Thursday, January 22, 2015

विभेदबारे एक बाहुनको बकपत्र - शिवहरि ज्ञवाली

मैले सामना गरेका प्रश्न 
“तिम्रो दलित गर्लफ्रेन्ड छ कि क्या हो ?” केही समयअघि एसियन ह्युमन राइट्स कमिसनमा कार्यरत तरङ्गले सोधिन् ।
“किन ?” मैले प्रश्न गरें ।
“तिमी ब्राह्मण भएर पनि दलित सवालमा काम गरिरहेका छौ । यसको कारण तिम्रो दलित समुदायको गर्लफ्रेन्ड हुनुपर्छ ।” मैले त्यसो होइन मात्र भनें ।
गाउँमा छँदा म बारम्बार अंग्रेजी शिक्षक आदरणीय गुरु थमन साठीघरकोमा जान्थें । कैयौं दिन उहाँसँगै बस्थें । म गाउँमा अरूको तुलनामा मगर समुदायसँग बढी घुलमिल थिएँ । स्कुलमा पनि अधिकांश मगर साथी थिए । तर, गाउँमा “बाउ पण्डित छन्, छोराले कुन दिन मगर्नी ल्याउँछ, इज्जत फल्नेभो” भन्ने सुनिन्थ्यो ।
कक्षा आठमा पढ्न सुरु गरेपछि स्थानीय दलित साथीहरूसँग मिलेर क्लव गठन गर्ने र सामाजिक काम गर्न थालें । स्थानीय मेलापर्वमा गाउँमा दलित आमा दिदी बहिनीहरूका बर्को, साडी, तन्नालगायत जम्मा गरेर सांस्कृतिक कार्यक्रम गर्न सुरु गर्‍यौं । गाविस भवनमा सहभोज (चियापान)को आयोजना गर्‍यौं । स्थानीय एक विद्यालयका प्रधानाध्यापकले बहिष्कार गर्नुभयो । उहाँ ब्राह्मण समुदायका हुनुहुन्थ्यो ।
“तँ दलितहरूसँग किन काम गर्छस् ?” राजधानी छिरेको विगत ७ वर्षदेखि मैले प्रायः सामना गरिरहेको प्रश्न हो । विशेषगरी गैरदलित साथीहरूबाट र आफ्नै नातागोताबाट आउने प्रश्नको आशय म सहजै बुझ्छु । मेरा नातागोताको दृष्टिमा “कुलंगार” र “बिटुलो” नै हुँ । किनभने मैले उनीहरूले भनेझैं ‘बाहुन’ परीक्षाका कर्म गरिनँ । उनीहरूले भनेझैं लोकसेवा लडेर निजामती सेवामा जाओस् भन्ने सपना पूरा गरिनँ । उनीहरूले ‘अछूत’ मानेकाहरूसँग सहकार्य गरें, विभेद र अन्यायविरुद्ध परिवारभित्रै औंला ठड्याएँ ।
उनीहरूले ‘जंगली’ भनेकाहरूसँग सँगसँगै रमाएँ । बदलामा अनुशासनहीनको संज्ञा दिँदै मलाई अनुशासन सिकाउनेहरू परिवारभित्रै धेरै छन् ।
म यी सबैलाई एउटै जवाफ दिन्छुः “मेरो व्यक्तिगत रुचि र समाज बुझ्न ।” कतिपय साथी भन्छन्, “राम्रा अवसर किन छोड्छस् ? धेरै आदर्श नछाँट्, आदर्शको धोतीले श्रीमतीको धोती आउँदैन ।”
उनीहरूको आशय राम्रो तलब दिने संस्थाहरूमा जाऊ भन्नु नै हो । वास्तविकता के छ भने तुलनात्मक रुपमा प्रायः दलित गैरसरकारी संस्थाहरूमा परियोजनाहरू कम छन् । अधिकांश स्वयंसेवी तरिकाले चलेका छन् । केही ठूला र पूराना संस्थाहरू पनि चरम आर्थिक संकट ब्यहोर्दै आइरहेका छन् । दलित साथीहरूबाट पनि अक्सर यो प्रश्न सुन्ने गर्छु । उनीहरूको आशय “हाम्रो भाग खोस्न आयो” भन्ने पनि हुनसक्छ । त्यसो हो भने मेरो जवाफः “म भागै खोस्नु थियो भने ‘आधा लाख’ पारिश्रमिक पाइने संस्थाहरू छोडेर यहीँ आन्दोलनसँग जोडिन आउने थिइनँ । त्यो पनि स्वयंसेवी रुपमा ।”
