Saturday, March 15, 2014

नेपालको दलित–जनजाति आन्दोलन र सामाजिक मुक्तिको प्रश्न ?

लेखक  : -टी.बी. पुन
नेपालको राज्यव्यबस्था २४० वर्ष देखि परन्तु आजतक सामान्ती केन्द्रीकृत एकात्मक हिन्दू जातिवादी साम्प्रदायिक रहँदै आएको छ । राज्यसत्ता यथास्थितिमै एकात्मक, केन्द्रीकृत रहने देश पहिचान सहितको संघीयतामा नगए सामान्ती राज्यसत्ता यसरीनै टिकिरहनेछ । सोसल इलिट समूहका उत्पीडक शाषकहरुले एकलौटी हालीमुहाली गरिरहने छन । मनुस्मृति धर्म र कानुनद्धारा नेपालको राज्यसत्ता सँधै संचालित निर्देशित हुँदै आइरहेको छ । देश जातीय पहिचान सहितको प्रादेशिक संघीयतामा नगए  बाहुनवादबाट नेपाली जनताको मुक्ति कहिल्यै सँभव देखिदैन । त्यसैले बाहुनवादीहरूद्धारा संघीयता पहिचानको बिरुद्ध ज्यानै फालेर चर्को विरोध भइरहेको छ । नेपाल बाहुनवादले गाँजेको मुलुक हुनाले राज्यसत्ताबाट अन्य जाति, धर्म–सांस्कृतिक समुदायका मानिसहरू सदियौ वर्षदेखि आजतक शोषण, अन्याय–अत्याचार, विभेद, उत्पीडनमा पिल्सिरहेका छन । बहिस्करणमा परेका छन । यसको शालीन विरोध आलोचना भने सधै भइरहेको छ । तर कडा राजनीतिक, सामाजिक, सांस्कृतिक आन्दोलन जनक्रान्तिद्धारा बाहुनबादी फोहोर कचरालाई धोएर खाल्डोमा पुरेर मुक्ति पाएको स्थिति भने छैन । त्यसैले यहाँका शोषित–पीडित जनता मधिसे, मुसलमान, दलित तथा आदिवासी जनजातिहरूमा राजनितिक विचारका साथसाथै व्यापक सामाजिक साँस्कृतिक क्रान्ति चेतनाको आबश्यकता देखिन्छ । यसको मुक्ति पहिचान सहितको संघीय राज्यको प्राप्तिसंगै मानवता बिरोधी अन्धविश्वासी कर्मकाण्डी धर्मको स्वतन्त्र त्याग बहिस्कार पनि हो । चीनमा माओले ९४ प्रतिशतमा रहेका हान जातीय अतिवादको बिरुद्धमा र रूसमा लेनिनले ६० प्रतिशतमा रहेका रूसी अन्ध जातिवादको विरुद्धमा  समाजवादी सांस्कृतिक क्रान्तिको आन्दोलन छेडे । त्यस्तै  नेपालमा ३० प्रतिशत उत्पीडक हिन्दू शाषक जातिको हातमा रहेको सामान्ती राज्यव्यबस्था शासनसत्ता फाल्न अर्को सामाजिक सांस्कृतिक जनक्रान्तीको खाँचो रहेको छ । त्यसको नेतृत्व गर्ने पार्टी र सक्षम राष्ठ्रिय नेताको खाँचो महसुस भएको छ । महात्मा गान्धीले अँग्रेजी विदेशी शासनको विरोध गर्दै बिदेशी कपडा जलाएर त्यागेर स्वदेश मै उत्पादित घरेलु कपडालाई मान्यता दिनु पर्दछ भनेर भारतीय स्वतन्त्रता संग्राम नामक गाँन्धीवादी  राष्ट्रवादी आन्दोलन चलाएका थिए । भारतीय दलित नेता भिमराव अम्बेडकर