Saturday, October 12, 2013

दलित, मिडिया र भुसुने राजा- खगेन्द्र संग्रौला

सामाजिक संजाल फेसबुकमा (www.facebook.com/DalitSolidaritynepal)
राजनीतिको दिशा र दृश्य भक्तिमार्गतिर उन्मुख हुँदै गएको अनिष्ट यथार्थको झलक फेरि हाम्रा अभागी आँखामा आएर थुरिन थालेको छ । राजनीतिका नायकहरूले शक्ति र सत्ताका लागि आशिक थाप्न फेरि दरबारहरूतिर आ-आफ्ना आत्महीन मुन्टा बटारेका छन् । दिल्ली दरबार, वासिङटन दरबार र नारानहिटी दरबारतिर । लाग्छ, हाम्रो मिडिया पनि आशिक थाप्नेहरूकै पाइला पछ्याउने धुनमा लिप्त छ । असार २ र ३ गते पण्डित र पुरेतहरू जन्माउने कारखाना भनेर गिज्याउने गरिएको बाल्मीकि संस्कृत क्याम्पसको प्राङ्गणमा दलितहरूको विशाल भेला भएको थियो । भेलामा ६२ जिल्लाका दलित प्रतिनिधिहरू स्वतन्त्रताका सपनाहरू अघि लगाएर लहरै जुटेका थिए । तिनका आँखामा आँसु थिए, स्वरमा आक्रोश र बटारिएका मुठ्ठीमा विद्रोहको झिल्को । ती भन्दै थिए, हामी नयाँ नेपाल बनाउने शिल्पी हौँ भन्ने सिंहदरबारका बिष्ट-बराजुहरूले पनि सामन्ती राजाले झैं हामीलाई हेप्न छाडेनन् ।

 सङ्ख्यामा हामी लगभग सयकडा बीस छौँ, संविधान संशोधनमा हामीलाई प्रतिनिधित्वको अंशभाग केवल ६ प्रतिशत कृपा गरियो । त्यही नाथे ६ प्रतिशत पनि यी बिष्ट-बराजुहरूले इमानसाथ लागू गर्लान् भनेर पत्याउन बडो गाह्रो छ । त्यसैले अब हामी पनि….। त्यसपछि तिनले टायर बाल्दै भाटा र लाठा बोकेर अघि सरेको मधेसी विद्रोहको सम्झना गरे । कागजको शिरुपाते खुकुरी नचाउँदै सडकमा ओर्लेको जनजातिगणको स्मरण गरे । र धपधपी आगो बलेको चुनौतीको भाकामा तिनले भने, सामन्ती संस्कारको रजगज राज चलेको जनपीडक राजनीतिमा अझै बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । त्यसैले हामी पनि अब बोल्छौँ । स्वरमा स्वरहरूको माला उनेर, मुठ्ठीमा मुठ्ठीहरूको दम मिसाएर, जिते हस्तिनापुरको राजको अंशभाग, हारे चपरीमुनिको बास भनेर । उस्तै परे हामी पनि मधेसी दोस्त र जनजाति बन्धुहरूको सिको गर्छौँ । हामी पनि कागजको खुकुरी, टायरको धूवाँ र भाटा-लाठा अघि लगाएर सडक कब्जा गर्छौँ । र हामी पनि सिंहदरबारका हजुरहरूलाई लोकतन्त्रको सानो पाठ सिकाइदिन्छौँ । त्यो क्षणमा दलितहरूका नजरमा सके नजिरको एउटा दृश्य नाचिरहेको हुँदो हो । जब मधेसीहरू जागे, निहुरिएका सिंहदरबारका स्वामीहरूबाट तिनका एक चौथाइ मागको सुनुवाइ भयो । मधेसबाट सिकेर जब जनजातिहरू उठे, निहुरिएका सिंहदरबारका स्वामीहरूबाट तिनका एक चौथाइ मागको सुनुवाइ भयो । यसरी दमित मधेसीहरूको स्वाभिमानको शिर एक इन्च उठ्यो र पहाडी खस शासकहरूको अहंकारको उचाइ एक इन्च घट्यो । 