दलित आन्दोलनसँग सामिप्यता
सन् २०१२ मा कालीकोटका मनवीर सुनारको हत्या भएको दिनदेखि म आधिकारिक रुपमा जागरण मिडिया सेन्टर (जेएमसी)सँग जोडिएँ । यसअघि पनि जागरण मिडिया सेन्टरका लागि कैयन् रेडियो नाटक, रेडियो फिचर र रिपोर्ट बनाइसकेको थिएँ । दलित गैरसरकारी संस्था महासंघ र एकता फाउण्डेसनले उत्पादन गर्ने रेडियो कार्यक्रममा आबद्ध भइसकेको थिएँ । म आफै सम्पादक रहेको इको नेपालद्वारा प्रकाशित पर्यावरण मासिक पत्रिकामा पनि दलित सवालले प्रमुख स्थान पाउँथ्यो । यही म्यागेजिनबाटै विपद् व्यवस्थापनमा दलित सहभागिताको बहस सुरु भएको थियो ।
मनवीर हत्यालाई एउटा स्वघोषित प्रतिष्ठित मानवअधिकारवादी संस्थाले रक्सी विवादसँग जोडेर प्रतिवेदन प्रकाशित गर्‍यो । त्यसविरुद्ध जागरण मिडिया सेन्टरको अफिसियल ब्लग सिर्जना गरी ‘मनवीर हत्या र लासहरूविरुद्ध विज्ञप्ति’ शीर्षकको लेख प्रकाशित गरें । यसले मनवीर हत्याका भ्रमहरूलाई चिर्न महत्वपूर्ण भूमिका खेल्यो । दलित संघसंस्थाहरूले ब्लग हेरेपछि घटनामाथि चासो देखाए । आन्दोलनमा उत्रिए र संविधानसभामा दलित सभासद्हरूले नाराबाजी गरे ।
ध्यानदिनु पर्ने कुरा के छ भने सबै मूलधारका मिडियाले ‘मनवीरे’ लेखेर मनवीर सुनारको समाचार प्रकाशित गरे । यो सामान्य देखिए पनि दलितहरूप्रति नेपाली मिडियाको हेपाहा प्रवृत्तिमात्र होइन, हाम्रो समाजको व्यवहारको प्रतिविम्ब पनि हो । जागरण ब्लग मनवीर हत्यापछि चर्चित भयो । अहिले यो ब्लग दलित समुदायसँग सम्बन्धित समाचारका लागि देशभित्र वा बाहिर प्रमुख समाचार स्रोत बनेको छ ।
सन् २०१३ दलित मानवअधिकारको सन्दर्भमा चर्चित रह्यो । मोरङमा माया सार्कीमाथि भएको अमानवीय व्यवहार, रौतहटको पिपरैयामा सिंगो दलित बस्ती विस्थापित हुनेगरी भएको आक्रमण र बाजुरामा मेलाका लागि खटिएका प्रहरी जवान दलित भएकै कारण घना जंगलबीचबाटै राति नै फर्काइएको घटना चर्चामा रहे । यी विषयमा सहकर्मी महावीर विश्वकर्मा र मैले निरन्तर ब्लगिङ गर्‍यौं । निरन्तर पीडितहरूको अवस्था र घटनाको वास्तविकतालाई उजागर गरिरह्यौं ।
यसैबीच दलित नागरिक समाजको नेतृत्वमा आन्दोलन सुरु भयो । सिंहदरबार घेराउ, धर्नालगायतका कार्यक्रम भए । प्रहरीले धरपकड गर्‍यो । यही समय जेएमसीमा इन्टर्नका लागि अमेरिकी संस्था एड्भोकेसी प्रेजेक्टबाट रेमण्ड अयोक आए । उनको सुपरभाइजरको रुपमा मैले काम गरें । पछि उनले मेरो भोगाइ आफ्नो संस्थाको वेबसाइटमा प्रकाशित गरे ।