हिन्दूवणाश्रर्म धर्म जातिवाद छुवाछूतको बिरुद्धमा लडेका थिए । उनले मनुस्मृतिधर्म जलाउँदै भनेका छन–“मैले यसको होली (आगो) यसकारण जलाई दिएकी हामी यसलाई अन्यायको प्रतीक मान्दछौ । जसले हामीलाई दलित शुद्र बनाएर हामी माथि सयौ वर्षदेखि कुल्चदै आइरहेको छ । यसको शिक्षाको कारण यसले हामीलाई अशिक्षा, अन्धकार र गरिबीमा राख्दै आइरहयो । यसकारण मैले छिटै निणर्य गरे कि सबै चिजलाई बाजी लगाएर आफनो ज्यान हतकेलामा राखेर यो मनुस्मृति जलाउने काम सम्पन्न गरें ।” ( मनुस्मृतिकी शबयात्रा, पृष्ठ–६,सुधिर कुमार ) १२ अध्याय, २८८३ संस्कृत श्लोक रहेको जातिवादको पृष्ठपोषक मानवताको कलङ्क मनुस्मृतिग्रन्थलाई सन.१९२७ डिसे्म्बर २५मा भारतको महाराष्ट्रमा एक सार्वजानिक कार्यक्रममा जलाइएको थियो । अम्बेडकरले भारतमा अछूत जातिलाई वर्जित गरिएको भारतको चावदार तलाउबाट दशौहजारको संख्यामा निस्किएको अछुतहरूको जुलुस सहित पानी पिए । अम्बेडकरले सन.१९५६ मा अछूत दलित बनाइएको हिन्दूधर्म सदाका लागि त्यागेर आफना ५ लाख दलित अनुयायीकासाथ भारतको नागापुर बौद्ध बिहारमा वर्माका चन्द्रमणी महास्थवीर सम्मुख बुद्धधर्म ग्रहण गर्दै आफू बुद्धधर्ममा दिक्षित भएको घोषणा गरे । (‘नागपुरका धम्मोपदेश’–डाँ.भिमराव अम्बेडकर) भारतमा बुद्धधर्मलाई अँगालेर दलित आन्दोलनद्धारा जनतामाझ अगाडि बढाउने काम अम्बेडकरले गरे । नेपाली दलित समुदायले आज यस्तै मानवतावादी महान व्यक्ति आदर्श पुरुष उत्प्रेरक शिक्षाको सिको गर्दै स्वदेशी राष्ट्रवादी सामाजिक आन्दोलन अभियान संचालन गर्नु पर्ने आबश्यक्ता महसुस भएको अनुभव हुन्छ । 
 हिन्दूधर्मग्रन्थ वेदमा चार वर्णको जाति विभाजन गरिएको र दलित जातिलाई शुद्र जाति अन्र्तगत अछूत चौथोदर्जामा राखिएको पाइन्छ । हिन्दूधर्म वेदमा आस्था विश्वास गर्नेहरु वेदमा चौथो दर्जामा राखिएको आधार मानेर नेपालका दलितहरू आफूलाई बाहुनबाट झरेका खसआर्यमूलकै हिन्दू हौ भन्ने गरेको कथन पाईन्छ । दलितहरुलाई पनि खसआर्य समुहमा राखिएका छन । तर दलितहरू सबै खसआर्य मूलका हिन्दू भने होइनन । मनुस्मृतिग्रन्थमा अनार्य अहिन्दूलाई हिन्दूधर्म इत्तरकालाई शूद्र अर्थात अछूत दर्जामा राखिएको पाइन्छ । दलितलाई विवाह गर्ने अनार्य अहिन्दू मुलका मंगोलीयन किरात जाति पनि जात खसेर वा छुवाछूतको मारमा परेर नेपाली हिन्दू समाजमा दलित शुद्र हुन वाध्य भएका घटना प्रमाणहरु प्रशस्त देखिन्छन । आदिवासी मंगोलीयन नेवार जाति भित्र पनि दलितहरु रहेका छन ।