यसरी अपमानित जनजातिहरूको गर्वको उचाइ एक इन्च उठ्यो र खस शासकहरूको अहंकारको उचाइ एक इन्च घट्यो । आखिर लोकतन्त्रको यात्रा भनेको कृत्रिम उचाइलाई कलमी गर्ने र वास्तविक उचाइलाई ठाउँ खाली गर्ने महाअभियान न हो । अब म मिडियातिर फर्किन्छु । अचम्म छ बा, दलितहरूले न्यायका लागि गरेको त्यत्रो गर्जनले मिडियामा देखिनेगरी कहीँ कतै ठाउँ पाएन । कतै अछूतहरूको बिटुलो आवाज भनेर दलित आवाजलाई बिष्टहरूको बर्चस्व रहेको मिडियामा छिर्न निषेध गरिएको पो हो कि ! यसबीच मिडियामा कार्टर महात्म्यको एकछत्र बिगबिगी छायो । उता गिरिजाबाबुको माइनर भन्ने भुसुने राजाले पनि मिडियामा ठूलो ठाउँ र भाउ पायो । कथाको गुप्त सार भन्छ, राजनीति र मिडियामा अनुहारहरू पुरानै छन्, विचार पुरानै छ र संस्कार पनि पुरानै । यी पुरानाहरू नयाँ नेपालको रट लगाउँदै नयाँ नेपाल जाने बाटाका तगारा हुन पो खोजेका हुन् कि भनी जनमानसमा आशङ्काका पुराना तरङ्गहरू बल्भिmन थालेका छन् । तर दलितहरूको न्यायको गर्जन भने पुरानो होइन, एकदम नयाँ हो । जे नयाँ हो, त्यो मौलाउँछ र जीवनमा त्यसले ठाउँ बनाउँछ । जे पुरानो हो, कालक्रममा त्यो खिइएर सकिन्छ । ज्ञानेन्द्रको पतनमा कति राम्रो सन्देश छ ! राजनीति र मिडियाका बिष्ट-बराजुहरू यो सन्देश आ-आफ्ना भुत्ते कान थापेर एक चित्तले सुनुन् ।शक्ति र सत्ताको मुहानका रूपमा स्वदेशीहरूको शौर्य, सिर्जनशीलता र स्वाभिमानलाई नदेख्ने र विदेशीको आशिक थाप्ने संस्कृति नेपाली राजनीतिको जीर्ण रोग हो । पुरानो रोगको यादमा एमाले नायकहरू अस्ति दिल्ली पुगेर भर्खरै फर्केका थिए । लगत्तै जिम्मी कार्टर आए । कार्टर को हुन्, विचार गरौँ । अमेरिकाको विदेश नीति लुटको दर्शन र परपीडाको संस्कृतिमा टिकेको छ । कार्टर त्यही दर्शन र संस्कृतिका वृद्ध गोठाला हुन् । आफू राष्ट्रपति छँदा यिनले त्यही दर्शन र संस्कृतिका जरामा मरिमेटेर मलजल हाले । यी कार्टर ठूला व्यापारी हुन् । कार्टर फाउन्डेसन नामक यिनको धनाढ्य एनजीओ छ । यिनको फाउन्डेसन एनजीओको नरम र उदार ध्वनित हुने भाषा बोलेर विश्वका गरिबीग्रस्त मुलुकहरूमा लुटको दर्शन र परपीडाको संस्कृतिलाई नजानिँदो गरी टेको दिने छलकारी अस्त्र हो ।हो, यस्ता कार्टर नेपाल आए । सुन्दर बत्तिसी र मुस्कानमा बिछट्टको आकर्षण भएका कार्टर वरिष्ठ पाहुनाको औतारमा आएका थिए । त्यसैले कूटनीतिक मर्यादा देखाउन साइज मिलाएर तिनको स्वागत गर्नु राम्रै कुरा थियो । तर भयो अर्कै कुरा । कार्टरको भेषमा मानौँ वैकुण्ठबाट देवदूत सोझै धरतीमा झरे । मानौँ ती देवदूतको मनचिन्ते झोलीमा हाम्रा यावत् समस्याहरूको रामवाण सरहको ओखती थियो । फुमन्तर वाचाको शैलीमा समस्त समस्याहरू दूर गरिमाग्न हानथाप गदर्ैै ठूला दलका ठूला नेताहरू कार्टरका पाउमा बिल्लीसरह लुटपुटिन गए । यिनले आफूलाई अनाथ, अशक्त, निरीह र पङ्गु पात्रका रूपमा प्रस्तुत गरे । र कार्टरका चरणमा यिनले ‘तुमेव माता च पिता तुमेव’ टाइपको भक्तिभजन गाए । शक्ति र सत्ताका लागि विदेशीको आशिक हात थाप्न बानी परेका काङ्ग्रेस र एमाले नायकहरूले संस्कारवश त्यसो गर्नु बुझिने कुरा हो । तर माओवादी कणहरू ?आफूलाई विद्रोही, स्वाभिमानी, राष्ट्रवादी, जनवादी आदि-आदि भनेर कहिल्यै नथाक्ने माओवादी कणहरू कार्टर बाजेका पाउ परेर पिल्पिल् रोए । बाजे ! तिनले दुःख पुकारा गरे, राष्ट्रपति बुसको मन पगालिपाउँ । रेडकर्नर नोटिस र टेरोरिष्ट ट्याग हटाइपाउँ । जो हुकुम, जो निगाह बाजे !माइला माओवादी बाबुराम भट्टराईले त भावुकताको कालीदहमा डुबुल्की मार्दै कार्टरसितको भेटका अनुभूतिहरू लेख्न पनि भ्याइहाले । स्वस्ति, भक्ति र अर्चनाको यो कति राम्रो प्रदर्शन !