उनको आफ्नो बेवसाइट मैले भनेको थिएँ, “म आबद्ध संस्थाका अध्यक्ष र म एउटै गाविसका हौं । उनी विश्वकर्मा समुदायको, म ब्राह्मण समुदायको । अहिले हामी सँगै एउटै आन्दोलनमा छौं । उनका बुबालाई हामी बलबहादुर बुबा भन्थ्यौं । मेरी आमालाई भान्जी भन्नुहुन्थ्यो । तर हाम्रो घरमा गएर सँगै बस्न सक्नुहुन्नथ्यो ।”
बलबहादुर बुबाका लागि खाने छुट्टै भाँडा थियो । अरू दलित आउँदा पनि त्यसैमा दिइन्थ्यो । खाना खाइसकेपछि खाएका भाँडा माझेर घाममा सुकाउन लगाइन्थ्यो । मलाई आमाले आगोको कोइला र सुनपानी छर्केर भाँडा भित्र ल्याउन अह्राउनुहुन्थ्यो ।
विडम्बना, बलबहादुर बुबाले बनाइदिएको तमौरा (तामाको एक भाँडा)मा फूल, प्रसाद राखेर हजुरबुबाको श्राद्ध र अन्य पूजाआजा गरिन्थ्यो । मैले एकदिन सुनपानी नछर्कीकनै भाँडा भान्सामा लगें । आमालाई हाकाहाकी प्रश्न गरें, “के सिधै भित्र ल्याउँदा आगो बल्छ ?”
आमाले कुनै जवाफ दिनुभएन, बरु अरू कसैले त देखेन भन्नुभयो । त्यस दिनदेखि आगोको कोइला हाल्न र सुनपानी छर्किन बन्द ! अहिले गाउँमा मेरा बुबा र बलबहादुर बुबा सँगसँगै विभेदविरुद्ध सक्रिय हुनुहुन्छ । हामी छोरा पुस्ता राजधानीमा सँगै सहकार्य गरिरहेका छौं । तर हामी सँगै एउटै आन्दोलनमा हुनुको अर्थ के होइन भने समाजमा विभेद छैन, हिजो थियो आज हट्यो र हामीले विभेद गरेका छैनौं । बरु विभेद झन् बढ्दो छ । कथित उच्च जातका व्यक्तिहरू यो कुरा स्वीकार्न चाहन्नन् । किनभने उनीहरू शोषणको महलमाथि ठडिएका छन् । मैले बुझेको के हो भने गरिब र अवसरबाट वञ्चित ब्राह्मण तथा गरिब दलित र जनजातिका समस्या कदापि एउटै हुन सक्दैनन् । र होइनन् पनि । यो मेरो आफ्नै भोगाइ पनि हो ।
विभेदको साक्षी
मसँगै कक्षा १ मा पढ्ने गम्भीरजंग, कृष्ण र गणेश नेपाली हाल भारतको बैङ्लोरमा मजदुरी गर्छन् । आर्थिक रुपमा भन्ने हो भने हाम्रो अवस्था करिब उस्तै थियो । तर, स्कुलमा उनीहरूलाई भुइँमा बस्न बाध्य बनाइन्थ्यो । स्कुलमा तिर्खा लागेमा उनीहरूलाई पानी खाने व्यवस्था थिएन । न त नजिकै रहेको मगरगाउँमा समेत उनीहरूलाई पानी खान दिइन्थ्यो । उनीहरूले ल्याएको खाजा वा हामीले ल्याएको खाजा कहिल्यै बाँडेर खान पाउँदैनथ्यौं । एकपटक बाँडेर खाँदा सहायक प्रधानाध्यापक रहेका र हरिद्वारबाट संस्कृतमा शास्त्री गरेका मेरा माइलाबुबाले मलाई पिट्नुभयो । र अबदेखि नखाने कबुल गराउनुभयो । कक्षा ६ मा पुगेपछि पाकशिक्षा भन्ने विषय थियो ।
