Sunday, April 13, 2014

दलित माथि दमनको प्रतिरोध- होमनाथ सुवेदी

होमनाथ सुवेदी वुडव्रिज, भर्जिनिया
नासो कम्युनिटी युएसएले विगत दश वर्षदेखि नेपालमा विद्यमान सामाजिक विभेदको प्रतिरोध गर्न गरेका प्रयत्नहरु प्रशंशनीय छन् । यो संयुक्त राष्ट्रसंघको महासभाले पारित गरी मनाउन प्रारम्भ गरेको, मार्च २१ को, सबै प्रकारका जातीय विभेदको विरुद्धको अन्तर्राष्ट्रिय दिवस हो । यो अवसरले नासोको लक्ष्यलाई अझ सक्रिय बन्न र बनाउन टेबा दिएको छ । त्यो भन्दा पनि बढी मार्च २१मा सबै प्रकारका जातीय विभेदको विरुद्धको अन्तर्राष्ट्रिय दिवसले जातीय अतिक्रमणको विरुद्ध खडा हुन आम जनतालाई प्रेरणा दिएको छ । यो नेपालमा बन्न गइरहेको संविधान र राज्यमा मूल प्रवाहीकरण गर्नुपर्ने समुदायहरु विषयक अन्तरक्रिया कार्यक्रमले अझ धेरै विवरणात्मक रुपमा आज के के कुरामा ध्यान दिनु आवश्यक छ त्यसमा जोड दिएको छ । अमेरिकामा हुने सबैको अवस्था भनौ धेरैको अवस्था नेपालको जातीय व्यवस्थामा जे जस्तो भए पनि यहाँ सबैको उच्च स्थान छ, ईज्जत छ गौरव छ । सबैले सबैको समान सम्मान गर्दछन् तर नेपाल फर्केर हेरेमा गणतन्त्र आयो, मुलुकी ऐनले सबैलाई बराबर बनायो, संयुक्त राष्ट्रसंघले जातीय विभेदको निषेध गर्न च्यार्टर बनाए पनि नेपालमा अझै हिन्दु धर्माधिकारीहरुबाट जातीय भेदभावको नियत कायम छ । त्यो पनि हिन्दु धर्म र आर्य ग्रन्थहरुको दुहाइ दिएर ।

त्यो अबुझपन अन्धताको विरोधमा भनौ त्यसको प्रतिरोध गर्न म उनीहरुको स्मृति र पुराणका उदाहरण दिएर मान्छे सबै वरावर हुन् भन्न चाहन्छु । यहाँ म यो के कुरा स्पष्ट गर्न चाहन्छु भने यो दलितलाई दबाएर आएको अन्धयुगले बसालेको बानीले गर्दा न जानेर पनि हामीमध्ये राम्रा मानिसबाट पनि त्यस्तो गलत काम भएको हुन सक्छ । तपाईहरु कसैलाई दबाउन चाहनुहुन्न । म मान्छु । तपाई हाम्रो दोष हैन यो पुरानो अन्ध युगले दियो । ऐले तपाई हामी त्यसबाट मुक्त हुन प्रयत्नशील छौं । अब त्यो दमनको व्यवहार तपाईहामी कसैले पनि देखाउन हुदैन गलत हो भन्ने बुझेका छौं र त्यही कुरा पिछडिएकामा पुराउन र उनीहरुलाई उठाउन कसरी सकिन्छ भनेरै तपाई हामी यहाँ अग्रसर छौं । त्यसैले यी कुरालाई नकारात्मक रुपमा न लिन सबै वर्गका व्यक्तिहरुमा म अनुरोध गर्दछु । हिन्दू परम्परामा आज अवशेष मात्र भएर पनि समाजमा असन्तोष दिइरहेको जातिप्रथाले दलितहरुलाई पशुको रुपमा पेश गरेको छ । जसको तिब्र विरोध आजका न्यायप्रेमी जनताको कर्तव्य हो । वास्तवमा हाम्रा पुराना पुराण र प्रचलनतिरै हेरौं । सत्य युगमा जातिको आधारमा कुनै भेदभाव थिएन । कालान्तरमा व्यवसाय अनुसारका जातका नाम रहे र व्यक्तिले गरेको व्यवसायको आधारमा उसको जात बदलिन सक्थ्यो । जन्मदा कुनै व्यक्ति कुनै खास जातको लागि ठोसिएको थिएन । यस कुरालाई भविष्य पुराण व्रद्म पर्वको अध्याय २२ ले प्रमाणित गर्दछ । तदनुसार व्यास पंडितराज ब्राह्मण जवैर्त -बोटे_ स्त्रीबाट जन्मेका थिए । पराशर स्वपाक -चाण्डाल_ स्त्रीबाट जन्मे, शुक शुकी बेश्याबाट, कणाद अलुकी -बेश्या_ बाट, शृङ्ग ऋषि हरिणी -बेश्या_ बाट, वशिष्ठ गणिका -बेश्या_ बाट, मन्दपाल लाविका -बेश्या_ बाट, माण्डव्य मण्डुकी -बेश्या_ बाट जन्मेका थिए तर उनीहरु तप र ज्ञानको प्रतापले ब्राह्मण बने । त्यस्तै तपको वल यानी व्यवसायले क्षेत्रीबाट ब्राह्मण पनि हुने गरेका छन् । जस्तै वायु पुराण अनुसार अजमिढ शौनक आदि क्षेत्रीबाट व्यवसायले ब्राह्मण भएका हुन् । शौनकका वंशमा चारै जातका मान्छे जन्मेका थिए । शौनकलाई वायु पुराण ३।४।५ ले अष्र्टिषेप क्षेत्रीय ब्राह्मण हुन् भनिएको छ ।