नेपाली समाजमा जातीयताको विज रोप्ने कार्य बुद्धधर्म नासक घोर हिन्दूवादी राजा जयस्थिति मल्लबाटै सुरु भएको हो भन्ने भनाईहरु छन् । नेपालको दलित आन्दोलनलाई हेर्दा दलितहरूलाई बाहुनद्धारा भेदभाव र छुवाछूतको अनत्य गर्दै सामुहिक सहभोजमा साम्यगाम्य गर्ने विहावारिमा खुला गरिने हो भने हिन्दूधर्म र बाहुनसंग दलित एकता कायम हुन सक्दछ । भनेर एकथरि दलितहरू हिन्दूधर्मसंग सम्बन्ध गाँस्न र बाहुनलाई रिझाउन फकाउन पट्टी निरन्तर लागिपरेको देखिन्छ । उनीहरूको परम्परागत दलित आन्दोलन छुवाछूतको अन्त्यसंगै हिन्दू मन्दिर प्रवेश गर्ने, बाहुनसँग सहभोज गर्ने र अन्र्तजातीय विवाह तिर लक्षित भएको देखिन्छ । जसले दलितलाई अछूत सूद्र बनायो । उनीहरुलाई सामाजिक रुपमा  वहिस्करणमा पुरयायो । केही दलित संघसंस्था र संगठनहरु भने बाहुनवादीहरुसंगै एउटै मोर्चामा लागेर संघीयता र आत्मनिर्णय अधिकारको बिरुद्ध लागि परेका पनि छन । दलितलाई हिन्दू खसआर्य बाहुनक्षेत्री सरहको दर्जामा राख्न सकिन्छ कि भन्ने वर्णाश्रमी धारणा केही दलितहरुमा देखिन्छ । तर यो सोच आफैमा ठिक ठानिएता पनि यथास्थितिवादी पुरातन खिया परेको सामान्ति दासतामुखी वर्णाश्रमी जातिवादी सोच हो । यसले हिन्दूवाद/बाहुनवादबाट सम्पूर्ण दलित समुदायलाई सदाका लागि मुक्ति भने दिने छैन । यस्तो सोचाइले समग्र दलित समुदायलाई कहि पुरयाउँदैन । यथास्थितिमा रहेर वणाश्रर्मवादी ब्राह्मणधर्म र बाहुनकै पक्षपोषण गर्नु उसैको सरणमा परि निरिह प्राणि बनेर उसैको खटनपटन–जुठोपुरो खाएर दलिएर बाँच्नु सरह हो । नेपालमा रहेका ४५ लाख दलितहरूले सोच्नु पर्दछ, हामी अब बाहुनवाद हिन्दूधर्मले अडाएको पशुपतिनाथको मन्दिर वा अन्य हिन्दू–मठमन्दिरको प्रवेश शंखघण्ट वजाउन तिर बल गर्ने वा उसले कल्पना गरेको देवता, ईश्वरलाई पुजेर उसको देवतालाई धूपधजा गरेर घण्टी बजाएर बस्ने कि बाहुनवादले कब्जा गरेको शिंहदरबार वा देशभरको बाहुनवादी राज्यसत्ता हात पार्न स्वसासन संघीय राज्य निमार्णको बाटोमा लाग्ने ? दलितका लागि हिन्दू मठमन्दिर प्रवेश वा हिन्दू देवताको आस्थाढोग दर्शन ठूलो होकि स्वसासन संघीय राज्य प्राप्ति ठूलो हो ? धर्मको सम्वन्धमा वैदिक पुरेत बाहुनले आफनो मन्दिरमा दलितलाई प्रवेश गर्न उसको देवतालाई छुन ढोग्न दिदैन भने उनीहरूले अर्को विकल्प खोज्नु रोज्नु पर्दछ । छेपाराले काठ समातेर बसेझै हिन्दू ब्राह्मणधर्म समातेर