त्यसमा विद्यार्थीहरूलाई खाना बनाउन सिकाइन्थ्यो तर मगर र दलित विद्यार्थीहरूले हेर्न मात्र पाउँथे । उनीहरूले सात कक्षा पढ्दा नपढ्दै आफन्तको सहयोगमा भारततिर गए । छात्रा र दलित, गरिब तथा जेहेन्दार विद्यार्थीलाई दिइने छात्रवृत्ति उनीहरूलाई दिइएन र ब्राह्मण शिक्षकहरूकै मिलेमतोमा ६ र ७ कक्षामा मेरो नाम “शिव ज्ञवाली”लाई “सिमा ज्ञवाली” बनाई मलाई नै प्रदान गरियो । पक्कै यो प्रमाण स्कुलमा हालसम्म पनि होला ।
अचम्म लाग्ने अर्को कुरा छ । मैले मगरगाउँको बीचमा श्री बालविनोद निमावी छ । त्यो पनि २०१४ सालदेखि । मगरहरूको घना वस्ती छ वरिपरि । तर ६० वर्षभन्दा लामो इतिहासमा मगर समुदायबाट विश्वविद्यालय शिक्षा हासिल गर्ने एकजना पनि छैन । जबकि करिब ३० घर ब्राह्मण समुदायबाट ६० भन्दा बढीले विश्वविद्यालय शिक्षा प्राप्त गरिसकेका छन् । म अहिले सम्झन्छु मगर तथा दलित विद्यार्थीहरूलाई शिक्षकहरूबाट कहिल्यै प्रोत्साहन गरिँदैनथ्यो । कक्षामा पहिलोदेखि दशौंसम्म ब्राह्मण बालबालिकाहरू नै हुन्थे । त्यसपछि क्रमशः मगर र दलित सबैभन्दा अन्त्यतिर । यो त विद्यालयमा हुने विभेदको म जिउँदो साक्षी हो । समाजमा भएका र देखेका त्यस्ता धेरै विभेदका घटना छन् । धारा, पँधेरा, मन्दिरमा दलितमाथि हुने विभेदको रुप आफ्नै आँखाले देखें ।
हाम्रा पुर्खाहरू सोझा कुमाल र मगरहरुको शोषण गरेर आएका थिए । उनीहरूले कुमालहरूलाई दास मात्र बनाएनन्, मगरहरूको सम्पत्ति जबरजस्ती खोसे । यो क्रम मैले जान्ने हुँदासम्म पनि कायमै थियो । मलाई पीडा र घृणाबोध हुन्छ । आफ्ना पुर्खाहरूको अमानवीय कामको पश्चातापले मनको पिलो टन्किन्छ । र, यो अधिकार र सामाजिक न्यायको लडाइँमा बाँचुञ्जेल लडिरहने प्रेरणा दिन्छ । यो नै पुर्खाको पापको प्रायश्चित अर्थात् श्राद्ध हो भन्ने मेरो बुझाइ छ ।
मभन्दा ९ पुस्ताअघि काशीराम ज्ञवालीले तत्कालीन पाल्पाली राजा मुकुन्द सेनबाट विर्ता पाएपछि पाल्पाको माडीफाँटबाट हालको गुल्मी जिल्ला दौघा गाविसअन्तर्गत बगुवा भनिने बेंसीमा आएका थिए । उनीहरूले माडीफाँट नजिकैको घोरबन्दा र गाप्टुङबाट केही कुमालहरूलाई लिएर आए । अहिले पनि छचुवामा रहेका करिब १०० घर कुमालहरू गाप्टुङ्गे र घोरबन्दे वंशका छन् । रिडीखोलावारि पाल्पातर्फको छचुवा भन्ने ठाउँमा कुमालहरूलाई बसालियो र हाम्रा पुर्खाहरू पारिपट्टि घाम लाग्ने र उब्जाउ फाँट भएको बगुवामा बस्न थाले । त्यत्तिमात्र होइन कुमालका परिवारलाई दासको रुपमा उनीहरूले काम गराए । कुमालले बाँझो फोरेर राम्रो उब्जनी गर्न थालेपछि छचुवाका समथर परेका बारी र टारी खेतसमेत उनीहरूले हडपे । शोषणको यो क्रम कुमालहरूबाट हुँदै मगरहरूसम्म आयो ।
