँदै श्रेष्ठले अहिले भने स्थिती नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान गरिरहेको बताए ।
आक्रमणमा संलग्नहरुमध्ये केही नेकपा माओवादीमा संलग्न रहेको बताईएपनि एमाओवादी नेतृत्वले भने घटनामा आफूहरुको संलग्नता नभएको बताएको छ । जनस्वयंसेवकका जिल्ला अध्यक्ष विनोद विकले स्थानियबीचमा वीवाद भएको आफूले जानकारी पाएको भन्दै घटनामा आफूहरुको पार्टीको कुनै संलग्नता नरहेको बताए ।
No comments:
Post a Comment