Sunday, May 10, 2015

चन्द्रबहादुर सार्की : काठमाडौंदेखि मलेसियासम्म

विभेद बिरुद अभियान । २७ वैशाख, मलेसिया । सुन्धाराको त्यही धरहरा छेऊ हो, जहाँ केहीवर्ष अघि चन्द्रबहादुर सार्कीले पाल टाँगेर आफ्नी आमा, पत्नी र छोराछोरीलाई राखेका थिए । उनी दिनभरि काठमाडौंमा भरिया काम गर्थे र राति त्यहीँ पाल मुनि सुत्थे ।
अहिले भूकम्प आउँदा सार्की मलेसियामा छटपटिएका छन् । आफैंले व्यवस्थापन गरेर सिन्धुलीमा थन्क्याएकी आमा र पत्नीलाई भूकम्पले चन्द्रबहादुरबाट चुँडेर लगेको छ ।

भान्छेको भाग्य पनि कति विदारक हुँदोरहेछ ! देशमा भूकम्प जाँदा मलेसियामा बेवारिसेजस्तै बनेका सार्की महाभूकम्प भएको दुई हप्तापछि नेपाल फर्कंदैछन् । तर, सिन्धुलीको कपिलाकोट गाविस- ८ घर भएका सार्कीले भूकम्पमा १०२ वर्षीया आमा चन्द्रमा र ४५ वर्षीया श्रीमती चिनिमायाँलाई गुमाएका छन् ।
छोराछोरीको हेरचाह गर्दै आएकी हजुरआमा र आमाको मृत्युले १४ वर्षकी छोरी शर्मिला र १२ वर्षका छोरा सीताराम अहिले बेसहारा छन् ।
मलेसियामा पुलमुनि भेटिए
क्वालालम्पुरको जामे मस्जिदछेऊको पुलमुनि १२ दिनसम्म बसेको र म्यानमारका साथीले बिहान-बेलुका ल्याइदिने पाउरोटी खाएर बाँचिरहेका चन्द्रलाई नेपाली दूतावास र मलेसियामा रहेको कोपरासी भन्ने संस्थाले उद्धार गरेर नेपाल पठाउन लागेको हो ।
बुधवार दिउँसो दूतावासमा भेटिँदा उनको अवस्था निकै नाजुक थियो । फोहोर कपडाका साथै निकै लामो समयदेखि ननुहाएका उनी हिलाम्मे देखिन्थे ।
दूतावासमा आएका सबै मिलेर थोरै पैसा उठाई उनको कपडा फेरिदिएका छन् । बस्नका लागि कोपरासीले नै ब्यवस्था गरिदिएको छ ।
अनलाइनखवरसँगको भेटमा उनले आँशु चुहाउँदै भने, नेपालीबाटै ठगिएपछि म यहाँ विचल्लीमा परेको हुँ ।
चन्द्रबहादुरको भाग्य र जिन्दगीको कथा
गाउँकै जमिनदार अच्युतम ढकाल जमीनमा हलो जोत्दा जोत्दा वाक्क भएका सार्कीको एउटा सपना थियो, जोतिरहेकै साहुको जग्गा किन्ने । तर, गरीव परिवारमा जन्मेका उनको यो सपना आकाश छुनुजस्तै कठिन थियो ।
सार्की ८ वर्ष अगाडि साहुको जग्गा किन्ने हिम्मत बोकेर केही गर्न सकिमन्छ कि भनेर स-परिवार काठमाण्डौ आए ।
काठमाण्डौ उनीहरुसँग बस्ने ठाउँ थिएन । उनीहरुले धरहराको फेद रोजे । त्यहाँ एउटा सानो त्रिपाल टाँगेर पाँचजनाको परिवार त्यतै बस्न थाले ।
चन्द्रले भारी बोक्ने काम गर्न थाले । त्यसरी जुटाएको पैसाले नाङ्लो पसल थापेका उनलाई श्रीमती चिनीमायाले पनि सघाइन् । चार वर्षसम्म उनले परिवारलाई त्यसरी नै पाले । र, भारी बोकेर जम्मा गरेको एक लाख रुपैयाँ म्यानपावरलाई बुझाएर उनी मलेसिया हानिए ।
मलेसियामा उनले एसीड कम्पनीमा काम पाए । साहुको जग्गा किन्ने सपना बोकेका कारण दुई वर्षसम्म निकै दुःखले काम गरे । हातका आैंलाहरु चिरिए । तर, उनले काम छाडेनन् । कमाएको पैसामध्ये दुई लाख रुपैयाँमा साहुको १० धुर जग्गा पनि किने ।
तर, अवैधानिक अवस्थामा रहेपछि मलेसियामा उनको दुखको दिन शुरु भयो । सोझो भएका कारण उनलाई धेरैले ठगे । महिना दिन काममा लगाएर तलब नदिएपछि उनले निकै दुःख पाए । कति रात भोकै बसे, बास लगभग पुलमुनि नै हुन पुग्यो । बल्लतल्ल सबैको सहयोगमा उनी शनिबार नेपाल फर्कंदैछन् ।
विभिन्न मुलुकबाट राहतका निम्ति धेरै सरसामाग्री तथा पैसा नेपाल भित्रिएको भए पनि चन्द्रबहादुरसँग काठमाण्डौ पुगेपछि सिन्धुली जानेसम्मको भाडा समेत छैन । अहिले उनका जीउमा रहेका लुगाहरु अरुले नै किनिदिएका हुन् ।
उनले गहभरि आँसु पार्दै भने- ‘मलेसियामा त सबैले सहयोग गरेर फिर्ता पठाइदिए, नेपालमा पुगेपछि मेरो अवस्था के होला ? बरु मेरो फोटो पनि समाचारमा हालिदिनुहोला, एयरपोर्ट झरेपछि कोही मनकारी भेटिन्छन् कि ?
-साभार#onlinekhabar

No comments:

Post a Comment