हाल हाम्रो बसाइँ रहेको पाल्पाको भुवनपोखरी गाविसअन्तर्गत खान्टुङ गाउँमा सूर्यवंशी र रानामगरहरूको बस्ती थियो । छिमेकी गाउँमा आले, रास्कोटी र दर्लामी मगरहरू थिए । केही समथर, पानीको व्यवस्था र घाँसदाउरा प्रशस्त हुने र गर्मीमा शीतल पनि हुने भएकाले हाम्रा जिजुबाजे ऋषिराम ज्ञवालीले हालको हेकुले भन्ने ठाउँमा खर्क बनाए । तर, हजुरबुबाहरू छिमेकमा मगरहरूको रहरलाग्दा बारीका पाटाहरू र उब्जनी देखेर लोभिए । विस्तारै मगरहरूलाई सताउन थाले । त्यसको निसानामा बाबु बितेका एकजना टुहुरा रानामगर र सूर्यवंशी मगरको परिवार पर्‍यो ।
मेरा माइला हजुरबुबा बालकृष्ण उपाध्यायको नेतृत्वमा मगरहरूमाथि शोषण सुरु गरियो । दिनदहाडै मगरहरूको घोंगा हाल्न थालेको मकै फाँडियो, घाँसका रुखहरू काटियो, पकाएको कुँडोमा जिउँदा कुखुरा हालेर मारियो र गोठमा बाँधेका गाइबस्तुहरू फुकाएर छाडा छोडियो ।
ब्राह्मणहरूको अन्यायविरुद्ध मगरहरू संगठित भए । हालको झिर्बासमा रहेका आलेमगरहरूले रानामगर र सूर्यवंशीहरूलाई साथ दिए । मगर र हजुरबुबाहरूबीच द्वन्द्व सुरु भयो । मेरा माइला हजुरबुबाले रानामगरको बारीमा तोरी छर्न थाले, आफ्ना दास कुमालहरूलाई खेताला लगाएर । मगरहरू आएर बीऊ खप्टिए । तोरी छर्नेबारीमा मगर र बाहुनहरूको घमासान भयो । माइला हजुरबुबाले मगरहरूको सारा सम्पत्ति अब आफ्नो भएको र आफूले प्रयोग गर्न पाउने घोषणा गरे । हजुरआमा र फुपूहरूलगायत सबैलाई घाँस काट्न मगरको खरबारीमा पठाए । मगर र बाहुनहरूबीच घाँसका भारी खोसाखोस भयो । मगरहरूले माइला हजुरबुबालाई मरणासन्न हुनेगरी कुटपिट गरेर खोल्टेपानी भन्ने खोल्सामा फालिदिए । मगरहरूको सम्पत्ति हडप्न आएका मेरा अरू हजुरबुबा, हजुआमाहरू र सहयोगी कुमालहरू फेरी बेंसी झरे ।मगरहरूले संगठित भएर माइलाबुबालगायत हजुरबुबाहरूविरुद्ध मुद्दा दर्ता गरे । मुद्दाको तारिख सुरु भयो । माइला हजुरबुबा तीनधारा संस्कृत पाठशाला, काठमाडौंमा पढ्नुहुन्थ्यो । तर काठमाडौंबाट माइला हजुरबुबाले मगरहरूले मुद्दा हारेको झुठो खबर पठाउनुभयो, तत्कालीन प्रधानपञ्च यमलाल भट्टराई (कालीदास)लाई । मगरहरू डरले आच्छु—आच्छु भए । बाहुनहरूसँग मिल्न तयार भए र अदालतमा दर्ता गरेको मुद्दा मिलेमतोमा फिर्ता लिन राजी भए । बदलामा जम्मा २१ सय रुपियाँमा मगरहरूका सबै श्रीसम्पत्ति हजुरबुबाहरूले हडपेर आफू—आफूमा भाग लाए । सोझा मगरहरू बाहुनको नजिक बस्न नसकिने भइयो भनेर केही परको उब्जाउ नहुने रुखो र खानेपानीको दुःख भएको डाँडोमा सर्न बाध्य भए ।