नबसेर उनीहरूले अन्य धार्मिक बाटो रोजेर नयाँ बाटो लागे के भो ? यो कुरा सत्य होकि आफना हिन्दू मठमन्दिर भित्र पसेर पुजापाठ गर्न छुन–खान समेत नदिने अहंकारी उत्पीडक धार्मिक बाहुनले सदिऔ देखि आफना धर्मशास्त्रहरुमा चौथो दर्जामा राखिएका शुद्र र अछूत भनिएका दलितलाई सजिलैसंग आफनो ब्राह्मण धर्ममा समानरुपले सहवरण साम्यगाम्य गराउन सक्दैनन । नत दलित पुजारी धर्मगुरु मान्न पुरातन सोचका पण्डित–पुरेत बाहुननै तयार हुन्छन । यस्तो स्थितिमा अब दलितहरू यथास्थितिमा नबसेर औपचारिक रुपले हिन्दूधर्म र बाहुनसंग सम्वन्ध विच्छेद गरेर नयाँ वैज्ञानिक लोकधर्ममा आफूहरूलाई प्रवेश गराई जमाना अनुसार आफूलाई परिवर्तन रुपान्तरण गर्न सक्नुपर्दछ । त्यो जातीयता र छुवाछूत बर्णाश्रमधर्म बाहेक नेपालको स्वदेशी बुद्धधर्म वा अन्य धर्ममा आफूलाई समाहित गर्न सकिन्छ । हामी दलित खसआर्य मूलका चौथो दर्जा शुद्रमा पर्ने हिन्दू परिवारका हिन्दूमार्गी हौ भन्ने भावना भ्रमबाट पन्छिएर जातीय भेदभाव र छुवाछूत बिरोधी मानवतावादी वैज्ञानिक अन्य धर्ममा आस्था राख्दै समाहित हुनु उत्तम उपाय देखिन्छ । दलितहरूले पनि के बुझनु पर्दछ भने हिन्दूधर्म भनेकै वर्णाश्रमवादी विशेषता चरित्र बोकेको जनैधारि–तागाधारि समूहहरूको वैदिक ब्राह्मणधर्म भएकोले जातपात–छुवाछूत हटाउ भन्दैमा यो ब्राह्मणवादी पुरातन वेदधर्म संस्कार–सँस्कृति एकाएक हटने कुरा पनि भएन । गाईलाई धोएर कहाँ गधा हुन्छ र ? ढुंगालाई पुजेर कहाँ ईश्वर प्राप्त हुन्छ । यसर्थ अब, दलित समुदायले हिजोको जस्तो हिन्दूधर्म बाहुनसंग टाँसिएर–गाँसिएर जिउहजुरि गरेर एकात्मक सामान्ती राज्यमै बस्ने कि उसको धर्म परित्याग गरि अर्को धर्म ग्रहण गर्दा वा अँगाल्दा दलित समुदायको भलो हुन्छ भने त्यसो गर्न र पहिचानको संघीय राज्य निमार्णमा लाग्न दलितहरू तयार रहनु पर्दछ ।
हिन्दूधर्म भित्रै सुधार सँशोधन गर्दै त्यही भित्र रहेर बस्ने कि धर्म परिवर्तन गरेर अर्कै नयाँ यूगीन बाटो रोज्ने ? भन्ने बारेमा हिन्दूधर्म उदगमस्थल भारतमा व्यापक धार्मिक पूर्नजागरणका अभियानहरू भएका छन । हिन्दूधर्ममा नयाँ सुधारका कानुन निर्माण, धार्मिक, सामाजिक, साँस्कृतिक परिवर्तनका पक्षमा उभिएर कैयौ सुधारका सशक्त धार्मिक आन्दोलनहरू भएका छन । त्यस्ता भारतीय समाजसुधारक नेताहरुमा–सन्तज्ञानेश्वर, नामदेव, एकनाथ, तुकाराम, कवीर, मीरा, दादु, सूरदास, समर्थगुरु रामदास, स्वामी दयानन्द सरस्वती, स्वामी विवेकानन्द, रामकृष्ण परम हंस, राजा राममोहन राय, बालशास्त्री जाम्बेकर, नारायणगुरु, ज्योतिबाफुले, गोपालमुख, कविर, स्वामीनायक परियार, महात्मा गान्धी, डा.