Monday, March 9, 2015

पार्टीका एजेण्डामा मर्न तयार हुने दलित नेताहरु दलितका एजेण्डामा मौन

फागुन २४ गते, काठमाडौँ ।राजनीतिमा महिलालाई सहजै सहभागिता गराउने विधिको निर्माण हुन नसकिरहेको महिला सभास्दहरुको गुनासो छ । महिला भन्ने वित्तिकै पार्टीमा दोस्रो दर्जामा राख्ने प्रचलन यथावत् रहेको र अवसरहरुमा पनि महिला कोटामा मात्र सीमित गरिदिने गरेको उनीहरुले बताएका छन् । राजनीतिक दलमा होस् वा संविधानसभामा, महिला नेतृहरुको हैसियत सीमित गरिदाँ महिलाका ऐजेण्डा आझेलमा पर्ने गरेको पनि उनीहरुको गुनासो छ ।
जागरण मिडिया सेन्टर र सामरी उत्थान सेवाद्वारा आइतवार आयोजित स्थानीय तहमा दलित महिलाहरुको सवाल विषयक अन्तर्वार्ता कार्यक्रममा दलित महिला सभासद्हरुले महिला र दलितका एजेण्डाहरुमा राजनीतिक दलहरु गम्भीर हुन सकेको बताएका छन् । सभासद अनिता परियारले पार्टीका एजेण्डामा मर्न तयार हुने दलित नेताहरु दलितका एजेण्डामा मौन रहने प्रवृत्ति पनि रहेको बताउनुभयो । महिलाहरुको एजेण्डामा पनि सोही अवस्था रहेको उहाँको भनाइ छ ।
‘सँगै वन्दु बोक्न र युद्ध लड्न सक्छौँ तर सँगै भात खान सक्दैनौं भन्ने अवस्था दलहरुमा छ’ सभासद परियारले भन्नुभयो । दलित र महिलाहरुले आफ्नो लागि आन्दोलन गर्न नसकेको र पार्टीहरुले पनि पहल गर्न नसकेको उहाँको दावी छ ।
सभासद धनमाया विकले आ—आफ्ना दलका एजेण्डामा केन्द्रित हुने भएकाले दलितका एजेण्डामा विभाजित भए जस्तो देखिएको बताउनुभयो । उहाँले जातीय भेदभाव तथा छुवाछूत अन्त्यको सम्बन्धमा ऐनको प्रभावकारी कार्यान्वयन र प्रसार—प्रचारमा जोड दिनुभयो ।
सभासद शिवकुमारी गोतामेले छुवाछूत सामाजिक परम्परा हो र आफै हटेर जान्छ भन्ने मानसिकतामा दलहरु रहेको दावी गर्नुभयो । उहाँका अनुसार कानून कार्यान्वयन गर्ने निकायमा दलितको पहुँच छैन, प्रशासनले छुवाछूतको समस्यालाई अनुभूति गर्न र सामाजिक समस्याको रुपमा बुझ्न सकिरहेको छैन् । जागरण मिडिया सेन्टरका अध्यक्ष रेम बिश्वकर्माले राजनीतिक दल भित्रको वर्गीय, जातीय तथा लैङ्गिक उत्पीडनलाई युवा नेतृत्वले चिर्नुपर्ने बताउनुभयो । ‘यदि त्यसो नगरे महिलाका नाममा उच्च वर्गका महिलाले र दलितका नाममा टाठावाठाले मात्र अवसर पाउने छन् र समस्याको समाधान हुन सक्ने छैन्’ उहाँको भनाइ छ ।
कार्यक्रममा एकदर्जन महिला सभासद्हरु बोल्नुभएको थियो । राजनीतिक परिवर्तन भए पनि मानसिक परिवर्तन हुन नसक्दा दलहरुमा पनि दलित तथा महिलाहरु समस्यामै रहनु परेको महिला सभासदहरुको भनाइ छ ।

source:- gorkhapatra

No comments:

Post a Comment