ब्यहोरिएका जनजाति महिलाका व्यथा
मगरमाथिको शोषण त्यत्तिमा मात्र सीमित भएन । मगर महिलाहरूमाथि शोषणको कथा यहाँ लेखिसाध्य छैन । साउनेली नामले परिचित एकजना मगर बजै हुनुहुन्छ । उहाँले एकपटक भन्नुभएको थियो, तिम्रा माइला हजुरबाले मलाई ब्यहोरेको (जबरजस्ती गर्नु) हो । औँठी चोरिदिएको हो । त्यसो त मगरहरूको शोषण गर्नमा स्थानीय भट्टराईहरू पनि अघि नै थिए । सोही शोषणको विषयमा रामचन्द्र भट्टराईले चर्चित “बोइ” गीतिकाव्य समेत लेख्नुभएको छ ।
प्रधानपञ्च यमलाल भट्टराईले घरमा काम गर्न दासकै रूपमा राखेकी मगर्नी युवतीलाई गर्भवती बनाए । अविवाहित युवतीबाट छोरा जन्मियो । युवतीबाट बच्चा जन्मेपछि होहल्ला भयो । त्यसलाई गुपचुप राख्न स्थानीय गरिब ढकाल बाहुन (ढकाल काइँला)लाई आफ्नो सन्तान हो भनेर स्वीकार्न बाध्य बनाइयो, उनको जात खसाइयो र केही रकम दिएर घटना मिलाइयो । त्यसरी अवैध रूपमा जन्मिएका छोरा हालसम्म पनि जीवित छन् र सोमादी गाविसको कोकलघारामा बसिरहेका छन् । मगरहरूको गहना चोर्ने मात्रै होइन, गरिब मगरहरूलाई चारपाथी मकै दिएर जोतघर पनि राखियो । सुवाखोला र अमिलेका दर्लामीहरू पछिसम्मै जोतघर बसे । उनीहरूसँगै कतिपटक मकै रोप्न त म आफैसमेत हिँडेको छु । यो घटनालाई नजिकबाट देखेका भोगेका जीवित पात्रहरू अझै छन् ।
कुमालहरूमाथिको शोषणको कथा
कुमालहरूमाथिको शोषणको कथा अझ डरलाग्दो छ । मेरा हजुरबुबाहरूले मात्र होइन, बगुवाका हरेक ब्राह्मण परिवारले कुमालहरूलाई दासको रूपमा काम गराए । हरेक घरमा नोकर राख्नुलाई सम्पन्नतासँग जोडेर हेरिने त्यो समयमा कुमालहरूलाई दास राख्न तँछाडमछाड गरियो । हाम्रो घरमा समेत सेते कुमालको परिवारलाई दास राखियो । माइला हजुरबुबाले भयँरथाने र खत्री कुमाललाई दास राखे । खत्री कुमालको चार वर्ष पहिले मृत्यु भयो । मैले उहाँसँग कुरा गरेको थिएँ, कसरी शोषण गरे हाम्रा पुर्खाहरूले भनेर । बुढो भएका खत्री कुमाललाई राम्रोसँग जोत्न नसकेको भनेर माइला हजुरबुबाले बारीमै लौराले ढाडमा हान्दा उनी सहन नसकेर भुइँमा ढलेको दृश्य आँखैमा छ । उनकी बुहारी केही वर्ष पहिले अत्यधिक रक्तश्राव भएर वितिन् । त्यो अवस्थामा उनलाई सहयोग गर्ने कोही थिएन ।
माइला हजुरबुबाको घरमा दिनभर काम गरेपछि एकपेट खान पनि दिइएन । मेरी आमाले उनीहरूलाई खाना खुवाएर पठाउनुभयो । हाम्रोमा प्रशस्त मकै हुने भएकाले खानको दुःख थिएन । कुमालहरूलाई सहयोग गरेको भनेर माइला हजुरबुबा आमासँग समेत झगडा गर्नुभएको थियो । हिँउँद न बर्खा, जुका लाग्ने लेकमा कुमालहरूले आराम गर्न पाउँदैनथे । काम गरेनन् भनेर खर्च नदिने त सामान्य नै भयो । दिइए पनि धानको कड्करी र कीरा लाएको मकै ।