दिव्य भारद्वार ब्राह्मण क्षेत्री पनि भए । त्यस्तै राजा देवोदासको छोरा ब्रह्मनिष्ठ थिए । जन्मले क्षेत्री तप कर्म वा व्यवसायले ब्राह्मण भए । जन्मले मात्र हुँदैन । जन्मले त द्रोण, कृप, कश्यप आदि पनि तल्लो जातका थिए । दलितमा जन्मेर पनि राम्रो व्यवसाय र कर्मले उनी संसार प्रसिद्ध ब्राह्मण भए । अझै ब्राह्मण र रजसको छोरो केतुमान क्षेत्री भयो । यस्ता उदाहरण कति छन् कति, विश्वकर्माको छोरा विश्वकर्मा नै हुनुपर्छ भन्ने केही जरुरी छैन । जन्मदा सबै शुद्रवत् हुन्छन् । उनीहरु ज्ञान शीप र अभिवृत्तिले उनीहरुलाई ब्राह्मण र शुद्र बनाउँछ तर आजको हिन्दु आफ्नो वेद, ब्राह्मण र पुराणका कुरा नमानी अझ अन्धो भक्त भएर दलितलाई अझ अछुत घृणित बनाउने दुस्प्रयासमा छन् । त्यो संभव छैन । अझै हेरौं चित्रमुख नामको वैश्य वशिष्ठको सहायताले ब्राह्मण भयो र वशिष्ठको नाती परासरले उसकी छोरी विवाह गरे । वीतहव्य मृगुको सहायताले ब्राह्मण भयो । योग्य व्यक्तिलाई बा्रह्मण बनाउन हुन्छ र अधम मान्छे स्वत शुद्रमा परिणत हुन्छ । पहिले वर्णभेद थिएन पछि कर्म क्रियाले भेद भएको हो । एक वर्णमिदम् पूर्व विश्वमासीन युधिष्ठिर कर्मक्रिया विभेदेन चातुर्वण्यम् प्रतिष्ठितम ।। यी हिन्दु ईश्वरवादी छन् ईश्वरको कुरा मान्छन् तर भविष्य पुराण ब्रह्म पर्व अध्याय ४२ अनुसार एक पिता ईश्वरका सन्तान सबै सबै छोरामा कुनै प्रकारको जातिपातीके भेदभाव हुन सक्दैन । तल्लो जात र माथिल्लो जात मान्नेहरु वेद पुराणकै कुरा पनि कहाँ मान्छन् र आँफू ठूलो भएर अरुलाई होच्याउन पाएकोमा उनीहरुलाई गौरव छ । अझ ईश्वरकै नाममा तल्लो जातिलाई दवाइ रहेछन् । अस्तित्वहीन ईश्वरको आडमा गरिने यी सबै प्रकारका परखालहरु भत्काएर मात्र दलितको पूर्ण उद्धार हुन सक्छ अन्यथा दलित सँधै दलिन्छ मात्र, उसले कहिल्यै पनि शिर उठाउन सक्दैन । सत्य युगमा नभएको उच निचको भावना त्रेता द्वापरमा प्रवल हुँदै आएको थियो भने द्वापर र कलिको वीचको अन्ध युगमा यसले बेस्करी जरा हाल्यो दाँत गाढ्यो र आज अनिश्वरवादी दर्शनको यत्ति ठूलो हुरी आउँदा पनि यहाँ अझै विश्वकर्माले छोएको खान हुन्न र विश्वकर्मालाई मन्दिर भित्र पस्न नदिने जस्ता कुकर्मले घर गरिरहेछन् । यी सामाजिक शोषणबाट यी दलितहरु कहिले मुक्त हुनेहुन् यसको प्रतिक्षा मौन रुपमा हैन संघर्षको मैदानमा गरिनुपर्छ । आमुल परिवर्तन विना यो उखेलिन्न । राम्रो कुरा यहाँ गाड्न गाह्रो छ । नराम्रो छ भने त्यो अति प्रिय हुन्छ । त्यस्ता खोपडी नै नउडाए सम्म यहाँ दलित जातिले मुक्ति पाउन्न । खोपडी हतियारले उडाएर उड्दैन आर्य सभ्यताको र संस्कृतिको तथ्यपूर्ण व्याख्या गर्दै मानवीय स्वतन्त्रता समानता र भातृत्वको पाठ हिन्दु परिवारबाट दिइनुपर्छ अनि मात्र अन्धविश्वास समाप्त हुन्छन् । फोहोरी खोपडीहरुको अवसान हुन्छ र दलितमाथि भएको विभेदबाट मुत्ति मिल्छ ।