भीमराव अम्बेडकर, फुलन देवी जस्ता हजारौ व्यक्तित्वहरूले जातपात छुवाछूत र जातीय भेदभाव विभेद उत्पीडन विरुद्ध भारतमा हिन्दू ब्राह्मणधर्म भित्रै ठूलाठूला संघर्षहरू जनचेतना समाजमा फैलाउँदै आएको इतिहास पाइन्छ । जातिवादी अहंकार विरुद्ध धार्मिक सांस्कृतिक रुपान्तरण र जातीय मुक्तिका खातिर सांगठनिक रुपमा नक्सलाइट, दलित प्यान्थर जस्ता क्रान्तिकारी आन्दोलनहरू भएका छन । यसले पनि भारतमा छुवाछूत र जातीय भेदभाव उत्पीडनको अन्त भएन । भारतीय दलित आन्दोलनका महान नेता डा. भीमराव अम्बेडकर जो जीवनभर छुवाछूत विरुद्ध संद्यर्षमा लागिरहे । आफू जन्मजात अछूत हिन्दू भएर पनि हिन्दू ब्राह्मण धर्मको उत्पीडन विभेदबाट मुक्त हुन नसकि बाध्य भएर उनले हिन्दूधर्म परिर्वतन गर्ने नयाँ युगीन बाटो रोजे । अनत्यमा उनले बुद्धधर्ममा आफ्नो जीवन सम्र्पण गर्ने निर्णय गरे । बुद्धधर्ममा प्रवेश गर्दा उनले भविश्यवाणी गरेका छन । “पढे लेखेका शिक्षित हिन्दूहरू निश्चयनै एकदिन बुद्धधर्म तर्फ फर्किने छन ।” बौद्धमार्गी डा. भीमराव अम्वेडकर सन १९५६ मा नेपालको काठमाण्डौमा एक अन्र्तराष्ट्रिय बुद्धिष्ट सम्मेलनमा भाग लिई आफू बुद्धधर्म अँगाल्नुको कारण दिदै बुद्ध धर्मदशर्न वारे सारगर्भिर्त प्रवचन दिएका थिए । यसले नेपालमा बुद्धधार्मिक जागरणको लहरनै ल्याइदिएको थियो । भारतमा डा. भीमराव अम्बेडकरले अश्पृश्यता, जातपात र छुवाछूतको पृष्ठपोषक मानवताको कलङ्क अस्पृश्यता जातिवाद विभेद–उत्पीडन निमत्याउने हिन्दूधर्मशास्त्र मनुस्मृतिग्रन्थलाई सार्वजानिक स्थलमै खुलेआम जलाइ दिएर आफू हिन्दूधर्म त्याग्दै सदाकालागि त्यसबाट अलग्गिएको एतिहासिक घोषणा समेत गरे । डा. अम्वेडकरबाट नेपालमा दलित भनिएका नेता तथा गैर दलित नेता समुदायले मुक्तिको प्रेरणास्रोत धार्मिक रुपान्तरण परिवर्तन पनि एक हो भन्ने कुराको पाठ सिकाउँदछ । तर, नेपालका दलितहरूको अगुवाइ गर्ने नेता कार्यकर्ता तिनका संघसंस्था, संगठन, आन्दोलकहरूले डा. अम्बेडकरले जस्तो हिन्दूधर्म परिवर्तन परित्याग धार्मिक सांस्कृतिक रुपान्तरणको अलग बाटो अपनाएर अर्को नवीन पथ हिडने मार्ग पहिल्याउन सकेको देखिदैन । उनीहरूमा नयाँ विचार नवीन धर्मको अध्ययन अबलम्वन गर्नु भन्दा हिन्दूधर्मभीरु भएर जुका जस्तै ब्राह्मणवादी धर्ममा टाँसिइ सुधारवादी बाटो रोजेको पाईन्छ । यसले उनीहरूलाई कही पनि पुरयाउदैन । घुमी फिरि उही रुम्जाटार भनेझै भएको देखिन्छ ।