छचुवामा विशेष गरी कुमाल युवतीमाथि मेरा पुर्खाहरूको शोषणको कथा अझै कहालीलाग्दो छ । जवान कुमालहरू मेलामा काम गर्न जानुपर्ने बाध्यता । उनीहरूका जवान दिदीबहिनीहरू बाहुनको घरको काममा जानुपर्ने विवशता । बाहुनहरूबाट बलात्कृत हुनु, लोभमा फस्नु र अवैध सन्तान जन्माउनु उनीहरूको बाध्यता थियो । अहिले पनि कुमाल गाउँभरि दर्जनभन्दा बढी नयाँ पुस्ताका ‘अनुहार मिल्ने’ सन्तान देखिनु यसको प्रमाण हो । तिनीहरूमध्ये कतिले मुद्दा गर्छु भनेर भन्ने गर्छन् । यद्यपि, केहीलाई कुमाल युवाहरूको सक्रियतामा प्रतिकार गरेको, माफी मगाएको र जरिबाना गरेका घटना प्रशस्तै छन् ।
विभेदविरुद्ध लड्ने प्रेरणा 
ब्राह्मण समुदाय वा परिवारभित्रका विभेदका घटना कमै बाहिर आउँछन् । उनीहरूबीचको विभेदविरुद्ध कसैले प्रश्न उठायो भने कि त जबर्जस्त मिलापत्र गरिन्छ, कि त औंला उठाउनेको षड्यन्त्रपूर्वक औंला काटिन्छ । अधिकांश ब्राह्मण समुदायबाट आएका र देखिएका प्रगतिशील भनिने अनुहारहरू कालान्तरमा स्खलित हुनुको एउटा कारण पनि यही हो । अर्को अर्थमा रूपमा प्रगतिशील रूप देखिए पनि मूलतः पश्चगामी प्रवृत्ति रहनु उनीहरूको साझा विशेषता हो ।
तुलनात्मक रूपमा मेरा हजुरबुबा आफ्ना भाइहरूमध्ये आर्थिक र शैक्षिक रूपमा कमजोर हुनुहुन्थ्यो । परणामतः उहाँ अरू भाइहरूबाट पेलिनुहुन्थ्यो । कतिसम्म भने आफ्नो सम्पत्तिमाथि दाजुहरूको राइँदाइँ हुँदा र आफ्ना सन्तानमाथि कुटपिट हुँदा समेत उहाँ प्रतिकार गर्न सक्नुहुन्नथ्यो । खेतीपाती र पुरेत्याँइबाट परिवार पाल्नुहुन्थ्यो । बुबाहरू सानैदेखि हरिद्धार पढ्न गएकाले गाउँमा बस्ने अवसर पाउनुभएन ।
पछि पढाइ सकेर आइसकेपछि मेरो बुबाले आफ्ना पुर्खाहरूले दलन गरेका कुमाल समुदायलाई लक्षित गरी छचुवामा बालकल्याण प्राथमिक विद्यालय खोल्नुभयो । कुमाल बालबालिकाहरूलाई घरघर गएर पढाउन पठाउन अनुरोध गर्नुभयो । बुबाले ढुंगेडाँडो र काँडाघारी फाँडेर स्कुलको जग हाल्नुभयो । घरबाट काठपात लगेर फर्निचर बनाउनुभयो । यस कार्यमा स्थानीय कुमालहरूले ठूलो सहयोग गरे । तर, विद्यालयले स्वीकृति पाइसकेपछि षड्यन्त्रपूर्वक विद्यालयबाट निकालियो । यसको विरोधमा कुमालहरूले केही दिन विद्यालयसमेत बन्द गरे ।