कार्टरका कुरा गर्दा पुरानो घटना सम्झेँ । कुरा ४२ सालको सत्याग्रहपछिको हो । रामराजा सिंहले बम पड्काए । त्यो निहुँमा काङ्ग्रेसीहरू पक्राउ परे । ठीक त्यही बेला चुनाव हारेका कार्टर नेपाल आए । कार्टरको प्रभावका कृपाले अब खोरमुक्त हुने भइयो भन्दै काङ्ग्रेसीहरूले हौसिएर खुट्टा उचाले । तर कार्टरले गरे के ? शाही शासनमा मानवअधिकार अब्बल दर्जाको पाएँ भनेर मुस्कुराउँदै सन्तुष्ट मुद्रामा ती घर फर्के । मान्छे उनै हुन् । मत उही हो । मति उही हो । तर के लाग्छ, अतीतको त्यो कथा भुसुक्कै बिर्सेर हाम्रा नेताहरू कार्टरछेउ निहुरिएर म्याउँ-म्याउँ पथमा लाम लागेका छन् । माओवादीसहित !शक्ति र सत्ताको सच्चा मुहान स्वदेशवासी सचेत नागरिकहरू हुन् । नारानहिटी, दिल्ली र वासिङटन दरबारका ख्वामित्हरू किमार्थ होइनन् । यो उन्नाइस दिनको जनआन्दोलनले दिएको अनमोलको शिक्षा हो । जनआन्दोलनमा के भयो, सम्झना गरौँ । जनआन्दोलनले ज्ञानेन्द्रलाई जब घुँडा टेकायो, त्यो देखेर दिल्ली दरबारका दाजुहरू र वासिङटन दरबारका सरहरूको सातो गयो । अघिल्लो दिनसम्म ती राजा ज्ञानेन्द्रलाई बोकेर हिँड्दै थिए । भोलिपल्ट के गरुँ र कसो गरुँ गर्दै ती अत्तालिए । अनि हानथाप गर्दै तिनले नेपाली जनतालाई सलाम गरे ।हामीलाई त्यो शक्ति, त्यो विजय र त्यो गौरव कसबाट कसरी प्राप्त भएको हो ? यस प्रश्नको उत्तर चक्रपथमा ठाउँ-ठाउँमा छरपस्ट भएका रक्तरञ्जित चप्पल र प्लाष्टिकका स्यान्डलहरूमा खोज्नुपर्छ । ती चप्पल र स्यान्डलहरू दलित र गरिब पाँतका नरनारीहरूका थिए । त्यो शक्ति, त्यो विजय र त्यो गौरव तिनैको शौर्य र आत्मबलिदानबाट निसृत भएको हो । तर हाम्रा नेताहरूले हिजोको आजै यो सत्य बिर्सेझैं लाग्छ । आफूलाई बोकेर सत्ताको चौतारीमा उकालिदिने ती दलित र गरिब नरनारीहरूका न्यायको दाबी गर्ने आवाज आज उपेक्षाको सिकार भएका छन् । उता शक्तिकेन्द्रहरूकोे भक्तिभजनले हाम्रो राजनीतिक र नैतिक परिवेश विषाक्त भइरहेछ । म नेता हुँ भन्नेहरूले फर्किनुपर्ने नेपाली नागरिकहरूतिर हो ।

 सुन्नुपर्ने तिनका मर्का र आकाङ्क्षाहरूका कथा हुन् । तर एमालेका नेताहरू दिल्लीतिर फर्केर उतैको आशिक सुन्न आतुर छन् । काङ्ग्रेस प्रमुख गिरिजाबाबु नारानहिटीतिर फर्केर पारस पुत्रलाई भुसुने राजा बनाउन कटिबद्ध छन् । माओवादी कणहरू कार्टरका बाहुलीमा विन्तीपत्र चढाएर बुसको पाषाण हृदय पगालिमाग्न रुँदैछन् । तैपनि हामी भन्न विवश छौँ, नारानहिटी, दिल्ली र वासिङटनका ख्वामित्हरूको आशिक थापेर हामीलाई नयाँ नेपालतिर डोर्‍याउने सारथीहरू यिनै हुन् । थरीथरीका यी भक्तहरू !
साभार:-जागरण मिडिया 

No comments:

Post a Comment