राणा सासनको अनत्य वि.सं.२००७ साल देखि यता दलित समुदायका मुक्तिका लागि भनेर नेपालमा दर्जनौ संघसंस्थाहरू खोलिएका छन । केहि पुराना संघसंस्थाहरुमार्— विश्व सर्वजन संघ (१९९७), टेलरयूनियन (२००७), निम्न समाज सुधारक संघ (२००८), जाततोड मण्डल (२००८), समाज सुधारक संघ (२०११), नेपाल राष्टिय दलित जनविकास परिषद (२०२४), पछौटे जाति सुधार संघ (२०३७), नेपाल अति पिछडिएको जनविकाश परिषद (२०३८), जातीय विभेद उन्मूलन मँच (२०४४), उत्पीडित जातीय उत्थान मँच (२०४५), नेपाल दलित संघ (२०४५), नेपाल उत्पीडित जातीय मुक्ति समाज (२०४७) आदि–आदि अनेकौ नामका थुप्रै दलित हकहितका लागि संघसंस्थाहरू खोलिएका छन । त्यस पछि खोलिएका अनैकौ दलित मुक्तिका संघसँस्था सँगठन एनजिओ आइएनजिओहरू छयासछयास्ती छन । तिनका रुपरेखा र कृयाकलापहरू याहाँ उल्लेख गरि साध्य छैन । तर ती सबै संघसंस्था संगठनहरु आमूल परिवर्तन र अग्रगमन भन्दा पनि बाहुनवादी नेता सम्बन्धित पार्टीहरु र तिनका जीउहजुरी निर्देशनमा चलेकाले भनेजस्तो उपलब्धी हासिल गर्न सकिरहेका छैनन । नेपालको दलित आन्दोलनमा नाम चलेका पुराना अग्रज दलित नेताहरूमा—बाग्लुङका भगवत सर्वजित विश्वकर्मा, हिक्मतसिह विश्वकर्मा, मनवीर विश्वकर्मा, गँगाबहादुर परियार, ईलामका कालि बहादुर सुन्दास, त्रेहथुमका गोपाल लम्जेल, सुनसरी धरानका जदुविर विश्वकर्मा, हिरालाल विश्वकर्मा, काठमाण्डौका शीर्षनाथ कपाली, पाल्पाका शंकर कपाली लगायत पदम सुन्दास, टी.आर विश्वकर्मा, शंकर विश्वकर्मा, जवाहर रोका, सिद्धिबहादुर खडगी, नारायण प्रशाद कपाली, मेघ बहादुर विश्वकर्मा, गोल्छे सार्की, पदमलाल विश्वकर्मा आदि पुराना नेताहरु र त्यस पछिका याहाँ नाम उल्लेख गर्न छुटेका अन्य कैयौ नव दलित नेताहरू चर्चित छन । वि.सं. २००७ साल पछि बागलुङ्ग मुलपानीका भगवत सर्वजित विश्वकर्माले गरेको दलित मुक्ति आन्दोलनको उदघोष होस यात पर्वतका मनबहादुर विश्वकर्मा वा पंचायतकालमा काठमाण्डौका शीर्षनाथ कपाली, शँकर कपाली, टी.आर.