स्कुलबाट मार्ने धम्कीका साथ बुबालाई निकालिए पनि उहाँ डग्नुभएन । कुमाल गाउँका विद्यालय जान नपाउने प्रौढहरूलाई लक्षित गरी गाउँमै प्रौढ शिक्षा पढाउन सुरु गर्नुभयो । गाउँमा विशेषगरी मगर र दलित समुदायसँग मेरी आमाको राम्रो सम्बन्ध थियो । गाउँमा सासूको बुहार्तन राम्रोसँग खान नपाउने भाउजुहरूलाई आमाले सुटुक्क बोलाएर खुवाएर पठाउनुहुन्थ्यो । अड्कोपड्को चलाइदिनुहुन्थ्यो ।
मलाई सम्झना छ, घर जलेर खरानी भएपछि एकजना हरि कुमाल भन्ने एकजना दाइ एक पाथी मकै माग्न आउनुभयो । आमाले चार पाथी मकै दिएर पठाउनुभयो त्यो पनि सित्तैमा । तर, बुबाले थाहा पाएपछि कराउनुभयो, किन धेरै दिएको भनेर । आमाको गुनको बदलामा लाहुरबाट श्रीमान आएपछि मगर भाउजुहरू लक्स साबुन, चियापत्ती बोकेर आमालाई भेट्न आउनुहुन्थ्यो ।
यसै क्रममा म दलित समुदायका साथीहरूसँग घुलमिल भएँ । गाउँमा मात्र होइन, गाविसभरि नै धेरैले कुरा काट्न थाले । कत्तिले ‘यो माओवादी भयो’ भनेर पनि भने । मेरो परिवार कांग्रेसी थियो पितापुर्खादेखि । हामीले गाउँमा सानोतिनो क्रान्ति नै सुरु गरिसकेका थियौं, जगलाल नेपाली र मेरो नेतृत्वमा । कसैले खुलेर हाम्रो विरोध गर्नसक्ने अवस्था थिएन । पछि जब म काठमाडौं आएर जागरण मिडिया सेन्टरसँग जोडिएँ मेरा आँखाहरू अझ खुल्दै गए ।
सके सहयोग गर, नसके असहयोग नगर
जातीय भेदभाव हाम्रो समाजको कलंक हो । नेपाली समाजको चरित्र बुझ्न दलित समुदायलाई नबुझी सुखै छैन । मैले यही समुदाय र हाम्रो समाज बुझ्ने प्रयास गरिरहेको छु । अब हामी गैरदलित समुदायले बुझ्नु जरुरी छ कि जातीय भेदभाव तथा छुवाछूत दलित समुदायको मात्र समस्या होइन । अब गरिब ब्राह्मण र गरिब दलितबीचको भिन्नता बुझ्न पनि मेरा तमाम गैरदलित साथीहरू दलित आन्दोलनमा जोडिनु आवश्यक छ ।
त्यसो त नेपालको दलित आन्दोलनमा मेरो कुनै योगदान छैन कि लेख्न योग्य होस् । तर करिब ६० जिल्ला घुमेर त्यहाँका दलित समुदायसँग भेट्ने अवसर पाएको छु । मैले केही हदसम्म दलित समुदायको आँखाबाट नेपाली समाजलाई केही हेर्ने अवसर पाएको छु । मेरा आँखा खुलेका छन् जो जबर्जस्ती बन्द गराइएको थियो । मेरो सोचाइ र समाजप्रतिको दृष्टिकोण बदलिएको छ जो बलजफ्ती संकुचित पारिएको थियो ।
म मेरो पुस्तालाई आग्रह गर्न चाहन्छु ः आउनुहोस् दलित र जनजाति समुदायका अधिकार र सामाजिक न्यायको पक्षमा कम्तीमा सहयोग गर्नुस्, सक्नुहुन्न भने असहयोग नगर्नुस् । तपाईंहरूले सतही रूपमा देखेको जस्तो हाम्रो समाजको संरचना र चरित्र छैन । हामी यो समाजका कलंकलाई नामेट गर्नसक्छौं । परिवर्तन हाम्रै समयमा हामीबाटै सम्भव छ ।
समाप्त

No comments:

Post a Comment