बलात्कार गर्न खोज्नेका विरुद्ध प्रहरी प्रशासनमा उजुरी गरेको भन्दै
मोरङ, बेलबारीका केही व्यक्तिहरूले २३ वर्षीय दलित युवतीमाथि कुटपिट गर्दै
कालोमोसो दलेर जुत्ताको माला लगाइदिए । एक्काइसौं शताब्दीको विश्वमा समाजका
लागि योभन्दा ठूलो सामाजिक कलंक केही हुन सक्दैन ।
बेलबारी घटनाले त्यसमा सामेल मानिसहरूको मानसिक दरिद्रतालाई मात्रै
उजागर गरेको छैन, नेपाली समाजको एउटा कुरूप पाटो पनि प्रस्तुत भएको छ ।
घटना विवरणअनुसार २३
वर्षीय युवतीले स्थानीय जीवन भेटवालले बलात्कार गर्न
खोजेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी गरेकै कारण
युवतीमाथि दुव्र्यवहार भएको घटना हेर्दा लाग्छ, हाम्रो समाज अझै पनि बर्बर
जंगली युगमै छ । न्यायिक निकायमा मुद्दा दर्ता भएमा पीडक कारबाहीको भागीदार
हुने भयले पीडितले युवतीमाथि प्रहार गरेका हुन् । तर, एउटी युवतीमाथि यस
प्रकारको दुव्र्यवहार हुँदासमेत समाज मूकदर्शक हुनु, अझ आफैं कारबाहीमा
उत्रनु झन् विडम्बनापूर्ण हो ।
युवतीहरूले यस किसिमको दुव्र्यवहारको सामना गर्नुपरेको यो नै पहिलो घटना
भने होइन । यसअघि पनि बोक्सीको आरोपमा विषेशगरी तराई क्षेत्रका थुपै्र
महिलाले यस किसिमको दुर्घटना झेल्न विवश भइसकेका छन् । बेलबारीकी युवतीले
भोगेको सास्तीपूर्ण घटना हेर्दा यसो पनि भन्न सकिन्छ, पछिल्लो समय केही
मान्छे यति अराजक भएका छन् । आफूले गरेको बदमासी ढाकछोप गर्न गम्भीर अपराध
गर्नसमेत पछि पर्दैनन् । यदि, भेटवालले बदमासी गरेका थिएनन् भने पक्कै ती
निर्धो महिलामाथि यति ठूलो प्रहार गर्दैनन् थिए, होला ।
यसो हुनुमा आममानिसमा देखिएको अराजक प्रवृत्ति त हो नै, राज्यको नालायक
शैलीलाई पनि बिर्सन मिल्दैन । किनकि यसअघि पनि यही प्रकृतिका अपराधमा
संलग्नलाई राज्यले गतिलो कारबाही गरेको भए पक्कै महिलाहरू पटक–पटक पीडित
हुँदैनथे । ‘नेपालको कानुन ठूलाबडाले जानुन्’ भनेझंै हरेक अपराधका घटनामा
पँहुचवाल व्यक्ति कारबाहीको दायरामा नआउने र उस्तै परे पीडक थातथलोबाटै
विस्थापित हुने प्रवृत्तिले यस किसिमको घटना दोहोरिएको हो ।
बेलबारी काण्डकै घटनाका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले
ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ भने,
बुधबार मात्रै प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । चौतर्फी
दबाब परेपछि अपराधमा संलग्नलाई पक्राउ गर्नु मात्रै राज्यको दायित्व होइन ।
घटनामा दोषी पुष्टि भएका तिनलाई सख्त कारबाही गर्नै पर्छ । यदि त्यसो भयो
भने फेरि यस्ता घटना नदोहोरिने सम्भावना हुन्छ । घटनामा संलग्न चाहे जोसुकै
हुन्, तिनलाई सख्त कारबाही गर्नु नै राज्यको अहं दायित्व हो र
स्थानीयवासीले पनि दोषीलाई उन्मुक्ति नदिनका लागि भूमिका खेल्नुपर्छ ।
साभार:- http://www.rajdhani.com.np/en/component/content/article/29-editor/11912—-
No comments:
Post a Comment