विश्कर्मा, चित्र शिकारु वा त्यस पछिका गोल्छे सार्की, पदमलाल विश्वकर्मा जस्ता अन्य दलित नेताहरूले रोजेको आन्दोलन र परिवर्तनका बाटाहरू हुन । वैदिक हिन्दू ब्राह्मणवादी धर्म परित्याग नभएर हिन्दूधर्ममा सुधारवादकै सामाजिक प्रतिछायाँहरू देखिन्छन । दलितहरू आफूलाई हिन्दूआर्य जाति र हिन्दूधर्मी ठान्नुले उनीहरूमा हिन्दू ब्राह्मणधर्म प्रतिको मोह सम्बन्ध अटुट भेटिन्छ । नेपाली ऐतिहासिक समाजशास्त्रीय मानवशास्त्रीय दृष्टिले अध्ययन गर्ने हो भने सबै दलितहरू हिन्दू खसआर्य होइनन । आदिवासी जनजाति मंगोलियन जातिले दलितसंग विवाह गर्नाले हिन्दूवर्णाश्रम व्यबस्था हिन्दू ब्राह्मण समाजमा अछूत दलित पनि भएका छन । बाहुनले थरगोत्र नामाकरण गर्नाले तिनका जात खस्नाले कतिपय दलितका र आदिवासी जनजातिका जात–थरहरूसंग बाहुन,क्षेत्रीका थर गोत्रहरु मिल्दछन । शारिरीक रुपरंग बनौटलाई हेर्दा कामी, दमाई, गाइने जाति क्षेत्री, बाहुनबाट खसेका दलित हुन भने सार्की जाति आदिवासी जनजाति मंगोलीयन दलित हुन भन्ने गरिन्छ । हिन्दूधर्मशास्त्रमा शुद्र र अछूत दास भनि हेला–होचो गरिएका, हिन्दू बाहुनको छूवाछुत र विभेद उत्पीडनमा परेका मतुवाली दलित जाति सबै हिन्दूआर्य हुन भन्ने आधाररु देखिदैन । दलितले सँधै सुधारवादी आन्दोलन वैदिक ब्राह्मणधर्म रोज्नाले र धर्मभीरु बाहुनको पिछलग्गु हुनाले दलित मुक्ति र परिवर्तन दिन सकेन । सँधै दलितहरू छुवाछुत विभेद र बाहुनवादको उत्पीडनको सिकार मारमा परिरहनु परयो । अब यथास्थितिमा त्यहि हिन्दूवाद बाहुनवाद भित्र रहेर सुधारको अपेच्छा राख्नु भन्दा त्याग परिवर्तन र अग्र्गमनका आक्रामक छल्लाङ्गं हान्दै राजनीतिक, सामाजिक, सांस्कृतिक परिवर्तनका लागि दलित समुदायहरु आदिवासी जनजातिहरुको पहिचान सहितको संघीय नेपालको आन्दोलनसंगै एकाकार भएर संघीयता र जातीय स्वशासनको लागि अगाडि आउनु पर्ने आबश्यकता देखिन्छ । कपाल दुखेको बिमार नाइटोमा ओखती दलेर सन्चो हुँर्दैन । यथास्थितिवादी एकात्मक बाहुनवादी राज्यमा रहेर होइन अग्रगमन परिवर्तन र क्रान्तिकारि संघीय नेपालको बाटो रोज्नु दलितको हितमा देखिन्छ । तर केही बाहुनवादी दलितहरु प्हिचान र संघीयताको बिरोध गर्दै हामी पनि खसआर्य हिन्दू हौ भन्दै बाहुनवादसंग सांठगाँठ हातेमालो गर्दै हिडनुले उनीहरुमा बाहुनवादी धङधङी देखिन्छ ।