 . मैले यहाँ समानता, स्वतन्त्रता र भातृत्वको व्याख्या गर्नतिर लागिन । यस सम्वन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्धि र संझौताको व्याख्या गर्नतिर लागिन । बरु केवल हाम्रो मूल समाजमा अझै पनि जातीय विभेदको कन्टामिनेशन हटाउन सकिएको छैन । त्यसको पछाडि सबभन्दा ठूलो शक्ति कट्टर कर्मकाण्डी हिन्दूहरु नै हुन् । यहाँ पनि मन्दिरको नाम र पूजाका चर्चा गर्नेको अगाडि म गएँ भने म स्वयम् तर्सन्छु । कुनै अन्धो कन्ट्टर हिन्दु यहाँ भए कही त्यस्तो अन्यायपूर्ण व्यवहार नगरिदेओस् । यो वास्तविकता हो । हामीले लाज मानेर हैन । ढुङ्गाको मूर्ति पूजा गरेर जिउदा जल्दाबल्दा मानवमाथि छुरी चलाउने पददलित गर्न खोज्नेको प्रतिरोधमा हामीले संलग्न हुनैपर्छ । नासोले यही विचारको नेतृत्व गर्नुपर्छ । तपाई हामी जुनसुकै धर्म, जाति र लिङ्गको भए पनि हामी मानवतावादी हुनै पर्छ । मान्छेभन्दा ठूलो ईश्वर अर्को छैन । प्रेमभन्दा ठूलो अर्को कुनै सम्विधान छैन । मान्छेले मान्छेको हृदयलाई साक्षात्कार गर्न सक्यो भने त्यो भन्दा ठूलो अर्को आत्मज्ञान छैन । मुखमा राम राम बगलीमा छुरी लिएर हिड्ने मानवीयता र नैतिकता हीनहरुको आत्मामा शैतानियत बसेको हुन्छ ।

उसको बोली र व्यवहारमा एकता हुदैन । यस्ता अदृश्य भयावह मनुषेको रुपमा शैतानहरुसित लड्न मानव मात्रले सदा सचेत रहनुपर्दछ । यो सन्दर्भले ऐले हिन्दु, नेपाल र नेपालीको बीचमा कुरा गरिए पनि यो समस्या विश्वका अरु अरु वर्गमा हाम्रो भन्दा अझ घृृणास्पद रुपमा व्याप्त छ । हामीले हाम्रो आफ्नो मात्र दुनु सोझाएर एक्लै मुक्त हुने व्यक्तिवादी चरित्र देखाउने हैन । हामीले यसलाई यो समाजको समस्याको रुपमा प्रतिरोध गर्न, यस्तो दमनको निषेध गर्न हामीले व्यक्ति व्यक्ति, राष्ट्र राष्ट्र, अन्तर्राष्ट्र अन्तर्राष्ट्रको संयुक्त आन्दोलनबाट न्यायपूर्ण समाजको स्थापना गर्नुपर्छ । यसैको लागि संयुक्त राष्ट्र संघको महासभाले यो दिवस मनाएर यो आन्दोलनमा सबैमा ऐक्यवद्धता कायम गर्न खोजेको छ । गर्नेले जे सुकै सोचेर गरेको भए पनि यो दिवसले नासो र नासो कम्युनिटीका भातृसंगठनहरुलाई होस्टेमा हैसे गरेर अगाडि बढ्न अझ प्रेरणा दिइरहेको छ । हामी सब एक हौं सलाडको बौलमा जस्तै हामी विश्वमा भरिएका छौं । स्वतन्त्रता, समानता र भातृत्वले मानवताको यौटै सूत्रमा बाँधिए पनि यो समाजिक धारणाले व्यक्तिको अस्तित्वलाई अतिक्रमण गर्दैन, यो समानताको नीति र व्यवहारको स्पिरिटले जनजातीय पहिचानलाई जीवन्त र दिगो राख्छ, कमजोर हुनदिन्न । विश्वभरका मानव मात्रको यो एकात्मभावले अनन्यतालाई टेबा दिन्छ र प्रत्येक व्यक्ति यो समाजमा भाइ भाइ भएर बस्न योग्य हुन्छ । यौटै सलाडको बलमा अनेक डायस्पोराको बास हुन्छ तर मित्रताको नयाँ माहोल सिर्जना हुन्छ र यौटा नयाँ जातीय विभेद हीन नयाँ समाजको सिर्जना हुन्छ । यस्तो सुन्दर समाज बनोस यो धर्तीमा हामी सदा नजीक हुन्छौं, एक हुन्छौं ।

