लेखक :-नहेन्द्र खड्का |
नेपाल यतिबेला अग्रगमन र पश्चगमनको दोसाँधमा उभिएको छ । विगत २ सय ४०
वर्षदेखि निरन्तर रूपमा नेपाली जनतालाई चरम शोषण, दमन र अत्याचार गर्दै
आएको शाही राजतन्त्रको अन्त्य भई देशमा संघीय लोकतान्त्रिक गणतन्त्र
स्थापित भए पनि देशबाट सामन्तवादको अन्त्य भएको छैन । यो देशका विभिन्न
संयन्त्रहरू, मानिसहरूको सोच, विचार र चिन्तनमा सामन्तवाद, एकात्मक सोच र
बाहुनवादी संकीर्णता अद्यावधि बहाल छ ।
पूर्वराजा ज्ञानेन्द्र एवं विगतमा उनलाई दाम राखेर ढोग्ने र उनले खाएर
छोडेको जूठोपुरोमा रमाउनेहरूको एउटा पंक्ति अझै पनि यो देशमा राजतन्त्र
पुनस्र्थापना गर्ने सपना देखिरहेको छ । उनीहरू कुनै पनि हालतमा संविधान
बन्न र शान्ति प्रक्रियालाई पूरा हुन नदिने, संविधानसभालाई विघटन गर्ने र
राजतन्त्र हटाएको
संविधानसभा विघटन भएपछि राजतन्त्र स्वत: पुनस्र्थापित
हुने सपना देखिरहेका छन् । उनका ढोके र बैठकेहरूले यस्तै सरसल्लाह दिइरहेका
होलान् ।
यथार्थमा यो देशमा अब राजतन्त्र स्थापित हुने कुनै अवस्था छैन । जनताले
बरु परिवर्तनविरोधी संसदवादी नेताहरूलाई आफ्नै तरिकाले दण्डित गर्लान् तर
राजतन्त्र फर्काउन साथ दिनेछैनन् । कथंकदाचित संविधानसभा विघटन नै भए पनि
राजतन्त्रको पुनस्र्थापना सम्भव छैन । यो आजको ध्रुवसत्य हो । अर्को कुरा,
उनले बलजफ्ती कुनै प्रयत्न गरे र त्यो सफल नभएमा जुन क्षति हुन्छ, त्यो उनी
र उनको परिवारले एक्लै बेहोर्नुपर्नेछ । हिजो अनावश्यक चकचक गर्दा के भयो ?
उनको स्मृत्तिमा होला । तर त्यतिबेला धेरै ठूलो केही भएको छैन । केवल
नारायणहिटीबाट नागार्जुनतिर डेरा सर्नुपरेको हो । भोलि यति सहज नहुन सक्छ ।
त्यसैले पूर्वराजा र उनका आसेपासेले ज्यादा चकचक नगरेको राम्रो हो । होइन
भने ‘चकचकेको पुट्ठोमा डाम’ पर्ने निश्चित छ । पुट्ठोमा डाम मात्रै होइन,
आँधी आएको बेला उत्ताउलो भएर धेरै चकचक गर्दा त पुट्ठै नरहन पनि सक्छ ।
केही मण्डले र माओवादीविरोधी हिस्टेरियाले ग्रस्त केही बाहुनवादीहरू
मनुस्मृतिअनुसार वर्णव्यवस्थामा आधारित शासनव्यवस्था चलाउन चाहन्छन् ।
राज्यको जनपक्षीय तरिकाले पुनर्संरचनालाई रोक्न चाहन्छन् । माओवादीविरोधी
सानो जत्था बोकेर ती बाहुनवादीहरू अहिले माओवादीको सिकार खेल्न निस्किएका
छन् । तिनीहरूका कमिटी र सल्लाहकार समितिहरूमा राजपरिवारका ढोके र
बैठकेहरूको बाहुल्यता छ । तिनले काठमाडौं खुलामञ्चको आमसभामा रुक्माङगत
कटुवाललाई विशिष्ट अतिथि बनाएर माओवादी पार्टीविरुद्ध हुंकार छोडेको कसैले
बिर्सिएको छैन ।
तीमध्येका कोही मिडियाका मञ्चहरूबाट रोइकराइ गरिरहेका छन् । कोही
संविधानविद्, वकिल, सञ्चारकर्मी वा पत्रकारको नाममा संविधान
निर्माणप्रक्रियालाई जनविरोधी बनाउन कम्मर कसेर लागेका छन् । नागरिक समाजको
नाममा ब्रम्हलुट गर्नेहरूको एउटा पंक्ति जनताले तिनलाई ‘जनदुस्मन’ घोषणा
गरेपछि भागेर वासिङटन डिसीमा पुगेको छ । यिनीहरू सबै जातीयताका विरुद्ध
भन्दै जातीय हिंसा भड्काउन खोज्दै छन् । माओवादी र आदिवासी जनजाति, मधेसी,
दलितसहितका सबै उत्पीडित वर्गका जनतालाई एउटै भुंग्रोमा राखेर पोल्ने दाऊ छ
तिनको ।
म स्वयं शुद्ध क्षत्री हुँ । मजस्ता लाखौंलाख क्षत्री/बाहुनहरू आज दलित,
आदिवासी, जनजाति, मधेसी, किसान, मजदुर र महिलासहितका उत्पीडित जनतालाई
अधिकार दिनुपर्छ भन्ने पक्षमा छन् ।
आज संविधानसभाका ३ सय २४ जनाभन्दा धेरै सभासद्हरूले पहिचानसहितको
संघीयताको पक्षमा सामूहिक हस्ताक्षर गरेका छन् । माओवादी अध्यक्षले
बाध्यात्मक अवस्थामा सहमतिमा हस्ताक्षर गरेको हुनाले केही माओवादी
नेताहरूले नैतिकताको आधारमा हस्ताक्षर गरेका छैनन् । यी सबैलाई जोड्दा
संविधान सभाका दुईतिहाइ सदस्यहरू पुग्छन् । अनि किन पूर्वपञ्च, एमाले,
कांग्रेसका नेताहरू र तिनका विभिन्न क्षेत्र, पेसा र व्यवसायमा रहेका
भिजिलान्तेहरू मात्रै पहिचान र सामथ्र्यमा आधारित संघीयताको विरोध गर्छन् ?
