आगोले कम्मर तलको भाग जलेर जाजरकोट जिल्ला अस्पतालमा उपचार गराउँदै रहेकी नायकबडा ३ स्थित मैनाकी २५ वर्षीय पदमकली विक । तस्बिरः भीमबहादुर/कान्तिपुर |
जाजरकोट, फाल्गुन २५ - नायकबाँडा ३, मैनाकी पदमकली विक एक महिनादेखि जिल्ला अस्पतालको शय्यामा छटपटाइरहेकी छन् । उनी घरी मूच्र्छा पर्छिन्, घरी चिच्याउँछिन् । उनलाई खानेकुरा पनि रुच्दैन ।
२५ वर्षीया विकको कम्मर तलको आधा भाग आगोले जलेको छ । आर्थिक अभावले पति मनबहादुरले सुविधायुक्त अस्पताल लगेर उपचार गर्न नसक्दा रुनु र कराउनुको विकल्प उनमा छैन । दुर्गमका अस्पतालमा जलेको उपचारसम्बन्धी व्यवस्था नहुँदा यस्तो भएको हो । विकको शरीर २० प्रतिशत जलेको छ । दुवै खुट्टाको मासु कुहिएर खस्ने गरेको छ । '५ देखि १० प्रतिशतसम्म जलेको उपचार गर्न सम्भव थियो । तर उनको सम्भव भएन,' डा. विभान्त साहले भने । यहाँ बर्न वार्डलगायत उपचार सुविधा नहुँदा समस्या भएको उनले बताए । अस्पतालले विकलाई थप उपचारका लागि नेपालगन्ज लग्न भने पनि आर्थिक अभावले कतै लान नसकेको पति मनबहादुरले बताए । गत माघ ५ गते उनी जलेकी थिइन् । राति चुलो नजिकै सुतेकी विकले लगाएको टेरिकटनको धोतीमा आगो सल्किएको थियो । आगो निभाउने कोही भएन । 'म आमाको उपचारमा खलंगामा थिएँ । घर र्फकंदा उनलाई जलेको अवस्थामा पाइयो,' मनबहादुरले भने । ३७ वर्षीय मनबहादुर र पदमकलीबीच ४ महिनाअघि मात्र विवाह भएको थियो ।
'जलेको घाउ पूर्ण रूपले निको हुन शरीरको अन्य भागको मासु निकालेर प्लास्टिक सर्जरी गर्नुपर्ने हुन्छ । यो यता सम्भव छैन,' डा. साहले भने । पदमकलीको उपचार नेपालगन्ज वा काठमाडौंमा मात्र हुने उनले बताए । पदमकलीको उपचार गर्न कमजोर अवस्था बाधक भएको हो । 'आकाश खसेझैं भएको छ । यहीं उपचार गराउन त मुस्किल छ, अन्त कहाँ लैजाउ“m' उनले भने । मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका उनलाई ऋण सापट दिने र उपचारमा सहारा दिने कोही छैन । उनले दुःखेसो पोखे, 'गरिब हुनुको पीडा भोग्दै छु । पैसा नभएकैले उसलाई बचाउन नसक्ने स्थितिमा पुगें ।' उपचारका लागि उनी चन्दा उठाउन हिँडे पनि सहयोग नभएपछि जिल्ला अस्पतालले गर्ने हेरचाहमै चित्त बुझाउनुपरेको छ ।
source:- कान्तिपुर
No comments:
Post a Comment