जातीय पहिचान सहितको संघीयता, स्वशासन, धर्मनिरपेक्षता, आत्मनिर्णयको अधिकार, राज्यसत्तामा सवै जात जातिको समानुपातिक सहभागिता पहुँच प्रतिनिधित्व हुनुपर्दछ । राज्यको हरेक निकायमा समावेशी समानुपातिक प्रतिनिधित्व, आरक्षण, दलित बिशेषाधिकार जातीय छूवाछूत विभेदको अन्त्य जस्ता विषयलाई तत्काल राज्यद्धारा कार्यान्वयन गर्न सकारात्मक हस्तक्षेपको नीति र शसक्त दबाब  आन्दोलनका कार्यक्रमहरु सृजना गरिनु पर्दछ । कतिपय महत्वपूर्ण राष्ट्रिय इसुहरूमा सरकारको कार्यकारिणी तहमा तत्काल निणर्य गरेर नियम कानुन परिवर्तन, सँशोधन वा निमार्ण गरेर दलितका समस्या समाधान गर्न नसकिने होइन । छूवाछुतलाई मानवता विरोधी जघन्य अपराधका रुपमा परिभाषित र दण्डित गरिनु पर्दछ । तर बाहुनवादी शाषकहरू त्यसो गर्न तयार छैनन । बाहुनवादी राज्यद्धारा पछाडि पारिएका दलित र आदिवासी जनजाति, मुस्लिम र सिमान्तकृत समुदायकाहरूलाई दिइने सरकारी आरक्षण कोटा विशेषाधिकारमा समेत बाहुनवादीहरूको तिब्र बिरोध रहँदै आएको छ । आदिवासी जनजाति, मुस्लिम तथा दलितहरूको कमजोर पक्ष के देखिन्छ भने एकातिर हिन्दूवाद/बाहुनवादको अन्याय–अत्याचार, छुवाछूत, जातीय विभेद, शोषण, उत्पीडनको विरोध आलोचना गर्ने तर अर्कातिर ठोस एक्सनका संघर्ष पनि नर्गने, उसैलाई पुज्दै उसको दास भएर उसैको सामान्ती ब्राह्मणवादी राज्यसत्ता हिन्दूधर्म सँस्कार–संस्कृति अँगाल्दै उसैसँग टाँसिइ–गाँसिएर जीउहजुरी गरेर बस्ने यो दोहोरो चरित्रले उनीहरूको राजनीतिक, सामाजिक, साँस्कृतिक तथा जातीय पहिचान विभेदबाट मुक्ति नभएको हो । हिन्दूवाद/बाहुनवादको विभेद उत्पीडनबाट मुक्तिका लागि एकात्मक सामान्ती केन्द्रीकृत राज्यसत्तामा रहेर सुधारवादी विकल्प रोज्ने कि उसले लादेको औपनिवेशिक धर्मसंस्कृति परित्याग बहिष्कार गर्दै एकात्मक राज्यसत्ता परिवर्तन गरेर एक्सन सहितको नयाँ युगिन जातीय पहिचान सहितको संघीय बाटो रोज्ने ? यो छनौट सरोकारवाला पक्षको इच्छा चाहाना एकसनमा भर पर्ने कुरा हो । एकात्मक केन्द्रीकृत सामान्ती राज्यसत्ताबाट स्वतन्त्र भएर जातीय मुक्ति प्राप्त गर्न जातीय स्वशासन र आत्मनिणर्यको अधिकार सहितको संघात्मक स्वायत्त राज्यको बाटोमा लाग्नु उत्तम विकल्प देखिन्छ । सदियौ वर्षदेखि आजतक सोसल इलिट समुदायबाट दबाइएका पिसिएका–थिचिएका बहिस्करणमा पारिएका आदिवासी जनजाति, दलित, मुस्लिम, मधिसे र पिछडिएका क्षेत्र वर्गले एकात्मक जातीय राज्यबाट स्वतन्त्र भएर मुक्ति प्राप्ति गर्नु पर्दछ । प्रभुत्व वर्ग शाषक ठालुहरुको हातमा रहेको वर्तमान एकात्मक केन्द्रीकृत राज्य शासन सत्ताको अन्त गरेर सबै जातजातिको अपनत्व पहिचान झल्कने पहिचान सहितको संघीय राज्य निर्माण आजको ठोस आबश्यकता हो ।

स्रोत : -  राज्यसत्ता

No comments:

Post a Comment