०७० कात्तिक २४ गते, काभ्रे । नित्यचण्डेश्वरी गाविस-८ सल्लेपानी घर भएकी १५ वर्षीया कविता विसुन्केलाई गएको असोज १७ गते हनुमान उच्च मावि पात्लेखेतका शिक्षक चन्द्रबहादुर तामाङले टाउकोमा हिर्काएका कारण एक महिनापछि स्वास्थ्य समस्या आएको भनी न्याय र सहयोगका लागि पीडितका आफन्तहरूले कात्तिक २४ गते इन्सेक प्रतिनिधिको कार्यालय बनेपामा निवेदन दिएका छन् ।
विद्यालयका सहायक प्रधानाध्यापकसमेत रहेका तामाङले आफ्नै विद्यालयमा अध्ययनरत कक्षा नौ मा अध्ययनरत बिसुन्केलाई भुत्ल्याएर मुक्कासमेत प्रहार गरेका थिए । अर्थशास्त्र र सामाजिक विषयका शिक्षक तामाङले टाउकोमा हिर्काएपछि एक महिनादेखि टाउको दुखेर रिङ्गटा लाग्ने गरेको पीडित बालिकाले बताइन् । 'सरले दश झाप्पडसम्म पिटेपछि
म रन्थनिएँ ।' त्यसदिन स्कुलमा दिदी र भाउजु भेट्न आएकाले स्कुलको बन्द गेटबाटै कुरा गरेर कक्षा कोठामा पुग्नेवित्तिकै शिक्षक तामाङले पिटेको उनको भनाई छ ।
तेस्रो कक्षा सञ्चालन गरी विद्यार्थीको कापी जाँचिरहेका बेला शिक्षक तामाङले पिटेको कविताले बताइन् । उनले भनिन् 'सरले रक्सी खाएर आउनुभएको थियो, मलाई पिट्दा सरको घडी खुस्कियो, तर पनि पिटिरहनुभयो ।' हप्ता दिनसम्म कान दुखिरहेको कविताको दुःखेसो छ । स्कुल नजिकै चिसापानी घर भएका शिक्षक तामाङदेखि अन्य विद्यार्थी डराउने गरेका छन् । चार्डपर्वको विदा सकिएर कात्तिक २० गतेदेखि स्कुल खुले पनि कविता पढ्न जान सकेकी छैनन् । पैसा अभावका कारण कविताको स्वास्थ्य जाँच गर्न नसकेको आमा उद्वकुमारीले बताइन् ।
पीडितको निवेदनसम्बन्धी जिल्ला बाल कल्याण समिति काभ्रेलाई जानकारी गराउँदा कविताको उपचारका लागि दुई हजार प्रारम्भिक सहयोग गरिएको छ । बालिकालाई काउन्सिलिङका लागि यातना पिडित सरोकार केन्द्र (सिभिक्ट) पठाइएको छ । क्यान्सरका रोगी भएका कविताको बाबु हुद्धबहादुर तराइ र दाजु भारतमा मजदुरी गर्छन । घटनाका विषयमा आफूलाई थाहा नभएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र हुमागाईले बताए । घटनाका आरोपित तामाङले भने विद्यार्थी नविग्रिऊन भनेर आफूले एक थप्पड मात्र हानेको बताए ।
No comments:
Post a Comment