यद्यपि हाम्रो हुनुभित्र नास्ति छ। त्यही नास्तिभित्र हामीले हरएक मानवले आआफ्नो लुप्त गौरवलाई पुनस्र्थापित गरेर अस्तित्वपूर्ण जीवन जिउन सक्ने यो समाज बनाउनु छ । साहित्य कला र सँस्कृतिले महिमामन्डित यौटा नयाँ धर्तीको निमार्ण गर्नु छ । यो त्यसै हुदैन । यो कुनै भगवानले आएर बनाइदिदैन । तपाई हामीले आफै बनाउनुपर्छ । हामीले नै काम गनुपर्छ । तपाई आफ्नो भाग्य निर्माता तपाई आफै हो । म मेरो विश्वकर्मा म आफै हँु । तपाई आफ्नो विश्वकर्मा तपाई आफै नै हो । मानव आफ्नो लागि स्वयम् कर्मशील रहन अभिशप्त छ । भेदभाव रहित समाजको सिर्जनामा चिन्ता गर्न जन्मना मान्छे अभिशप्त छ । पीडा होला यो संघर्षमा तर यसैमा मुक्ति निहित छ । यो मार्च २१ को दिनले यिनै कुरालाई संकेत गरेको छ । दमनको निषेध गरौं र सुन्दर विकल्पको वरण गरौं । चाहे जुनसुकै प्रकारको होस् । दलितमाथि भएको दमनको प्रतिरोध गरौं । दलित मुक्तिको सार यसैमा सन्निहित छ । यसको लागि हाम्रो मूल भूमि नेपालको नयाँ सम्विधान निर्माणको क्रममा छ । यो सम्विधान सभामा दलितहरुको राम्रो प्रतिनिधित्व गराएर दलितलाई दलदलबाट उठाएर माथि उठाउन दबाब दिनु पनि नितान्त आवश्यक छ । दलित पीडित र महिलाहरुको मोर्चाको रुपमा सम्विधानसभाका सदस्यहरुलाई दबाब दिन यी कामहरु गर्न आवश्यक छ M

• गोस्ठीको आयोजना गरी उनीहरुलाई वक्ताको रुपमा बोलाउने

• पत्रपत्रिकामा लेखहरु लेखाउने

 • रेडियो, टिभीबाट प्रसारण गराउने

 • मागहरुलाई अलि स्पस्ट रुपमा राख्ने नेपालमा बन्न गइरहेको संविधान र राज्यमा मूल प्रवाहीकरण गर्नुपर्ने समुदायहरु को सन्दर्भमा विधिवेत्ताहरुको अन्तर्कि्रयाहरु गराई वर्तमान परिप्रेक्षमा के के बुंदा कहाँ कहाँ कसरी समावेश हुनुपर्छ त्यसको खाका लिएर सांसदहरुको टेबुलमा पुराउने र त्यसको लागि शान्तिपूर्ण आन्दोलन नेपाल देशभरमा जारी राख्न लगाउन प्रेरणा दिन आवश्यक छ । जुन काममा नासोको अग्रसरताको आवश्यकता छ । यसमा सफलता मिलोस् । क्रमशः हाम्रो समाजमा भएका असमान, विभेदकारी व्यवहारहरु बन्द होउन् र समानताको सँस्कृतिको विकाशको हाम्रो लक्ष्य पूरा होस । बस । ऐलेलाई यत्ति भए पुग्छ ।
- साभार:- newsabhiyan

No comments:

Post a Comment