कारण स्पष्ट छ । उनीहरूलाई थाहा छ : उनीहरू जनविरोधी हुन् । उनीहरूलाई
आफ्नो क्षमता, पौरख र श्रममा विश्वास छैन । उनलाई जनतामा विश्वास छैन ।
जनतालाई तिनीहरूमाथि विश्वास छैन । तिनीहरू आफ्नो सामथ्र्य र क्षमताका
आधारमा भन्दा पनि कहिले नारायणहिटी त कहिले दिल्ली दरबारको आशिर्वादमा
नेपालको सत्तामा पुगेका दलालहरू हुन् । त्यसैले उनीहरू जनतालाई
अधिकारसम्पन्न बनाउने कुराको विरुद्धमा छन् ।
चाहे जुनसुकै संयन्त्र र पदमा रहून्, सारा बाहुनवादीहरूको एउटै तर्क छ ।
उनीहरूको तर्क छ कि महिलाहरूलाई अधिकार दिए पोथी बास्छ रे । दलितहरूलाई
अधिकार दिए टाउकोमा टेक्छन् रे । आदिवासी, जनजाति र मधेसीहरूलाई अधिकार दिए
जातीय सद्भाव खल्बलिन्छ, देश टुक्रा–टुक्रा हुन्छ रे । मुस्लिमहरूलाई
समावेशीकरण गर्दा धार्मिक युद्ध भड्किन्छ रे । यो पृथ्वीनारायण शाहले बडो
दु:ख गरेर एकीकरण गरेको मुलुक हो रे । राजा महेन्द्रले बनाएको नक्सामा एक
इन्च पनि तलमाथि गरे देश बर्बाद हुन्छ रे ।
के हो यो ? यो देश त्यही एउटा महेन्द्र, वीरेन्द्र वा ज्ञानेन्द्रले
थामेका थिए ? खै त महेन्द्र र वीरेन्द्र मरेर गए, ज्ञानेन्द्रलाई जनताले
रच्छ्यानमा पुर्याए । फेरि पनि देश चलेकै छ । उन्नति र प्रगतिका आधारहरू
निर्माण हुँदै छन् । ससुराले हात्ती दाइजो नदिएको झोंकमा श्रीमती फिर्ता
गर्ने र विजयपश्चात कीर्तिपुरवासीको नाककान काट्ने तिनै सनकी पृथ्वीनारायण
शाहले मात्रै एक्लै गरेका हुन् ? यो देशका जनता भनेका राजावादी चैतेहरू
मात्रै हुन् ? नेपालका आदिवासी, जनजाति र उत्पीडित जनता देशद्रोही हुन्,
विखण्डनकारी हुन् ? देश र राष्ट्रिय अखण्डताको माया केवल केही
माओवादीविरोधी र तिनको इशारामा नाच्ने मण्डलेहरूलाई मात्रै छ ?
हामी बाहुनवाद नमान्ने र कसैको जुठोपुरो नखाने क्षत्री/बाहुन हौं ।
त्यसका साथसाथै देश र राष्ट्रिय अखण्डतालाई सबैभन्दा धेरै माया गर्ने
मानिस हौं । सन् १९५० को सन्धि, गण्डकी, कोसी र महाकाली सन्धि र भारतीय
अतिक्रमणको खुलेआम विरोध गर्ने मानिस हौं हामी । सत्ताका लागि पटक– पटक देश
बन्धक राख्नेहरू, नदीनाला बेच्नेहरू र बिस्तारवादको जुत्ता चाट्नेहरूले
जातीय सद्भाव र राष्ट्रिय अखण्डताको कुरा गर्नु ….. लाई भन्दा देख्नेलाई
लाज’ भनेजस्तो भएन र ?
