भोजपुर, माघ १७ – भोजपुरको जरायोटारमा वि सं २०१२ मा जन्मिएका पूर्वका चर्चित सारंगीवाधक तथा गायक सुरेश गन्धर्व हिजोआज वुढेसकाल लागेसँगै सार्वजनिक समारोह तथा महोत्सवहरुमा त्यति देखिँदैनन् । तर, गन्धर्वलाई आफनो पुख्र्यौली गायन परम्परा दोश्रो पुस्तासँगै हराउने हो कि भन्ने चिन्ता थपिएको छ । सारंगी बोकेर गीत सुनाउँदै गाँउघरमा हिँड्ने गरेका उनी सन्तानलाई आफनो पेशालाई जिवन्तता दिन छोराछोरीलाई समेत यसैक्षेत्रमा संलग्न गराउँदै आएका छन् ।
गाउँ घरमा सारंगी रेटेर हिँड्दा–हिँड्दै उनी पूर्वी नेपालका ख्यातीप्राप्त सारंगी वाधक बने । यसबीच दर्जनौं संघ संस्थामा कार्यक्रम गर्न पुगेका उनले एक दर्जन जति संस्थावाट सम्मान पनि पाएका छन् । तथापि अझै आर्थिक कठिनाई पिरोलिएका छन् उनी ।
मोरङको केरावारी–६ स्थित सार्वजनिक उच्च माविको स्वर्ण महोत्सवमा कान्छो छोराका साथ भेटिएका उनले सञ्चारकर्मीसंगको कुराकानीमा अहिलेका नयाँ कलाकारले गीत संगीतको मर्मभन्दा पनि मनोरञ्जनका लागि मात्र गाउने र गीत–संगीतलाई पैसामा रुपान्तरण गरेका कारण धेरैले जीवनमा पैसा त कामउने तर सृजना कालजयी नहुने बताए ।
रिङके वुङको राँगालालाई , वारी खोला पारी खोला ,सलल कोशी त्यो माथी नाऊ , धरानको पुरानो वजार लगायतका उनको दर्जनौं गीत चर्चित रहेका छन् ।
तारादेवीले गाएको ‘काली पारी’ बोलको गीत उनले रेकर्ड गराएको पहिलो गीत हो । उनको आफनै गीत भने ‘रिङ्के वुङको राँगा’लाई हो । यसका अलवा दर्जनौ गाीत अझैपनि सदावहार छन् । सारंगी रेट्दै भारतको दार्जिलिङ, सिक्किम, मेघालय, आछाम र भुटानसहित नेपालको धेरै जिल्लामा राष्ट्रिय कलाकारहरुको टोलीमा गीत गाउन हिँडेको स्मरण गर्दैै गन्धर्व भन्छन्, ‘नयाँ पुस्ताले पनि गीत संगीतको भावना बुझेर पनि सारंगीलाई माया गरुन् ।’
सारंगी रेट्दै गाँउ घरमा गीत सुनाउँदै हिँड्ने सुरेश जस्ता गन्धर्वहरुको पेशा जति–जति संकटमा पर्छ नेपाली लोक संगीतका साधन मानिएको सारंगी पनि त्यति नै लोप हुने खतरा बढ्दै छ । आफ्नो संस्कृतिलाई लोप हुन नदिन ४५ वर्षदेखि लगातार सारंगी रेट्दै हिँडेका सुरेश गन्धर्व हिजो आज आफनो छोरालाई समेत साथैमा हिँडाउने गरेका छन् र बाचुञ्जेल सारंगी नछाड्न प्रेरणा दिँदै आएका छन् ।
- source : http://www.ratopati.com/2015/01/31/204761.html#sthash.rIok1H16.dpuf
No comments:
Post a Comment