ती बाहुनवादीहरूले अगाडि सारेको जातीय सद्भाव बारे अझ गम्भीर बहस गर्नु
जरुरी छ । नेपालमा कस्तो किसिमको जातीय सद्भाव छ ? एउटा बाहुनवादी बाहुन वा
क्षत्रीले आज देशका हरेक भागमा दलितलाई दमाई, कामी, सार्की, डुम र चमार
भन्छ, अछुत भन्छ, कुट्छ, पिट्छ र अपमान गर्छ । पानी छुन दिंदैन, सँगै बस्न
दिंदैन । धारा, कुवा र इनारमा पानी थाप्न दिंदैन । आफ्नो काम गर्न लगाउँछ
तर श्रमको उचित ज्याला दिंदैन, तुच्छ मानापाथीमा बालीघरे बनाउँछ । आफूले
खाएर रहेको बासी, तासी र जुठो खुवाउँछ । हिन्दू भएर पनि मन्दिरमा छिर्न र
पूजापाठ गर्न दिंदैन । त्यतिले नपुगेर अझ बोक्सा वा बोक्सीको आरोपमा ‘आची’
खुवाउँछ, जिउँदै जलाउँछ र मार्छ । मगरलाई ‘लिंडे’, गुरुङलाई ‘थेप्चो नाके’,
नेवारलाई ‘कोदे/पाडो’, मधेसीलाई ‘मदिसे/धोती’ भन्दै हेप्छ । थारूहरूलाई
हलिया, कमैया, हरूवा, चरुवा र गोठालो राख्छ । थारूका छोरीहरूलाई कुखुराको
चल्लाको मूल्यमा किनेर कम्लरी राख्छ, जसलाई सानी हुञ्जेलसम्म श्रमको र उमेर
पुगेपछि भौतिक र यौन शोषण गर्छ । यी सबै जातजातिका मानिसहरूले ती
बाहुनवादीहरूले गरेका सारा अपमान, शोषण, दमन, अन्याय, अत्याचार र व्यभिचार
सहेर बसेको हुनाले नेपालमा जातीय सद्भाव कायम रहेको थियो, र छ । के यसैलाई
जातीय सद्भाव भनिन्छ ? के नयाँ गणतन्त्रात्मक नेपालमा पनि हामीलाई यस्तै
किसिमको जातीय सद्भाव चाहिएको हो ?
खबरदार ! हामीलाई संघीय नेपालमा यस्तो काइते सद्भाव आवश्यक छैन । अब
जनता जागेको छ, जनताको चेतना जागेको छ । बाहुनवादको रच्छ्यानमा हुर्केका
संसदवादीहरू हो, अब सारा उत्पीडित वर्ग तिम्रो शासनको किल्लामा भागबण्डा
माग्न सक्ने भएको छ । अब पनि त्यस्तै थिचोमिचो गर्ने जातीय सद्भाव चाहन्छौ
भने विद्रोह हुनेछ । तिमी शासक वर्गका, मनुस्मृत्तिपन्थी, पूर्व
राजपरिवारको जुठोपुरोमा रमाएका, मण्डले, प्रतिगामी र दक्षिणपन्थीहरूको एउटा
सानो हिस्सा बाहेक हामीजस्ता श्रमजीवी वर्गका राष्ट्रभक्त
क्षत्री/बाहुनहरूले पनि त्यो विद्रोहलाई साथ दिनेछौं, र दिनुपर्छ । किनकि
हामी नयाँ नेपालमा वास्तविक र समानतामा आधारित जातीय सद्भाव चाहन्छौं ।
सबैको समान हक–अधिकार र पहिचान स्थापित गर्न चाहन्छौं ।
मुलुकलाई जातीय संघर्षबाट बचाउने एउटै उपाय छ : त्यो हो राष्ट्रभक्त र
न्यायप्रेमीको संघर्ष । जनविरोधीहरूका विरुद्ध जनताका अधिकारहरूको पक्षमा
भएकाबीचको वैचारिक संघर्ष । त्यसका लागि तुरुन्तै खसआर्य मोर्चाको निर्माण
गरी अगाडि बढ्नुपर्छ । खसआर्य मोर्चा निर्माण नहुञ्जेल सबै उत्पीडित
जनतासँग हातमा हात मिलाएर अगाडि बढौं । हाम्रो जीत सुनिश्चित छ । विजय
कसैको जुठोपुरोमा रमाउने मण्डले र संकीर्ण कायरहरूको होइन, वीरहरूको हुन्छ ।
बहादुरहरूको हुनेछ, क्रान्तिकारी जनताको हुन्छ । महान् नेपाली जनताको
हुन्छ । इतिहास यसको साक्षी छ ।
साभार :tamuhyula
साभार :tamuhyula
No comments:
Post a Comment